दुर्गा रिमाल अधिकारीमूला
छुल्याइँ गर्छस् अर्काको बात नसुन्ने भइछस् देशको लागि गर्दैनस् काम भुइँमान्छे रहिछस् साना र ठूला उस्तै हो नाता रातो छ रक्त यो तै पनि तीतो करेली जस्तो विषाद छर्छ यो ॥
दुर्गा रिमाल अधिकारी
मान्छे छन् ठूला गज्जब मूला धार्नी कि बिसौली ?
तौलँदा हुन्छ रुपियाँ बीस बाँकी छ तिरौली
फल्दछ मूला बाटोमा पर्ने सदन जाने हो
कि कवि पछि दौडने हो कि भाषण छाँट्ने हो ?॥
जाँ गए पनि हे मूला त्यस्तो काम नै बिगारिस्
भन्दछन् साथी संगीले हेर भइछस् बेवारिस्
देशको पीर छैननि केहो तँ आफैं ठूलो छस्
धाक र धम्की बढ्दछ तर तँ आफैं लुलो छस् ॥
ती साना मूला मौलाए हेर तँ शेखी गर्दछस्
भाँड र भैलो गर्दछस् मूला के अघि सर्दछस्
रमिता हेर्न , पछाडि पर्न तँ जान्ने अर्घेलो
दुष्टको मति बिमति हुन्छ कोक्क्याई कर्कलो ॥
यी मूला खाई बननै जानू भन्ने छ उखान
शारदा पनि यी मूला सँग सक्दिनन् बखान
यी मूलालाई डामेर नांगै बनाऊँ साथी हो
जनताको आशा तब पो पुग्छ पाथीको छाती हो ॥
छुल्याइँ गर्छस् अर्काको बात नसुन्ने भइछस्
देशको लागि गर्दैनस् काम भुइँमान्छे रहिछस्
साना र ठूला उस्तै हो नाता रातो छ रक्त यो
तै पनि तीतो करेली जस्तो विषाद छर्छ यो ॥
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































