साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दागबत्ती पर्खिरहेको लास

चढाएका फुलमालामा, अलिकति अबिर अनि अरुले नै पहिराइ दिएको केही मिटर रामनामी कपडामा दागबत्तीका लागि एउटा लास अनन्त यात्राको लागि विना कुनै छटपटी पर्खिरहन्छ सन्ततिको आगमन कुरेर।

Nepal Telecom ad

शिवप्रसाद जैशी :

लास अर्थात मरेको मानिस। सास उडेपछि बोलिने भाषा। मानिसको सास रोकिनासाथ मानिस लासमा परिणत हुन्छ। स्थिर हुन्छ। चलमलाउन छोड्छ। उसको जीवितताको साइनो केवल साससँग मात्र हुन्छ। सास उड्यो लास भयो। मानिस जीउँदो हुँदाका उसका दर्जा अनुसार सास रोकिएपछि पनि विभिन्न शब्दले पुकारिन्छ। उपल्लो दर्जाका राजामहाराजा वा शासनमा आसीन मानिसहरूको सास रोकिएर स्थिर मुद्रामा चिर शान्तिमा परिणत भएपछि उनीहरूलाई शव भनेर सम्बोधन गरिन्छ। घाटतिर लैजाँदा शवयात्रा भनिन्छ। मान सम्मान त्यही अनुसारको हुन्छ। विभिन्न दर्जा अनुसार सलामी दिइन्छ। विभेद कहाँ छैन र ? मरेपछि पनि विभेद छ केवल मानिसमा।

पृथ्वी लोकका अन्य प्राणीमा विभेद भेटिन्न । सामान्य मानिस मर्दा अस्पतालले पनि लास उठाउनु होस् भन्छ। शव भन्दैन। गाउँतिर अझ बोलिचालीमा मूर्धा भनेर सम्बोधन गरिन्छ। लासको लिङ्ग छुटिन्न। केटा होस् कि केटी जो भए पनि मूर्धा, लास वा शव जे भने पनि एउटै हुन्छ। शव भने पनि, लास भने पनि, मूर्धा भने पनि त्यो अचल भएको सुके ठुटोलाई के मतलब। नाम त बाँचेकाहरूले पो दिने हो मरेकालाई। मरेपछि जे भने पनि के भयो र ? जे दिए पनि के भयो र ? जुन किसिमले सिँगारपटार गरी अन्तिम बिदाइका लागि लिए पनि के भयो र ? उसले देख्ने, सुन्ने, महसुस गर्ने भए पो। जे गरिन्छ त्यो केवल बाँचेकाहरूले अनुभूति गर्ने देख्ने र हेर्ने हो । रुने, कराउने, शोक मनाउने सबै जीउँदाहरू कै जिम्मा। लोकलाई देखाउने हो। संस्कार, संस्कृति र परम्परा भरथेग गर्ने हो।

लास जति पनि पर्खिन सक्छ। लासले ढिलो भयो पनि भन्दैन। चाँडो गर पनि भन्दैन। केवल सुतिरहन्छ चिर निद्रामा। झिँगा बसे पनि चल्मलाउँदैन। भुसुना भुन्भुनाउँदै वरिपरि घेरे पनि कुनै प्रतिक्रिया दिँदैन। शान्त मुद्रामा। कुनै भौतिक सुविधा खोज्दैन। कुनै माग हुँदैन। कुनै इच्छा हुँदैन। इच्छा चाहना माग सबै साससँगै उडेर त ऊ मूर्धा भयो। यो लोकको यात्राबाट अनन्त विश्राममा लिन भएकोले नै ब्रह्मलिन भनियो। सन्त महन्तको सास उड्दा ब्रह्मलिन भनियो। सामान्य मानिसलाई भने सोझै मर्यो भनियो। शरीर उस्तै हो। संवेग उस्तै हो। भावना, मनोविनोद उस्तै हो। रगत उही हो, पानी उही हो। हड्डी उनै हुन्, उति नै हुन् र मासु पनि उस्तै हो। यी सबै थोक पर्गेलिएर अचल र स्थूल अवस्थामा भएर गति रोकिएपछि मूर्धा भएको त हो नि !

के फरक पर्यो र ? श्री खण्डले जलाए पनि समान्य काठका मुडाले झोसेर पोले पनि। आखिरी हरियो रूख सुकेर खङ्ग्रङ्ङ मुढो भएजस्तै गरी लास पनि त सुकेरै मुढो भयो। सुकेकै कारणले त सुको रुखको काठले उसलाई आफूजस्तै सँगै जलायो। धुवाँमा परिणत गर्यो । खरानी बनायो। के फरक पर्यो र माटोमा यत्ति कै गाडे पनि वा बाकसभित्र सजाएर जमिन मुनि थपक्क बिसाएर माथि पट्टि उही हो भनेर चिनारी बनाए पनि नबनाए पनि। सास उडेपछि एकै पटक सबथोक हराउँछ। सबै थोक कहाँ हराएको हो र ? हराएको त ऊ पाे हो। उसको चिना, चिनारी, नामोनिसान पो मेटिएको हो अरुले नभेट्ने गरी।

परिवार, छोरीछोरी सँगै हुन्थे, रूखोसुखो सँगै खान्थे। संयुक्त परिवार थियो। तिन पुस्ताको सँगै बातचित हुन्थ्यो। अर्ति उपदेशले पुस्तान्तरण हुन्थ्यो। घर थियो। गाउँ थियो। आफ्ना थिए। आफन्त थिए।

भौगोलिकीकरण भयो। विश्वव्यापीकरण सल्बलायो, मौलायो, फैलियो। प्रविधिले फड्को मार्यो। चाहना र इच्छाले सिमा नाघे। गाउँ परिवेशले धान्न सकेन। गाउँ परिवेशले दिने केवल मायाले पुगेन। मानव मोह भङ्ग भयो। मायाले डाँडो काट्यो। मानिसहरू उडे। पुरानो गुँड छोडे। जन्मभूमि र जन्मदाताबाट परपर उतैतिर सरे। सर्नेहरूको पनि त मन त छ नि तर आधुनिक व्यस्त जीवन कहाँ दिन्छ र सम्झिन । सम्झे पनि कहाँ सकिन्छ र- पुग्न र पुर्याउन। न सक्ने र न पुग्ने भएर नै त मनहरू भाँचिएका जस्ता, इच्छाहरू मरेका जस्ता, भावनाहरू सुतेका जस्ता देखिएका हुन्।

यता जन्मदाता उता सन्तति। दुवैको आत्मा त एउटै हो नि । यता सन्तान भेट्न आतुर भएर छटपटी उता अलिकति कामबाट फुर्सद हुनासाथ जन्मदाता र मातृभूमिको यादले छटपटी । दोहोरो छटपटीका यी दुवै थरी घरिघरि व्याकुल बन्दा हुन्। यताबाट सोध खोज हुँदो हो उताबाट ओखतीमुलो, खानपान, लत्ता कपडा सबैको व्यवस्था चाहिने भन्दा बढी पठाएर भौतिक सुखमा राख्ने काम त हुँदो हो। आपसी सामिप्यताको अभावमा यी सबथोकको के अर्थ छ र ? सबै अर्थहिन। सबै बेकाम।

सन्ततिहरूको पराइ बसोबासले अलिकति ज्यानमा बर्गत भएसम्म त यता पनि फाइँफुइँ राम्रै हुन्छ होला। सन्तान कताकता उता भनेर समाजिक मूल्य बढेजस्तो भन्दा आफ्नो मर्यादा अलि उँचो भएजस्तो टाउको ठाडो, छाती चौडा, मन गर्विलो । लवाइखवाइमा थोरै परिवर्तन- फरक। घरको छानोको मर्मत। अगेनो ओछ्यानमा परिवर्तन। आफ्ना र आफन्तसँगको गफगाफ राम्रै हुँदो होला।

समय घस्रिन्छ। पर्खिन्न। मानिसको अन्नपानीको शरीर उमेरसँगै गल्दै जान्छ। सन्तति भेट्न तिव्र इच्छाले मन मुटु भड्किन्छ होला। सन्ततिका पनि सन्तति कलिला मुहारमा म्वाइँ खान मन लाग्दो होला। कान्छी औलामा समातेर खेलाउने रहरले आकाश छुन्छ होला। आफ्ना बाजेबजैले खेलाएको याद आउँछ होला र पैँचो तिर्न पनि मन लाग्दो होला। काँधमाथि चढाउन, घोडो बनेर पिठ्यूँमा राख्न पनि मन लाग्दो होला। सम्भव छ ती सबै चाहना पुरा गर्न। छैन। न बल पुग्ने, न बुद्धिले भ्याउने। न स्याहार गर्न जान्ने यस्ता विकसित नातिनातिनालाई खेलाउन मन सास हुँदाहुँदै पनि मनभित्रै मार्नु पर्दो हो। सायद यो मनमार्दा पो ऊ वास्तवमा मानिस कैयौँ पटक मर्दो हो। पटक पटक सम्झनाका तरेलीहरूसँगै हजारौं पटकको पीडादायी मृत्यु त सायद यो पो होला। कसैले नदेख्न। कसैले बोध गर्न नसक्ने भावनाको मृत्यु त यो पो होला। वास्तवमा नमिठो पर्खाइ त यो पो होला।

गणितशास्त्रका कुनै पनि फर्मुलाबाट उत्तर ननिस्कने मृत्यु त यो पो होला। कसैले देख्न नसक्ने कठिन मृत्यु त यो पो होला। भौतिक मृत्यु त के मृत्यु त्यो त समान्य प्रक्रिया हो। प्रकृतिको नियम चलिरहन्छ। बगिरहन्छ निरन्तर नदी जस्तै पालैपालो एकपछि अर्को। जीवित अवस्थाको मानसिक मृत्युको पीडा पो थाहा हुन्छ। सास उडेर भौतिक रुपमै मरिसकेपछि त के पो होला के थाहा ?

मानसिक रूपले पटकपटक उठ्दा, बस्दा, हिँड्दा, डुल्दा र सुत्दा ओछ्यानमा निद्रा नलाग्दाको पर्खाइ कति पीडादायी होला। दिनहरू लामा हुँदाहुन्, रातहरू अझै लामा। सेकेण्ड मिनेट जस्तो, मिनेट घण्टा जस्तो, घण्टा दिन जस्तो। दिन महिना जस्तो, महिना वर्ष जस्तो, वर्ष दशक जस्तो, दशक शतक जस्तो। बडो मुस्किल यी रात, दिन, महिना वर्ष, चाँडै जाउँन र सन्तानको मुख देखौँ जस्तो हुँदो हो। केही बोलौँ जस्तो बडो कठिन। के आउँथे र आउदैनन् दिन, महिना, वर्षहरू केही फर्केन सोचे जसरी।

यादका असिमाहरूसँग आउने अन्तिम दिन भने बिलकुल सजिलो शवासनमा नपल्टिन पर्ने, न ओल्टिनु पर्ने, जति दिन राखे पनि, जति महिना राखे पनि, टसनमस पर्खिरहन सक्छ। मझेरी, बर्दली र ढोकाहरूमा माकुराले जालो बनाउँछ। सन्तानलाई साँचेर राखेका जिनीसहरू मक्किन लाग्छन्। भाँडाकुँडाको आवाज शुन्य हुन्छ। धनदौलत बेवारिसे बन्छ। औजारहरूमा खिया लाग्न थाल्छ। बचेखुचेका आफूजस्तै केही थान मानिसहरूले चढाएका फुलमालामा, अलिकति अबिर अनि अरुले नै पहिराइ दिएको केही मिटर रामनामी कपडामा दागबत्तीका लागि एउटा लास अनन्त यात्राको लागि विना कुनै छटपटी पर्खिरहन्छ सन्ततिको आगमन कुरेर।

०००
कैलाली, हाल- थानकाेट, काठमाडाैँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
फर्मान प्रेमी

फर्मान प्रेमी

शिवप्रसाद जैशी
निस्सासिएछ हावा

निस्सासिएछ हावा

शिवप्रसाद जैशी
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
0
Would love your thoughts, please comment.x
()
x