साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभिनन्दन पत्र

फूलफलेदो, धूपधुवार, सिन्दुर गाजल, दानभेटी अर्पण गरी तपाईं नेता र तपाईंकी नेतिनीलाई प्रफुल्ल प्रसन्न पार्न सक्ता जागिरमा बढुवा, राजदूत, अनेक प्रकारका राजनीतिक नियुक्ति, निर्वाचनमा टिकट, हुन सक्छ ।

Nepal Telecom ad

चूडामणि वशिष्ठ :

शक्तितन्त्र, शासनतन्त्र, नेतातन्त्र, स्वार्थतन्त्र, सत्तातन्त्र, लुटतन्त्र, फुटनन्त्र, मनपरीतन्त्रका धनी मुखमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको ओठे मन्त्रतन्त्र जप्न खप्पिस, जस्तो सुकै परिस्थितिमा पनि शासन सत्ता शक्तिमै टिकेर अडिएर बस्नुभएका, शन्डमुशण्ड, नन्दीभृङ्गी, छुल्याहा हुल्याहा, खोयेका भरमा प्रत्येक निर्वाचनहरूमा विजय प्राप्त गर्दै आउनुभएका, अजङ्गको विराट् नेताको स्थानमा विराजमान तपाईंलाई अभिनन्दन गर्न पाउँदा म असीम गौरव गर्दछु । लक्ष्मीदास, लक्ष्मीभक्त, द्रव्यदास इत्यादि अनेक नामले सुपरिचित तपाईंमा आभ्यन्तरिक श्रद्धाका साथ अभिनन्दन गर्दछु ।

धनदौलत सम्पत्ति रुपियाँपैसाले परिपूर्ण, देशीविदेशी बैंकहरू भरिसक्नुभएका, प्राइभेट अस्पताल, कलेज, उद्योगहरूमा सेयर हाल्नुभएका, पुस्तौंपुस्ताका निम्ति आर्जन सुनिश्चित गरिसक्नुभएको मात्रै होइन मावली, ससुराली, बन्धुबान्धव, कुटुम्ब तथा सम्पूर्ण आफन्त र आफ्ना आसेपासे गाँसेकराँसेलाई समेत आयस्रोतको मुहानमा पुर्‍याउनु हुने फराकिलो हृदय भएका तपाईं धन्य धन्य हुनुहुन्छ । कार्यव्यस्तताले नेपालका सबै जिल्ला र आफ्नै जिल्लाका गाउँ टेक्न नभ्याए पनि विश्वका धेरै राष्ट्र भ्रमण गरिसक्नुभएका, झाडा पखाला, रुघाखोकी लाग्दा तथा नाइटो चिलाउँदा पनि विदेशी अस्पतालमा पुग्नुहुने तपाईंका निम्ति बैतडीभन्दा बेलायत नजिक, ओखलढुङ्गाभन्दा अमेरिका नजिक, चितवनभन्दा चिन नजिक, जुम्लाभन्दा जर्मनी नजिक, सिराहाभन्दा सिरिया नजिक भएका छन् । आवश्यकताअनुसार दौरा सुरुवाल, कमेजधोती, गादोफेटा, सुटटाई आदि कहाँ कहाँ पुग्दा के के पहिरन लाउनुपर्छ भन्ने ज्ञान भएका, सोही अनुसार भेष बदल्दै हिँड्ने तपाईंको बहुरूपी व्यक्तित्वको म मुक्तकण्ठले प्रशंसा गर्दछु ।

चतुरविद्यामा पारङ्गत, ध्वनिप्रदूषण हुने गरी खतर्नाक भाषण डुक्रिनसक्ने प्रखर वक्ता, धूर्त चिन्तक विचारक, तपाईंको वाक्पटुताबाट म प्रभावित छु । तपाईंका सिर्जनशील सुनौला वसन्तहरू देशसेवाको नाउँमा मेवा फलाउन सधैं दत्तचित्तले लागिरहने, आफू र आफ्नाको निम्ति सधैँ सक्रिय रहने, वैयक्तिक उन्नति प्रगतिको निम्ति मरिमेट्ने तपाईंको उदात्त चरित्र अनुकरणीय र अनुशरणीय छ । यस्तो चरित्रको सम्मान अभिनन्दन गर्न पाउँदा म गौरव गर्दछु ।

क्रान्ति, विद्रोहका अगुवा, सर्वहारा वर्गका नायक तथा आशाका केन्द्र तपाईंका चिल्लाचिप्ला, बाठामिठा कुराले जोसुकैलाई मोहनी लगाउँदै पछाडि लाउन सक्ने क्षमता राख्छ । क्रान्तिका नाउँमा गाउँघरलाई भस्मे बनाउने क्षमताको त झन् चितवनको उन्मत्त धुर्बे हात्तीसँग तुलना गर्दा पनि कमै हुन्छ । तपाईंको क्रान्तिले देशमा रोग, भोग, शोक, अभावले पिसोल्टिएका हजारौं हजार जनतालाई यो जहरिलो विकट संसारबाट सधैंका निम्ति मुक्ति दिलाउनुभएको छ । तपाईंको यो राजनीतिक अपूर्व छवि देशविदेशमा छाएको छ । तपाईंले छोड्नुभएका पदचाप बिर्सन खोज्दा पनि बिर्सिनसक्नुको छ । विकास निर्माण, उन्नति प्रगति, शान्तिसुरक्षाको पावर जडेको शक्तिशाली चस्माधारी तपाईंको अति उच्च मानसिकता, मनोबल, अहम् स्मरणयोग्य छ ।

हे महामानव ! २६५ अङ्कसम्मको जोडघटाउ, गुनाभागा गर्न सक्ने, आवश्यकता अनुसार सूत्र बदलेर अनेक उत्तर निकाल्न सक्ने, विश्वास र अविश्वासको बुद्धिचालमा कहिल्यै नहार्ने, सांसद खरिदविक्रीमा कहिल्यै घाटा नखाने, सांसदलाई होटलमा थुन्न, विदेश भगाउन, अपहरण गर्नमा दैव, राजनीतिको व्यापारमा लामो अनुभव सँगाल्नुभएका तपाईं अरूको बललाई आफूमा मिलाउने, अरुको योजना जुक्तिलाई आफ्नो बनाउने, आफूमा कुनै बल वर्गत जुक्ति हैसियत नहुँदा नहुँदै पनि रित्तो हात नेपाल पसेका नेपालकै बैंकको पैसा ऋण लिएर, नेपालीकै शोषण गरेर धनी बनेका विदेशी छट्टु, धूर्त, ठग, व्यापारीभन्दा अझ बढी चलाख तपाईंको क्षमतालाई म सम्मान गर्दछु ।

काठमाडौंको अग्लो महलमा विराजमान भई त्यहीँबाट नेपाल देख्ने, तपाईंले खोकेको, हाइ काढेको, अधोवायु पधोवायु के के छोडेको पनि मिडियाले भुइँमा झर्न नपाउँदै लेखिहाल्ने, जस्तोसुकै ठाउँमा, परिवेशमा, परिस्थितिमा र विषयमा भाषण हाँक्न, फुक्न, भुक्न जान्ने सम्पूर्ण कामकुराको विशेषज्ञ नै हो कि जस्ता तपाईंको जत्ति नै वणर्न गरे पनि कमै हुन्छ । ढुङ्गो माटो नटेकेका, रोगव्याध, दुःखपीडा, अभाव अनुभव नगरेका, फ्याङ्लो, थोत्रो, झुप्रोझुम्रोबाट कोसौं टाढा रहेका तपाईं गरिबको संवेदनालाई पक्रेर भाषण गर्न जान्ने, अभावलाई अलाप्न सक्ने, देशजनताको मन्त्र जपेर आफू जाग्दै गएका, गरिबीको गम्भीरतामा गफले गम्किन सक्ने, निजीकरणलाई गोजीकरणमा बदल्ने ह्याउ भएका तपाईंको योगदान अविस्मरणीय छ ।

उद्घाटन, गोष्ठी, सेमिनार, सम्मेलन, अधिवेसन, वैठक, मिटिङ, भेटघाट, चियापान जस्ता कार्यमा सधै व्यस्त, सर्वत्र देश, जनता, लोकतन्त्रको गायत्री, जुनसुकै तन्त्रलाई पनि थामिखान सक्ने, जस्तोसुकै मसहुर जिराहा जोदाहालाई पनि फकाएर, फुस्ल्याएर, लोभ्याएर, चटाएर आफ्नो पक्षमा पार्नसक्ने, सिपालु धामी जस्तै उल्टासुल्टा खेलाउने, आफ्नो रापताप, प्रताप, प्रभाव जहाँतहीँ छोड्दै हिँड्ने तपाईंको महिमा अपरम्पार छ ।

जस्तासुकै समस्या आए पनि आफ्नो सुर नछोड्ने, जनताले जिबै्र टोके पनि, देशले अवैध भुँडी बोके पनि, भाषा साहित्य, धर्मसंस्कृति, वीरता पखालिए पनि कुनै परवाह नगरी सहजै पचाउने, स्वदेशमा सिंह बन्न खोजे पनि विदेशमा मुसो बन्न सक्ने जस्तो तपाईंको धीरोदात्त चरित्रको स्वदेशीहरूले मात्र होइन, विदेशीहरूले समेत पहिचान गरिसकेका छन् । तपाईंको राजनीतिक कुशलता, वाक्पटुता, कुटिलताले जुनसुकै निर्वाचनमा पनि जित हासिल गर्ने कलाको कसले मात्रै अनुकरण नगर्ला र ? चुनावी सिप र प्रविधिमा पोख्त तपाईं मान्छे ढाँट्न, बाकस साट्न, कुरा बाट्नदेखि लिएर बत्ती निभाएर औँसी डाक्नसम्म सफल बन्दै आउनुभएको छ । तपाईंको पुड्के विचारलाई अग्लो मोटो शरीरले, निच्चो सोचलाई ठुलो स्वरले, विसङ्गति विकृतिको डङ्गुरलाई लामा लुगाले, विचारको दरिद्रतालाई गगनचुम्बी महल र स्वदेशीविदेशी बैंकमा रहेको वैभवले, ढिलासुस्तीलाई प्लेन र पजेरोले गम्लङ्ङै छोपिदिएको हुँदा तपाईंको व्यक्तित्व चहकिलो, गहकिलो र चम्किलो बन्न पुगेको छ ।

तपाईं बन्दुकसँग खेलवाड गर्नसक्ने, आगोपानीसँग जिस्किन सक्ने, काललाई पनि लखेट्न सक्ने, मलामीमा हाँस्न, मसानघाटमा इत्रिन सक्ने मात्रै होइन, जन्ती जाँदा रोएको अभिनय समेत गर्न सक्नुहुन्छ । तपाईंको व्यक्तित्व, कला, प्रतिभा स्मरणीय मात्र होइन, अनुकरणीय पनि छ । तपाईंको यो कुशलता र क्षमता हाम्रा निम्ति वैभव बनेको छ । म तपाईंमा यो प्रखर शक्ति अक्षुण्ण रहिरहोस् भन्ने कामना गर्दछु । आफ्नो सम्पूणर् जीवन राजनीतिमा समर्पण गर्नुहुने, देशका ठुलाठुला ठेक्कापट्टाहरूमा नियन्त्रण र पहुँच राख्ने, विदेशीहरूको इच्छाबमोजिम कार्य सम्पन्न गरिदिएर रिझाएर राख्ने क्षमता भएका, नयाँ नयाँ आयस्रोत पहिल्याउन खप्पिस, कमाउधन्दामा लीन भएर लाग्नुभएका, हे अग्रणी व्यक्तित्व, तपाइँले पार्टीको प्रमुख पदमा रहेर आफ्नो शक्ति क्षमताको प्रदर्शन गरिरहनुभएको छ । राजधानीमा टिकटको पसल खोली सांसद, छोटेसांसद, मुख्यमन्त्री, मेयर, साहूमहाजन, डन, गुन्डाहरूलाई बिक्री वितरण गर्ने तपाईंको गल्लावाला सिप कौशलको उच्च मूल्याङ्कन गर्दै अभिनन्दन गर्न पाउँदा म आफूलाई भाग्यमानी भएको ठान्दै गौरव गर्दछु ।

राजधानीमा तपाईं एनसेलमा छुट, बालुवाटारमा लुट, पार्टीमा गुट गर्ने कार्यमा व्यस्त रहँदा गाउँ जिल्लामा तपाईंका कौरव सेनाहरू बेचिखान अरु केही नभेट्टाएपछि तपाईंलाई प्रतिशत टक्य्राउँदै एकजुट भएर चोरी निकासी गर्न निस्लोट भएर लाग्नाले देश रौरव बन्न लागेको छ । यसरी टाउको र पुच्छर दुवैतिरबाट एकैचोटि चबाउँदा, दार्दा, लुछ्दा, निल्दा पनि तृप्त शान्त नहुने अत्यन्तै शक्तिशाली तपाईंको दावानललाई म सलाम गर्दछु ।

फूलफलेदो, धूपधुवार, सिन्दुर गाजल, दानभेटी अर्पण गरी तपाईं नेता र तपाईंकी नेतिनीलाई प्रफुल्ल प्रसन्न पार्न सक्ता जागिरमा बढुवा, राजदूत, अनेक प्रकारका राजनीतिक नियुक्ति, निर्वाचनमा टिकट, उद्योग व्यापारमा कर छुट, राष्ट्रिय मानसम्मान पुरस्कार पदवी, कर, माल, भन्सार, यातायात आदि मलिला अड्डामा सरुवा हुन सक्छ । तपाईंको यो राप, ताप, प्रताप, पावरलाई म धनुष्टङ्कार नमस्कार गर्दै तपाईंको यो सफलताको निम्ति र उत्तरोत्तर यशस्वी भविष्यका निम्ति हार्दिक कामना गर्दछु ।

प्रस्तुत अभिनन्दन नेतागणले सरकार बन्न लाग्दा मलिला मन्त्रालयको निम्ति झगडा, बखेडा, रडाको, कचेडा, कचिङ्गल गरेझैँ नगरी सबैले मिलेर आआफ्नो भागमा परेको स्तुति प्रशास्ति ग्रहण गर्न म हार्दिक अनुरोध गर्दछु । गालीका शब्दकोश नै कण्ठस्थ गरेर बस्नुभएका, वाक्युद्धमा पारङ्गत तपाईं नेतागणको शब्दभकारी निकै बृहत् छ । कसैले “तँलाई फलानो पद दिलाइदिउँला तेरा बाबुको घरमा आगो लगाइदे ।” भनेर अराउँदा आफू बस्ने घर पनि त्यही हो भन्ने बिर्सेर आगो लगाउँदै खरानीको फागु खेल्न सक्ने भविष्यद्रष्टा, देशभक्त, सम्पूर्ण नेतागणमा ससम्मान सहर्ष यो अभिनन्दन अर्पण गर्दछु ।
सादर अभिनन्दन !!!

०००
झापा
‘मुलाको मुरली’ (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x