साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खोल सार्वजनिक पसल बढाउ कुनिको फसल

यस बाहेक उपल्लो स्तरमा विराजमान हुने केही थान उपल्लाधिपतिहरुको नाम र ठेगाना भए पुग्छ।यो सस्तो र सर्वसुलभ नभै नहुने सेवाभावबाट सुरु गरेर मेवा प्राप्त गर्ने पेशाको नाम हो राजनीति।

Nepal Telecom ad

शिवप्रसाद जैशी :

मानिसका आवश्यकता पुरा गर्न दोहोरो कारोबार गर्ने उद्देश्यले खोलिएको दोकान नै पसल हो। पसल क्रेता र बिक्रताको संयोजन स्थल पनि हो।दुवै थरीलाई एकआपसमा अन्तरक्रियात्मक बनाउन गतिलो भूमिका निभाउँछ-प्रत्यक्ष वा अप्रत्यक्षरुपले। बिक्रताले आफूसँग भएको चिजबस्तु वा सेवा पसलमा बेचेर आय आर्जन गर्छ। क्रेताले आफूलाई चाहिएको बस्तु तथा सेवाहरु पसलबाट प्राप्त गर्छ।अर्थशास्त्रीय भाषामा माग र पूर्तिको सङ्गम स्थल। यस्तो पसल खोल्न लगानीको आवश्यकता पर्छ।लगानीविना पसल खोल्न सकिँदैन।सरकारले तोकेको ढाँचामा, तोकिएको निकायमा, निश्चित दस्तुर तिरेरमात्र पसल खोल्ने अनुमति पाइन्छ।सरकारको इजाजतविना खोलिएको पसललाई गैरकानुनी मानिन्छ। गैरकानुनी कार्य दण्डनीय हुन्छ।

सरकारले तोकेको मापदण्ड पुरा गरेर अधिकृत पुँजी, जारी पुँजी, चुक्ता पुँजी र चालु पुँजीको व्यवस्था भएको वित्तशास्त्रीय प्रमाण र प्रतिबद्धता भएपछिमात्र पसल चलाउन मिल्ने प्रावधान कानुनमा छ।यस्ता कुरा पुरा गर्न नचाहने मानिसले यो महँगो पसलको सट्टा लगानी विहीन सस्तो पसल खोल्न सुविधा दिने व्यवस्था पनि गरेको पाइएको छ। त्यस्तो सस्तो पसलका लागि कुनै लगानी चाहिँदैन।मानिसको पिरमर्का बुझेर नै यो यस्तो लगानी विहीन पसलको व्यवस्था कानुनमै गरेको हुनुपर्छ।सस्तो पसलको स्थापनार्थ कुनै पनि किसिमको पुँजीको आवश्यकता पर्दैन।कुनै सिमाना र किल्ला तोकिएको हुँदैन।यस्तो पसलमा बस्तु तथा सेवाहरुको क्रयबिक्रय हुँदैन।मानवीय आवश्यकता पुरा गर्ने कुनैं भौतिक जिनिस पसलमा राखिँदैन।अर्को अर्थमा यो झमेला मुक्त पसल, उद्योग, व्यवसाय, उद्यमशीलता, नवप्रवर्तन, उज्जल भविश्य, सुनौलो बिहानी – जनताको आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्यको कल्याणकारी उपकरण जेजति उपमा लगाउन सक्यो थप्न मिल्ने, घटाउन नमिल्ने, समावेशी, कहिल्यै उधोगतीतिर नमोडिने भन्न कुनै कन्जुस्याइँ गर्न नपर्ने।केवल इच्छाशक्तिको बलमा भर पर्ने व्यवसाय किन नगर्ने? जो सक्दैन, जो गर्दैन, त्यो लाछी, हुतिहारा, अल्छी, मति बिग्रेको, दिमागको भित्री भागमामा सन्तुलनको कडी नभएको, असद्दे, तरमार्न नसक्ने, लठेब्रो/लठेब्री, भातमारा, अझ उचो भाषामा “मात्र अनाज खाइको मान्छे” भन्दा अनौठो नमान्दा हुन्छ।हो, अनाज खादैमा सग्लो मानिस भन्न मिल्दै मिल्दैन।अलिकति ट्रिक पनि जानु पर्छ।

अनौठो कुरा के भने यो यति धेरै सजिलो छ कि स्टार्ट अप जत्तिको पनि झैझमेला छैन।यसका लागि केही पनि चाहीँदैन।यो लगानी विहीन उद्यमका लागि वार्डको सिफारिसको चिर्कटो पनि चाहिदैन-त्यो परेन। उद्योग विभागमा धाउनु पर्दैन। कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दर्ज गराउन आवश्यक छैन।घरेलु वा साना तथा मझौला वा सेवादिने प्रकृति अनुसारका सम्बन्धित निकायमा धाइरहनु नपर्ने।वित्तीय उपकरणको पालन गर्नु पर्ने कुनै सिमा नतोकिएको। दर्ता शुल्क, तिरोभरो, प्रवेश शुल्क, घरकर केही तिर्नु पर्दैन अर्थात कर फ्रि उद्योग हो यो।बैंक मौज्दात चाहिएन।तरलता व्यवस्थापनको जरुरत नै पर्दैन। दिर्घकालिन दायित्व स्वीकार्न बाध्यकारी व्यवस्था नभएको। टाट पल्टिएर लिक्वडेशनमा पठाउन लिक्वडेटर नियुक्ति गरी फरकफारक गर्नु पर्ने अदालती झन्झटबाट मुक्त। असीमित आकाँक्षाभित्र शुन्य दायित्व भएको पेशा।

यो उद्योग खोल्न कुनै भौतिक सम्पत्ति धितो राख्नु पर्दैन। ऋण स्वीकृतिको झन्झट मुक्त मुफ्तमा शुरु गर्न सकिने व्यवसाय। इ. आइ. ए. गराउनु पर्दैन। वन तथा वातावरण मन्त्रालयको स्वीकृति वेगर पनि स्थापना गर्न पाइन्छ। संरक्षित क्षेत्रहरुको अनुमतिको अप्ठ्यारो व्यहोर्न नपर्ने।निकासी पैठारीमा हुने झन्झटबाट मुक्त। निकासी पैठारी नियमन ऐन, वाणीज्य नीति, उद्योग नीति, लगायतका निमय कानुनको दायरामा नपर्ने व्यवसाय हो यो।

विना बन्देज जो सुकै, जस्तो सुकैले पनि खोल्न सक्ने। कुनै पनि सीप र योग्यता नचाहिने।सबै पेशा व्यवसाय र उद्योग धन्दाका मानिसहरु तत्तत् पेशा व्यवसाय छोडर वा उक्त पेशा व्यवसायको दिनदशा आफ्नो हातमा लिएर आफ्नो हात जगन्नाथ भन्दै यसमा चुर्लुम्म डुबेर अलौकिकता प्राप्त गर्नुले बताउछ कि यो व्यवसाय कति फलिफाप छ। यो पेशामा झुम्मिन मानिसहरु चिलगाडीको यात्राबाट सिधै बयलगाडमा झर्न सक्छन्। हात्ती सवारबाट लात्ती सवारमा पदार्पण गर्न सक्छन्। लाज, घिन, शरम र धर्मलाई सूर्तिको धुवाँमा उडाएर पूर्तिमा रमाउन सक्छन्।बिल्कुल बिभेद रहित कुनै पेशा छ भने पृथ्वीलोकको यो भागमा यो मात्रै एउटा हो जहाँ डाक्टर बराबर कण्डक्टर, नायक बराबर खलनायक, लायक बराबर नालायक, नेता बराबर अभिनेता, किसान बराबर कृषिद्वेषी, पढ बाराबर अनपढ सबैलाई सुहाउने। नाली देखी थाली एकै देख्ने बनाउने अद्भूत पेशा हो यो।गाली र तालीलाई एकै हो भन्ने।

यो समावेशी डालो हो जहाँ कलाकार, गलाकार, सुरक्षाकर्मी, असुरक्षाकर्मी, नेता, अभिनेता, धर्मी, अधर्मी, धनी, गरिब, मालिक, नोकर, सबै एकैठाउँमा अटाउन सक्छन्।आफ्ना मनका वहलाई मानिसका भावनासँग बहाउन सक्छन्। जनमनलाई समुद्रीतटमा पिँडालुको पातमा तैराउन सक्छन्। पाँच र छ ग्रेडको रफ्तारमा उछाल पछालमा बगिरहेको नदीमा विना सुरक्षा सजिलै जलविहार गराउन कुनै कसर बाँकी राख्दैनन् चाहे उनलाई नदी ग्रेड भनेको पत्तै नहोस्।

काइदाको व्यवसाय भएकोले यसका फाइदा अनेक छन् तर त्यसका व्यवसायीमा केही अपरीहार्य गुण हुन आवश्यक छ। पहिलो र प्राथमिक गुण भनेको जनसाधारणलाई दिग्भ्रमित पार्न आशाका अभौतिक फाँचाहरु बाँड्न भने सक्नु पर्छ।आगोलाई पानी, पानीलाई आगो, दिनलाई रात र रातलाई दिन बनाउन सक्ने खुबी हुनु पर्छ।त्यसमा रमाएर विवेक अमानत राख्ने जमात तयार गर्न सक्नु अनिवार्य शर्त हो।

आवश्यकता अनुसार पेशा बदल्न सक्ने। समयको माग अनुसार विपरीत लिङ्गीय भूमिका निर्वाह गर्न सक्ने सम्मको अभिनय कलाले सुसज्जित हुनुपर्छ।व्यवसायिक कुशलताका लागि आगो ओकल्ने र वर्षाको तुफान ल्याउन सक्ने हुनु पर्छ।गोरु नार्ने देखि तारा झार्ने सम्मको अभिनय कलामा खप्पिसमात्र यो व्यवसायमा सफल भएको पाइएको छ।खेतका आली खन्नेदेखि पाखोको बाली सम्हाल्न सक्ने योग्यताको प्रमाण देखाउन सक्नु पर्छ।

यो पेशाको अर्को महत्वपूर्ण विशेषता भनेको पेशागत रुपमा मस्ति र सास्तीको बिचमा सहसम्बन्ध स्थापित गर्न व्यवसायीहरु खप्पिस हुन्छन्। एउटाले मस्तिको परिभाषामा अर्थ्यायी रहेको कुरालाई अर्कोले सास्तिमा परिणत गरिदिने खुबीका कारण सर्वसाधारणहरु मस्तिलाई सास्ती र सास्तिलाई मस्तिको रुपमा बुझ्ने जादुगरी परिणामको शिकार भएको अत्तोपत्तो नपाउने बनाउन सक्नुपर्छ।उनीहरु मस्तिमा खिन्न र सास्तिमा प्रशन्न भएको अनुमान पनि लगाउन नसकुन्।खिन्न र प्रशन्नताको भेदमा रुमलिँदा रुमलिँदै खेल अन्तै मोडिन्छ अनि अर्को परिस्थिति निर्माण भएर बस्तु तथा सेवाको भाउ र गुणको समेतको भेउ नपाउने हुन सक्छन्।

यो व्यवसायको आकर्षणले आ-आफ्नो विशेष खालको सम्बन्धित पेशा व्यवसाय छोडेर मानिसहरुको यो पेशामा ओइरो लाग्न थाल्छ। भूतपूर्व प्रशासक देखि उपल्लो तहका भूतपूर्व सुरक्षाकर्मीहरु भूतपूर्व हुनुपरेको झोकको बदलालिन कहिल्यै भूतपूर्व नहुने, शरीरका नौनाडी गल्ने बेलासम्म पेशाप्रति समर्पित भइरहन, गोधुली साँझका गाईगोरु झैँ धुलो उडाउदै अन्तिम धुइरो यतै लाग्छ।

यस्तो पसलका लागि विशेष योग्यता, सीप र अनुभवको खाँचो पर्दैन।सार्वजनिक रुपमा अश्लिलता, गालिगलोज, छुद्रता र दरिद्रतामाथि समृद्धिको बकबास प्रदर्शन गरेर भद्रताको अभज्ञा गर्न सक्ने जोकोही यसमा सामेल हुन सक्छन्।आफ्नो बखान र अरुको बदख्वाइँ गर्न सक्ने योजना विहीन, दिशा विहीन, ज्ञान र विज्ञानमाथि भद्दा मजाक गर्न सक्ने काविलियत भएका मानिसहरु यसका लागि अब्बल मानिन्छन्। पाखुरा सुर्किने, भुत्ला खुर्किने, खुकुरी भिर्ने, गर्धन रेट्न र डिप फेकको डिजिटल स्किलमा पोख्त खासमाथिका आशालाग्दा विशेषता हुन् यस पेशाका।आफ्नाहरुको शरीरका नौवटै छिद्रबाट उत्सर्जित पदार्थलाई अमृत समान शङ्खनाद गर्न सक्ने र परायाहरुको खोइरो खन्न सक्ने मानिसको यसमा भविश्य सफलिभूत हुन्छ।जहाँ जतातिर गएपनि यी सदगुणीहरुले ज्यामितीय फड्को मार्न सक्छन्।

सरकारले पनि यो व्यवसायको अज्ज्वल भविश्यका लागि सहुलियत प्रदान गरेको छ। यो व्यवसाय स्थापनार्थ केवल दुईप्रति विधान, दुईप्रति नियमावली, झण्डा, लोगो र छाप भए पुग्छ। यस बाहेक उपल्लो स्तरमा विराजमान हुने केही थान उपल्लाधिपतिहरुको नाम र ठेगाना भए पुग्छ।यो सस्तो र सर्वसुलभ नभै नहुने सेवाभावबाट सुरु गरेर मेवा प्राप्त गर्ने पेशाको नाम हो राजनीति। राजनीति भन्दा खागनीति भन्दा सुहाउला। खागनीति भन्दा एकै पटक अग्राख, खग्गु र आगोमाथि आरोप लागि आगो अझै रिसाउने भएकोले यसलाई लाजनीति भन्दा पनि हुन्छ जसले सबै पेशाको लाज धोइ पखाली सुनपानी छर्केर निष्ठावान बनाउन काजमा राजनीतिमा पठाएको छ। सबैजना चित्तशुद्धिका लागि आत्मभोग सहितको पेशागत अमरत्व प्राप्त गर्न खोल विना लगानीमा सार्वजनिक सस्तो पसल र बढाउ कुनिको फसल।

०००
कैलाली, हाल : थानकाेट, काठमाडाै

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
फर्मान प्रेमी

फर्मान प्रेमी

शिवप्रसाद जैशी
निस्सासिएछ हावा

निस्सासिएछ हावा

शिवप्रसाद जैशी
घुसले खायो

घुसले खायो

शिवप्रसाद जैशी
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
प्रतिनिधि

प्रतिनिधि

सुरेशकुमार पाण्डे
चुरो कुरो !

चुरो कुरो !

धनराज गिरी
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
0
Would love your thoughts, please comment.x
()
x