साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हिउँद, मुला र परिदृष्य

यी मुलालाई जसले उचित परिकार बनाउन सक्छ, गुण, रूप र रङ्गमा परिवर्तन ल्याउन सक्छ त्यो सफल हुने नै छ । समय आएपछि हिउँदका मुला सुक्ने छन् र सक्किने छन्-फेरि अर्को हिउँदको पर्खाइमा ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

आजको चर्चाको विषय छ- मुला । हामी सबैले खाए चिनेको सर्वसुलभ वस्तु मुला ! अलि सामान्य मानिने र निम्नस्तरको तरकारी वर्गमा पर्ने मुलाको पनि के कुरा गरेको होला भन्नुहोला; कुरा गर्ने भनेकै सामान्य वर्गका हरूको हो । ठुलाबडाका कुरा त सबैले गर्छन् नि । महँगा तरकारी र फलफूलका कुरा पछि गर्दै गरौंला । आउनुहोस् मुलाकै सेरोफेरोमा रहेर कुरा गरौँ ।

धेरै मिहिनेत नगरीकन उमार्न सकिने मुला मानवीय मायाँको साह्रै भोको हुन्छ । खेतबारी जतासुकै पनि उम्रिन र बढ्न सक्ने मुलालाई दोमट र खुकुलो माटो भए भइहाल्छ । उम्रिन र हुर्किन पानी नजम्ने, हिउँदे मौसम र हल्का चिस्यान भए भइहाल्छ । मल र पानीको ठुलो बन्दोबस्तविना पनि मुलाको उत्पादन लिन र सस्तो दरमै किनेर उपभोग गर्न सकिन्छ । उम्रिएपछि आफ्नो असली क्षमता देखाउन मुला त्यसरी नै आतुर हुन्छ जसरी कुनै दलमा लागेका पार्टीका प्यादाहरू आतुर हुन्छन् । अझ मलिलो ठाउँ पायो भने त मुलाले कसैलाई नपर्खेर हलक्क हल्किन्छ – हरेक अस्थिरता पछि देखापर्ने नयाँ र ठेउके नेताहरू जस्तै ।

प्रकृतिको लीला पनि गजबको छ । कुनै फलफूल मिठासयुक्त रसले भरपूर हुन्छन् भने कुनै अमिलो त कुनै जलिय /पानी प्रधान हुन्छन् । यो मुला यही पछिल्लो वर्गमा पर्ने तरकारी विशेष हो । भित्री सारतत्त्व खास केही छैन, केवल पानी पानी । हसक्क गन्ध , एक तमासको राग बस्! त्यही गन्ध प्रदायक भएकाले मुलाको नाम बदनाम गरिन्छ तँ मुला रे । मुलाको साग रे ।

पहिले पहिले मुला हाम्रो तरकारीको आवश्यकता पूरा गर्ने एउटा सर्वसुलभ वस्तु थियो । हाम्रा हजुरआमाहरू मुलाको अमिलो सिन्की बनाउनु हुन्थ्यो । भुर्लुक्क उमाले तयार हुने । जाडोको समयमा तात्तातो सिन्कीको झोलसित क्या मजाले भात खाइन्थ्यो । मुला काटेर चाना बनाएर सुकाए पछि गर्मी दिनका लागि शीतलता प्रदायक तरकारी / अचारको परिकार बन्थ्यो । शीत प्रकृतिको भएकाले गर्मी /घाम फाल्ने र खानामा रुचि जगाउने कुरामा रामवाण नै हो मुला । अहिलेका हामीले खै कुरा बुझेका ? हाम्रो सीप र प्रविधि कता हरायो ? उता चाइनाले त्यस्तै मुलाको सिन्की बनाएर यता पठाउन लागिसक्यो । हामी भने मुलालाई हियाउँदै आयातित र विषादीयुक्त तरकारी किन्ने लाइनमा छौँ । हामी कता जाँदै छौँ; हेक्का छ ?

हिउँदे सिजनमा उम्रिई बढेर मान्छेका आवश्यकता पूरा गर्न कटिबद्ध मुला गाली मात्र पाउँछ बिचरा ! ठुला मान्छेमात्र होइन आजकल मुलालाई सलादका रूपमा काँचै खान खुब मन पराइन्छ । कुनै गीतकारले “उही मुलाको सिन्की उहीँ मुलाको चाना” भन्ने गाना बनाएर यसको उपादेयता दर्साउन खोजे पनि मुलाको गरिमा र महत्त्व अझै खस्किँदो छ ; अहिलेका नेपालका नेताहरूको जस्तै । त्याग तपस्या केही छैन , आकारमा मात्र ठुला हल्किएका मुलाजस्तै । अहिले पार्टीमा तिनै हल्किएका मुलाहरूको राइँदाइँ चलेको छ । मानौँ दिमागमा मुलाको रस भरिएको छ । चुनाव जित्ने र कुम्ल्याउने कुराबाहेक अरू केही छैन । देशको अस्मिता कहाँबाट कहाँ पुग्यो छु मतलब !

खाडीमा श्रमिकहरू दिनदिनै पसिना बगाइरहेका छन् र युवा पुस्ता विदेश पलायन हुँदैछ – खै केही नयाँ सोच ? विज्ञान प्रविधि , जनभावना , भोलिका लागि दूरगामी सोच र देश विकास गर्ने भावी कार्ययोजना सबै मरु ! यहाँ त कार्यकर्ता मात्र मुलाजस्ता होइनन् पार्टी पनि मुलाजस्ता छन् । चालीस दिने मुलाझैँ अहिले दिनदिनै नयाँ पार्टीहरू र नयाँ नेताहरू तयार हुँदै छन् । भक्तपुरे मुलादेखि लिएर असनका मुलाहरूको अहिले बिगबिगी छ । नेपालका पहाड तराईसहित हरेक ठाउँमा अहिले हिउँदे मुला तयार छन् । साँच्चिकै मुला भए सिन्की खाँद्न हुन्थ्यो तर नेताहरूलाई खाँद्न पनि मिलेन । यिनलाई एकै ठाउँ कोचेर राखे पनि सिन्की बन्दैन । बरु नयाँ नयाँ खुराफात गर्न सुरु गर्छन् ।

हामीकहाँ जैविक विविधता छ । हाम्रा मुलामा पनि विविधता छ र नेतामा पनि । सेतोमुला , गान्टेमुला , चालीसदिने मुला , जापानी मुला वा चोता ( जुम्लातिर पाइने विशेष प्रकारको डल्लो आकारको मुला ) जे नाम दिए पनि मुला मुला नै हुन् र नेता नेता नै । अहिले हिउँदे मौसम छ र जताततै मुला देख्न पाइन्छ । यही देखिने क्रम र नियति मुलाका साथै नेतामा पनि छ । बेमौसमी मुला उत्पादन गर्न सके मनग्गे आम्दानी हुन्छ भन्ने कुरा खै हामीले बुझेको ?

मुला घृणा र समस्या दुवै होइन । यसलाई त व्यवस्थापन गर्ने कुशल शिल्पी हातहरूको खाँचो छ । यी मुलालाई जसले उचित परिकार बनाउन सक्छ, गुण, रूप र रङ्गमा परिवर्तन ल्याउन सक्छ त्यो सफल हुने नै छ । समय आएपछि हिउँदका मुला सुक्ने छन् र सक्किने छन्-फेरि अर्को हिउँदको पर्खाइमा । अहिलेका मुलाजस्ता नेताहरूलाई पनि व्यवस्थापन गर्न सक्ने कुशल नेतृत्वको खाँचो छ । हेरौँ कोही सिपालु निस्किन्छ कि ? म त आशावादी छु । तपाई नि ?
~इति मुला महात्म्यम्~

०००
विकास चोक ५, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
नाक र नेतृत्व

नाक र नेतृत्व

घनश्याम रेग्मी
पाइँनेछ मिठो फल

पाइँनेछ मिठो फल

घनश्याम रेग्मी
वृद्धवृद्धा सँगै छन्

वृद्धवृद्धा सँगै छन्

घनश्याम रेग्मी
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x