नगिता लेप्चा राईधुम मच्चाइदेऊ धुम
यो बजेट आउँछ जान्छ । ब्लाडी बजेट । यही ब्लाडी बजेटको हण्टरले हाम्रो राजनीति निभिसकेको अगुल्ठो जस्तै भइसकेको छ भने राजनीति गर्ने हामी सबै चिसो चूल्हा नै भइसकेका छौँ ।

नगिता लेप्चा राई :
मध्यवित्त र निम्नवित्तहरूको घर संसार जीवन शैलीबारे कसैले पनि खबर राख्दैनन् । अहिले खाएर भरै के खाने भन्ने प्रश्नले निम्नवित्तहरू रातदिन छटपटिने गर्छन् । घडीको काँटा जस्तो जीवन । अलिकति पनि यताउति भयो कि, बाह्र बज्छ । प्रत्येक वर्ष वसन्त आए झैँ बजेट पनि प्रत्येक वर्ष नै आउँछ । यो बजेट पनि खासमा बिग ब्लो हो । लाख कोशिश गर्दा बिग शट बन्नु सकिएन । त्यसैले फाल्तु बगम्फुसे कुरा नगरेर भन्नु मन लाग्छ, यो जीवन भीरको चिण्डो जस्तै छ ।
सरकारको खर्च भन्दा स्वाङ नै धेर छ । करोडौं-करोडौं रुपियाँ खर्च गरेर सरकारले भीआईपी हावा जहाज किन्छ । देशको प्रेष्टिज राख्नुलाई हाम्रा मन्त्रीहरू प्रायः विदेश उड्छन् । गाडी वा रेल चढेर होइन हावाजहाजमै उड्नु प्रेष्टिज रक्षा हुन्छ । मन्त्री एक्लै विदेश जानु पनि लाजमर्दो । त्यसैले पुच्छरेहरू पनि चेप्नै पर्छ । कतिले त पुच्छरे सँगै टाइम पास पनि बोक्ने गर्छ । परिणाम, जनताले बुझाएका करोडौं-करोडौ ट्याक्स छुमन्तर ।
देशले विदेशसित मित्रता गाँस्नुपर्छ । एक्सपोर्ट, इम्पोर्ट, फरेन एक्सचेञ्जको कुरा छ । यी सबै विषयमा विदेशसित सम्झौता गर्ने उद्देश्यमै हाम्रा मन्त्रीहरू विदेश उड्छन् । एउटै ढुङ्गाले दुइवटा चरा मार्न सिपालु हुन्छन् यी मन्त्रीहरू । विदेशमा सम्झौता पनि हुने सरकारी पैसामा रङ-रङ्गेली मनाउने पनि गतिलो चान्स । पैसा मेरो होइन, जनता जनार्दनको ट्याक्सको पैसा… मेरा बाउको के जान्छ र ? मामाको घोडा मेरो हिही । जनता भने जहीँको तहीँ । विचचरा जनता ! मामुली नोकरी… मोटो ट्याक्स। सेक्यूरिटी नील । अमेरिकाको सिष्टम हायर एण्ड फायर । पहाडे डायलगमा भन्नु हो भने लुटी ल्याऊ भुटी खायो ।
विद्यार्थी जीवनमा ‘टेन्स’ नपढ्ने विद्यार्थी कमै होलान् । ‘टेन्स’ पढेरै जीवनभरि टेन्सन भोगेका हुन् भन्ने मलाई लाग्छ । टेन्स पढ्ने विद्यार्थी मै पनि एकजना हुँ । विद्यार्थी जीवन टेन्स कहिल्यै बुझिनँ । तर अहिले आएर सुगर, प्रेशर, हार्ट, डाइबेटिस, हाई पर टेन्सन, डिप्रेसन, फ्याट्टी लिभर, क्लोस्टेल, थाइरायड के के हो के के नै टेन्सबाट टेन्सन भन्ने बुझ्दैछु । निचोरेको कागती निम्बू जस्तो । धमिराले खाएको भोगटे जस्तो अनुहार । टेन्सन बढेको बढेकै… कम्ति हुनु त के नोर्मल समेत हुन सकेको छैन । टेन्सन कम गराउने एकमात्र पहाडे ओखती हो जाँड । भाँती जाँड होस् कि निक्खुर कोदोको जाँड । यसलाई प्यूर गोर्खे झोल भन्दा मिल्छ मेरो विचारमा । जाँड खाऊ टेन्सन भगाऊ ।
जमाना बदलिसकेको छ । मिस युनिभर्स, मिस वर्ल्ड, मिस इण्डियाको लहरले हाम्रा चेलीबेटीहरूलाई तर्साएको तर्साएकै छ । यसैले हाम्रा चेलीबेटीहरू संवेदनशील र असंवेदनशील अङ्ग प्रत्यङ्ग उदाङ्गो पारेर हिँड्नु आफूलाई प्रेष्टिजियस ठान्छन् । पारदर्शी परिधानमा हाम्रा चेलीबेटीहरूलाई देख्दा जस्तै बजेट फेल खानेहरू पनि लटरी फँसेकै कल्पना गर्छन् र लुकेरै भए पनि घुटुक् घुटुक थुक निल्छन् । यसैले अचेल क्यासिनोतिर द्रौपदीको वस्त्र हरण हुनेगर्छ । सप्लाई लाइनमा श्रीकृष्ण बसेका हुन्छन् भने धृतराष्ट्र प्रोड्यूसर, दुर्योधन डाइरेक्टर, शकुनी डिस्ट्रिब्यूटर । चारैतिर उधुमै उधुम…अध्रमै अधर्म । तर जति जति अधर्म बढ्दैछ उति उति नै धुम पनि बढ्दैछ । किसिम किसिमका प्रवचन । देब्रे नाक थिचेर दाहिने नाकले अनि दाहिने नाक थिचेर देब्रे नाकले श्वास तान्नु छोड्नुपर्छ अब । क्यासिनोमा लगेर आई लभ यू मम्मा भन….त्यसपछि….उधुमै उधुम ।
पेट्रोल डिजेलको दाम बढ्दा पनि कुनै असर पर्दैन । बस टु ह्विलरदेखि फोर ह्विलरका मालिक सबै । सजिलै छ… थोरै इन्सटलमेन्ट बुझाऊ… घरमा दामी गाडी चटक्कै । बजेटको नास । घरको बजेटलाई श्रीमतीले इन्सटलमेन्टमै बन्दकी राखेर छर छिमेकमा मै हुँको पगरी गुँथिरहेछ । इन्सटलमेन्ट तिर्न नसकेर घरकै आँगनबाट क्रेनले घिसारेर लाँदा… छर छिमेकलाई दोष । अचेल एउटा समानमा एउटा फ्री । एउटा ठूलो फ्रिजसित एउटा बेबी फ्रिज फ्री । घर चलाउने पति महोदयको बजेटलाई मरक मरक चपाइरहेछन् गृहस्थीहरू । कति सहनु यो पीर । बोलि सक्नु छैन । यसैले भन्नु मन लाग्छ- ड्रिङ्कको दाम घटाइदेऊ । एक बोतल ह्विस्कीसित दुई बोतल सेभेण्टी फाइभ फाउ देऊ । रातदिन टुन्न हुने ग्राण्ड अपच्यूनिटी देऊ । बस रनक्क भए पछि लोग्नेलाई नै थ्रेट गर… कम वान बाई वान । बङ्गारा झारेर हातमा थुपारिदिन्छु । जय जय शिव शङ्कर..हण्ड्रेड पर्सेण्ट ड्रङ्कर । मेरै बूढाको कमाइले खाएँ… के बजेट न सजेट ?
यो बजेट आउँछ जान्छ । ब्लाडी बजेट । यही ब्लाडी बजेटको हण्टरले हाम्रो राजनीति निभिसकेको अगुल्ठो जस्तै भइसकेको छ भने राजनीति गर्ने हामी सबै चिसो चूल्हा नै भइसकेका छौँ । अब हामीले आफ्नो ढ्याङ्गरो आफै बजाउनुपर्छ । हल्ला खल्ला, डाङ्डाङ् डुङ्डुङ् गर्नुपर्छ । नाङ्लो ठट्टाएर हात्ती तर्साउनै पर्छ अब । मरेको बिरालोले काखी चेपे जस्तो गरेर बस्नु हुँदैन । यसैले धुम मच्चाइदेऊ धुम ।
०००
खोलाचन्द फाप्री, जलपाइगुडी
Subscribe
Login
0 Comments
Oldest






































