साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिर्ता बजार

रमाइलो मेला भन्न सुहाउने यी रगेलामा कूटनीतिक मर्यादा नामको काफलचरीलाई भुर्र उडाउँदै विदेशी दाताहरूलाई उत्तरआधुनिक प्रकारको भक्तिपूर्ण भजन र नाचगानले भरपुर मनोरञ्जन प्रदान गरेर गोजी अँठ्याउन पाइने रहेछ।

Nepal Telecom ad

नरेन्द्रराज पाैडेल :

आमाको दाइजो। बाबुको बिर्ता। यी दुवै शब्द परापूर्वकालदेखिकै लालमोहरिया बपौती हुन् नेपाली समाजका। बाबुले आँखा चिम्लिएर स्वर्गलोकको घाम ताप्न नपुग्दै पुत्ररत्नले घरजग्गा, बैंकब्यालेन्स, सेयर, फड्के, आसामी आदि जो भएको सिरीखुरी सम्पत्ति आफ्नो नाममा नामसारी गरेर हकभोग सुमर्न पाइने।

बिनामाया, बिनाडर, बिनासुर्ता छोडी जानेको यश, कीर्ति आदिलाई सिनित्तै मेटाएर आफैं तल्सिङ बनेर धाकधक्कु जमाउन हतारिने के काइदाको फाइदा हो त यो? नसनाताको बन्धन छिन्नभिन्न बने पनि बाबुका सम्पत्तिमा रैंदालो गरेर लप्काउने त छोरै न हो आखिर? उता आमाको दाइजो भने नारीको महिमा गाउने प्रथा बढेसँगै उल्टो हराउँदै पो गयो स्यालको सिङ बनेर।

बाबुको ठामसारी हुँदै जग्गाजमिन, घरखेत नामसारी गर्न पाइने छोराबाबुको विशेष हैकम कानुनी डकैतीभन्दा केही कम देखिन्न भन्दा केही फन्दा आइलाग्ने त होइन भनेर डराउनु पनि पर्ने छ।

अनि छोरीनानीचाहिँ उस्तै उत्तिकै अधिकारसम्पन्न औरस सन्तान हुँदाहुँदै पनि हेरेर मात्र चित्त बुझाउने, त्यही पनि भाउजू बुहारीले सोझै आँखाले हेर्न दिए मात्र। नत्र भने गोविन्दबहादुर गोठालेको ‘हराएको सारी’ भन्ने कथाको मुख्य पात्र बनेर चोरीका बातखतका सकसलाई नै माइतीको बकस मानेर बस्नुपर्ने।

नारी समानताको नारा जति मौलायो, त्यति नै छोरीनानी पाखा लगाउने कामले ठाम पायो। अरू पैतृक सम्पत्ति र झिटीझाम्टा हाँडोभाँडो ककसको भाग बकसमा परेछ भन्ने चियोचर्चोमा दिमाग खर्चिनु बेफ्वाँक ठहरिने भयो। पुरुषप्रधान समाज भइदिएर होला, उत्तरवर्ती युगमा आउँदा आमाको दाइजोले भने खासै साख जमाउन सकेन।

यो देशमा पनि महिला नेतृत्वको महिमा जगाउने रित्तो नाराले मात्र ठाम पाउने थिएन। पदअनुसार कम तामेली गर्ने विश्वासमा पनि बाबुको बिर्ताबपौतीको बानीले काउसो बनेर दिमाग चिलाउने ठाउँ अजमायो। अझ बाजेको बिर्तासमेत बनाउन थालियो सार्वजनिक भनाउँदा पद र ओहदाहरूलाई। बजैको त खै कुरै छैन बा।

बिर्ता पाउने र भजाउने संस्कृति झाङ्गियो, मौलायो। भतेरका उच्छिष्ट हड्डीका लागि जुझारु कुकुरको कडल्याङकुङलुङमा समेत रूपान्तरित हुन पुग्यो बिर्ताको खेती।

अहिलेको गनगनतन्त्रे नेपालमा ठुल्ठुला पद र ओहदामा समेत बिर्ताको भाइरस पसेर रण्डखाल भयो। नेतामन्त्री ब्रह्मलुट मच्चाएर नाङ्गा बाबा बन्दा अरू भने तमासे मात्र बने। जनताको रकम मासिखाने सहकारी बिर्ताले सडकछाप भुक्के चप्पलहरूलाई देश हाँक्ने पदमा पुर्‍यायो।

निमुखा कङ्गाल जनताका छाला काडेर नुनचुक दल्दै सर्वस्व लुटिखाने मिटरब्याजी बिर्ता अनि विदेश काम गर्न पठाउने प्रलोभनमा पारेर छट्टु दलालहरूले सोझालाई बुटीट्वाँट पारेर बसिखाने बिर्ता आदि केके हुन् केके बिर्ताका तुरूप पनि।

हुँदाहुँदै हाम्रा समाजवादी ज्वाइँहरूले लुटखेती गर्ने राजनीतिमा समेत अरू ऐनकानुन आचारसंहिताभन्दा बिर्तादर्शन जो अब्बल ठहरिन लागेको छ। कुर्सी बिर्ता पाएपछि बिदा, काज कतै जाँदा बस्दा पनि फिर्ता गर्नु नपर्ने बरु उल्टै आफैंसँग प्लेन चडाएर लुइत्त विदेश भगाउन मिल्ने के खासा बिर्ता हो त यो कुर्सीको?

उहिल्यै खुइलिएका कुरा छोडेर आजैका कुरा गरौं। यही बिर्तादर्शनले समाजवादलाई मसाजवादतिर गुटमुट्याएर संसद्का कुर्सीमा असंसदीय खेलतमासा मच्चिन थाल्यो।

निर्वाचित हुँदाको प्रमाणपत्र नै पदबिर्ताको पुर्जा भन्ने भान पर्न थाल्यो। माथिल्लो कुर्सी पाउनासाथ ढोकाको चाबीताला नै हातमा लिएर विदेशतिर कुइँचमार ठोक्ता पनि लाज शरम बेइमानीको कमानीले कुनै काम नगर्ने भएछ।

जजसलाई सनक चढ्यो, उसैले आफ्नै ओहदा र मर्यादाका ढाड भाँच्चिने गरी दनक दिँदै आफू बस्न पाएको कुर्सी नै फुत्त उठाएर लुत्त विदेश लैजाने चर्तिकला देखिन थालेपछि भएन उखपात? शक्ति पृथकीकरणका गुरुदेव ब्ल्याकस्टोन माउन्टेस्क्युदेखि जोन लक आदि विधिशास्त्रीसमेतको भएन त विधिपूर्वक मानसम्मान?

‘संविधानकै व्यवस्थाअनुसार आफ्नै सहायकका रूपमा भाइकुर्सीमा बसेका पदाधिकारी दिदीबहिनी जोसुकैलाई विश्वास नगर्ने कस्ता पात्र जन्मिएछन् यो देशको राजनीतिमा?’ भन्दारहेछन् विदेशी पनि। आफैं कानुन निर्माताको जंगी अड्डा कज्याएर बस्ता पनि लोकलाज र मर्यादाको ख्यालसम्म गर्नु नपर्ने के रमिताको भाँडभैलोले खाँडो जगाउन थालेको हो यो कलिमा? यस्तै कुरा चल्छन् सुद्दी हराएका हाम्रै बुद्धिजीवीबिच पनि।

उतिबेर कुरो अर्कै थियो। लडाइँमा विजय पाउने बहादुरले बिर्ता पाउँथे। दरबारमा घर गर्ने भित्रिया झड्केला सन्तानहरूले बिर्ता पाउँथे। पुजारी हुक्के बैठकेले पनि सानोतिनो बिर्ता पाएकै हुन्थे।

निकै पहिले नै राजनीतिक र कानुनी रूपमा उन्मूलन गरिए पनि वनमाराझार बनेर झन्झन् सप्रिँदै घरबस्ती पार्टी प्रशासन जताततै मौलाउँदै देशव्यापी रूप लिन पुगेछ बिर्ताबालीले। अहिले त झन् नाना रङरोगनमा रंगिएका अनेकन पार्टी खुले। तिनै पार्टीभित्र बिर्ता कज्याउने अनेकथरी नेतानायक तयार हुन पुगे।

पञ्चकालमा एकतर्फी बिर्ता थियो पञ्चतन्त्र। लोकतन्त्र आएपछि अनेकथरी बिर्ता बान्कीहरू देखा पर्न थाले। बान्कीअनुसार नै नानाथरी चुलाचौकामा भाँतीभाँतीका खान्की पाक्न थाले। चाख्ने, चाट्ने, चर्नेबाट सुरु भएका यस्ता खान्कीको स्वाद गाढा बन्दै जाँदा बाच्छा पाडासमेत मुस्तण्ड साँढा बनेर छाडा हुँदै देशको ढुकुटीमा मुख जोत्न पुगे।

बन खाए, सुन खाए, देशका ऐतिहासिक मूर्ति, कला र सम्पदा उडाए। बोइङ, गलैंचा, गाइकाण्ड, साँढेकाण्ड आदि काण्डैकाण्डमाथि जाइलागेर थुतुनाहरू एकैलय र एकैतालले हसुर्नमा लागिपरे। भाइमारा हन्तकाली परेछन् सबै। एकले अर्काको थुतुनो टोक्न, दार्न र चिथोर्नतिर सक्रिय पनि हुने भएपछि पञ्च परमाधिपतिले पनि वाङ खाए।

बिर्ताको रूपमा राज्यसत्ताको कुर्सी चढेपछि अन्य सहबिर्ताहरू अनेक थरी आइपुग्ने रहेछन्। बाली बिर्ता, गाली बिर्ता, गोली बिर्ता, बोली बिर्ता, झोली बिर्ता आदि केके हुन् केके। कर भन्सार, आयात निर्यात, योजना परियोजना, व्यापार व्यवसाय, सयर सपाट, संस्थान निगम आदि अनेक प्रकारका बाली पाक्दा रहेछन् बिर्ताफाँटमा। अनि स्वदेशी विदेशी शत्रु–मित्रु, न्यायप्रशासन जजसलाई जेजे मन लाग्छ, गाली गर्न पाइँदो रहेछ गाली बिर्ताको बन्दोबस्ती पक्का भएपछि।

गोली बिर्ताभित्र गोली ठोक्ने, छुरी धस्ने, मार हान्ने, सेर्ने, ठोक्ने, किच्नेजस्ता सुमधुर क्रिया पनि पर्नेरहेछन्। सत्ताको कुर्सी चढेपछि नेरु दश लाखमा मान्छेको ज्यान किन्न पाइने कस्तो मानवतावादी बोलकबोलप्रथा होला यो ?

देशमा काम नपाएर विदेश जान सडकमा निस्कने युवादेखि आफूसँग विमति राख्ने र प्रतिद्वन्द्विता गर्न खोज्ने विपक्षीलाई समेत यस्तै सुन्दर क्रियाद्वारा सहर्ष बिदावारी गरेर नस्वर शरीरबाट मुक्ति दिलाउने कार्यहरू सहजै सम्पादन हुने अनि बातखत नलाग्ने, कानुनले छुने चान्स नै नरहनेजस्ता सुवर्ण अवसर पनि यसै बिर्ता बन्दोबस्तीका अभिन्न अङ्ग बन्दा भएछन्।

त्यस्तै बोली बिर्ताले भने लोली मिलाउँदै जथाभावी बोल्ने अवसर प्राप्त हुनेरहेछ। बिर्ता पाएपछि पदीय हैसियत, गरिमा र उच्चताको प्रवाह गर्नु नपर्ने, ढाँट, छलकपटका कलाबाजीको भरपुर उपयोग गरेर ठाउँ कुठाउँ जहाँजसो मन लाग्यो बोल्न, बक्न, चिच्याउन, कराउन, हप्काउन, फकाउनसमेत पायक पर्दा शब्दावली प्रयोग गर्दै यस बिर्ताको सदुपयोग गर्न पाइने रहेछ।

यी सबैभन्दा अझै सुसंस्कृत, परिष्कृत र इज्जतप्राप्त गर्ने बिर्ताचाहिँ झोलीबिर्ता नै रहेछ भन्दा फरक नपर्ला कि ? जोगीको तुम्बाभन्दा उम्दाखाले झोला, कमण्डलु अगाडि पसारेर विदेशी शत्रु, मित्रु र पत्रुसँग समेत भिक्षाम् देहिको बटुक चर्तिकला देखाउन पाइने रहेछ।

देउसे भैलिनीकै लीलालबजमा यो देऊ, त्यो देऊ, यति देऊ, उति देऊ, अझ बढी देऊ, योचाहिँ जसरी पनि देऊ भनेर लडीबुडी गर्ने, पसारो पर्ने अनि हातपाउ फालेर अपहत्ते गर्नेजस्ता तिलस्मी झाँकीको दिनदिनै प्रदर्शनी खुल्दो रहेछ।

रमाइलो मेला भन्न सुहाउने यी रगेलामा कूटनीतिक मर्यादा नामको काफलचरीलाई भुर्र उडाउँदै विदेशी दाताहरूलाई उत्तरआधुनिक प्रकारको भक्तिपूर्ण भजन र नाचगानले भरपुर मनोरञ्जन प्रदान गरेर गोजी अँठ्याउन पाइने रहेछ। मनग्गे माग्न पाइने तर बिर्ताकै रूपमा तिर्नुचाहिँ ठ्याम्मै नपर्ने। त्यो देश कुन होला ? बस अहिलेको कुरो यत्ति !

०००
नयाँवानेश्वर, काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Narendrararaj paudel
Narendrararaj paudel
6 months ago

thanks Fitkauli !

Nepal Telecom ad
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
काले र भाले

काले र भाले

नरेन्द्रराज पौडेल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
1
0
Would love your thoughts, please comment.x
()
x