देविका तिमिल्सिनादेश र नेता
छिमेकीको दास बन्न कोही चाहँदैन तिमीलाई सानदार गर्व लाग्नसक्छ विदेशीको पाउमा समर्पण हुन तर स्वाभिमानी नेपालीहरू अमर सिंह हुन तयार छन् ।

देविका तिमिल्सिना :
देश जलिरहेछ
मानिस मरिरहेछन्
बेसुरको धुन बजिरहेछ
लेन्डुप दोर्जे ब्यूँतिएको छ
मण्डेला र बुद्ध घाइते भएका छन्
आमाको छातीमा बज्रपात गरिएको छ
मूर्ख मण्डलीहरू आफ्नै सुरमा छन्
आमाको मासु काटेर
एकएक भाग लगाउन तल्लीन छन्
दाजुले बढी सम्पत्ति कुम्ल्यायो
भाइले धेरै सम्पत्ति माग्यो
उसले ठुलो भाग एक्लै खायो
मलाई बाँड्दै बाँडेन
एकले अर्कोलाई दोष लगायो
लुछाचुँडी चल्यो समाजमा
मानवता हरायो दानवता फैलियो
जसको शक्ति उसको भक्ति
निमुखाको पेटमा भोकको झुत्ती
मर्न थाले अदना नपाएर बाँच्ने सूक्ति
सोझा मनुवा विरोध जुलुसमा
टाठाबाठा सिंहदरबारको सत्तामा
काम गरिखाने सडकपेटीमा
बालबच्चा मरे खानाको अभावमा
समाचार आयो समृद्ध नेपाल
सुखी नेपालीको यस्तै छ हाल
सोझो मनुवा नाइकेको लाखमा लोभियो
विरोध जुलसमा लाइन लाग्न गयो
ज्यान फालेर अभियानमा लागेको
हरेक मान्छे लासमा रूपान्तर भयो
नेता तिनै लासको आगो तापेर बस्यो
कहिलेसम्म रुवाउने जानकीलाई
कहिलेसम्म रगतको कोसी बगाउने
बुद्ध चुपचाप समाधिस्थ छन् भन्दैमा
धमिराहरूले गुँड लगाउन कहाँ पाउँछन् ?
पशुपति बौल्दैनन् भन्दैमा
लगाउनु हुन्न मन्दिरमा आगो
जनता सोझा छन् भन्दैमा
कहिलेसम्म रूवाइरहने हो ?
कहिलेसम्म कुटपिट गरिरहने ?
र क्षतविक्षत पारिरहने ?
छिमेकीको दास बन्न कोही चाहँदैन
तिमीलाई सानदार गर्व लाग्नसक्छ
विदेशीको पाउमा समर्पण हुन
तर स्वाभिमानी नेपालीहरू
अमर सिंह हुन तयार छन्
तिमीलाई जानकी र गढीमाईले छोड्ने छैनन्
बुद्धका युगल नयनले छोड्ने छैनन्
छोड्ने छैनन्
काली र मेचीका अविरल प्रवाहले
न त क्षमा दिनेछन्
तिमीबाट अपहेलित मुसहर, चमार र डोमहरूले ।
०००
काठमाडौं
‘अन्त्य कहाँबाट सुरू हुन्छ ?’ (२०८०)
Subscribe
Login
0 Comments
Oldest







































