सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘च’ महात्म्य

देशमा बढिरहेको चरम भ्रष्टाचारी, चरम चुकलीखोर र चाकरीतन्त्रको पर्दा खोलेर देखाउन, सजग बनाउन सकियो भने पनि हामी र हाम्रो देश अगाडि बढ्ला कि ?

Nepal Telecom ad

घनश्याम रेग्मी :

आजकल नामै काफी छ भन्ने शब्द खुब चलेको छ । हाम्रो प्रिय अक्षर ‘च’ को पनि नामै काफी छ भन्दा फरक नपर्ला । अहिले वेदव्यास बाजेका ती अठार पुराणले समयको माग धान्न नसकेकाले यहाँ एउटा थप नयाँ ‘च’ पुराणको सानोतिनो झल्को प्रस्तुत गरिएको छ ।

देवनागरी लिपिमा लेखिने नेपाली भाषामा ‘च’ अक्षरको विषेश स्थान छ । ‘च’ अक्षर वर्णमाला क्रममा छैटौं स्थानमा पर्ने व्यञ्जन वर्ण हो । उच्चारणका हिसाबले ‘च’ अक्षर तालुतिरबाट उच्चारित हुने हुँदा तालव्य, माथिल्लो दाँतदेखि पछिल्तिरको वर्त्स्यभागबाट उच्चारित हुने वर्त्स्य, दाँतको पछिल्लो भागतिर छोएर सङ्घर्ष गर्दै उच्चारित हुने हुँदा स्पर्षसङ्घर्षी, उच्चारण गर्दा ध्वनि निकाल्ने स्वरयन्त्र वा स्वरचिम्टीमा धेरै बल नलागी उच्चारण हुने अघोष र उच्चारण गर्दा फोक्सोबाट धेरै श्वास प्रवाह गर्न नपर्ने अल्पप्राण वर्गको वर्ण/अक्षर हो ।

व्यञ्जन वर्णका प्रकृतिगत रखाई अनुसार ‘च’ अक्षर ‘च’ वर्गको ( च, छ, ज, झ, ञ) वर्गको पहिलो अक्षर हो । यसकारण यो अक्षर पनि क, च, ट, त, प जस्तै शीर्ष अक्षर हो । यसलाई यो वर्गका अक्षरको टोलीको जिम्मेवारी दिइएको छ । समुहको नेता नै भएपछि त कुरा बेग्लै हुने नै भयो !

आधुनिक विकासको क्रमसँगै ‘च’ को पनि महत्त्व बढेको कुरा जग जाहेर छ । यसलाई चानचुने मान्न हुँदैन भन्ने सन्देश जतिसक्दो चाँडो चारैतिर फैलाउन आवश्यक छ । चालू समयमा ‘च’ जति चल्दोफिर्दो कोही पनि देखिएका छैनन् । चकलेट, चाउचाउ, चाउमिन, चुइगम, चोकोफन, चिजबल, चिकेन, चिल्ली, चिल्लीसस, चम्चा, चटपटे, चना, चुरोट, चुना, चपाउँने (गुटखा) चिल्ड्रेन, चिल्ड र चियर्स जस्ता ‘च’बाट बनेका शब्द अति प्रचलित छन् ।

आजको समाजमा ‘च’को प्रचलन चलनचल्ती, चप, चक, चक्का, चक्काजाम, चर्काचर्की, चानचुन, चुस्त, चुम्बक, चुम्बन, चिनी, चिन्ता, चिन्ताजनक, चित्र, चरित्र, चिकित्सक, चिनारी , चिज, चिलाउने, चिच्याउनु, चिया, चियोचर्चो, चाँजोपाँजो, चाकरी, चण्ड, चितवन,चाहना हुँदै अब त चीनसम्म पुगेको छ ।

अहो ! ‘च’को प्रयोग र विस्तार चाहिँ दिन प्रतिदिन बढ्दै गएको छ । सायद यही कारणले होला हास्य कवि भैरव अर्यालले लेखेका छन्-
“चोरी चकारी नगरी चतुर्‍याइँ हुन्न …।”

बढ्दै गएको ‘च’को महिमा बखान गर्न भैरव अर्याल के चुक्थे र ? अहिले यो प्रवृत्ति चरम चुलीमा पुगेको छ । अर्याल बाजे अहिले भएको भए त यस्ता ‘च’ पुराण कैयौं लेखिसक्थे होलान् । के गर्नु नियतिको चपेटाले चरप्प कसिएपछि कसको के लाग्दो रहेछ र ?

ए साँच्चै ‘च’ का बारेमा अनेक थरी कुरा आउँदा अर्को प्रसङ्ग पनि आउँछ । ‘च’ अक्षरबाट बन्ने सार्थक शब्दहरू के के होलान् र यसको प्रयोग बिचमा वा अन्त्यतिर भएका शब्द के के होलान् भनेर कहिल्यै घोरिएर सोच्नु भएको छ ?

देखासिकी गर्ने र आफ्नोमात्र भुँडी भर्ने चलन ‘च’ को प्रादूर्भाव हुनेबेला देखि नै भएको होला कि ? जबदेखि ‘च’ को चम्चा चल्न सुरु गर्‍यो भाँडो त रित्तै ! आसेपासेहरूलाई त चाटचुट गर्ने र चुठ्ने काममात्र बाँकी ।

हिमाली चुचुराका हिउँ तापमान बढेर चर्नाम नाङ्गा हुन लागिसके । चमरीका बथान पाल्न छोडिए । पहाडका गाउँ बस्तीमा चहलपहल र चमक हराउँदै गएको छ । तराईका चारकोसे झाडी बाँझा चहुरमा परिणत भएका छन् यसको चिन्ता र चासो कतै पनि छैन । हामी अन्धाधुन्ध आधुनिकताको चपेटामा परेर चरक्क निचोरिएका छौँ । खै कसलाई छ चासो ? चेतनामा हामी यति पछौटे भयौँ कि र्‍याली र नारा लगाएर हिँड्नबाहेक केही जानेनौँ, सिकाइएन र सिक्न दिइन्न ।

विदेशी मुलुकले एक दिनमा बाटो र पुल बनाएर सक्न थाले हामी अझ चार शताब्दी पुरानो सोच र कामको तौरतरिकामा छौँ । यस्तै चरम लापरबाही र चेतना रहिरहे हामी चार दशक त के चार युगमा पनि विकासका खुटकिला चढ्न सक्ने छैनौं । यहाँ त हामीलाई चारो जुटाउन धौधौ छ चन्द्रमाको के कुरा ।

यस लेखमा मेरो ‘च’ वर्णप्रति कुनै दुश्मनी अथवा रिसइवी हुँदै होइन । यहाँ त चम्चेहरूको ‘च’ प्रवृत्ति विरुद्ध अलिकति ध्यानाकर्षण गर्नमात्र खोजिएको हो । देशमा बढिरहेको चरम भ्रष्टाचारी, चरम चुकलीखोर र चाकरीतन्त्रको पर्दा खोलेर देखाउन, सजग बनाउन सकियो भने पनि हामी र हाम्रो देश अगाडि बढ्ला कि ? हामी अझै चुक्ली लगाउने, अरूको चरण पर्ने र चरणामृत सेचन गरेर आफूलाई उत्तम ठान्ने मानसिकताबाट माथि उठ्नु परेको छ ।

विकसित देशहरूले बिना परिश्रम विकासको फड्को मारेका होइनन् । यस कार्यमा उनीहरूको लगनशीलता, धैर्य र दूरदर्शी सोचले काम गरेको छ । हामी भने यता पुरानो सोच, घुस, नातावाद, कृपावाद र म नै सबथोक हुँ भन्ने मानसिकताबाट माथि उठ्न सकिरहेका छैनौं ।

‘च’को प्रयोगबाट अनेकौं शब्दहरू चलनचल्तीमा छन् । यसको उपादेयता यति छ कि ‘च’बिना हाम्रो वर्णमाला अधुरो हुन्छ । संसार चल्न सबै तत्त्वको सहसम्बन्ध हुन आवश्यक भएझैं ‘च’ वर्णको पनि भाषामा उत्तिकै आवश्यकता र महत्त्व छ । हामी कसैलाई नकारेर अगाडि बढ्न सक्दैनौं । ‘च’को प्रयोग पनि त्यस्तै नकार्न नसकिने कुरा जग जाहेर छ ।

‘च’ एक्लै आफूमा खराब थिएन र छैन । यसले अ स्वरको सहयोगमा उच्चारणमा पूर्णता पाउँछ । यसकै सहयोग र सहकार्यमा गम्भीर अर्थ दिने शब्दहरू बन्दछन । हरेकले हरेकका सहयोग र सहसम्बन्धबाट सही र उच्च भाव व्यक्त गर्ने क्षमता राख्दछ ।

वर्ण होस् वा वस्तु उचित प्रयोग भएमा सकारात्मक अर्थ दिन्छ भने अनुचित प्रयोग गरिएमा नकारात्मक अर्थ वहन गर्छ भन्ने कुरा कसैबाट छिपेको छैन । सङ्गत गुनको फल भनेझैं हामी असल सङ्गत र सोचमा लागौँ अवश्य सफलता मिल्छ । आजको ‘च’ पुराण र ‘च’ माहात्यको सार पनि यही नै हो । शुभमस्तु ।

०००
हाल: बैजनाथ १, चिसापानी, बाँके

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Tikaram Regmi
Tikaram Regmi
1 month ago

Tikaram छोटोमा चारतिर घोच्न सफल “च” महात्म्यले उद्देश्य भेट्न सफल भएको छ ।

Nepal Telecom ad
काइदाको कञ्जुस

काइदाको कञ्जुस

शेषराज भट्टराई
धन्य ! कुर्सी

धन्य ! कुर्सी

डा. टीकाराम पोखरेल
कर्तव्यबोध

कर्तव्यबोध

कमला पन्थी अधिकारी
कन्फ्युजन

कन्फ्युजन

रमेश समर्थन
बास !

बास !

डा.रवीन्द्र समीर
1
0
Would love your thoughts, please comment.x
()
x