साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के देश दुख्दैन मोरा हो ?!

कस्तो थियो, के भयो के चेतना जाग्दैन सुनको थालमा माग्न के लाज लाग्दैन भ्रष्टाचारीलाई हेर्दा के मन दुख्दैन मोरा हो के गर्छौ के हेर्छौ छातीमा हात राख्दै भन छोरा हो।

Nepal Telecom ad

रामकुमार पाँडे :

(नेपाली काठको चलन अनुसार छोरीहरु बाइफाला भए भने ‘के भएका राणाराणी हो ?’ भन्ने र छोराहरु बिग्रन लागे भने ‘के गरेको मोरा हो ?’ भन्ने गरिन्छ। आजको देशको परिस्थिति गालीगलौजले नपुग्ने भए तापनि यस कवितामा ‘मोरा’ भन्ने शब्द प्रयोग भएको छ । कतै आघात भए यसलाई व्यङ्ग्य मात्र सम्झनु होला।- रामकुमार पाँडे)

धुन्दुकारी भएर आमालाई क्षेतविक्षेत पार्न
हाम्रा पुर्खाहरुले अर्जेको गौरव झार्न
के चूप लाग्छौ चीरहरण गर्दा छोरा हो ?
के देश दुख्दैन मोरा हो ?

बुद्धको देशमा हतियार उठाउने मूर्खहरु !
के तिमीहरु पनि मान्छे हौ र ? मूसाहरु !
घरको झगडामा पराइ गुहार्ने नालायक नायक हो !
के लाज लाग्दैन आत्मघात गर्न छोरा हो ?!
के देश दुख्दैन मोरा हो ?

नेपाली चेलीबेटी बेचिँदा टुलु टुलु हेर्छौ
रोटीबेटीको सम्बन्धमा के फूर्ति गर्छौ ?
सीमा अतिक्रमणमा खोइ कहाँ प्रश्न गर्छौ ?
देश टुक्राउन खोज्ने भातमारालाई जिउँदै हेर्छौ
हाम्रै गोर्खाली बहादुरीले बचाएको देश
के चिनेनौ नक्कली नागरिकको भेष ?
यो देवभूमि ! राक्षसलाई कुनै ठाउँ छैन
हिमाल, पहाड, तराइ पराइ कुनै गाउँ छैन
देशको गीत नगाउने कहाँको छोरा हो ?
के देश दुख्दैन मोरा हो ?

जनसंख्या कसरी ठुलो ? पाल्ने भूमि पो ठुलो !
टाउकाको हिसाबले कसरी बल्छ चूलो ?
एउटा राष्ट्र बन्न जमिन, जनता र अर्थ चाहिन्छ
स्वाभिमान र इमान बिना सम्मान कहाँ पाइन्छ?
अर्काको देशमा मागी खानेको भूमि कहाँ हुन्छ?
‘भरणार्थी’लाई देश दुखेको कहाँ छुन्छ ?

पत्रकार भरौटे हुने हैन, प्रशासक अरौटे हुने हैन
आफ्नो विवेक प्रयोग गर विद्यार्थीहरू र युवाहरु !
सत्यमा लाग्दैनौ भने जिउँदै मर बरु !

जाग देशका लागि जाग ! सहनु पनि अन्याय हो
निर्लज्ज हात पसारेर लम्पसार पर्यौ छोरा हो !
के देश दुख्दैन मोरा हो ?

आफ्नै पुर्खाको पौरखले आर्जेको
जन्मदै स्वतन्त्र सज्जनहरुको देवभूमि
कसैको उपनिवेश र दास देशका हैनौ
मायाजालमा फसेर ज्यानमारालाइ आसन छोडियो
देश दुर्गतिमा मोडियो नादान कुलङ्गार छोरा हो
के देश दुख्दैन मोरा हो ।

पहाडमा भाेकमरी पर्दा तराईमा झर्छ
तराईमा डाँका लाग्दा पहाडले रक्षा गर्छ
के चाहिन्न पूर्वको अलैँची र पश्चिमकाे अदुवा ?
के बुझ्दैनौ कालोको जालो किन बन्छौ भतुवा ?
के खाँदैनौ हिमाली पानी र स्याउका दाना ?
के गाउँदैनौ नेपाली राष्ट्रियताका गौरव गाना ?
के पहाडले दिँदैन सुन्ताला र जुनार खान ?
के थप कित्ताकाटले रोक्दैन आफ्नै देश जान ?
के लाग्दैन गौरव सगरमाथा हाम्रो हिमालको ?
के लाग्दैन गौरव बुद्ध हाम्रो मैदानको ?
षड्यन्त्रको जालो लाग्यो के हेर्छौ जिउँदा छोरा हो ?!
के देश दुख्दैन मोरा हो ?

के छैन यो देशमा ? जहाँ उचाइमाथि सिमाना छ
हिरा जस्तो हिमाल र अमृत जस्तो पानी छ
अज्जम्मरी बूटी र मन्दिरै मन्दिरको खानी छ।
विश्वप्रशिद्ध गोर्खालीको जवानी छ
इमान्दारी र बहादुरीको निशानी छ ।
खाते, पाते र भातेको राज के हेर्छौ छोरा हो ?
खाता र नातामा लटपटियौ मोरा हो !

पराईले बाले जूट मिल र जनताका झुप्राहरु
कुपुत्रले बेचे घरका इँटा, कागज, कपडा र जुत्ताहरु
मदारीले ल्यायो नक्कली सामान सक्कली भाउमा
माटो, गिट्टी र ढुङ्गा, काठ जाँदैछ कौडीको भाउमा !
नून मर्तेलको बाटो छेकी के पहाड अँध्यारो हुँदैन ?
पहाडको पानी रोक्दा के तराई प्यासले रुँदैन ?
उत्तर दक्षिण मित्र सन्तुलनमा जोडिनु पर्छ
ड्रागन र गोमनको बिचमा गरुड बन्नु पर्छ।
किन बुद्ध भूमि शान्ति भूमि बनेन
सयौँ राष्ट्रले मान्यो किन छिमेकीले मानेन
के चिनेनौ बिरामीको औषधी र बच्चाको दुध रोक्दा
के जेठो देशलाई काँचो मोटोले हेप्दा
कालापानीको भूगोल र नालापानीको इतिहास बिर्स्याै छोरा हो
के देश दुख्दैन मोरा हो ?

के हामीले बच्चाएको हैन तिम्रो देश मित्र हो
दरिद्र दिमागमा साम्राज्यको सोच आयो कि
साँढेको पछि लाग्ने स्याल झैं
सिक्किम, फिजी र भुटानको कल्पना नगर
सधैं स्यालको अङ्गुर हुनेछ उपनिवेशले पछारेका गुलामहरु
मुखै काला पेटै काला अझ मन काला धुने कहिले ?
मात्र हस्तक्षेप छ वर पर सबतिर होस गर बहादुर हो
जीउँदा स्वाभिमानी पुर्खाको खुकुरी सधैं शिरानमा राख
के बुझ्दैनौ अझै पनि बुद्धि झिक छोरा हो
के देश दुख्दैन मोरा हो ?

के फूर्ति गर्छौ ? बाघको छालामा स्यालको दाईं !
पुर्खाको विरासतमा कसरी हुन्छ भुसुनाको रजाइँ ?
रखवाली गर्न सक्दैनौ निमेक हराम छोरा हो ?
के देश दुख्दैन मोरा हो ?

जन्मजात स्वतन्त्र स्वाभिमानी बाटो कस्ले छेक्ने ?
नेपाली हौ भने विदेशीले छातीमा किन टेक्ने ?
देश खतरामा छ नेपालीले सोच्ने बेला हो !
बनौ राष्ट्रवादी छातीमा हात राखेर सोच छोरा हो !
के देश दुख्दैन मोरा हो ?

नेपाली हुनेले आमाको घात गर्दैन
नेपाल भन्नेले पानीमरुवा जूनी मर्दैन
के युद्ध खोजेको ? हामी पनि मर्नै परे मर्छौ पनि
स्वतन्त्रता नबुझ्ने जो जो छन् नालायक छोरा हो !
के देश दुख्दैन मोरा हो ?

नेपाल रहे नेपाली रहन्छ
हाम्रै पुरुषार्थले चन्द्र सूर्य आकाश छुन्छ !
राष्ट्रियताको कसीमा घोटेर हेर्नु छ
धेरै पल्ट हैन एकै पल्ट मर्नु छ
उठ जाग निकम्मा नालायक नबन छोरा हो !
के देश दुख्दैन मोरा हो ?

हाम्रो धरोहरलाई समुद्रमा फाल्छु भन्ने
मदारीको भाषण ताली पिटी सुन्ने
इतिहास, भूगोल भत्काएर
भेद विभेदले दिमाग सल्काएर
देशको दुर्गति के हेरि बस्छौ मोरा हो ?
विद्वता, बुद्धि र विवेक प्रयोग गर छोरा हो।

क्रान्तिका नाममा भ्रान्ति सिर्जना गरेर
जनताको नाममा आफ्नै भुँडी भरेर
खोइ के परिवर्तन गर्यौ ? कहाँ के भयो ?
दिनौ युवाहरु नोकर बन्न विदेश गयो
ललकार गर्छ दिनदहाडै अन्याय भयो !
के डन र डाँकाको राज्य हो यो ?
अबको आन्दोलन राष्ट्रियताको आन्दोलन
शुद्ध नेपालीको पहिचानको सम्मिल्लन
आउ देशलाई उठाउ पानीआन्द्रे मोरा हो
व्यङ्ग्यको बम बर्षाउ जिउँदा छोरा हो !

यो देशमा मणि मिल्के कति कति
कानै चिरिएका आए नेता जति
खच्चड जस्तै कि भुसिया जस्तै
पछि लाग्नेको भीड डन र डाँका उस्तै
पहिचानको धरोहर ढाल्दै गयौ
लोभ, लालच र लालिपपमा फस्दै गयौ
कस्तो थियो, के भयो के चेतना जाग्दैन
सुनको थालमा माग्न के लाज लाग्दैन
भ्रष्टाचारीलाई हेर्दा के मन दुख्दैन मोरा हो
के गर्छौ के हेर्छौ छातीमा हात राख्दै भन छोरा हो।

यो देशमा बुद्ध जन्मिए के शान्ति चिनेनौ
बडामहाराजको दिव्य उपदेश के सुन्दै सुनेनौ
यहाँ कोही निरंकुश हुने हैन हाम्रो भोटले
बढारिने छौ होसियार जनताको चर्को चोटले
एकताको शूत्र बिना फूलको माला कहाँ बन्छ
गति छाडा मूर्खलाई कसले गन्छ
एकीकृत भूमि टुक्रा पारेर कता जाँदैछन्
लुटलाटको हण्डी खानेले देशै खाँदै छन्
भागबण्डामा राजदूत प्राज्ञ र टेण्डर मन्त्री पदहरु
जनताको शासन भन्दै मनपरि गर्ने दलालहरु
खाउवादिका साझेदारी लोकतन्त्रमा बन्धनै बन्धन
के बाउको बपौती हो सत्ता सिण्डिकेट गठबन्धन
लाठो मुङ्रो र बम र बन्दुकले मन जित्न सकिँदैन
यदि मान्छे हौ भने के नकाब फाल्न सकिँदैन
सत्य डग्दैन असत्य तग्दै तग्दैन
गरीबको नारा दिदै हसुर्ने असुरहरु टिक्दैन
झुक्किए जनता अब बबकूफ बन्ने हैन
मात्रिभूमिको चीरहरण देख्दै छौ के हिर्दय छैन
क्या गज्जब राष्ट्रिय एकता अखण्डता कता फाल्यौ
स्वाभिमान र सार्वभौमिकता कता हाल्यौ ?

बोका बनाउ कि भेडा बनाउ मनपरि भएको छ
मुट्ठीभरका भाटहरु सबको इज्जत गएको छ
अबको आन्दोलन राष्ट्रवादीहरुको अहिंशा परिचालन
नेपाली स्वाभिमानी पहिचानको रास्ट्रवादी आन्दोलन
बूटमुनि बस्नेको अस्तित्व छैन मोरा हो
उठ जाग सूर्य चन्द्र बोक्दै देशका सपूत छोरा हो ।

०००
२०७३ मङ्सिर

नोट: यो कविता २०७३ मङ्सिरमा रचिएको हो। यो मेरो २०२ हसाउने कविता सङ्ग्रह पाण्डुलिपिमा भए पनि त्यस बखतसम्म अति भै सकेको देखि जनबोली निस्केको हो। यस्मा मेरो व्यक्तिगत कुनै रिस राग बा नियत केही छैन। केवल देश राम्रो होस् भन्ने मनसुवाले मात्र लेखेको हुँ। त्यसबखत नछापिएको तर बाचन गरिएको थियो। यो कविता लेखेको ९ वर्ष भएछ। यस दृस्टिले युवा क्रान्ति अलि ढिलै भएको हो। तर रास्ट्रवादी आन्दोलन बेलाबखत हुँदै आएको हो। तात्नलाई अलि समय लाग्यो। यो क्रान्तिलाई कसैले पनि कम नआँकोस् र दबाउने बा बाटो बदल्ने हैन सबैले चेतना लिएर अब भ्रष्टकाे सम्पत्ति रास्ट्रियकरण गरि देशलाई भ्रष्टाचार मुक्त पारी असल र ल्याकतवान व्यक्तिहरुलाई योग्यता अनुसार देशको जिम्मा दिँदै विकासमा अग्रसर रहनु पर्छ। देशमा एकताको प्रतीक सहित हिन्दु अधिराज्य स्थापना गरि नेपालीको मौलिकता र स्वाभिमान र स्वावलम्बन साथ सबैको साथ रहोस्। हामी विश्वमा सारै पछि पर्यौं। अब हाम्रो देश नेपाल र हामी नेपालीको एकता भावना साथ देश अघि बढोस्। अन्यथा ठूलो रक्तपातमा देश जानेछ। चेतना भया।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Balaram Parajuli
Balaram Parajuli
7 months ago

गजब व्यंग्य कविता, मलाई मनपऱ्यो हजुर । सरको जय होस् ।

Nepal Telecom ad
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
1
0
Would love your thoughts, please comment.x
()
x