नरेन्द्रराज पौडेलमालाको कमाल
नेपाल भित्रिदैमा अनौठो मानवाकृति फेला परेकोले पनि यतिखेर खुशीले उनको मन चङ्गा बनेर उड्दै थियो । खुट्टा भुइँमा थिएनन् । अर्थात् ट्याक्सी चडेर उतिबेरै तारे होटेलतिर कुलेलम ठोकिसकेका थिए ।

नरेन्द्रराज पौडेल :
गोदावरी सयपत्रीका पत्रैपत्रे पहेंलपुर माला ।
बेगनबेली लालुपातेका राताम्मे माला ।
बेली, चमेली, नीलकमलका मगमगाउँदा वासनादार माला।
कहिल्यै नवैलिने दूबो मखमली र अझ रूद्राक्षका अजम्मरी माला।
यस्तै यस्तै मालैमालाको गोदामभित्रबाट पिलिकपिलिक आँखा घुमाइरहेको, मुख चलाइरहेको अनौठो थलचर देखेर विदेशी पर्यटक छक्क परेछन् । नौलो ठाउँ । पहिलो यात्रा । उत्तर पिटरबर्गदेखि दक्षिण जोहान्सवर्गसम्मको भ्रमण गर्दा उनले कतै पनि यस्तो अनौठो प्राणी देखेका थिएनन् रे। आजसम्म नदेखेको अनौठो प्राणीको दृश्यले एक पटक झसङ्ग झस्किएछन् । आज संयोगवश भन्ने कि वियोग विपदाले छोएर भन्ने उनको लागि अनौठो जनावरको साक्षात्कारको संयोग परेछ ।
यता उनी पर्यटकमात्र नभएर नेपालमा पाइने विशेषखाले जीवजन्तुको अध्ययन गर्न आएका जीवशास्त्री पनि परेछन् । काठमाण्डू विमानस्थलमा उत्रिंदैमा देखिएको त्यो अनौठो दृश्यले उनलाई मनमनै कुतकुती लागेछ । लागेको कुतकुती थेग्न नसक्ता एक्लै हाँस्न थालेछन् । हाँस्दाहाँस्दै मित्रभित्रै जागेको खुल्दुली खेप्न नसकेर अध्यागमन कार्यालयको डेस्कमा पासपोर्ट बजार्दै सुध्याएछन्-
मिस्टर नेपाल । भन त्यो फूलको गोदामभित्र छोपिएर एकातार आँखा घुमाउँदै मुख चलाइरहने के नाम गरेको जीवात हो ? यसले केही काम पनि गर्छ कि देख्नको डाल खानको कालमात्रै हो ?
पर्यटकको प्रश्नले अध्यागमनका कर्मचारी झन्डै बेहोस बन्न पुगेका । हातका औलाले आफ्नै ओठ थपथपाएर चुपचुप भन्दै डराएका मृगनयनले पर्यटकको तलमाथि हेरेछन् । अनि साउतीको पारामा कानैनिर मुख लगाएर फुस्फुसाएछन्-
‘मिस्टर पर्यटक ? हाम्रो देशमा आएर त्यस्तो कुरा नगर । उनी कुनै जीव जीवात होइनन् ।’
के त उनी प्रेतात्मा हुन् त अकाल मृत्युमा परेका । हाम्रो देशमा अक्टोवर महीनाभरि नै भूतमेला लाग्छ । चाइना, सिङ्गापुरमा पनि सेप्टेम्बर महिनामा यस्तै पितृमेला लाग्दोरहेछ । त्यस्तै हो कि यहाँ पनि ? अर्थात् अनौठा प्राणीहरूले धरतीधाममाथि स्वच्छन्द विचरण गर्ने कुनै मेला लागेको छ कि याहाँ पनि ?
‘होइन पर्यटक । प्रेतात्मा त उनी हुँदै होइनन् । जीवात्मा नै हुन् ।
अनि यो भूतमेला पनि होइन । यद्यपि बाबुआमा कसैको क्रियाकाष्ठा नगरेर प्रेतात्मा पाल्ने र त्यसलाई साधेर ठूलो कुर्सीमा खुट्टा हाल्नेको यहाँ कमी त छैन। तर उनी आफै डाइरेक्ट प्रेतात्मा चाहिँ हुँदै होइनन् ।’
अधिकृतको खुलासाले पर्यटक झन् अलमलिएछन् । अनि अझै खुल्दुलीपूर्ण लवजमा प्रश्न गरेछन्- यो पनि होइन त्यो पनि होइन भन्छौ। के समुद्रभित्र उम्रने, बढ्ने आधा जनावर र आधा वनस्पति जस्तै जमिनी जेलिफिस हो त त्यो ?
त्यो त झन् हुने कुरै भएन । खडेरीले मरूभूमीकरण हुँदै गएको हाम्रो देशमा त्यस्तो जेलीफिसको कल्पना गर्नु पनि अनौठो र असंभाव्य कुरा होइन र ?
अधिकृत आफै प्रश्नमा उत्रिएपछि पर्यटक अझै अन्योलग्रस्त बनेछन् र थप जिज्ञासा राख्ता भएछन्- त के हो त त्यो ? कि मालाको बोट हो ? मान्छेकै आकारको वनस्पतिमा फुल्छ माला यहाँ ?”
होइन, झन् हुँदैहोइन् । छेउटुप्पा हाँगाबिँगा नभएको वनस्पति कसरी हुन्छ र ? बोटबिरूवा रूखवृक्ष ठुटामुढा पोथाझाङ आदि कुनै केही पनि होइन त्यो । अधिकृतको जवाफोक्ति थियो यस्तो ।
के मालाको भारी बोकेर बसेको खसी उँट केही हो त त्यो ? भारवाहक भाँडो या भरिया जनावरको रूपमा प्रख्यात टाँगन घोडा राँगो गधा खच्चरमध्ये केही हो त ?
पर्यटक अलि झर्किएझै गरेर मनको खुल्दुली खुलस्त राख्न थाले । उनको प्रश्नले थर्कमान भएका अधिकृत मेसो मिलाएर भन्दैथिए- होइन त्यस्तो डरलाग्दो प्रश्न नगर पर्यटक । सीधै जवाफ दिँदा हाम्रो जागिर भैड्खारोमा जान सक्छ । त्यो तिमीले भनेजस्तो मालवाहक टाँगा, गाडा, खच्चर, गधाखाले चौपाया त झन् हुँदैहोइन। देख्तैनौ दुई खुट्टा टेकेर उभिसेको । दुई हात लम्काउँदै अनुहार चम्काउँदै फरर बोलिसेको ?
‘निकै सम्मानजनक शब्द बोल्यौ तिमीले त । के तिम्रो देशका कोही भीआइपी हुन् कि क्या हो ? अलि शान्त बनेर पर्यटकले सोधेछन् । वास्तविकताको अलि नजिक आइपुगेको देखेपछि अधिकृत पनि औकात अनुसारकै फुर्ति लगाउन थाले – सुरक्षाको कारणले भनिहाल्न त मिल्दैन । तर तिमी अहिले नै जानकारी लिन चाहन्छौ भने थोरै फिस लाग्छ । रसिद मिल्दैन । ओके ?
नयाँ जनावरको जानकारी लिन आतुर थिए पर्यटक पनि । अधिकृतको प्रस्तावले उनी लिनदिनको पर्वाह नगरी उल्टै खुशी भएर रातापीरा देखिए । छोटो वार्तापछि कामकुरो टुङ्गो लागेर अपुङ्गो भोजन गरे झै मुख मिठ्याउँदै पुनः प्रश्न पधार्न थाले- मिस्टर नेपाल मालाको गोदामभित्र लुक्ने कस्ता भीआईपी हुन् त उनी ? साँचो साँचो भन न प्लीज ।
‘हाम्रो देशका आइपी, भीआइपीमात्र नभएर भीभीआइपी अझै खाँटी शब्दमा भन्दा नेता नामक उत्तमपुरूष पो हुनुहुन्छ उहाँ त । भर्खर विदेशबाट फर्कनुभएको छ । दुईचार दिन यता देख्न नपाएर औताएका उहाँका मृत्य, अनुचर परिचरहरूले सकपकाएका हातपाउ पसारेर मालैमालाले बडी नै छोपिदिएका छन् । उहाँको अनुपस्थितिले निस्ताएका चाकर मृत्य परिचर लगायत आधिभौतिक नन्दीभृङ्गी गणहरूले पाउस्पर्श गरेर पहिराइदिएका अनगन्ती रङ्गीचङ्गी खादा मालाहरूले शिरदेखि पाउसम्म छोपिनुभएको छ । अहिले आफ्नो सफल विदेश यात्राबारे कार्यकर्ता र पत्रकारहरूलाई जानकारी दिँदै हुनुहुन्छ । त्यसैले चितुवाको पाराले शिकारी शैलीमा आँखा बलेका र अजिङ्गरे शैलीमा उहाँको जिब्रो चलेको देख्न पाइन्छ ।’
माला ओढ्ने, माला नै ओछ्याउने अनि मालाभित्रै लुक्ने तिम्रो देशका कस्ता उत्तमपुरूष हुन् त ती ? पर्यटकको विस्मयपूर्ण जिज्ञासा ।
‘यी पुरुषमध्ये पनि अति उत्तम चाहिँ मनुवा हुन् । असला माछा जस्तै सुन्दर शरीरपात्र भएका । राम्रा भएर नै राम्रै लुगा लगाएका । राम्रो गद्दीमा आरूढ भएर सुविधाभोगी कर्मले बनेका । अनि यति बेरचाहिँ देशको बजेट चट पारेर विदेशका सुन्दर शहर घुम्दैफिर्दै स्वदेश फर्किएका र अझै राम्रो मालाभित्र लुकेका । खुलासा खोल्दै गए अधिकृत ।
मिस्टर पर्यटक । हाम्रो देशमा चलेका पुराकथा अनुसार सत्ते जुगका लक्ष्मीनारायण अनि नारद ऋषिले लगाउने सुन्दर माला, त्रेता युगका भगवान् रामचन्द्र, द्वापर युगका भगवान कृष्णका मनोहारी माला, संहारकारी शिवको सर्पमाला अनि रतिकामदेवले लगाउने बेलीचमेलीका वासनादार माला । यस्तैयस्तै यिनै खाले रङ्गीविरङ्गी मालाहरूको धरोहर थाम्न बुनेका नाना नौथरी विकासे माला ओडेर अहिले हाम्रा उत्तमपुरूष विराजमान हुनुभएको छ ।” अधिकृत थप्तै गए
‘विकासे माला भन्यौ । अर्थ खुलेन ? पर्यटकको थप प्रश्नमा अधिकृत अझै मुखर बन्दा भयाे ।
हो त, विकासे माला ! अर्थात् देशको आर्थिक सामाजिक विकासको सट्टा मालिक- पूज्नको लागि उनिएका विभिन्न आकार प्रकार घनत्व र आयतन बोकेका माला । पाउ छटाकका माला। किलो धार्नीका माला ।
मुरी क्विन्टलका माला । अनि चुरेभावर हिमाल पहाड, तराइमधेस थरीथरी ठाउँठहर- दल दलालका परिपरिका नौथरि माला। सौन्दर्य र सम्मानका पुरातन प्रतीक मालाहरू अहिले बडेबडे कापुरूषहरूका असक्षम, नामर्द र कुरूम अनुहार छोप्ने साधन बन्नपुगेका छन् । त्यसै प्रयोजनको लागि हाम्रो देशमा अहिले विकासे मालाको बिगबिगी चलेको छ । बुझ्यौ ?
के हो विगविगी भनेको ? अलि बुझिनँ । विस्मयपूर्ण जिज्ञासा थियो पर्यटकको ।
सिद्धान्त, निष्ठा, विचार-माला । जनताको भोक, भोजन, भाषण, प्रवचन-माला । रात, विहान, साँझ, मध्याह्न, प्रहरॅ प्रहर-माला। यही हो बिगबिगी भनेको । उत्तमपुरूष र मालाको आँधीबेरीपूर्ण सम्बन्ध छ हाम्रो देशमा । यसबारे अझै केही कुरा बताउँ पर्यटक ?
अधिकृतको प्रस्ताव । त्यसमाथि पर्यटक अझै रुचिपूर्ण समर्थन र ध्यानपूर्ण श्रावणमा लीन भएछन्- ‘एक दिन पुराणयज्ञ चलेको ठाँउमा आमन्त्रित अतिथि बनेर उत्तमपुरूष टुप्लुक्क पुग्नुभएछ । त्यहाँ भगवान् र पण्डितको मात्रै खातिरदारी गर्ने भक्तहरू देखेपछि मालाविनाको बुच्चो गर्धन लिएर अन्योलपूर्ण अवस्थामा अलमल्ल बस्नुभएछ । तर अलि बेरमै पण्डित, भक्त सबै जना गानाबजाना सहित नाचगानामा व्यस्त भएको मौका छोपेर भगवान्लाई चढाएको थुप्रोबाट दुईचार माला थुत्त थुत्नुभएछ र फुत्त गलामा छिराउनुभएछ । बल्ल सास आएछ बिचरा उत्तमपुरुषलाई । लामों स्वाँ तान्दै डिस्कोपुराणमा सहभागी भएर छमछम नाच्न थाल्नुभएछ भक्तहरूकै नेतृत्व गरेर ।
‘अर्का उत्तमपुरूष अर्को कुनै एक दिन ठूलै मान्छे बितेर शवयात्रामा सामेल हुन पुग्नुभएछ । अगि अगि शव बोकेको खुला गाडी, पछि लागेको मलामीको ताँती । बिचरा उत्तम पुरुषलाई त्यहाँ पनि मालाविन्द्रको खाली गर्धन लिएर जनसमुदायमा हेलमेल हुन मुस्किल परेछ । अनि अर्थीकै छेउमा खुसुक्क घुसिएर मालाको अभिनन्दन ओडौ ओडौं लागेछ । तर त्यसो गरिहाल्न समुचित नभएकोले अर्कै तर्तीप निकाल्नुभएछ । अर्थात् शोकाकुल मलामीका आँखा छलेर अर्थीमाथि चढाएका मालामध्येबाट दुईचार फुत्त उछिट्याउनुभएछ र यताउती पल्याकपुलुक हेर्दै आफ्नै
गलाभित्र फुत्त छिराउनुभएछ । एकदुई जनाले देखिहाले पनि उत्तमपुरूष हुनुको ज्याद्रो र लवस्तरोपन पसारेर ङिच्च डिच्च दन्तप्रदर्शनसहित लाज पचाउ कार्य सम्पन्न गर्नुभएछ ।
एक दिन अनुचर परिचरहरूलाई प्रशिक्षण दिने प्रयोजन बोकेर सुदूरपहाडी गाउँतिर लाग्नुभएछ । अनुयायीहरूको त्यहाँ पनि दिनभरि धेरैथरी कार्यक्रमहरू भए । तर फूलका गुच्छासम्म मिले पनि मालै भने कतै मिलेन । बेलुकी कार्यकर्ताको घरमा बास बस्नुभएछ । अनि त्यहाँ आफू सुत्ने व्यवस्था भएको बार्तलीको भित्तामा केही चिज झुन्डिएको अस्पष्ट वृत्ताकार देखेर खुशीले गदगद बन्नुभएछ । बिजुली बत्ती नपुगेको ठाउँ हो कि लोडसेडिङको समय परेको हो त्यति ख्याल गर्नुभएनछ । बेलुकी खानपीन गरेर सुते पनि माला नमिल्नुको दिनभरीको औडाहा शान्त पार्न राती नै भित्तातिर लम्किएर त्यही वृत्ताकार पदार्थमाथि धावा बोल्नुभएछ । अनि अलिक सानो आकारको गेडागेडा परेको चीजलाई गलामा छिराउनुभएछ । अँध्यारो रातमा ठम्याउन नसक्ता माला सम्झिएर गलामा भिरिदिनुभएछ । अनि रातभरी आनन्दमा मधुरो निद्रा पनि घुरिलिनुभएछ । सन्तोषपूर्ण रात बिताएर बिहान बिउँझिदा त घरकी कान्छी बुहारी पोते खोज्दै आइपुगेकी । बिस्तारपूर्वक खुलासा गर्दै गए अधिकृत ।
कस्तो अचम्मको सोख हो त त्यो ? मालाभित्र गड्यौला झै बेरिनुपर्ने ? कस्ताखाले उत्तमपुरूष हुन् त यी? पर्यटकको आश्चर्यपूर्ण थप जिज्ञासा ।
हो ठीक सोध्यौ। यी र यस्तै प्रकारका अनेकौ उत्तमपुरूषहरूको गोदामै छ हाम्रो देशभरी। अझ धेरैजसो उत्तमपुरूषमा त मालाको भारी बोकेर मान्छेमाथि चड्दै सवारी चलाउने जनवादी सोख छ ।
अधिकृतको खुलासाले पर्यटक अझै विलखवन्द पर्दा भएछन् । कहिल्यै नसुनेको शब्दसंहिताले खुल्दुली जागेछ क्यार ।
‘मान्छेमाथि मान्छेको सवारी ? कसरी ? कुहिराको काग झै हराउदै अर्थवत्ताको खोजीमा पुनः प्रश्न पर्गेल्दा भएछन् पर्यटक ।
हो त यहाँका क्रान्तिकारी कित्ताका महानायकहरूलाई अझै पनि परापूर्वकालमा चलेको पाषाणयुगीन मानवसवारीको जनवादी सोख छ ।
बर्बरयुगीन त्यही सोख पूरा गर्न कतै खोलाखोल्सा भेट्यो कि, मान्छेमाथि घोडा चढेर पैयाँ ठोक्नुहुन्छ । कोर्रा बर्षाउँदै बुर्कुसी मारेर होलैसँग फटाफटी खोलाखोल्सा तर्नुहुन्छ । जनतान्त्रिक कोमल पाउ जमीनमा पर्ने डरले वात्स्यायनवर्णित क्रिया र उपक्रमहरूको विविध खाले शैलीमा भक्त भरियाहरूमाथि लबिधरे काया सर्लक्क विच्छ्याइदिनुहुन्छ । खोल्सा खहरेको छिपछिपे पानीमा जैघार तर्नुको विशिष्ट गौरवशाली मौकाको उपयोग गरेर क्रान्तिकारी आस्था दर्शनमाथि थप सुनौलो इतिहास पनि रच्नुहुन्छ । अनि चट्टान, ढुङ्गा, पहरामाथि त्यही इतिहास कोतर्नुहुन्छ । मठ, मन्दिर, शालिक, भित्ता, पाखाहरूमा त्यही गौरवशाली तस्वीर अङ्कित्त गरेर मालाधारी हुनुको कमाल चरित्र प्रदर्शित गर्नुहुन्छ । मान्छेको ढाडमाथि बाह्रमाने लादो बिसाएर हटहट गर्दै घोडा बड्काउने शैलीमा शिरपाउ कज्याउनुको अनुपम आह्लादपूर्ण क्षणलाई इतिहासको स्वर्णपङ्क्तिमा उतार्नुहुन्छ ।”
मालाको कमालबारे फेहरिस्त सुन्दै चित् खाएका पर्यटक अधिकृतलाई गाँजेर स्पटीकरण माग्न थाले कुनै भविष्य सन्ततिले वर्तमानको आलेख उधिन्यो भने तिम्रो देशको पूर्वइतिहास कस्तो रहला ?
‘म खाउँ मै लाउँ सुखशयल वा मोज म गरूँ । यस्तै रहला । लेखनाथजीले भनेजस्तै त रहला ।
अधिकृतको उत्तरले निरूत्तर बनेका पर्यटक अनौठो जन्तुबारे अझै केही समय थप अध्ययन गर्ने मूडमा देखिए । नेपाल भित्रिदैमा अनौठो मानवाकृति फेला परेकोले पनि यतिखेर खुशीले उनको मन चङ्गा बनेर उड्दै थियो । खुट्टा भुइँमा थिएनन् । अर्थात् ट्याक्सी चडेर उतिबेरै तारे होटेलतिर कुलेलम ठोकिसकेका थिए ।
यता नौलो सुनौलो भावुक पर्यटक भेटिँदा अधिकृत आफै खुशीले गदगद थिए । साथै पर्यटन प्रवर्धन गर्ने क्षेत्रको नमुनाखाले अभूतपूर्व शुरूवाती सफलतामा खुशीले कोक्किँदै पनि थिए ।
०००
विमाेचनकाे बिगबिगी (२०७३)
Subscribe
Login
0 Comments
Oldest








































