साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक चोक्टा (उपन्यास अंश– ७)

पुरेत र कप्तानको पढाई सुनि सबै चकित भए । कतै कसैको निदारमा चिट् चिट् पसिना आउन थाल्यो । यत्तिकैमा चाउरेले सर्वतको गिलाँस ल्याई पुर्‍यायो । कप्तान साहेबले ट्रेबाट झिक्दै बाँड्दै गरे ।

Nepal Telecom ad
बी.डी. त्यागी :
समसामयिक नेपाली हास्यव्यङ्ग्यमा कमै चर्चामा रहेका हास्यव्यङ्ग्यकार व्यक्तित्व हुन् बलदेव आचार्य । उनी बी.डी. त्यागीको नामबाट हास्यव्यङ्ग्य लेखनमा सक्रिय थिए । मोहनकुमारी/शुकदेव आचार्यका सुपुत्रका रूपमा वि.सं. १९९६ साल वैशाख १२ गते गहनापोखरी टंगाल, काठमाडौँमा जन्मिएका त्यागीले स्नातक तहसम्मको औपचारिक शिक्षा आर्जन गरेका थिए । वि.सं. २०६० वैशाख १९ गते कीर्तिशेष भएका त्यागीका अन्यान्य फुटकर हास्यव्यङ्ग्य रचनाका साथै ‘उत्पात’ (२०५८) र ‘एक चोक्टा’ (२०७६) दुईवटा हास्यव्यङ्ग्य उपन्यास कृति प्रकाशित छन् । नेपाली हास्यव्यङ्ग्यमा अत्यन्त कम लेखिएको विधा विशेष हो उपन्यास । औँलामा गन्न पनि नपुग्ने हास्यव्यङ्ग्य उपन्यास कृतिमध्ये त्यागीको ‘एकचोक्टा’ उपन्यास कृतिको अक्षराङ्कन प्रति स्रष्टा निबन्ध आचार्यको सौजन्यमा फित्कौलीलाई प्राप्त भएको छ । ‘चार थुम्का’ उपन्यास सङ्ग्रहमा सङ्कलित त्यागीको ‘एक चोक्टा’ हास्यव्यङ्ग्य उपन्यास श्रृङ्खलावद्ध रूपमा क्रमशः प्रविष्ट गरिरहेका छौँ । – सम्पादक

दिनको ठीक बाह्र बजे पण्डित बाजेहरु गोकर्णको गजाधर मन्दिरमा भेला भए । दौरा सुरुवाल लगाई पटुका कसी काँधमा पछ्याैरा राखेका पण्डित, दौरा, धोती र टोपी लगाएका धुपाउरे र केशरी, सेतो अक्षता लोपरेका पुरेत बाजेहरु लाइन लागी बसे । सभापतिको आशन कस्लाई ग्रहण गराउने भन्ने कुरामा निक्कै छलफल भयो । दुइटा धुपाउरेले उनै नाराको व्यवस्था गर्ने लम्बरी पण्डितको प्रस्ताव राखे । एउटा टपरेले प्रस्तावलाई अस्वीकृत गर्‍यो । बाद बिवाद निक्कै चलिसकेपछि एक अर्का पण्डितको आगमन भयो । उपस्थित सबैले उनैलाई सभापतिको आशन ग्रहण गर्न आग्रह गरे । उनले स्वीकृति पनि दिए । सभा चालु भयो ।
एउटा पुरेत उठेर भाषण दिन थाले –

पृय विद्वत् वर्ग,
आज यत्रो जुलुस उठेर आउनु हाम्रो सानो भाग्य होइन जागीर खानेले घुस पाएका छन्, व्यापारीहरुले कालो बजार गर्न पाएका छन् । कामदारले चामलको भाउ हेरेर ज्याला बढाउन पाएका छन् । हामी पुरेतहरुले भने चार आना गोदान र एक पैसा दान प्रतिष्ठा भन्दा बढी कहिल्यै पाएनौ । हवन गराउन गयो तेत्तीस पैसा फ्याँकिदिन्छन् । भेटी घाटी त्यसैले पुर्‍याउनु रे दिन भरी आगोमा बसी सुक्यो । पीरो आलुतामाको झोल र चीसो भात शिवाय केहि पाउनु छैन । दक्षिणा ल्याएर फेकी दिन्छन् एउटा मोहर, त्यो पनि चाँदीको होस्न राङ्गको । अलि खिस्रिक्क परेर कपाल कन्यायो भने, त्यो काठा पिरेतलाई के पुगेन सोध–सोध भनी नोकर पठाउँछन् । जजमानहरुले हामीलाई यत्ति हेला गरिसकेँ के भनौँ । पुरेतबाट पिरेतमा पुर्‍याएर पनि काठा भन्ने उपनाम थपि दिन्छन् । आजको हाम्रा नाराले कत्ति जजमानको मुटुमा ढ्याङ्ग्राे ठोकी सक्यो होला । फुर्सत पाएको भए गएर सुनेर आउने थिएँ । अरु भन्नु केहि छैन । नमस्कार !

उहाँ बस्न नपाउँदै अर्का धुपाउरे उठेर उर्लन थाल्नु भयो –
पृय सज्जन बृन्द,
पूर्व वक्ताले अपूर्व भाषण दिनु भयो । हामी ठगिएका छौँ, अति ठगीएका छौँ । विहान मात्रै एउटी मगर्नीलाई पानी छुने गोदान गराएर आएँ सत्र पैसा भन्दा बढी एक पैसा झरेन । नपत्याए हेर्नोस् । खल्ती टक्टक्याई दिन्छु । भुएसी दक्षिणा त दिनु पर्छ । त्यो पनि छैन । नगिचै थिई कि भन्नु होला, होइन तीन कोश टाढा । ठाडै खुट्टा गएँ, ठाडै खुट्टा फर्के । विहानदेखि एक घुँट्को पानी पनि पिएको छैन । यहि भएको सत्र पैसाले किनेर खाउँ भने एक चौथाई च्युरा पनि दिंदैन के खाने ? घरै गएर खाउँला भनी बसेको छु । निदारमा लोपरिएको केशरी र सिन्दुर देख्दा तपाईंहरुले कम्तीमा एक रुपैयाँ कमाएको छ भन्ने अनुमान गर्नु भएको होला । सत्य मैले ढाँटेको होइन सत्र पैसा मात्रै हो । कुरा त धेरै सुनाउनु पर्ने थियो पेटमा कुल्ला बास्यो । लौ यहिं भाषण टुङ्ग्याउँछु । जय देश ! जय नरेश !!

ठाउँमा गएर उहाँ बस्न नपाउनु हुँदै एक टपरे उठेर भन्न थाले सबै विद्वानहरु हो ।
हाम्रा अघिल्ला वक्ताहरुले जे जति भन्नु भो साह्रै घत लाग्दो थियो । अहिले मैले पनि तपाईंहरुको सामु भाषण गर्न उठेँ । साह्रै आनन्द लागेको छ । नारा सबै सुने अति स्वादीलो लाग्यो तर एउटा नारा कमि भएकोले अति खिन्नता उत्पन्न भएको छ । आज विहान ससुराको नाउँमा सिधा उठाउँछु भनेकीले मुख पनि नधोई दुगुर्दै आफ्नी साहुनी कहाँ गएँ । बाँलक मान दिंस न्हि : वाज्या भनी सिधा दान गर्न बसी । निक्कै पाउने भएँ भन्ने आश लागेको थियो । थोत्रो टपरीमा आधामाना चामल राखेर पो अगाडि स्याहारी । त्यही पनि विधिपूर्वक दान गराएँ । टीका लगाएर दक्षिणा दिन्छे एउटा पैसा । कन्सिरीको रौँ रननन तातेर आयो । केही नबोली बोकेर हिंडे । नपत्याए हेर्नोस् ! यहि हो सिधा । त्यसैले नारामा एउटा थप्नु पर्‍यो –

‘सिधा पूरा एक माना चामलको हुनै पर्छ ।’
भाषण गहकिलो भएकोले ताली गुञ्जायमान भयो । तुरुन्त नारामा सो सुझाव पनि अंकित भैहाल्यो । अर्का पण्डित पुनः भाषणको लागि खडा भए । गहकिला पण्डित उठेका हुँदा सबै पण्डित, धुपाउरे, टपरे जाराक्जुरुक उठी आफ्नो तागतले भ्याएसम्म जोरले ताली लगाए । पण्डित गुजुक्क फुलेर भाषण दिन थाले –

मैले कतिपय सभामा सभापतिको आशन ग्रहण गरे थेँ । यस सभामा भने प्रस्ताव सम्म पनि रहेन । यो मेरो इज्जत माथि बट्टा लगाई दिने व्यवस्था भयो । खैर, केहि छैन । मैले कैयौँ ठूला बडा कहाँ सप्ताह, नवाह, एकाहा भनें । जता ततै मैले प्रशंसाका प्रशंसा पाएको हुँ । यस सभामा समेत तपाईंहरुले खूबै जोरले ताली मारीदिनु भयो । यसकाे लागि धेरै धेरै धन्यवाद ।

हरेक जुलुस झिकिँदा मानिसलाई भेंडा किने झैँ किन्नु पर्थ्यो । हाम्रो यो जुलुसमा भने खाई नखाई पनि आइ दिएर शोभा बढाई दिनु भएकोमा सबै महानुभावलाई आदर नगरी सक्तिन । प्रत्येक गोष्ठी, सभा, चुनाव आदीमा तक्माको व्यवस्था नभए पनि पुरस्कार र चियापानको व्यवस्थात अवस्य हुन्छ । यस जुलुसमा भने घोक्रो फुलाएर कराई बल खर्च गर्ने व्यवस्था सिवाय अरु केहि हुन पाएन । त्यस्को लागि दुः ख मान्नै पर्छ । जे होस् ! दुःखै पाए पनि माग पुरा भई दिएमा दुःख त के ? प्राणै गए पनि चित्त बुझाइन्थ्यो । माग पनि पुरा हुन सकेन भने हामी मर्‍यौँ, ठाडै मर्‍यौँ । तर पनि हामी हिच्किचाउनु हुँदैन । बुझ्नुभयो । सत्याग्रह गर्ने, अनशन बस्ने काम हाम्रो बाँकिनै छ । म अब धेरै भन्न चाहन्न । मेरो माग आजै देखि पुरा भैसकेको छ । पाँच रुपैयाँ दक्षिण दिन्छु भनी एक व्यक्ति हिजै गई सकेका छन् । सिधा पनि ठूलै होला , अब यहाँ बस्न सक्तिन बिदा भएँ । पण्डित हिंड्दा साथ ताली रन्केर बज्यो । सभापति जुरुक्क उठेर बिसर्जनको भाषण दिन थाले –

पृय सहयोगी साथीहरु,
आज हाम्रो विभिन्न वक्ताहरुले गहकिलो भाषण दिनु भयो । यसमा मलाई अति आनन्द लागेको छ । हामी मध्ये कसैको माग पनि पूरा भैसकेको र कसै कसैलाई भने भोकभाकै आउनु परेकोमा आधि आनन्द र आदि दुःख लाग्नु स्वभाविकै छ । हामीहरुले जुन भाषण दियौँ त्यो कसैको कानमा नपरोस् । यो हाम्रो गोप्य भाषण हो । लौ त, भोक पनि लाग्यो होला आ–आफ्नो घर लाग्नुहोस् ।
सभापतिको बिसर्जन भाषण हुँदा साथ सबै उठे । नारा लाग्यो –

‘इन क्लब जिन्दावाद’
‘पण्डित पण्डित एक हौँ ’
‘एक रुपैयाँ भन्दा कम्ती गोदान लिँदैनौँ’
‘खीर खान नपाई श्राद्धमा जाँदैनौँ’
‘विना सिधाको तर्पण गर्दैनौँ’
काट्टो लिन छोड्दैनौँ’
‘पुरा एक माना चामलको सिधा हुनै पर्छ’
‘हाम्रो माग पुरा होस्’

नारा सकिएपछि सबै घर घर लागे । जुलुस आम सभामा परिणत भएन । पशुपति आउने पूर्व सूचना क्यान्सील भयो । पशुपति मा भेला भएका सबै पण्डित मूर्मुराउँदै फिर्ता भए । टोयोटा कार चढी आएका अर्का पण्डित एउटै साथीलाई नदेखि पशुपति दर्शन गरेर घर फर्के । साध्वी पिकनिक् जान तयार भएकी पाई पण्डितले टाई लर्काई भने –
“डीयर डार्लिङ्ग ! डोन्ट माइण्ड, फर आई विकेम लेट !”
“यू र्‍यास्की फेलो, होएर हाइड यू गोन ?”
“आई एट पशुपति”
“किन मलाई लग्नु भएन त ?”
“पण्डितहरु भेला हुने थिए ।”
“ओ, पण्डित्स् वेर ग्यादरिङ्ग दियर ?”
“अँ त, नत्र किन जान्थेँ ?”
“भाषण दिन पाउनु भयो त ?”
“पाजीहरु गैसके छन्”
“कुरा सुन्नु भयो ?”
“के ?”
कप्तान साहेब लडाईं जितेर आएछन् । अति स्वागत भयो रे । उनी एउटालेनै हजारौँ अन्य सिपाईंलाई मारेछन् । भी.सी. तक्मा पाएका छन् रे । सारा मन्त्री उनलाई लिन एयरपोर्ट गएका थिए रे । गजबका बहादुर रहेछन् ।
जत्तिसुकै बहादुर भए पनि के लाग्यो ? एउटी स्वास्नीलाई तरह लगाएर राख्न सक्दैनन् । बाहिर शेर भएर के गर्ने ? भित्र श्याल भैहाल्छन् । जे भए पनि पुराना मानिस हुन् , एक पल्ट भेट्न जानु पर्ला ।

यस्ता बहादुरलाई आफ्नो हातमा राख्नु पर्छ । गई हाल्नोस् । पछि गएर के काम ? अहिल्यै गए एक दुई वटा मन्त्रीसँग त चिनापर्ची हुन्छ ।
“ठिक भनिस् , गएँ ”
“पुरेत बाजे, पाल्नु भो ?”
“आएँ नि”
“बुझ्नु भो पुरेत बाजे ! मैले भी.सी. तक्मा पाएँ”
“भी. सी. भनेको के हो ? भेंडाको सिङ् ?”
“पुरेत बाजे जैले पनि हँसिनै उडाई दिनु हुन्छ !”
“के त हजुर ? मैले बुझिनँ ।”
“भीक्टोरीया क्रस्‌”
“यो खाएर अघाइने त होइन होला”
“म त अघाउँछु ।”
“मलाई पनि एक टुक्रा बक्स्योस्न त, खाई टोपलुँ ।”
उनको कुरा सुनेर कप्तान साहेब साथै वरिपरिका सब मन्त्रीहरु हललल हाँसे । पण्डितले अङग्रेजीमा कुर्ले –
नन्सेन्स् , इल्लीटरेट, ह्वाई आर यु लाफिङ्ग ? डु यु नो मि ? हु एम आई ? यू मे हाइभ थट् मि अन्ली ए वर्थलेस् पण्डित । डोन्ट थिंक सो ।

पण्डितको अङ्ग्रेजी सुनेर भेला भएका हँस्सी उडाउने सबै मन्त्री कुलपतिहरु चूप लागे । कसैले जवाफ दिन सकेनन् । कप्तान साहेवले मुस्कुराउँदै भने –
डियर पुरेत बाजे, डोन्ट बि एङ्ग्री सो मच् । दे हाइभ नट् नोन यौर हेविट । अल दिज् आर चान्सलर, मिनिष्टर एसेक्ट्रा । सो मे यू आस्क फर्गिभ विथ देम् ।
“आइ एम अल्सो ए स्कोलार ।”
“भैगो पुरेत बाजे चुप लाग्नोस् ।”
“हजुरले भनिबक्सेपछि त चूप लागिहाल्छु नि । यी परचक्रीले खिस्सी उडाएर पो रीशले आँखा देखिन । के के फलाक्न पुगेँ के के”
“हैन पुरेत बाजे । तपाईंले अङ्ग्रेजी पनि पढ्नु भएको थियो ?”
“के पढें भनुँ, के पढिन भनुँ । अक्स्फोर्ड विश्वविद्यालयबाट एम. ए. लिटरेचरमा फर्ष्ट क्लासमा उत्तीर्ण भएको छु ।”
“ओहो ! संस्कृत पनि त प्रसस्त आउँछ नि कहाँ पढ्नु भएको थियो ?”
“हिन्द विश्व विद्यालयबाट नवीन मिमाम्साचार्य पास गरेको, छु ।”

पुरेत बाजेको कुरा सुनी कुलपति मन्त्री लगायत सारा उपस्थित शिक्षितहरुले उँधो मुन्टो लगाए । कप्तान साहेबले भने – ‘तपाईं र म झण्डै झण्डै उस्ता रहेछौँ ।’
सबै उपस्थितले एक शब्दमा कराए –
‘कत्ति पढ्नु भएको छ कप्तान साहेब !’
“कलकत्ता युनिभर्सिटीबाट म्याथम्याटिक्समा डिष्टिङ्सन ल्याई एम.ए.पास गरेँ । संस्कृत पनि पढ्ने इच्छा भयो, बनारस विश्वविद्यालयबाट ज्योतिषाचार्य उत्तीर्ण भै पढनै छोडी दिएँ ।”

पुरेत र कप्तानको पढाई सुनि सबै चकित भए । कतै कसैको निदारमा चिट् चिट् पसिना आउन थाल्यो । यत्तिकैमा चाउरेले सर्वतको गिलाँस ल्याई पुर्‍यायो । कप्तान साहेबले ट्रेबाट झिक्दै बाड्दै गरे । पसिना बालले २/२ गिलास ताने अरुले एक/एक गिलास पिए । रात पर्‍यो । पुरेत बाजे सञ्ज्या गर्न उठे । अरु पार्टिमा रमझमाउन थाले । झमक्कै साँझ पर्‍यो ।

०००
चार थुम्का (२०७६)

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x