साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही ‘याईं’हरू

अगाडि परेर भन्दा पछाडिबाट फाइदा लिने ब्वाँसे शैली धूर्तहरूको खास विशेषता नै हो । स्वक्षमता र कलालेयुक्त नहुँदा देखिने प्रवृत्ति घुर्क्याईं । ठाउँ न कुठाउँ कार्यसम्पादन गर्ने मनोवृत्ति सुर्‍याईं । बोल्नुपर्ने क्षणमा नबोली बस्ने प्रवृत्ति कप्ट्याईं ।

Nepal Telecom ad

देवीप्रसाद चापागाईं :

‘याईं’ प्रत्यान्त शब्दहरूको आधोपान्त खोज्ने हो भने प्रगति र अगतिका थुप्रै घटना खातका खात भेट्नहुन्छः अल्छ्याईं जुम्स्याईं, छुच्च्याईं, घमन्ड्याईं, अमत्याईं, चतुऱ्याईं आदि । चतुऱ्याईंलाई अलि बढी मानमनितो हासिल भए पनि आखिरमा उही ड्याङको मूला मान्छन्, विश्लेषकहरू । प्रतिस्पर्धाको मैदान नरोजी जस्केलाको सहायताबाट उन्नति गरेको आरोप यसको थाप्लोमा छँदै छ । बेलाबेलामा छट्टुको विशेषण पनि धेरथोर पाएकै छ । अन्य शब्दको तुलनामा भने यो अलि फुर्तिलो पनि छ । र उत्तिकै चल्दोपुर्जो पनि ।

घरदेखि सभासम्मेलन जहाँ जाँदा पनि उपरलिखित शब्दहरूको प्रयोग मजाले हुने गरेको छ । अल्छ्याईं र जुम्स्याईंलाई भने अधोगतिका कारक मान्छन् । एकाग्रता, धैर्यता, क्रियाशीलताको अभावमा ख्याती आर्जन गर्नु त ओच्छ्यानमा पल्टेर महासागरमा पौडी खेलेको सम्झनु जस्तै हो भन्छन् पनि । जाँगर न सागर खाने बेलामा आँ गर, अल्छी तिग्रो स्वादे जिब्रोजस्ता उखान प्रयोग गरी अल्छ्याईं र जुम्स्याईं प्रवृत्तिको ठाडै निन्दा गरिन्छ पनि । छुच्याईं, घमन्डयाईं, अहमत्याईंलाई पनि खोइरो खनेर कहाँ जाऊँ र कता जाऊँ पारिन्छ । त्यसो त याईंको दाईं त्यसै भनिएको हो र ?

अल्छी या अल्छ्याईंलाई हाम्रो सर्वप्राचीन भाषा संस्कृतले पनि ‘आलसस्य भाव कर्म वेति’ (अल्छी हुनुको भाव) ले पनि अल्छ्याईं प्रवृत्तिको ढड्नेसाे  पो फुस्काएको छ त । तर अहिले आएर भने अल्छीको जति कुरा जैसीले (ज्योतिष) ले जान्दैन भन्दै शिरपोश पो भिराइदिएको त छ हाम्रो लोकव्यवहारले । अरुथोक नजाने पनि कुरा बनाउन खुब सिपालु हुन्छ अल्छी भनी प्रशंसा गर्ने हाम्रो समाज न्यायकर्ता हो कि अन्यायको पृष्ठपोषक हो ठम्याउनै गाहो भइसक्यो ।

अल्छीलाई काम गर्ने बेलामा आलस्य पैदा भए पनि कुरा जोत्न कसले सिकाउनुपर्छ र भन्दै खानेबेलामा बोलाउने चलनले कुरा जान्ने पनि चाहिन्छ भन्ने कुराको परम्परा बसिसकेको देखिन्छ । अब अल्छीलाई चतुर्‍याईं पछिको स्थान दिएको तर साख्खै अर्को भाइ जुम्स्याईंलाई भने खेदो नै गरेको छ समाजले । जुम्स्याईंलाई हेप्दा नै राम्रो अरे । गरौँ कि नगरौँ ? सरकारी काम कहिले जाला घाम भन्दै झारा टार्ने आलटाले प्रवृत्तिलाई जुम्स्याईं भनेर नाक बजाएको नै पाउँछौं । सहकर्मीलाई पनि बैराग चल्ने गरी काम गर्ने भएकाले जुम्स्याईं प्रवृत्ति बढी नै हेपिएको हो । अल्छीले त आफूले काम गर्दैन सँगसँगै काम गर्नेलाई पसिना पो कढाइदिन्छ त । सँगैको जाँगरिलो साथीलाई जोताएर आफ्नो हिसाव निकाल्दछ । अल्छीको एउटा विशेषताचाहिँ कम समयमा धेरै काम गर्ने र बढी समय सुतेर वा गफ गरेर बिताउने हुँदा मात्र ऊ थोरै हेपिएको रहेछ ।

अल्छीको मात्र प्रसङ्ग उठान गरेको भनेर तपाईंलाई औधी झ्वाँक उठ्यो होला । अझ अल्छी नै हुनुहुन्छ भने सगरमाथा भन्दा अग्लो रिस उठ्ला । परापूर्वकालमा एउटा ऋषि परिवारमा तीन दाजुभाइ थिए अरे । जेठो र माहिलो खुब जाँगरिला तर कान्छो भने अल्छी । कुनै समय तीन दाजुभाइ बसेर गफ गर्दै थिए रे । हिसाव गर्दा अल्छीको चाहिँ सम्पति तीन गुणा बढी देखिएपछि त्यसबेलादेखि अल्छीलाई हेला गर्न नहुने परम्परा बसेको भन्ने दृष्टान्तबाट अल्छीप्रतिको नकारात्मक भाव हराउँदै गएको हो भन्छन् बूढापाकाहरू । पक्कै कुनै न कुनै घटना वा परिघटनाले मानिसको दृष्टिकोणमा परिवर्तन ल्याइदिने हो ।

कुनै बेला मान्छे र बाँदर कसले आफ्नो बच्चालाई बढी माया गर्दछ ? भन्ने पक्ष र विपक्षमा तर्क र वितर्क भएछ । मान्छे विभाजित हुन कति बेर लाग्छ र ? परीक्षण गरेर मात्र पत्याउने अड्डी लिएछन् केहीले । पोखरी खनिएछ वरिपरि फलामे बार लगाइएर । एउटी महिला र बाँदर्नीलाई बच्चासहित त्यहाँ पठाइयो रे। पहिला पानी थिएन । पाइपबाट पानी विस्तारै पठाइएछ । गेटमा बाहिरबाट ताल्चा ठोकिएछ भाग्न नसकून भनेर । बिस्तारै पानीको सतह बढ्दै गयो । दुबैले आफ्नो बच्चालाई बोकेका थिए रे । पानी घुँडा, तिघ्रा, कम्मर, छाती हुँदै माथि माथि जाँदै थियो । दुबैले बच्चालाई पानीबाट जोगाउँदै टाउकामाथि पुर्याए अरे। त्यसबेलासम्मको अवस्था उस्तै थियो । पक्ष र विपक्षमा बाँडिएकाहरू ट्वाल्ल परिरहेका थिए रे । अब नाकबाट पानी उँभो लागेपछि निर्णायक भूमिकामा जानुपर्ने भयो । आफू नबाँच्ने भएपछि बाँदर्नीले आफ्नो बच्चालाई भुइँमा राखेर बच्चामाथि टेकिछे ती उसले बच्चालाई बारबाहिर असर नपर्ने गरि फ्याँकिछ रे । र तत्कालै पानी बन्द गरी दुवैको उदार गरिएछ । बाँदर्नीले आफू नमर्ने भएपछि बच्चालाई टिपिछे । अब दृष्टिकोण बदलिहाल्यो ।

फेरि एउटीले बच्चाहरूको सुन्दर प्रतियोगितामा आफ्नो कुरूप बच्चा लगिछे । प्रतियोगितामा सामेल हुन नदिएपछि रुँदै राजासामु गुहार मागिछे । राजाले कारण सोध्दा हरेक आमा-बाबुलाई आफ्ना बच्चा सबैभन्दा राम्रो हुने तर्क दिएर राजाको मन जितिछे र पुरस्कार ल्याइछे । यिनै दृष्टान्तबाट के बुझिन्छ भने परीक्षण, परम्परा, प्रणाली आदिले हामीलाई रिङ्ग्याएको छ । अल्छीलाई पनि उस्तै उस्तै नाफा हातलाग्दै गएको छ ।

अब अल्छीलाई मात्र कति टोकसो गरेको भनेर दिक्क पनि लाग्यो होला । धुर्त्र्याईं, घमण्ड्याईं, र अहमत्याईंले पनि केही न केही अड्डा जन्माएको छ। मनमा कुनै कुरा उब्जिनासाथ क्षणभरमा कार्यरूपमा ढालिहाल्ने मनोवृति छुच्याईं हो भन्छन् व्यवहार विज्ञानका अध्ययेताहरू । अलि अलि छुच्याईं नगरे जीवन चल्दैन भन्ने व्यवहारवादीको विश्लेषण सही वा गलत छुट्याउने कृत्य तपाईंकै । धेरथोर छुच्चाईं आवश्यक भएको तर्क पेश गर्नेहरूलाई समाजबाट बहिष्कार पनि त गरिएको छैन नि । अब बोध गर्न पक्कै पर्‍यो कि धेरै पीरो घातक भए पनि रमरम त चाहियो होइन त ? अब छुच्याईं मूलबाली नभए पनि सहायक चाहिँ पक्कै हाे । धुत्याईं, घमन्ड्याईं र अहमत्याईं कसैले पत्तो नपाउने गरी थोरैतिनो चाहिँ आयश्यक नै पर्छ कि ? म गोज्याङ्ग्रेलाई त्यस्तो लागेको हाे कि निणर्यकर्ता न्यायकर्ता तपाईंनै ।

अहमत्याईं, घमन्ड्याईं पनि चटक्कै छोड्नुहुन्न भन्छन् कति बुज्रुकहरू । केही मात्रामा अहमत्याईं र घमण्ड्याईं नभए मानमनितो निम्तानाम्ती पनि एकदमै कम आउँछ भन्छन् कतिले । आफ्नो अलि पाहुर नदेखाए मानभाउ एकदमै कम आउँछ रे । कुकुरलाई च्योच्यो गरे जति पनि मान पाइन्न अनि परेन त फसाद। अब फुर्ति र धाक नदेखाउने मान्छेले कसरी निर्वाह गर्ने ? गाह्रो साह्रो नै छ है। अहमत्याईं र घमन्ड्याईंको भुटुन पनि फुर्ति र धाक नै हो । चटक्कै बिर्सन नहुने निष्कर्ष यो निस्किन्छ त ?

प्रसङ्ग फेरि अल्छिकै । अल्छीपनबाट घाटा मात्र हुन्छ भन्नु पनि एकोहोरो, एकसुरे र एकाङ्गीपन हो जस्तो लाग्छ तपाईं हामीलाई । आज अल्छी गरियो भन्ठानेको राम्रो भएछ भन्ने वाणी पनि हाम्रा कानमा परेकै हुन्छ ऐनमौकामा । एकपटक मेरी हजुरआमाले आफूले अल्छी गर्दा लिएको फाइदा सुन्दा त मलाई पनि कहिलेकाहीँ त खुब जोडको अल्छी लाग्छ । त्यो बेला राम्रो नै भएको देखिन्छ । एउटा साहित्यिक कार्यक्रममा जान अल्छी लागेर लास्ट आवरमा क्यान्सिल गरेको त फाइदै भएछ। पूर्व घोषित प्रमुख अतिथि अनुपस्थित हुनाले एक जना स्वघोषित टपरटुइयाँलाई प्रमुख अतिथि बनाउनु परेछ । बेलुकी आएको त्यो खबरले मन आनन्दित नै तुल्यायो ।

कुनै ठाउँमा कार्यक्रम सञ्चालकको व्यवहार देखेर जुरुक्क उठेर हिँडिदिऊँ जस्तो अल्छी लाग्छ । दर्शकदीर्घ खाली हुने गरी मञ्चमा अतिथि बोलाउने कार्यक्रम सञ्चालकको प्रवृत्ति देख्दा भित्रभित्रै जङ चल्छ अनि जुरुक्क उठेर हिँडौ जस्तो लाग्छ । उपस्थितिमध्ये १% सम्मलाई अतिथि बनाउनुपर्ने सुहाउँदो व्यवहार नदेखाएर चाकरीको शैलीले सञ्चालक स्वयं लज्जित भएको देख्दा भने म अल्छीलाई बोल्न र भन्न जाँगरिलो बनाइदियो त्यसबेला ।

मैमत्याईंलाई अहमत्याईंको सज्ञां दिँदा त्यति व्याकरण बिग्रिँदैन भन्ने तर्क भाषाविदहरूको देखिन्छ । मपाईंको आयतन फराकिलो भएपछि अहमत्याईंको सग्लो रूप देखिन्छ । मपाईं अहमत्याईंको सगोत्रीय अर्थात सजातीय रूप हो । अहमत्याईंले बहुमूल्य वस्तु फुत्त फालेर बडप्पन पस्किन्छ । अनि त्यतिबेला टाठाबाठाहरूले उसलाई भर्‍याङ बनाइ फाइदा उठाउन सक्छ । एउटै क्याफेमा लाखसम्म तिरेर अहमत्याईं रूपी पात्रले बुद्धिहीन पात्रको बिल्ला भिर्न पुग्दछ । तलव लिएकै दिनमा खल्ती खलाँस भएपछि उधारोमा सामान ल्याई घरबूढीको अगाडि असल पतिको खोल ओढ्न पुग्दछ ।

घमन्ड्याईंको पराकाष्ठा चाहिँ लुते कुकुर बन्नु हो । सुरुसुरुमा आफ्नो अहमका कारण कतै पनि पराजित हुन खोज्दैन । अन्त्यमा घरबुढीकै विद्रोह मच्चिएपछि भने उसका सबै फुर्ति नारायणीमा पिण्ड विसर्जन गरी फर्किएको कर्ताको झैँ मनोदशामा पुग्छ । पितृले पाए त ठिकै हो नपाए त त्यति मिठो पायस (खिर) बगाइयो भन्दै फर्किने कर्ताको पश्चातापको शैलीमा घमन्डी पछुताउँछ । एकपटक एउटा टोले घमण्डीको घमण्ड त्यसै गरी ओर्लिएको थियो । मन्त्री हुँदा किनेको तर आफू भ्रष्टाचारमा डुबेर सर्वस्व भएपछि खान नपाएर भुत्ला खुइलिएको कुकुरलाई सबैले मन्त्री कुकुर भनेर सम्बोधन गर्दथे । त्यो व्यङ्ग्य थियो । मन्त्री कुकुर आयो भन्दै केटाकेटीहरू दौडिन्थे । बुढापाकाहरू थपडी बजाएर हाँस्थे । ती दौडिने केटाकेटीहरूमध्ये पूर्वमन्त्रीको नाति पनि थियो । बा ! मेरो सबै बिस्कूट मन्त्रीले खाइदियो भनेर नातिले भनेपछि टोलछिमेकीले आफूमाथि गरेको कटाक्ष वा व्यङ्ग्यको मसला त्यो कुकुरलाई बुहारीको माइतीमा पठाइदिएर ढुक्क भयो ।

चार विधे चौध चतुर्‍याईंको अभिव्यक्तिले विद्वान विदुषीहरूलाई अलि होच्याएकोन मनोवृति बोकेका चतुरगीरिहरू आफ्नो चतुर्‍याईं खुइलिएर प्वाँख झरेको कुखुरोझैं देखिन्छन् । सबै प्वाँख भएका कुखुराको बीचमा उसको पहिचान ठाडै भइहाल्छ । प्वाँख भएकाले ठुँगेर उसका शरीरभरि घाउ नै घाउ भएर टीठलाग्दो अवस्थामा गुज्रिएझैँ चतुरगिरीहरू जस्तो गिलासमा चिया दिए पनि सबैको पछाडि बसेर बिना प्रतिवाद सुरूपसुरूप पारिरहेको दृश्य सबैले याद गरिरहेका हुन्छन् नै ।

‘याईं’ प्रत्यान्त व्युत्पन्न शब्दका अरु रूपहरू पनि यथेष्ट छन् । धुर्त्याईं, कप्ट्याईं बलमिच्याईं, परिपन्च्याईं’ आदि । यिनका अनुयायी अनगिन्ती छन् । अगाडि परेर भन्दा पछाडिबाट फाइदा लिने ब्वाँसे शैली धूर्तहरूको खास विशेषता नै हो । स्वक्षमता र कलाले युक्त नहुँदा देखिने प्रवृत्ति घुर्क्याईं । ठाउँ न कुठाउँ कार्यसम्पादन गर्ने मनोवृत्ति सुर्‍याईं । बोल्नुपर्ने क्षणमा नबोली बस्ने प्रवृत्ति कप्ट्याईं । मर्यादाको लक्ष्मणरेखा नाघेर लाभ मात्र देख्ने बलमिच्याईं यी सबैलाई नकारात्मकताभित्र समेटिए पनि सबैलाई बराबरी व्यवहार देखाउने परिपन्च्याईं भने सकारात्मकताको उच्च स्थानमा पूजित छ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढे नबनाऊ

साँढे नबनाऊ

देवीप्रसाद चापागाईं
टाउकेहरूको देवाली

टाउकेहरूको देवाली

देवीप्रसाद चापागाईं
मामा ! अब हाम्रो पालो

मामा ! अब हाम्रो...

देवीप्रसाद चापागाईं
भकुण्डो र मुखुण्डोको वार्ता

भकुण्डो र मुखुण्डोको वार्ता

देवीप्रसाद चापागाईं
अपवाद

अपवाद

देवीप्रसाद चापागाईं
नेताको कुरो

नेताको कुरो

देवीप्रसाद चापागाईं
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x