विदुर अधिकारीवृद्ध भए पनि जो जन पूज्य छ
वृद्धहरू सब हुन् मृदु वैभव, बस्नु छ घातक कष्ट हरी वृद्ध समादरणीय कला बुझ, पुज्नु छ सादर पाउ परी । वृद्धसमान छ को अति सुन्दर चेत प्रदायक दिव्य घरी वृद्ध भए पनि जो जन पूज्य छ, बन्दछ नायक लोकभरि ।।
विदुर अधिकारी :
आज म गर्दछु सत्य कुरा सब, वृद्धहरूकन प्रेम घरी
वृद्ध निकै बुझ छन् धरतीभर, शिष्ट र भावुक घेर थरी ।
वृद्ध भए पनि जो जन दुष्ट छ, बन्दछ घातक कूटसरि
वृद्ध भए पनि जो जन पूज्य छ, बन्दछ नायक लोकभरि ।।१।।
वृद्ध बुबासित नित्य बसेपछि, बन्दछ यो घर स्वर्गसरि
वृद्ध पितासँग बात गरेपछि, खुल्दछ चेतनको पगरी ।
वृद्ध मुमासँग घुम्न हिँडेपछि, रम्दछ यो मनको नगरी
वृद्ध भए पनि जो जन पूज्य छ, बन्दछ नायक लोकभरि ।।२।।
वृद्ध महान् जन हुन् अभिनन्दन गर्नु छ सार्थक भाव भरी
वृद्ध महान् धन हुन् नव चेतन, राख्नु छ बेस्कन प्रेम गरी ।
वृद्ध भए पनि जो नर दक्ष छ खोल्छ भलोपथ कर्म छरी
वृद्ध भए पनि जो जन पूज्य छ, बन्दछ नायक लोकभरि ।।३।।
मातृसरी कुन हुन्छ र कोमल, प्रेमिल सङ्गतिको लहरी
बाबुसरी कुन हुन्छ र साधक, देव भनी पुज प्रेम धरी ।
वृद्ध भए पनि जो जन सत्य छ, गर्दछ बात यहाँ नडरी
वृद्ध भए पनि जो जन पूज्य छ, बन्दछ नायक लोकभरि ।।४।।
वृद्धहरू सब हुन् मृदु वैभव, बस्नु छ घातक कष्ट हरी
वृद्ध समादरणीय कला बुझ, पुज्नु छ सादर पाउ परी ।
वृद्धसमान छ को अति सुन्दर चेत प्रदायक दिव्य घरी
वृद्ध भए पनि जो जन पूज्य छ, बन्दछ नायक लोकभरि ।।५।।
०००
रामपुर, चितवन
Subscribe
Login
0 Comments
Oldest






































