विदुर अधिकारीवृद्धा र वृद्ध भन्छन्, सोचेर भोट हालौँ
कर्मी बनी जगत्मा सद्भाव छर्न सक्ने गल्ती भए तुरुन्तै सङ्केत गर्न सक्ने यस्तै भला कलाका योद्धा जुझारु छानौँ वृद्धा र वृद्ध भन्छन्, सोचेर भोट हालौँ ।

विदुर अधिकारी :
यो लोकतन्त्रलाई, संवृद्ध नित्य पार्ने
सामन्त, भ्रष्टका ती, नङ्ग्रा सबै उतार्ने
यस्तै सुकर्म गर्ने, मान्छे अवश्य छानौँ
वृद्धा र वृद्ध भन्छन्, सोचेर भोट हालौँ ।
छन् है असाध्य घाती, नेता यही थलामा
बन्छन् तथापि जाती, मान्छे यही पलामा
यो स्वार्थयुक्त जालोलाई मिली बढारौँ
वृद्धा र वृद्ध भन्छन्, सोचेर भोट हालौँ ।
यो राष्ट्रनिम्ति साँचो उत्सर्ग गर्न सक्ने
भै धीर देशको यो सन्ताप हर्न सक्ने
यस्ता सुयोग्य नेता छन् को भनी नियालौँ
वृद्धा र वृद्ध भन्छन्, सोचेर भोट हालौँ ।
दु:खी र दीनका ती,चीत्कार बुझ्न सक्ने
खोज्ने निकास चाँडै, बढ्ता कतै नबक्ने
यस्तै सुकर्मधारी होस् राज्यनिम्ति पालौँ
वृद्धा र वृद्ध भन्छन्, सोचेर भोट हालौँ ।
कर्मी बनी जगत्मा सद्भाव छर्न सक्ने
गल्ती भए तुरुन्तै सङ्केत गर्न सक्ने
यस्तै भला कलाका योद्धा जुझारु छानौँ
वृद्धा र वृद्ध भन्छन्, सोचेर भोट हालौँ ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest