साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आन्दोलनका फुरौला !

यही त हो मज्जाको कुरा । बाटो हिँड्ने सवैले मेरो अनुहार ताकीताकी नियालेर जोगाउँनै सास्ती । कोही त अझ नसालु नयनका घुँएत्रा छोडेर नगीचका रिसोर्टतिर इसारा गर्दै, गरौं भन्दैथिए मस्ती ᴉ

Nepal Telecom ad

नरेन्द्रराज पौडेल :

रचनागर्भ
“तपाइँ उमेरले डाँडो काटीसकेको खस्रोफुस्रो झुसेबारुलो बिर्साउने कित्तामा पुगीसकेको भए संझनोस् तपाइँलाई अव आन्दोलनले बोलाउने बेला भएछ । यता लागेपछि तपाइँ उमेरको बेजो भजाएर वरिष्ट ज्येष्ठ हुनुको नाताले एकाएक सिरानको कौचमा विराजमान बन्नुुहुन्छ । आउरेबाउरे,धुपौरे सबैले तपाइँलाई अनुभवको धरहरा, बुद्धिको खजाना,चिन्तनको चौतारो बनाएर भैरमपाती लगाइदिन्छन् । पञ्चामृत फलफलूल नैवेद्य र दक्षिणासहित धूपधुवाँर पनि गर्छन् । दिमागका तन्तु बाहिरै देखिनेगरी तान्द्राङ्तुन्द्रुङ्ग बेरिएका र जोड जोर्नी खुकुलिएका भएपनि तातेताते थिरैथिरै गर्दै डोहोर्याएर अगि लगाउँछन् । तपाइँलाई नै थिङ्कट्याङ्क बनाएर ज्ञानगुनका ट्याम्का बजाउउँछन् । देश नै चाटचुट्ट छोडेर विदेश लाग्ने तपाइँका छोरानातीको मेख मार्दै यहीँ देशभित्रै सह्यारसुसार गर्ने सत्पात्र भेट्नुहुन्छ । अनि नयाँ चाकरहरु जव भेट्नुहुन्छ तव हावामा लोप्पा खुवाएर विदेश जाने आप्‌mना सन्तानहरुको चैं खेदो खन्नु हुन्छ । भएनभएका तिनका अवगुण बखानेर नयाँ सुसारेका कान भर्नुहुन्छ !

नपाउनु भन्नु केही छैन यहाँ तपाइँलाई । ज्यान खँजाहा छ भने नूरानी तेल आइडेक्स जेजे चाह्यो मालिस गर्ने पात्र पनि पाउनुहुन्छ । सास फेर्न गाह्रो भए अक्सीजनको पाइप रेडी । साइटिकाको सिकायत भए दरो अडेसको कौचमा विरजमान भएर भाइटिकाको मेजमानीसहितका उपचार भेट्नु हुन्छ । खोकी दम, बहुमूत्रजस्ता रोगले मैत्रीपूर्ण सम्बध राखेका छन् भने संझनोस् अव आन्दोलको निगारले सवैखाले बिगारजति चट । त्यस्तै सत्कार्यमा चुनाव ताका नेताहरूले नै दशौंपटक अवश्य गरीछाड्ने आस्वासन दिएर भोट माग्नुपर्ने भएकाले त्यसमा हस्तक्षेप गर्नु पनि बालुवामा पानीको निक्षेप बडाउनुजस्तै हो । यसोगर्दा तपाइँमा चकलेट माकमुक पार्ने , गगभित्रका नयन नचाउने सोह्रवर्षे बैंसालु पनको आविस्कार हुन्छ । अनि घरमा कामधन्दा छोडेर आन्दोलमा सिँगारपटारसहित उपस्थित भएका बेरोजगार छाउराछाउरीसंग आँखैआँखामा छेडखानी र रामरमिताका बात भजाएर चौपट ।”

विषयप्रवेश
“आन्दोलनका फुरौला पाक्तैछन् रे ! कहिले सिफलचौर त कहिले तीनकुने । कहिले बल्खु अनि कहिले ढल्कुपाखा । तपाइँ किन बेलैमा फुरौला टिप्न नगाको ? ” पत्नी लस्करी मैयाँले स्पष्टीकरणको भाषामा ललकार्नु भयो । “यी ठिक परेँ नि त अव जानलाई । पहिले त मैले कहाँ थाहा पाएँ त अनि ? विहान पो टी भीमा खवर आएर था पाको । तिमीले बेलैमा जानकारी गराउँनुपर्थ्यो नि । अलि तयारीसाथ जानुहुन्थ्यो ।” पतिले व्यहोरा बिसाउनुभयो । “चौवीसै घण्टा पत्ती फिटेर आसन जमाएपछि गतिला कुरा बेलैमा कहाँ थाहा पाउँछौ त अनि ? ” पत्नीका सदावहार अर्थुङ्गे कुराले कन्सिरीमै च्वस्स बिझायो पतिलाई “फुरौला टिप्न जाँदा आफ्नो प्यारो ज्यान धुस्न भयो भने ? आन्दोलनजस्तो पर्वमा सामेल हुन गइसकेपछि पछाडि के बस्नु, जुलूशको अग्रभागमा उफ्रिएर आन्दोलकारी जमातलाई जगाउँदा आँशुग्यासका गोलाले दिउसै आकाशका तारा देखाउँदै लैजान्छ थानातिर भन्ने डर ला को ?”

“घरमा चौवीसै घण्टा वायु उत्सर्जन गर्दै बकम्फुसे बातमा गफिदै पत्ति फिटेर बस्ने ! न पसल राम्रोसंग चलाउने, न अलि गतिला मान्छेको संगतै गर्ने । अरु सानातिना उद्योग व्यापार पनि केही नगर्ने ! तीनसाँध तितीन माना डकुल्याएपछि पेटको सोझो गर्नु पर्दैन ? त्यो पनि छैन । टोल छिमेकका मान्छे बरालेर बस्नुभन्दा आन्दोलनमा लाग्न कम्मर कस्नु कताकता बेस । त्यति पनि छैन हजूरलाई होस् ? ” पत्नीका वाग्वाण पतिदेवलाई रामवाण सावित भए । कता जाउँ के गरौं गर्दै दिनरात विताउने पतिदेव पत्नीको वचनमा एकाएक बकुल्लाशैलीमा ध्यानमग्न बने । छोटोछरितो संवादतर्फ मुखरित भयो मन ।

तिम्रो स्वामी हाजिर छ मैयाँ । जता भन्छ्यौ उतै पैयाँ ठोक्न तम्तयार ।” पतिको नम्र वचन । “पैयाँ ठोक्ने त घोडा हुन्छ , के तिमी पनि …. ” अरु के बनाकी छौ त तिमीले ? ” “ओ हो लौन नि मैले नै कत्ति न सकसमा राखेजस्तो अनि आफूले चैं संसारै बोकेर धानेजस्तो कुरा गर्छौ वा ! परिवारको पूरै भार धान्या छु भन्ने ठान्या छौ कि क्या हो ? मैले रातोदिन दोकान कुरेर नबसे मुखाँ माँड लाग्दैन । होस्‌न त भनेर एक दिन तिम्रो जिम्मा छोडिदियो भने कमाइ जति तास र दुरुमपानीमा जान बेर मान्दैन । छोराछोरीको स्कूल फी, पोसाक, चाडबाड, पित्रृ देवकार्य त अझ परै जावस् । यस्ता बहादूर पति त कसैका पनि नहोलान् । ”मज्जैले दिमाग टट्टाउनेगरी खस्रा कुराले चिथोरिन मैयाँले । संवादको शैली पनि खस्रिँदै पातलिँदै हजूरबाट तिमीतिर उँधौलियो । “किन यै लुइताँनेको पछी पसारो परिराको त ? कोही पौरखी पोई सुमर्न अन्तै बाटा लाग्नुपर्थ्यो नि बेलैमा । किन नसकेको ?” डराइडराइ मुखवाट भँडास उछिट््ि‌टयो पतिको । एक छिन घोचपेचकै प्रश्नोत्तर चले दुवैका । तर ती दम्पतीबीच यस्ता छेडखानीका बात सामान्यजस्तै भएकाले कतै लागेन घाचोट,कतै परेन सन्निपात । “हिँड्नेवेला साइत नबिगार प्रिये ᴉ” गँजडी शैलीमा पतिदेव भैली खेल्न थाले ।

ढीलोसम्म पतिदेव घर नफर्किएपछि लस्करी मैयाँको मनमा शङ्का त उठ्ने नै भयो । उनको आन्दोलनमा जाने मन थिएन । न जाऊ भन्दा पनि अरु काम फिट्टो नगर्ने जन्मजात बानी भएकोले यसवारे उल्टोबाट भन्नु राम्रो लाग्यो । निकै ताउरमाउर गर्दै विहानै थैलो भरेर ज्यानमा खोल भिरेर बूढा बाटा लागेका । उतिवेर उनका मोवाइल वार्ता र बडील्यागेजको चुरीफुरी देख्ता तत्काल देशमा केही नयाँ व्यवस्था ल्याइहाल्छन् भन्ने पनि भयो ।

डिग्रीसिग्री केही न भएर जागीर खान न पाएपछि बाउबराजुको खेतबारी बेचेर खोलाकिनारमा सानो तिनो किराना पसल चलाइआएको भएपनि हिजोआजका टीभी मोवाइलका अखबारी खवर र पत्ती खेलाउँदाका चित्रहरुले उनलाई रोज्जा सीप भएको राजनीतिज्ञ वनाइसके । जस्तोसुकै विषयमा पनि सटिक विश्लेषण व्यख्या गर्नु परेपनि उनी जो कोही मान्छको अगाडि तम्सी हाल्छन् । जेजस्तै कुरा भए पनि जितेरै छोड्नुपर्छ उनलाई । त्यसैले अहिले हुने बतासे आन्दोलनमा पनि उनको भूमिका अग्रणी हुनेमा शङ्का लिनुपर्ने खण्डखातिर छैनभन्ने जब्बर सोच थियो लस्करी मैयाँको ।

वेलुकी पति आउन ढीला गर्दा अर्कै सोचका रङ्गीन पर्रा छुटे दिमागमा । न आजै जनताको अवस्था फेर्ने जहडीतालको नयाँ व्यवस्था बहाल भएर नयाँ सरकारको खजानामन्त्रीको गानाबजानासहितको नियुक्तिमा परेका हुन् ? त्यसैको सपथ लिन लाग्दा ढीलो भएको हुन सक्छ । पहिलाजस्तो छोटो टापटिपे शपथ पनि कहाँ होला र ? देशकै अवस्था सुधार्ने नयाँ व्यवस्थाको खजाना मन्त्री पद न हो ? त्यसै अनुसारको सारपूर्ण विस्तृत शपथ लिँदैजाँदा रातभर लाग्ने पो हो कि ? लस्करी मैयाँका मनमा अनेकथरी तर्कवितर्कका गानुगोला हुँडोलिन थाले । लस्करी मैयाँ यस्तै तर्कवितर्कमा डुबेको बेला ढोकाबाहिर घण्टी नाउँको सुगा करायो । हत्तपत्त दौडेर पुग्दा उनै पतिदेव ढोकाअगाडि हातेरुमालले मुख छोपेर दुम्किएका ।

“आन्दोलन त उत्पातै चर्काउनुभो नि आज ᴉ दिनभरी टीभीमा भुलेकी मैयाँले एकसासमा भनिन् लस्करी मैयाँले । ढीलै भए पनि बुढो आइपुगेको खुसियाली पनि थियो अनुहारमा । “हो त निकै भयो चर्को ᴉ” पतिदेवको लुरे बोली घाइते गीजामा बेरिँदै लर्वरायो । भावमा अलिअलि थियो पन्यालो झर्को । “आमै लौन नि थोते पो देख्छु म त ᴉ अगाडिको दाँत काहाँ छोडेर आउनु भो ? विहान त्यति हृष्टपुृष्ट उज्यालो अनुहार लिएर गा मान्छे अहिले हेर लौ थोते बूढो बनेर पो आउनु भएछ ᴉ” । एकोहोरो पतिको अनुहार ताकेकी मैयाँ पत्नीको विषादयुक्त जिज्ञासु स्वर । “दिउसो घाममा च्वीगम चपाउँदा एउटा दाँतले अन्दोलनको निषेधित क्षेत्र नाँघेर छारतोस कसेछ । टिपेर हाल्न पनि असहज परिस्थतिले गर्दा मिलेन । ऊ पनि तत्काल फर्किएर आफ्‌नो घर भित्रिएन ।” पतिको विस्मयकारक मधौरु जवाफ । “होला नि अव ? ओठमा सानोतिनो घाउचोट पनि देख्छु । च्वीगमले चोट पनि लगाउदो रै छ । खै मैले त पत्याइन ।” पत्नीको अवज्ञा र अनविश्वासले दिमागका नसा तन्कायो । कन्सिरी रन्कायो । “च्वीगम हो कि पुलिस दाइसंग लाप्पा खेल्न जाँदा खस्रा हातको भेट्नु भो ड्यामकिड्याम ? ”सन्निनसर्पन पार्यो लस्करी मैयाँको थपुवा प्रश्नले । अन्तर क्रियाको सिलसिलामा पत्नीसंग रिसाएका रीतिकालीन कवि मण्डन मिश्र बनेर हुमहुम्ती परीरहे पतिदेव । लस्करी मैयाँ प्रसङ्ग बदलेर भन्दै गइन् ।

“आन्दोलमा त सदावर्त अभियान पनि घुस्या थ्यो रे नि ? ठूला दोकान मलहरूबाट सित्तै सामान घरघर लैजान पनि पाइयो रे । दुइचार वाइन, स्कचका सिसी, सिगार सिगरेट छानीछानी ल्या भए नि महँगो बिक्थ्यो । फरेन ब्राण्डका लिप्ष्टीक,क्रीम,पाउडर जस्ता बहुमूल्य सामान सजाएर राख्ता पसलको हाइट पनि डाइट पुगेको बंगूर बिर्साउनेगरी हलक्कै बढ्थ्यो । सुइचो भीक्स टिम्मुर पाखनबेद ,बोझो हर्रोबर्रो एक एक झोला ल्या भएनि हुन्थ्यो । बिके बिक्थ्यो,नबिके वरपर छरछिमेकीलाई बाँड्नुहुन्थ्यो । टोलछिमेकमा आप्‌mनो मानभाउ बढाउने कुरातिर ध्यानै दिँदौन । ट्याक्सी खोजेर दुइचार ग्यासका सिलिण्डर ल्या भए पनि दुइचार महिना आनन्दले पकाउनु हुन्थ्यो नि भान्साको सौगात । दिनभरी धक्कामुक्का खाँदै अश्रुग्यासमा सास फेर्दै हिँडेको ज्याला सम्म त उठ्थ्यो नि ।”

पतिको ज्यानतिर भन्दा पनि मालतिर गयो पत्नीको ध्यान । एक पटक फट्कार लगाउँने मर्दपारा छुटे पतिका तर सकुशल घर आइपुगेको मिठास पिएर ती आफै सामसुम सेलाए !

अर्को दिन पनि उनका आँखा छलेर पतिदेव बाहिरिएकोमा दिनभरी लस्करी मैया चिन्तामग्न बनिन् ।“ हिजो दाँत छोडाएर आए, आज आँखासाँखा फुकालेर आउने हुन् कि ? न कुखुराको फुलजस्तै गरी अण्डकोषै प्वाट्टै फुटाएर आउने हुन् । हूलमूल मारपीट चलेको बेला उनको कफल्लो देहीको के ठेगान ? यस्तै यस्तै तर्कनामा डुबेकी साहुनीको आङमा दिनभरी राम्ररी घाम पनि लागेन !

साँझमा लुसुक्क घर पसेर कुनामा दुुम्किएका पतिदेवलाई देख्तै एकाएक लस्करी मैयाँ मुखरित भइन् । “आज नाँक भाँचेर आउनुहोला भनेर डराकीे त सद्दे नै आएजस्तो छ ।” पत्नीको सोधाइलाई मुसुक्क हाँसेर मुखभरीको मौन जवाफ प्रदर्शित गरे पतिले । “हँन कहाँ हाल्न भ्याउनु भो आजै यो दाँत ?” पत्नीको विस्मय । “आज हाम्रो आन्दोलनको ई पी सेण्टर खसीबजारतिर थियो । त्यहीँ सडकछेउमा बकरे ज्यूले झक्की बोको हलाल गर्दै रहेछन् । मेरै अनुरोधमा त भन्नुपर्यो नि, सस्तै मूल्यमा त्यही बाख्रीपुत्रको मरणोपरान्तको दाँत उनैले मलाई उदारतापूर्वक अङ्गदान गरे अनि गम लगाएर टुपुक्क टाँसी दिए । अव भएन कमाल ? कताको हस्पिटल कताको डेण्टिष्ट । ”

“ओ हो कमालै गरेछौ त बुढा ?” मैयाँको हर्षले हौसिएको आवाजले पतिको मन एकाएक रौसियो । हाँसो घरभरी लहरायो । थपे कुरा पतिदेवले । अनि त के दाँतसंगै बोकाको डीएनए र जीन पनि संगसँगै सर्दोरैछ । अनुहारको चमक आँखाको सनक अनि थोतो मुखभित्र चम्किएको तेजिलो दाँतले घोर्ले बोकाको याद जगाइरहेछ । उनकै चञ्चल स्वभावले गर्दा मलाई अहिले त कता बुर्कसी मारौं, काँ जाउँ के गरौं के बोलौं के नबोलौं भएर औडाहा छुटीरा छ । सवै कुरा भन्न पनि नमिल्ने नभन्दा पनि कुरैकुरा स्याउस्याउ गरेर दिमागमा गिजोलिने । कुनै बेला शरीरमा लुगै लाउन बिर्सिएर नाङ्गै हिँडियो भने पनि (अलि अस्तिमात्रै कुम्भमेलामा नँगा साधु देखेकालें लाजचाहिँ पटक्कै नलाग्ने रहेछ । भएन कमाल ?”

सोझो पतिको उदेक लाग्दो कुराले चङ्ख पत्नी शङ्कैशङ्काको सरोबरमा डुबेर जिल्लाराम परिन् । “अरु सवै ठीक भो । दाँतमात्र औडेखौडे देखिएछ ।” पत्नीको छोटोछरितो कमेन्ट । “यही त हो मज्जाको कुरा । बाटो हिँड्ने सवैले मेरो अनुहार ताकीताकी नियालेर जोगाउँनै सास्ती । कोही त अझ नसालु नयनका घुँएत्रा छोडेर नगीचका रिसोर्टतिर इसारा गर्दै, गरौं भन्दैथिए मस्ती !”

उपसंहार
“आज कसलाई भेटेर आउनु भो फेरि ? अउदाआउँदै चियासुद्द नखाइ के लेख्न थाल्नु भयो नि ? घर फिरेपछि पनि प्रेमरसका मुक्तक र गजल फुरेर आफैं पज्जल हुन बेर मान्नु हुन्न । बोका राँगाको गजल चै न कोर्नुहोला । किन भने आन्दोलन भनीसकेपछि को कस्ता नरनारी आउछन् भन्न सकिन्न । कतै तपाइँमाथि बोका बनेल बा राँगाको बैंस पनि चडिदियो भने आन्दोलन शिखर चुम्न छोडेर तलतिरकै साहू महाजनका टाट्ना गोठतिर फनफनी घुम्न के वेर ? आन्दोलन पनि एक किसिमको छारेरोग नै भएकाले ढाडेको पुच्छर सुँघाउँदा ठीक हुन्छ भन्ने आहान चलेको छ । कुनै पत्रकारले केको लागि यो आदोलन भनी सुध्याया भने तपाइँ प्वाक्कै भन्न सक्नुहुन्छ “देशमा मूसाहरुको चकचकीले वसीखान दिएन । तिनलाई सखाप पार्ने प्रयोजनमा बूढा ढाडे बिरालाहरु उपयुक्त उपाय लागेर विरालापालन व्यवसाय गर्न लागिएको हो । शान्ति, सुव्यवस्था, सदाचार कायम गर्न र समृद्धिको सदावर्त लगाउन पनि ढाडे बिरालाहरुलाई आलोपालो भान्सामा हुलेर पाल्नु पर्ने भो ।”

तपाइँजस्ता चंख पतिले यति भनीसकेपछि नपत्याउने कुन सतीले ? अनि कुरा काट्ने कुन असत्तिले ।” पत्नीको आस्वासनयुक्त निर्देशन । संवादको लहरो लामै चलेकालेे पहरो घर्किने डर भएपछि थामथुम पार्नु बेस !

०००
९८४१६४७१८९
नयाँ वानेश्वर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
3 months ago

चाखलाग्दो

Nepal Telecom ad
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
काले र भाले

काले र भाले

नरेन्द्रराज पौडेल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
अथ श्री कोसेली महात्म्यम् !

अथ श्री कोसेली महात्म्यम्...

नरेन्द्रराज पौडेल
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
1
0
Would love your thoughts, please comment.x
()
x