साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रव्यापी चोर कन्फरेन्स

यसरी चोर सम्मेलनको सभा सकिँदा नसकिँदै कोही मेरो फुल्टिन हरायो भन्न थाले, कोही मेरो जुत्ता बेपत्ता भो भन्न लागे, कोही मेरो पाकेट मारियो भनेर हल्लीखल्ली गर्न थाले, कोही मेरो दिल चोरियो भनेर हिँड्न थाले ।

Nepal Telecom ad

रामकुमार पाँडे :

मूर्तिचोरको सभापत्तिवमा कुखुर चोर, कोपरा चोर र जुत्ता चोर मिली राष्ट्रव्यापी चोर कन्फरेन्स गराउनेहेतुले आयोजक समिति गठन गरियो । समिति गठन हुन नपाई समाचार चोर्न पल्केका सम्वाददाताले आफ्नो पत्रिकामा धमाधम सनसनीपूर्ण समाचार छापाइहाले । समाचार छापिनु के छ, चोरहरूको कुरा पाए बडेमानको तक्मा भिर्न पाउँला भन्ने ताकमा सी.आई.डी. जमजमाए । उता बिना काम अबरोध पनि काम हुने भयो भन्ने ठानी कामचोरहरू मख्ख भए । दिलचोरहरू चाहिँले पत्तो पाउलान् भनेर थुरथर कुथुर भए ।

आयोजक समितिले अब धुमधामको तयारी गर्न थाल्यो । चोरबजार रातारात खुल्न थाले । ण्ण्ण्ण्तयारी चोरहरूको लागि देब्रे हातको खेल थियो । धम्की दिएर, पिटेर, छकाएर, फकाएर, ठगेर चोरहरूले हजार दाउमा पैसा बटुल्न थाले । स्वदेश विदेश सारा ठाउँबाट लुटेर ल्याएका सामानहरू चोरीनिकासी पैठारीद्वारा ओइरो लाग्न थाले । इनेगिनेका चोरहरूको घर छाडी अधिराज्यभरका अन्य घरहरू यस अभियानमा असुरक्षित भए । कैयन घरहरूका, मान्छेका मुखमा टालो कोचेर लुटियो, कैयन घरहरूका मान्छेको गर्धनमा समेत चोरहरू चढ्न पुगे । तर समाउने को ? कैयन् समाउन खोज्नेहरू आफैँ चोर भएर चोरबाटो गए । कैयन् मान्छेहरू आफू लुटिँदा चिच्याउन नसकी लाटाबुङ्गा जस्ता भए ।

चोरसँग के जोर ? यसरी चोरिएका सामानहरू थुप्रिन थाले । तर राख्ने कहाँ ? सबैको आँखामा छारो हाल्न गाह्रो थियो । फेरि आयोजक समितिमा नपरेका कुनै चम्बु चोरहरूले सुराक पाए भने चोरमाथि चकार लाग्न के बेर ? तर चोरहरूमध्ये पनि पुलीसप्रुफ महाचोर नै मूर्तिचोर हुनाले चोरीका सामान राख्न र चोर व्यापार गर्न चोर ढोकाको कमी थिएन । चोरी गरेको धनबाट बनेका गगनचुम्बी होटलहरू ठाउँठाउँमा जति भने पनि थिए । यसरी चोर कन्फरेन्सको लागि बस्नमा कवाज, खानमा कवाफ तयार भइसकेको थियो ।

कन्फरेन्स राष्ट्रव्यापी भएको हुनाले नेपालभरिका चोरहरू काठमाडौँ टुँडिखेलमा समसाँझै सबले देख्ने गरी भेला भएका थिए । यो बथान देशका भेंडाच्याँग्राभन्दा कम थिएन । समाचार चोर्ने सम्वाददाता, साहित्य चोर्ने साहित्यिक चोरको साथसाथै अर्काकी स्वास्नी चोर्ने (जार) चोर, किताब चोर, थेसिस चोरदेखि विचार र अचार चोरको अलवा अन्य ठूलो भुक्तभोगी ख्यातिप्राप्त पटके चोरहरू निमन्त्रित थिए । चोरेर ल्याएको पैसो प्रशस्त हुँदा कन्फरेन्समा कुनै कम्ती थिएन । सल्लाका रुखहरू चोर्दै काटेर मञ्च र स्वागतद्वारहरू भव्य बनाइएका थिए । लुटेका कपडा धरिधरो बनाई ध्वजापताका टाँगिएका थिए । रङ्गमञ्चमा कोही चोरेर ल्याएका जुत्ता र लुगामा जमेका थिए, कोही चोरीको चीजमा आराम लिइरहेका थिए ।

यत्तिकैमा एकजना प्रख्यात गीत चोरको गीत सङ्गीत चोरहरूको समूहमा गुञ्जन लाग्यो । सीयो चोरदेखि सुन चोरसमेत कन्फरेन्समा भाग लिन पाएकोमा दङ्गदास परेका थिए । उनीहरूमध्ये कैयन्ले कन्फरेन्सको अन्त्यमा हुने जलपान अगाडि नै लामो हात गरी सफाचट पारिसकेका थिए ।

चोरहरूलाई स्वागत स्वरूप गानबजान गरेपछि टापटिपे चोरले उद्घोषण गर्‍यो- नेपालका कैयन अमूल्य मूर्ति फूर्तिसाथ जम्बुजेट चढाइ सातसमुद्र कटाई आफ्नो पेशालाई सफल पार्ने मूर्ति चोरज्यूलाई सभापतिको लागि आग्रह गरिन्छ ।

उद्घोषणकर्ताको पूर्वनिर्धारित यो प्रस्ताव विमान अपहरणकर्ता चोरले समर्थन गर्‍यो । सभापतिज्यू कन्फरेन्सको उद्घाटन स्वरूप रातो तुलमा लेखिएको- “हामी सब चोरै चोर !” अनावरण गरी मूर्तिवत भएर बसे । सभापतिलाई उपहार स्वरूप नक्कली मूर्ति प्रदान गरियो तर यो उसले लिएन र अर्कैलाई दियो ।
यसपछि टापटिपे चोरले नेपालको सप्रसिद्ध बयोबृद्ध कुखुरा चोरलाई दुई शब्द बोल्न आग्रह गर्‍यो । कुखुरा चोर बासौँला जसो गरी चोरेर तयार गरेको भाषण ठूलो स्वरमा रट्न थाल्यो- हाम्रो देशमा कुखुराको पोल्ट्री-फार्म प्रशस्त खुलाउनलाई निब्र्याजी ऋण दिइनुपर्छ । यस साना उद्योगबाट हामीलाई तुरुन्त फाइदा हुसक्छ ।

कुखुरा चोरको कुरो सभापति बाहेकका अरू मूर्ति चोरहरूलाई चित्त बुझेनछ- बीचमै बोल्न थाले- चोर नै परेपछि कुखुरो जाबो के चोर्नु ? सीयो चोर पनि चोर, सुन चोर पनि चोर । एकैपल्ट सात पुस्ता सप्रने चोरी पो गर्नुपर्छ । मूर्तिचोरहरूको यो भनाइले कोपरा चोरलाई मर्का परेछ- कराउन थालिहाल्यो- केही नगर्नु सट्टा केही गर्नु उत्तम अर्थात् नहुने मामाभन्दा कानो मामा निको । टापटिपे चोरले यसपछि चोरेर पास भई चोर डिग्री हत्याउन सफल दिल चोरलाई सुटुक्क बोलायो । दिल चोर लाजले भुतुक्क भई उभियो र चारैतिर चोर आँखाले हेर्‍यो । दिल चोरको आँखा कन्फरेन्समा उपस्थित एउटी मनचोर षोडसीको दिल चोर्न पुगेछ- ऊ केही बोल्दै नबोली हिँड्यो ।

यसरी चोर सम्मेलनको सभा सकिँदा नसकिँदै कोही मेरो फुल्टिन हरायो भन्न थाले, कोही मेरो जुत्ता बेपत्ता भो भन्न लागे, कोही मेरो पाकेट मारियो भनेर हल्लीखल्ली गर्न थाले, कोही मेरो दिल चोरियो भनेर हिँड्न थाले, कोही छोरी गायव भई भन्न लागे, कोही चाहिँ स्वास्नी भगाइयो भन्न थाले । खैलाबैला गर्दागर्दै सबैको दृष्टि मञ्चतिर पुग्यो तर त्यहाँ बोलेर सबैलाई सुनाउने यन्त्र माइक्रोफोन नै चोरिएको थियो । मञ्चमा केवल दहीचोर कृष्णीको तस्बीरमुनि उद्घाटित साइनबोर्ड थियो- हामी सब चोरै चोर ।

०००

‘बाबुको बिहे’ हास्यव्यङ्ग्यसङ्ग्रह (२०३३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पर्यटकको परिहास

पर्यटकको परिहास

रामकुमार पाँडे
नयाँ रामराज्य

नयाँ रामराज्य

रामकुमार पाँडे
के देश दुख्दैन मोरा हो ?!

के देश दुख्दैन मोरा...

रामकुमार पाँडे
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
पेसा

पेसा

रमेश समर्थन
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x