शिवप्रसाद जैशीशिकारी र भिकारीलाई दशैंको शुभकामना
खलनायकहरु माटोमा मिसिउन् भिकारीहरु सबै सिद्धिउन्शु भकामना छ यो वर्षको दशैको नेपथ्यका शिकारीहरुलाई आफ्नै देशको शासनको आसन पराइसँग माग्ने भिकारीहरुलाई।

शिवप्रसाद जैशी :
सुनसान छ चन्द्रागिरी
निःशब्द छन् पृथ्वी नारायण शाह
आशोचमा छन् झ्याउँकिरीहरु
बादललाई सिँहदरबारको धुवाँले अपहरण गरेको छ
रसाउन छोडेको छ शिवपुरी
निहुरिएको छ फुल्चोकी
बाग्मती खरानीमा हराइरहेको छ
मौन छ उपत्यका !
घाइते छन् हिमालहरु
अपाड्ग छ पहाड
मुर्छा परेको छ तराई
तातो र रातो रगतसँग डराइडराइ बग्दैछन् नदीहरु
स्तब्ध छ प्रकृति।
हाँस्दैनन् जमाराहरु
चम्किँदैनन् टिकाहरु
बज्दैनन् बाजा, सङ्ख र घण्टहरु
रौनकबिनै निख्रिँदैछन् नवरात्रहरु
पर्सिन्नन् भाले, बोका र राँगाहरु
बेकाम छन् खुकुरी, खुँडा र तरबारहरु
तर्सिएछन् मौला र शक्तिपीठहरु।
जलेको छ इतिहास
मरेको छ व्यापार
खुसी छैन ओठमा
लुकेकाछन् दाँतहरु
भयभीत छ दशैं
बिच्छिप्त छ मानव।
बेपत्ता छन्
सरकार सञ्चालकहरु
सत्ता लिप्सामा लत्पतिएकाहरु
जुम्रा झै टाँसिएकाहरु
स्वार्थको औछ्यानमा खप्टिएकाहरु
सौदाबाजीको दोकानमा गाँसिएकाहरु।
चलायमान छन्
नेपथ्यका शासकहरु
स्क्रिप्ट राइटरहरु
अभिनयका खलनायकहरु।
नायकका घोडा चडेर
पडकाइ रहेकाछन् बन्दुकहरु
जलाइ रहेछन् ढुकुटीका सन्दुकहरु
ढालिरहेछन् भविश्यका मुनाहरु
च्यातिरहेछन् सपना र विपनाका दुनाहरु।
नियत र नियतीका शिकार
जनधनको मृत्युमा
जुठो बारिरहेका
स्वाभिमानिहरुको देश जल्दा
के को शुभकामना ?
नेपथ्यका तानबाना चुडिँउन्
खलनायकहरु माटोमा मिसिउन्
भिकारीहरु सबै सिद्धिउन्
शुभकामना छ यो वर्षको दशैको
नेपथ्यका शिकारीहरुलाई
आफ्नै देशको शासनको आसन
पराइसँग माग्ने भिकारीहरुलाई।
०००
कैलाली, हाल- थानकाेट, काठमाडाैं








































उत्कृष्ट रचना