सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

लेखेर के पो हुन्छ र !

पाइनदार मन्त्रालयको निम्ति गति छाडेर तलै ओर्लिएर भिडिरहेका छन्, देश जनता र विकासको गायत्री जपेर स्वार्थका घैला भरिरहेकै छन्, भइराख्या छ । प्रजातन्त्रको पिलो फुटेर झिँगा भन्केर औँसा उम्किएर, उकुच पल्टिएको छ ।

Nepal Telecom ad

चूडामणि वशिष्ठ :

लेख्न त लेख्नु, खै के पो लेख्नु र ? लेखेर के हुन्छ ? यत्तिका बिघ्न लेखकहरू निधार खुम्च्याएर, ह्याकुलो दलेर किन लेखिरहेका छन्, यो कुरो पटक्कै बुझेको छैन मैले । यस मुलुकमा लेखेर के गरौला भन्दा हुन् । यहाँ लेखक कवि कलाकार खेलाडी मास्टर उपेक्षित मात्र होइन उपहासका पात्र बनेका छन् । बिहे गर्नुपर्‍याे भने यिनलाई कसैले छोरी दिँदैनन् । लेखक त्यो पनि तितो सत्य ओकल्ने किसिमको पर्‍यो भने त त्यसले जिन्दगीभरि दुःख पाउँछ । दुनियाँका आँखाको तारो बन्छ । एउटा सामान्य लेखकले दुःखको खेती कत्ति नै गर्न सक्छ र । ऊ चाँडै शान्त, क्लान्त भएर भाग्छ । खोलाबाडीमा उँधो बग्न सजिलो हुन्छ तर विपरीत दिशामा डटेर हिँडिरहन कहाँ सहज छ र ।

कलाकार आफ्नो कलाले मात्रै बाँच्न सक्तैन, कविको पेट पनि कविताले भरिँदैन, विद्वान उसैको विद्वत्ताले मरिच आफ्नै पिरोले चाउरिएझैँ चाउरिँदै जान्छ । राजनीतिमा एउटा कुर्सी भेट्टायो भने तीन महिनामै कति पुस्तालाई पुग्ने बन्दोबस्त गर्न सक्छ, तर कलम समात्ने लुते लेखकले कहिल्यै छाक टार्न सक्तैन । राजनीति गर्ने र मलिला अड्डामा जागिर खानेसँग लेखकको तुलना हुँदैन । यत्ति कुरो जानेर बुझेर, देखेर भोगेर पनि लेखकहरू भेडियाधसान भएर लेखनमै लागिपरेकै छन् । झन्डै कन्डे दुर्व्यसनी जस्तो लेखनको दुर्व्यसन, गीतामा कर्म गर फलको आस नगर भनिएझैँ । मलाई पनि थाहा छ हजारौँ कलमको अजन एउटा एसएलआर बराबर पनि हुँदैन । सानो सिन्के निर्बल कलम । बित्थामा खोस्रिएर कागज मसीको सर्वनाश ।

कसैलाई व्यङ्ग्य गर्यो भने त्यो सोको कुरो हुन जान्छ । कार्यालयहरूमा जनताको सेवाको नाउँमा दररेट नै बसालेर सोझै घुस माग्न थालेपछि कता के व्यङ्ग्य गर्नु ? मालवाला मन्त्रालयमा ठुला पार्टीका नेताहरूको छिनाझप्टी रडाको, रोड्याइँ चलेको नाङ्गो तमासा, चर्तिकलालाई कताबाट कसरी व्यङ्ग्य गर्नु दिउँसै रात परेको कुरालाई व्यङ्ग्य गर्न अहिलेका व्यङ्ग्यका पुराना गुलेली, मट्याङ्ग्रा, फित्कौली, घुएँत्रो, ग्याटिसले कसरी सक्छ र ? अहिलेको जिम्लिएको, चाम्रिएको, थानिएको परिस्थितिमा व्यङ्ग्यको आरो हान्न नयाँ किसिमका हात हतियार चाहिन्छ । भ्रष्टाचारका दुर्व्यसनीलाई व्यङ्ग्यका मट्याङ्ग्राले जिस्क्याउनु भनेको गैँडालाई कुत्कुती लाउने असफल प्रयास जस्तै मात्र हो ।

आज चाहिँ म पनि लेख्तिनँ । नलेख्ता के हुन्छ र ? कसैले कर गरेर लेखेको पनि त होइन । मन्त्रालयमा गर्न बितेका अठार काम छोडेर केजातीको उद्घाटन भाषण फिट्न हिँडेको मन्त्री जस्तो, कोट कुर्सीलाई लगाइदिएर दिनभरि घाम ताप्तै चौरीमा देशविकासको गफ चुट्ने कर्मचारी जस्तो, अस्पताल जान छोडेर क्लिनिकमै तुलोदान लिएर रोगीको सेवा गर्ने डाक्टर जस्तो, मर्यादाको किलो उखेलेर दाम्लो चुँडाएर प्राइभेट शिक्षाका पसलहरूमा पाती पढ्दै हिँड्ने प्राध्यापक जस्तो, म पनि यो कापी मिल्काएर सिमानामा वारिका माल पारि, पारिका माल वारि गर्न हिँड्दा के फरक पर्ला र ? आखिर अहिले को चाहिँ ठेगानमा बसेको छ र ? सबै नेता मन्त्रीहरूले मात्रै प्रजातन्त्र लोकतन्त्र गणतन्त्र खेल्ने यसो कहिले काहीं त खेलौ न हामी पनि । हामी चाहिँ कति दलित भएर बस्नु ?

पृथ्वीनारायण शाहले काशीमा गएर गोत्र परिवर्तन गरेका थिए अरे । अब चाहिँ देशमै नाम, थर, गोत्र परिवर्तन गर्न पाउने प्रावधान राख्नुपर्छ । को कति बेला कहाँ पुग्छ, त्यसलाई अद्यावधिक गर्दै बैजानुपर्छ । मरिचमान श्रेष्ठ, डा. तुलसी गिरी जस्ता ओझेल परेका पनं अटिका मान्छेले दलितमा जान पाऊँ भनेर निवेदन हाले भने पाउनुपर्छ । लेखक, कवि, कलाकारको त झन् कुरै भएन, यी सधैकै दलित हुन् । कुन समयमा को दलित पीडित हुन्छ, कुन समयमा को, समायोजन गर्दै जानुपर्छ ।

समय अनुसार दलाहा र दलित, पीडक र पीडित परिवर्तन भइरहन्छ । एक प्रकारले भन्ने हो भने हाम्रो देशै दलित भइसकेको छ । शोषक जिमिदारले एक छाक मासुभात खुवाएर एक बिघा जति जग्गाको साँध मिचेजस्तो छिमेकी भाइले यसो सरसहयोग गरेजस्तो गर्दै सीमा मिचेको मिच्यै छ । हामी नेपाली दलित केही गर्न त होइन बोल्न समेत सक्तैनौँ । नमिचिदिनु न भनेर विनम्र निवेदन हाल्न पनि सक्दैनौ । डरले अरू कसैको हारगुहार गर्न पनि सक्तैनौं । ख्वामित् रिसानी होला भनेर कोसी ब्यारेज थुन्दा पनि चुप बसेर त्यत्रो क्षति भयो । क्षतिपूर्तिको माग गर्न हाम्रो वाक्य फुट्न सकेन । सख्खर र ज्वानुले गाईको दुध फुट्छ भन्नेसम्म चाहिं जानेको हो तर यो वाक्य फुटाउने दबाई के हो थाहा पाइएको छैन ।

नलेख्ने भन्दा भन्दै पनि खै यो केको थाङ्नाचुटाइ हो । लेख्ने पढ्ने पारखीहरूले यो के खालको लेख हो ? यसको विषयवस्तु के हो ? सिडपुच्छर कता हो ? संरचना कस्तो ? भाव विचार के ? भनेर नाक खुम्च्याउन सक्छन् तर जसले जे गर्दा भइराख्या बेलामा, जे बोल्दा भइराख्या बेलामा लेख्ने मान्छेले चाहिँ मर्यादाको, सङ्गतिको दाम्लामै टुमरिनुपर्छ भन्ने के छ र ! भएन भने भएन नि । यहाँ राम्रो, गतिलो काम के चाहिँ भएको छ र लेख गतिलो हुनु पर्‍यो ?

यो राजनीतिका नङ्गाबाबाहरूको देश हो । उनीहरू नौरङ्गी भाषणका हावा हाँकिरहेका छन् र त भइराख्या छ । चुनावअधि स्मार्टसिटी जितेपछि यत्रैसित्ति भन्दैछन् । त्यो पनि भइराख्या छ । पाइनदार मन्त्रालयको निम्ति गति छाडेर तलै ओर्लिएर भिडिरहेका छन्, देश जनता र विकासको गायत्री जपेर स्वार्थका घैला भरिरहेकै छन्, भइराख्या छ । प्रजातन्त्रको पिलो फुटेर भिँगा भन्केर औसा उम्किएर, उकुच पल्टिएको छ । यो कुरो पनि सहज रूपमै पचिरहेकै छ । लबस्तऱ्याइँ गरेर कुतर्क कोरल्दै लूट मच्चिरहेकै छ, त्यो पनि भएकै छ । यस्ता बेलामा लेख रचना चाहिँ चिरिच्याट्ट सङ्गति मिलेका हुनै पर्छ भन्ने के छ र । युगको प्रतिनिधित्व गर्न पनि अहिलेका लेख रचनाहरूमा धामी फलाके झैँ फलाक्नुपर्छ । कसैले यसको फेद टुप्पो बुझेन भने ठान्नू यो लीला लेखन हो । नबुझिने अन्योल गजमौरा कुरा कोरलेर दुनियाँलाई बोरामा हाल्न सक्यो भने त्यस्तो लेखकले सम्मान पुरस्कार पाउँछ । उसका कुरा पढेर बुझ्ने झन्झट गर्नुभन्दा गिदी थाद्धिलो पार्नुभन्दा भदौको गर्मीमा बोलाएर एउटा धुस्सा ओढाइदियो, बस् आफैँ पाकेर पिल्सिन्छ ।

जत्ति पढेलेखेका मान्छे भए उत्ति अस्पष्ट, जत्ति ठुलो नेता भन्यो उत्ति कपट, जति लेखक गतिलो भयो उति दुर्बोध्य दुरुह, जति साँचो सत्यका पछि लाग्यो त्यति दुःख र दण्ड । यस्ता कुरा हाम्रा मौलिक विसङ्गति हुन् । भइगो आज नलेख्ने नै विचार गरेँ । अर्को अर्को पाली लेखौँला । नलेखे पनि के पो हुन्छ र । पिलो निचोरेपछि पिपबाहेक के पो आउँछ र ? जत्ति गिजोले पनि जो भएका कुरा यिनै हुन्, कसो पो गर्ने र ?

०००
झापा
मुलाको मुरली (२०७९)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अभिनन्दन पत्र

अभिनन्दन पत्र

चूडामणि वशिष्ठ
सकेँ भने कुनै दिन लेखौँला

सकेँ भने कुनै दिन...

चूडामणि वशिष्ठ
कार्यालयको पीपल

कार्यालयको पीपल

चूडामणि वशिष्ठ
कार्यालयको पीपल

कार्यालयको पीपल

चूडामणि वशिष्ठ