सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सकेँ भने कुनै दिन लेखौँला

विषयबिनाको लेख भनेको नुनिलोबिनाको नुन, गुलियोबिनाको मिठाई जस्तै हो । नुनिलोबिनाको नुनको के काम ? त्यस्तो कुरो राजनीतिमा बाहेक अन्त कतै काम लाग्दैन ।

Nepal Telecom ad

चूडामणि वशिष्ठ :

एउटा साहित्यिक पत्रिका प्रकाशन गर्ने अरे । साथीहरूले एउटा लेख पठाइदिनू भनेर तारन्तार फोन गर्दै छन् । यो बेलामा किन चाहिएको हो साहित्यिक पत्रिका ? भाषा साहित्य कला धर्म संस्कार परम्परा मूल्य मान्यता आदर्श सिद्धान्त आदि सबै ओरालो लागको बेलामा यी साथीहरूलाई किन उल्टो बाटो हिँड्नुपरेको हो थाहा छैन ।

लेख्न त लेख्नै पर्‍यो । साथीहरूको आग्रह टार्न सकिएन भनेर लेख्ने सोच बनाएँ । कलम समातेर घन्टौ घोरिँदा पनि लेख्ने विषय फुरेन । जीवन जगत्का सम्पूणर् कुराहरू अरुअरुले नै लेखेर सिध्याए जस्तो लाग्यो । देशमा सबै कुरा सकिँदै गइरहेको छ । राष्ट्रिय ढुकुटीकै प्राणपखेरु उड्न लाग्या छ भन्दैछन् । सामाजिक मर्यादा, राजनीतिक अनुशासन, आर्थिक इमान्दारी, धार्मिक विश्वास, शैक्षिक सङ्गतिको दुर्भिक्षले गाँजेको छ । राजनीतिले जत्ति उल्टी पल्टी कोल्टी गुल्टी खेले पनि तन्त्रै तन्त्रको पहाड अग्ल्याए पनि भुइँमान्छेहरू रैतीबाट जनता नागरिक बन्न सकेका छैनन् । नेता मन्त्रीहरूले देशमा विकासको लोहोरो उसिन्न बसाएका छन् । यो चाँडै पाक्तैछ भनेर आश्वस्त पार्दैछन् । पाक्ला र खाउँला, झर्ला र खाउँला भनेर आसको पासोमा झुन्डिनेहरूको पनि कमी छैन । सबै कुरा कता लेखिरहनु !

फेरि अर्को मनले सोचेँ – अर्थोक सबै सकियो भन्दैमा कुरो पनि सकिन्छ र ? राम्रा असल कुरा पो छैनन् त, कुनै एउटा खराब कुरालाई समातेर लेख्ता भइहाल्छ नि । घरै डढेर समाप्त भए पनि अंगार र खरानीको के हर्जा । त्यही खरानीको फागु खेल्दा के फरक पर्छ र ? कहीँ कतै केहीमा नभएको सङ्गति लेखमा चाहिँ हुनैपर्छ भन्ने के छ र । नेता मन्त्रीको भाषण जस्तै चाहिँदा नचाहिँदा कुरा छरस्टै पार्दियो छोड्दियो ।

अब के विषयमा लेख्ने भनेर मस्तिष्कमा धेरै कुराहरू छड्किरहेका थिए । यो विषयमा यसरी नै लेख्ने भन्ने योजना नभएकाले कलम अलिक लर्बरियो । एउटा लहडी उरन्ठेउलो ठिटो कहाँ जाने भन्ने थाहै नपाइ डुल्न निस्केजस्तो, कुनै नीति योजनाबिनै सरकारले कुनै कुराको कार्यान्वयन गराउन खोजेजस्तो । कलम समातिसकेपछि कसो अलिकति काराज नरङ्गयाइएला त ? ठेलेकै पेलेकै भरमा पनि केही त भइहाल्छ नि ! सिङ्गै मुलुक अहिले ठेलेकै हेलेकै पेलेकै भरमा चल्दैछ भने जाबो एउटा लेखको के कुरो भयो र ? यो देशमा कुन चाहिँ कुरो योजना अनुसार भएको छ र ? योजनै हुँदैन, भइहाले सो अनुसार काम हुँदैन । एकातिर सातु अर्कातिर सप्याक् भनेझै योजना बाटो नभएका ठाउँमा हालेको पुल झै हुन्छ । काम मनमौजी किसिमले अर्कैतिर मौलाउँछ । तैपनि लेख लेख्नलाई कुनै न कुनै कुराको फुर्को पक्रिनै पर्छ तर खै कुन कुरो पो समालूँ !

हाम्रो देशको निर्वाचनकै कुरा कोरल्दा पनि एउटा लेख त बन्थ्यो तर कैरन कोरल्न कलमै लजाउँछ । प्रजातन्त्र लोकतन्त्र गणतन्त्र भनेर नेताहरू डुक्रिन्छन्, सर्वशक्तिमान् जनतामा सार्वभौम सत्ता निहित भनेर कुर्लिन्छन् अनि चुनावमा बुथ क्याप्चर गर्छन् । पैसाको बल, तिघे पाखुरेको आतङ्क, झुटा आश्वासन, मरेका पितृलाई भोट हाल्न लगाएर अनि नाना किसिमका छलकपट गरेर चुनाव जित्छन् । लाउके टाउके नेताहरू योग्य, दक्ष, सक्षम, इमान्दारहरूलाई टिकट नदिएर पैसावाला चतुरेहरूलाई टिकट बेच्छन् । दुनियाँ हेरेको हेर्‍यै । यिनै कुरालाई तुलोमा हालेर लेख्ता जोख्ता हुन्थ्यो तर अदालतको तुलो त पैसा पावरमा बिक्छ भने जाबो लेखकको तुलोले के काम गर्छ र ? खसी कति किलो होला भनेर अन्दाज गरेकै डोलो अन्दाज गरौं भने अर्नालिएको अर्ना जस्तो मैमत्त राजनीतिलाई कहाँ उचाल्न सकिन्छ र ? यो विषयले पनि लेख्न काम दिँदैन ।

देशमा हुने गरेको भ्रष्टाचारको कुरो कोट्याउँदै मकै नङ्ग्याए जस्तो भ्रष्टहरूको चरित्र नङ्ग्याउँदा पनि एउटा लेख त तयार हुन्थ्यो तर यी भ्रष्टहरूलाई चरित्र भनेको के हो भन्ने नै थाहा छैन अनि किन लेख्नु र ? यस मुलुकमा कुनै दिन भ्रष्टाचार साँच्चै बन्द भयो भने भ्रष्टहरू सदाचारी बन्नुभन्दा पासो लगाएर मर्न बल गर्नेछन् । बरु अक्सिजन बन्द भए पैसाको बलमा केही दिन बाँच्लान् तर भ्रष्टाचार बन्द भएको खप्न सक्ने छैनन् । प्रयास गर्‍यो भने लागू पदार्थ सेवन गर्ने भित्ती खोये जँड्याहाहरू फर्किएर पञ्चामृत गङ्गाजल खान थाल्लान् तर भ्रष्टहरूको उपाय छैन । कुनै एउटा भ्रष्टलाई पक्रेर चारपाटा मुढेर, मोसो दलेर जुत्ताको माला लाएर गधाको पुच्छरतिर फर्काएर चढाउनु र गाउँ सहर घुमाएर छोडिदिनु हो भने पनि भोलिपल्टदेखि उसले त्यही कर्म गर्छ, कुकुरको पुच्छर सोझिँदैन । अनि भ्रष्टाचारका कुरा लेख्ने दुःख किन गर्नु ?

विना विषयवस्तुकै भए पनि एउटा लेख त लेख्नै छ । विषय नहुँदा लेख्नै नसकिने पनि होइन, तर त्यो लेख कस्तो होला ? यसो विचार गर्छु, विषयवस्तु बिनाको लेख अझै रमाइलो पनि हुन सक्छ । निश्चित विषयमा लेख्न त योजना चाहिन्छ, ज्ञान चाहिन्छ, क्रमबद्ध व्याख्या विश्लेषण, त्यसको इतिहास हुनुपर्छ । त्यस्तो झन्झट को गरिरहोस् ? जे भेट्टायो त्यही खायो, जति पायो त्यति खायो, जहाँ पुग्यो त्यहीँ बस्यो, जे मन लाग्छ त्यही गर्‍यो, जसले जे भने पनि अँ अँ हो हो भन्दियो, कति ढुक्क । कति आनन्द ! प्रतिवाद गरेर, तर्क तेस्र्याएर किन टाउको दुखाउनु ? कुनै एउटै विषयलाई किन लखेट्नु ? जिम्मेवारी किन लिनु ? विनाविभागीय मन्त्री जस्तो विनाविषयको लेख लेख्यो बस्यो । योजनाविनाको काम गर्न सजिलो हुन्छ । जे गर्‍यो त्यही ठिक, जे गरेन त्यो झन् ठिक, नेताहरूको शैली जस्तो । सुनेका, देखेका, भोगेका कुराहरूको बिस्कुन सुकाइदियो छोड्दियो -त्यो बिस्कुन कसैले उठाओस् कि नउठाओस् नेताको चुनावी भाषणजस्तो !

लक्ष्य, योजनाविनाकै काम राम्रा हुन्छन् । हिजोआजका कलेजका विद्यार्थी भयाम्ले, भयाप्ले, दारी पालेका झारखन्डे, कुन्डले, टपे, शरीरभरि टाटु खोपेका केटा र काँचा तिघ्रा देखाउँदै मिनी स्कट लगाएर डेड बित्ताको अग्लो स्यान्डल लगाएका ठिटीहरू कलेजमा कस्तो रामरमाइलो गर्छन् ! निश्चित योजनामा लागेका भए त्यो परमानन्द कहाँ प्राप्त हुन्छ ? बित्थामा मेहनत गरेर, हड्डी घोटेर, पढेर के हुन्छ र ? बाबुआमाका निम्ति कलेज गैदियो, मास्टरका लागि कक्षामा बसिदियो, परीक्षामा पनि उपस्थिति जनाइदियो, पास भइहाले केही बिग्रेन, फेल भए नेतागिरी छदैछ । झन् ठुलो लड्डु हात लाग्छ । त्यसकारण एउटा जाबो लेखमा विषयवस्तुको योजना किन चाहियो ?

यस दुनियाँमा के चाहिँ मिलेको छ र लेख मिल्नुपर्‍यो ? कुन कुरो चित्तबुझ्दो छ र लेखमा चित्त बुझ्नुपर्‍यो ? विसङ्गति नै विसङ्गतिको माझमा सङ्गति खोज्नु भनेको पानीबिनाको बगरमा माछा खोज्नु जस्तै हो । राम्रा गतिला लेख लेख्नेहरू छन् त ! तिनले कुन महाभारत जितेका छन् ? पाठकहरूले पनि यो फ्रि साइजको लेख नपढ्नु । बरू एउटा राम्रो सुन्दर रङ्गिन भावनामा डुबेर काल्पनिक मोज लुट्नू । त्यसमा स्वर्गीय सुख प्राप्त हुन्छ । यथार्थ त साह्रै नीरस, सुख्खा, खस्रो, फुस्रो र टर्रो छ ।

अझै पनि लेखले विषय पक्रिएन । विषयबिनाको लेख भनेको नुनिलोबिनाको नुन, गुलियोबिनाको मिठाई जस्तै हो । नुनिलोबिनाको नुनको के काम ? त्यस्तो कुरो राजनीतिमा बाहेक अन्त कतै काम लाग्दैन । राजनीतिमा चाहिँ नेतृत्वबिनाका नेता थुप्रै छन् । जनताका निम्ति घोक्रो फुलाएर भाषण बास्ने र आफ्नो धोक्रो उकास्ने नेता भनेका गुलियोबिनाका मिठाई हुन् । यो लेख पनि सायद त्यस्तै भयो होला ! यी लेखकहरू प्लास्टिकको छेस्के कलम समातेर के न गरौँला, के के न पल्टाउँला, तछारौँला भनेझै गरेर हड्डी घोट्छन् । लेखेर खै कस्तो आत्मसन्तुष्टिमा रमाउँछन् ? लेखेर यहाँ कहिले के भएको छ र ? यसैलाई विषयवस्तु बनाएर यसभित्रको गुह्य रहस्यको रस निचोरेर पनि एउटा लेख त तयार हुन्थ्यो तर भै गयो आज चाहिँ के विषयमा लेख्ने भन्ने टुङ्गोमा पुग्नै सकिनँ । कुनै दिन सकें भने लेखौँला ।

०००
झापा
मुलाको मुरली (२०७९)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अभिनन्दन पत्र

अभिनन्दन पत्र

चूडामणि वशिष्ठ
लेखेर के पो हुन्छ र !

लेखेर के पो हुन्छ...

चूडामणि वशिष्ठ
कार्यालयको पीपल

कार्यालयको पीपल

चूडामणि वशिष्ठ
कार्यालयको पीपल

कार्यालयको पीपल

चूडामणि वशिष्ठ