नरेन्द्रराज पौडेलकल्पबासको झकास
“पिताश्री यसरी मांसमदिरा सेवन गर्नु कल्पवासीको सुकर्म हो र ?” आफ्नै अगाडि कुर्सीमा बसेका पुत्ररत्नको प्रश्नले उनी एकाएक छाँगाबाट खसेजस्ता भए ।
नरेन्द्रराज पौडेल :
रित्तो भयो घरसंसार । विराना लाग्न थाले कौसी बरण्डा अनि पर्खालमाथि गमलाका फूल । अप्रिय लाग्न थाले कम्पाउण्डभित्रका बोट बिरुवाहरु । पुराना सिनेमा हेर्ने र खवरकागज पढ्ने बानी ठ्याक्कै बन्द भो । विहानी नित्यकर्ममा बेपर्वाह निचमारा ताल देखिन थाल्यो । कहिले आधारातमा उठेर ठूलो अवाजमा टी भी खोल्ने, कहिले आधारातमे उठेर खैलाबैला गर्दै स्तोत्र पाठ र भजन गायन गर्न थाल्ने, कहिले भने विहानभरी सिरकभित्र घुरेर विस्तरामा नै बिताउने कहिले बाहिर डुल्न निस्किएपछि लामो समयसम्म नफर्किनेजस्ता बेतालका गतिविधिले बाबाको विधुर जीवनमा एकाकीपनले ग्रस्त पारेर धैर्य टुट्तै जान लागेको र परपीडनवादी ओर्याहा प्रवृत्तिले खग्रास बनेर गाँज्दै ल्याएको छनक पाए छोराबुहारीले । छरछिमेकका भद्रजन र घरकै केटाकेटी प्नि बाबाको बेतालको ताल देखेर परपर हुन थाले । उनीहरुबीच हाँसो र विषादको छाया देखिन थाल्यो ।
पिताश्रीको घरभित्र अलिअलि शोक सन्ताप र मनभित्र असन्तोष पसेको पनि अलि वर्षअघिमात्रै हो । सारसउँधो अवस्थाकै देखिने घरबुढीको अप्रत्यासित भएको निधनले एकाएक त्यो परिवार टुहुरो बन्यो । सपना हो कि विपना भन्ने रनभुल्लमा पर्दापर्दै क्रियाकाष्ठा रीतिरिवज सम्पन्न भए । कतै कुनै कुरामा सानेतिनो त्रुटि हुन नदिई मध्यम ओहदाका छोराबुहारीले नियमपूर्वक सम्पन्न गरे । विधुर भए विचरा हँसिलो रसिलो मिज्यासका तर अलि अदबेस्रो उमेरका बाबु । बूढै भन्न पनि अलि नसुहाउँने ठीटो त झन् हुँदै होइनन् । अरु कुरामा सम्पन्न परिवार । अलि वर्षपछिको कुरा ।“ मलाई कल्पबास बस्ने इच्छा जाग्रत भयो । आश्रम कहाँ हो, पुर्याइदेऊ न बाबु । ” उमेरले सातौं दशकतिर बाँकटे हान्दैगरेका प्रौढ पिताश्रीबाट मर्जी भयो ।
छोराश्रीबाट पहिलोपल्ट राम्ररी सुन्ने काममात्र भयो, बुझ्ने काम याने जिज्ञासा प्रकट भएन, यत्तिकै लँघारियो । कुरा के भैदियो भने उपबासको कुरा पटक पटक सुनेका बुज्जकी छोराले कल्पबास भनेको चैं ठ्याक्कै बुझेनन् तर उस्तैउस्तै त होला भन्ठानेर उल्टै आफ्नै माैलिक ढाँचाको तर्कनामा रुमलिन थाले । यदाकदा उनी गम्भीर मनन पनि गर्थे । उपवास भनेको त उपवास मात्रै हो । तीज,महानवमी, शिवरात्री,ठूलो एकादशी आदि विशेष पर्वका दिन भोकै बसिने क्रियालक्ष्यित निराहार व्रत त चलनचल्तीभित्रै पर्ने कुरा भयो तर यो कल्पवास भनिने अनुष्ठान चैं केकस्ता साधन र सर्दामबाट तयार हुने अथवा केकस्ता किरणबाट झिल्का पार्ने इलेक्टेनिक पदार्थ होला या केकस्ता यन्त्र संयन्त्र र प्रोटोन इलोक्टेनजस्ता भाँतीभाँतीका तात्विक पदार्थ र स्रोतबाट तयार हुने न्यूक्लियस या सार तत्व हो या कुन चै अनुष्ठान प्रतिष्ठान पो होला भन्ने तोरीलाहुरे खुल्दुलीले दिमागका तन्तु तारनतार तन्काइरह्यो । छोटो समयान्तरमा लामै माथापच्चीसी चलेको छोराश्रीको मनमा दिनरात नभनी खसखस लागी नै रह्यो ।
“के हो त कल्पवास भनेको ? कहाँ हो पुर्याउनुपर्ने ठाउँ ?” नगीच परेर बाबालाई सोधिहेरम् भन्दा पटक्कै बक फुटेन । यति जाबो कुरा पनि न बुझेरै यत्रो वर्ष सरकारी जागीर पचायौ त भन्ने बाबाको खप्की आउला भन्ने डरले आफ्नै अन्तरमनलाई हप्कीदप्की पार्दै थियो । पुत्ररत्नले देखेभ्याएसम्म वरपर छेउकुना आकाशपाताल दिमाग डुलाए । जान्नेसुन्ने भैखाको आफूभित्रको भर याने आत्मविश्वास नै पिताश्रीको दकसले धुजाधुजा भएर धर्धरी च्यातियो जस्तो लाग्यो । यता बुढ्याइँको पोयोमा उँभोउँभो सुरेली खेल्दै शिखर छुनै लागेका पिताश्रीले बारम्बार उही कुरा दोहोर्याएर ओर्याहा ताल देखाएपछि दिमाग तातेर चौपट । विहानवेलुकै उनको मुखमा यिनै शब्द झुण्डिन थाले । “लौन मलाई कल्पवास जाने इच्छा लाग्यो । लाग्योमात्र हैन अझ जाग्यो नै । लागीसकेको आगो र जागीसकेको इच्छालाई निभाउन नसकिने बुझेँ मैले । तस्मात् उत्तिष्ठ वत्स, मलाई कल्पवास बस्ने ठाउँ पुर्याइदेऊ ।”
यस पाला निकै जोडबल थियो पिताश्रीको । “हवस् पिताश्री ।” छोराश्रीले आज्ञा शिरोपर त गरे , तर भनिएका शब्दको अझै अर्थ खुलेन । सोधम् भन्दा पनि यत्ति जाबो कुरा पनि नबुझ्ने भनेर खप्की आउने डरले धक छुटेन । बक फुटेन । त के हो त कल्पवास भनेको ? कहाँ हो पुराउनुपर्ने ठाउँ ?” जति तर्क वितर्क गर्दा पनि ज्ञानज्योति छिर्ने पाराले मथिङ्गलको ढोका खुलेन । पूज्य पिताश्रीमा सोधनी राखम् भनेर कति प्रयास गर्दा पनि मनले मानेन,उल्टै अनायास मनमा लाग्यो उमेरको यत्रो फड्को र जागीरको उच्च ओहदामा पुगेर सरकारी सुविधामा लडीबुडी गर्दैगरेको पुत्ररत्नले पिताश्रीमा त्यस्तो प्रश्न सुध्याउनु आफैमा बिडम्बनापूर्ण कुरा हो । अरण्यप्रदेशकी सुन्दरी हिडिम्बाले भीमसेनलाई जिस्क्याएजस्तो होला फेरि ? कोरली साइजको डर पस्यो मनमा ।
एक दिन अफिस पुग्नेबित्तिकै सहायकलाई अराएर पुस्तक पसलबाट चूडामणि गौतमको वृहत्तर नेपाली शब्दकोष नामक भीमकाय डिक्श्नरी झिकाए । अनि बाहिर नेमप्लेटमा अति व्यस्त जनाएर निकै तल्लीन पाराले अक्षर बताउदै केलाउँदै र निफन्दै गए । वृहत अरण्याकारको त्यो शब्दकोष नामक झाडीप्रदेशभित्र चंख शिकारी बनेर छेउकुना पाखाभित्ता चाहार्दै जाँदा एक ठाउँमा बल्ल उनले लामो सास फेरे, कारण उनले खोजेको कल्पवासको धेरथोर जिलीगाँठी फेला पर्यो, जसको, एक कल्पभरी तीर्थवास गरेको पुण्य प्राप्त गर्ने उद्देश्यले संयम र निष्ठापूर्वक गंगा र यमुना नदीका तटमा गरिने निवास भन्ने व्युत्पत्ति रहेछ । एक पटक त उनी रेडियम पत्ता लगाएकी म्याडम क्यूरीझैं फुलेल बने । तर कहाँको जीवनभर खाँदै बस्दै आएको आफ् नै उँठहरको चीरपरिचित निजी निवास अनि कताको अपरिचित बिरानु संसारको नदीघाटका किनारमा अवस्थित कल्पवास ? विदेशको एकान्त पाटीमा त्यो उमेरका घरधन्दाको काममा सिन्कोधरी न भाँचेको मानिसले एक्लै कस्तो निर्बाह गर्न सक्ला ? पिताश्री लक्ष्यित कल्पवासले र्याङग्ठ्याङ्ँग नमिलेर डोठ्याङ्ग पर्ने आशङ््का उब्जियो मनमा । यही सन्देहको वर्षा र झञ्झावातले पुत्ररत्नको दिमागमा अझै अर्को पहिरो चलायो ।
पहिलेको जमाना अहिले रहेन । उनले नेपालभित्र पनि कल्पवासी अखडाहरु हुन सक्छन् भन्ने हिसाबले इन्टरनेटमा सर्च गरे । हरिद्वार हृषीकेष वृन्दावन वनारसआदि तीर्थकै स्तरमा नेपालका वाग्मती गण्डकी नारायणी किनारमा पनि कल्पवासीको लागि आश्रम खुलेका रहेछन् । अनेकन प्रौढ उमेरका नारीपुरुष त्यहाँकै आश्रमहरुमा स्वतन्त्रपाराले आरामपूर्वक विश्राम लिँदा रहेछन् । राजधानी र अरु ठूला शहरभित्रै पनि मनग्गे पैसा तिरेपछि सवै साधनस्रोत सम्पन्न विश्राम गृह याने उत्तरआधुनिक कल्पवासी आश्रम पाइँदा रहेछन् । मामूली लाग्ने यो तत्वज्ञान यति छिटै आविर्भाव भएपछि थप जानकारीको लागि डिजिटल खोजखवरको सहारा लिए । नदी किनारबाहेक पनि धेरै पेइङ् वृद्धाश्रम र असाइलम सेण्टर रहेका भेटिए । आफू तीर्थतिर नलागी तीर्थ नै आफैंतिर धाउने सुव्यवस्थाको छनक पाए उनले । यसले त उनलाई राम्रै राहत पाएको अनुभूति भयो । त लाग्दो रकम तिरेपछि वृद्धाश्रममा पनि घरमैजस्तो प्रौढ नागरिकको हेरचाह गर्ने व्यवस्था भएको जानकारी पाएपछि आनाकानी नगरी एक दिन पिताश्रीलाई अलि गतिलो चैं आश्रममा लगेर विश्राम गराए ।
पहाडफेदीको नौलो ठाउँ, सफा हावापानी, नौला मान्छेको संगत आदिइत्यादि । एउटै आश्रम भिन्नभिन्नै घरभित्र संपन्नजस्ता देखिने परिवारबाट आएका भालेपोथी बरोबर । नारीपुरुषका उस्तै साइज र संख्यामा बस्ने समानान्तर संरचनाका ओल्लोपल्लो कवलका छुट्टाछुट्टै आवासगृह र हावा खेल्ने फराक घमाइला बरण्डा । खानपीनको लागि सामूहिक भान्छाकोठा, सफासुग्घर बेडबिस्तरा । होष्टेलवासी सहशिक्षालयका कलेजस्कूले केटाकेटीकै आभास भयो उनलाई । गएकै दिनदेखि पल्लो कवलपटिका चुरापोतेसहितका छिमलछिमलका कल्पवासी समूहको रङ्गीन दृश्यले पिताश्रीलाई विधुर हुनुको एकाकी र नियास्रोपनबाट पनि राहत मिलेझैं लाग्यो । त्यसो लाग्नु हुन्थ्यो, हुँदैनथ्यो छ्यानब्यान गर्नेतिर ध्यान गएन । बृद्धाश्रम त नभनौं । ज्येष्ठनागरिक शिविर आएपछि अलिक समय त राम्रैसग बितेथे दिनहरु ।
आश्रममा विहानै आउने योगगुरुको निर्देशनात्मक प्रार्थना, योगाभ्यास, ध्यान र साधनामा व्यस्त रहँदै र केही समय विहानी पदयात्रामा पनि चलायमान बन्दैगए । दिउसोको फुर्सदमा महाभारत पुराणका ठेली पढेर असारसंसारभित्र सार खोज्दै बित्ने भए । तर यो जिज्ञाशु पारा दिगाे रहेन । अलि दिनपछि नै त्यो सुवानको बोलीवचन अनि त्यो न्यासध्यानप्रेरित सक्रिय शान्त जीवनशैली अजानमै बदलिँदै गयो । उनको भद्रता र पाको उमेरको कदर गर्दै उनलाई केही वेर कम्पाउण्डबाहिर डुलफिर गर्ने अनुमति पनि प्राप्त भयो । कोठाभित्रै बसिरहन अलि बोर लागेपछि आश्रमका सुपरिवेक्षकसँग अनुमति लिएर कम्पउण्डबाहिर यताउताका टोल गल्लीतिर एकाकी पैदल चल्न थाले । दैनिक दुइतिन किलोमिटर वरपरका खाली पार्क र वनबुट्यानतिर डुलफिर गर्दै फर्कदै गर्ने क्रम बस्यो । यसै मेसोमा केही दिनपछि आवतजावत गर्ने सडककिनारका चियापसल र होटेलतर्फ पनि उनको मन चञ्चल भएर लाइन मार्न पो थाल्यो ।
आफ्नै खल्तीभित्रको मनग्गे खर्चले उमेर र कल्पबासीको विभेद अनि मर्यादाक्रम पनि भनेन । बेलुकी प्रहरका यात्रामा अलिअलि गरेर उनी रोमाण्टिक बन्दैगए । यताउति पल्याक पुलुक हेर्दै एकलासजस्तो ठाउँ भेटेपछि सानातिना सुरालयतिर फुत्त छिर्न थाले अनि साँप्रा सुकुटी आम्लेटआदि स्न्याकको साथ लोकल ठर्रा नामक विजुली पानी एकदुइ सीप लगाउँदै मनभरी सन्तोष र मुखभरी पानपराग हालेर आश्रम फर्किन थाले । केही दिन त अलि ढिलो गर्दा पनि उनको उमेर र हैसियत संझिएर पाले पहरा र सुपरिवेक्षकले समेत पत्ता पाएनन् । तर सन्ध्याकालमा समानान्तर रहेको पल्लो महिलाकवलतिर आँखा लगाएर जब उनी किशोर कुमारका पुराना रोमाण्टिक हिन्दीगीत गुनगुनाउन थाले अनि पछिमात्र पालेपहराका आँखा परे । यता पिताश्री भने विहानी नुहाइधुवाइ, कपडा फेरफार र ध्यानशिविरको भेटघाट अनि भोजनको समयमा हुने सन्निकटताले कोही कुनै उनको मनभित्र विस्तारै बास बसेको अनुभव गर्न थाले ।
उनीजस्तै कल्पवासी महिलातर्फ दृष्टिहरु केन्द्रित बन्दै गएपछि अलि अलि गरेर पोल पनि खुल्दै गएछ । आश्रमका सुपरिण्टेण्डलेसमेत चाल पाएपछि एकदुइपटक सम्झाए र कोठाभित्रै बस्ने आदेश दिए अनि आश्रमको नीति नियम र मर्यादापालनबारे कडा निर्देशन दिए तर उनको निरन्तरको अस्वाभाविक हठी व्यवहार र इन्कारी बयानपछि आजित भएका सुपरिण्टेण्ड पनि नयाँ उपायमा लागेछन् । अनि एक दिन यस्तो पनि भैदिएछ “पिताश्री यसरी मांसमदिरा सेवन गर्नु कल्पवासीको सुकर्म हो र ?” आफ्नै अगाडि कुर्सीमा बसेका पुत्ररत्नको प्रश्नले उनी एकाएक छाँगाबाट खसेजस्ता भए । भ्रम हो कि यथार्थ ? उनले आँखा गाडेर हेरे । यथार्थ रहेछ । “हँ न यो एकान्तको सुरालयमा कताबाट आइपुगेछ यो दसाहारी ? बाँचचुञ्जेल ज्यानजाला नछोड्ने भो लूतो लागेर” मनमनै भन्ठान्दै पिताश्री पनि लवस्तरो पाराले फिस्स हाँसे । जवाफ दिएनन् ।
“पिताश्री ? घरमा सवै परिवार नियास्रिएर चौपट छ । केटाकेटीले त झन् बाबाश्री खोजेर बसीखप्नै दिएनन् । म हजूरलाई लिन आएको । आश्रमका वार्डेनले पनि दिनदिनै मोवाइल लगाएर निन्दा चुक्लीका अप्रिय कुरामात्र सुनाउन थाले अनि पिताश्रीलाई अन्तै लैजाऊ भन्याभन्यै गर्न थाले । दुइचार पटक त उनका कुरै सुनिन मैले । तर आजित भएपछि केही लागेन । जाउँ घर । अलि दिनमात्रै भए पनि छोडौं यो कल्पवासको बसोवास ।” पुत्ररत्नका बेसारे कुराको जवाफ दिने सुर त सुरापानले मज्जैले बढाएकै थियो । तर आफैं बसीआएको वृद्धाश्रमको इन्चार्जसँग नै वैरभाव गरेर त्यसैमा बसीरहनु पनि हिन्नेरीपनको पराकाष्ठा नै ठाने उनले । केही बोलेनन् । उनलाई भेट्न आउँदैखेरी पहिले नै आश्रमबाट आफ्नो सामान बुझेर गाडीमा राखीसकेँछन् छोराश्रीले अनिमात्र यतातिर खोज्दै आएका रहेछन् । त्यतातिर फर्किने काम पनि रहेन ।
यता छोराश्रीले उठाएर गाडी चडाएपछि मधुर मदको मस्तीमा धर्याङ्धुरुङ्ङ गर्दै बल्लतल्ल अगाडिको सिटमा ज्यान बिसाए । अडेस लागेका पिताश्रीले गाडीको गतिसँगै मज्जैले घुरेर आनन्दपान पनि गर्दै गए ।
०००
९८४१६४७१८९
नयाँ वानेश्वर, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest









































