चिरञ्जीवी दाहालबाघेझाप्पु
देशमा महाभारत र रामायणमा भन्दा ठूलो युद्ध भइ हाल्यो भने देश अहिले भन्दा पनि बढी अस्तव्यस्त हुँदैन भनेर कसरी विश्वास गर्न सकिन्छ ? त्यसैले बाघेझाप्पुको खुनीखेलबाट सबैजना बेलैमा सचेत हुनुपर्छ ।

चिरञ्जीवी दाहाल :
“बाघेझाप्पु” धेरै पटक सुनिसकेको शब्द हो । सुनेको मात्र होइन पटक पटक बाघेझाप्पु मार्फत दनक दिएको आफ्नै आँखाले समेत देखेकै हो । बाघेझाप्पु भनेको त्यस्तो झाप्पु हो जसलाई विशेष अर्थ सहित बुझ्ने गरिन्छ । कहिलेकाहीँ बाघेझाप्पु दिँदा सम्बन्धित मान्छेलाई लपेटो उठाएर बाघले जस्तै प्रहार गरेर गालैमा ठोक्नु पर्दैन । बातले र व्यवहारले अर्काको मुख थुनिने गरी प्रहार गरेको वचन बाँड वा थप्पड नै बाघेझाप्पु हो । सबैले यसै भन्छन् । यस बाहेक दुस्मनलाई होइन, दुस्मनको सबैभन्दा नजिकको मान्छेलाई कार्वाही गरेर पनि बाघेझाप्पु दिने गरिएको पाइन्छ । भन्ने नै हो भने आफ्नो वास्तविक अर्थ गुमाउँदै भिन्न तर विशिष्ट अर्थ बोकेको शब्द हो बाघेझाप्पु । जे होस् बाघेझाप्पु नौलो र अनौठो शब्द भने होइन ।
उमेरको कुरा गर्ने हो भने बाघेझाप्पुको उमेर कति भयो होला भनेर ठ्याक्कै भन्न पनि सकिँदैन । कुनै यस्ता शब्द भर्खर जन्मिएका हुन्छन् भने कुनै शब्द निकै बुढाखाडा पनि हुन्छन् । कुन शब्द जेठो हो बरु पत्ता लगाउन सकिएला तर कान्छो चाँही यही हो भनेर कसैले अनुमान गर्न खोज्छ भने त्यो मूर्खता मात्र हुनेछ । त्यसैले सबैभन्दा कान्छो शब्द यही हो भनेर किटान साथ भन्न सकिँदैन । विशेष अर्थ बोकेका शब्दहरू छिनछिनमा जन्मिरहेका हुन्छन् । एउटा शब्द बोल्नु मात्र पर्छ, त्यसको बिस्तृत अर्थ लगाइने गरिन्छ । सम्भवतः बार्दली, भाउजु, सिसि क्यामेरा, उथलपुथल, जलारी, सहकारी भन्ने शब्दहरू पछिल्लोपटक विकसित भएका शब्द भएकाले यिनै शब्द मध्ये कुनै एक शब्द कान्छो शब्द हुनुपर्छ । यी शब्दको उच्चारण गर्दा मात्र पनि एउटा ठूलै महाकाव्य पढिसकेको जस्तै अर्थ बुझ्न सकिन्छ । यस्ता शब्दहरू छिनछिनमा जन्मिरहेका हुन्छन् । त्यसैले कान्छो शब्द यही हो भनेर ठोकुवा गर्न कठिन भएको हो । जे होस् बाघेझाप्पु भने निकै छिप्पिएको शब्द हो भन्नेमा कुनै शङ्का छैन । यो शब्द जताततै प्रयोग भइरहने भएपनि यसको जन्म भने उहिले भएको मानिन्छ ।
बाघेझाप्पु दिने चलन हिजोआज मात्र होइन, पौराणिक कालदेखि नै चलनचल्तीमा थियो । त्यस समयमा पनि एकले अर्कोलाई बाघेझाप्पु दिइने गरिन्थ्यो । त्रेता युगमा सूपणर्खाको नाक काटेर रावणलाई लक्ष्मणले दिएको बाघेझाप्पु निकै चर्चित बाघेझाप्पु मध्यको एक हो । जब लक्ष्मणद्वारा सूर्पणखाको नाक काटियो । त्यसबखत सूपर्णखाको नाक मात्र काटिएको थिएन । त्यसबेला लक्ष्मणले रावणलाई दिएको खतरनाक बाघेझाप्पु थियो । होइन भने सूपर्णखा रुँदै रुँदै काटिएको नाकको ठूटो लिएर रगत बगाउँदै दाजु रावण भए ठाउँमा पुग्दा रावणले हत्तपत्त आफ्नो गाला छामेर मुर्मुरिनु पर्ने थिएन ।
त्यसको बदला लिन गरिएको सीता हरण पनि रावणले राम लक्ष्मणको गालामा दिएको प्रतिउत्तर बाघेझाप्पु थियो । त्यही बाघे झाप्पुका कारणले हो हामीले पढ्ने गरेको रामायणको जन्म भएको । यदि लक्ष्मणले रावणलाई त्यसरी बाघेझाप्पु नदिएको भए, न राम रावण युद्ध हुन्थ्यो, न हामीले रामायणको सुन्दर ग्रन्थ पढ्न पाइन्थ्यो ! यसैले त्रेतायुगमा भएको राम रावण युद्ध हुनुमा लक्ष्मणले रावणलाई दिएको बाघेझाप्पु र रावणले राम लक्ष्मणलाई दिएको प्रतिउत्तर बाघेझाप्पु नै प्रमुख कारण हो भन्दा फरक पर्दैन ।
द्वापरयुगमा एकलव्यले अर्जुन लगायत पाँच पाण्डवको गालामा बाघेझाप्पु हान्न तिनका गालामा होइन कुकुरको मुखमा धनुष वाणको बुजो लगाएर पाण्डवहरूलाई स्वाद चखाएको कुरा प्रसिद्ध छ । धृतराष्ट्र पुत्रहरूले पाण्डवहरूको गालामा बाघे झाप्पु हान्ने सिलसिलामा द्रौपदीलाई नङ्याउने प्रयास गरेका थिए । संयोगवश कृष्णले त्यसलाई बेलैमा रोकिदिए । तिनले हानेको बाघे झाप्पु उल्टै आफैतिर फर्कियो र कौरवहरूको आफ्नै गालामा पर्यो । महाभारतका अनेकौं कथा मध्ये यो घटनालाई निकै महत्वकासाथ हेर्ने गरिएकोले यसलाई पनि कम रोचक मान्न सकिदैन । त्यसैले जतिबेला पायो उतिबेला र जसलाई पायो त्यसलाई बाघेझाप्पु हान्ने प्रयास गर्नु निकै घातक हुनसक्छ । त्यसैले कसैलाई बाघेझाप्पु हान्नु पूर्व निकै विचार पुर्याउनु पर्ने हुन्छ । द्रौपदीलाई नङ्याउने प्रयासले महाभारत जस्तो विनाशकारी युद्ध हुन पुगेको थियो । संसारमा जतिपनि विनाशकारी र खतरनाक युद्धहरू भए, सबैको एउटै कारण यही बाघेझाप्पु हो । युक्रेन र रसियाको युद्ध होस् वा इजरायल र प्यालेस्टाइन युद्ध होस्, यसरी युद्ध हुनु पनि एकले अर्कोलाई कुनैदिन दिएको बाघेझाप्पुकै प्रतिउत्तर हो भनेर सम्झनुपर्छ ।
बाघ दरवार स्कूलका एक कक्षाका विद्यार्थीहरूले एकले अर्कोलाई बाघेझाप्पु हान्ने गरेको त देख्ने गरिएकै छ । कक्षा चढ्न पाएको छैन, यिनले बाघेझाप्पुको खेल सुरु गरिहाल्छन् । यिनले सुरुमा रोल नं दुई र तीन मिलेर रोल नं एकलाई बाघे झाप्पु दिए । दुई महिना पुग्न नपाउँदै पुनः रोल नं एक र तीन मिलेर रोल नं दुईलाई बाघेझाप्पु दिए । हेर्दाहेर्दै रोल नं दुई र तीन मिलेर रोल नं एकलाई बाघेझाप्पु दिए । यसबाट के बुझिन्छ भने यो बाघे झाप्पुको सिलसिला अझै रोकिने लक्षण छैन ! यसरी झाप्पु हानाहानमा समय बिताएपछि यिनले कतिखेर पढ्ने, कतिखेर होमवर्क गर्ने ? हुन त यी गरिखाने खालका विद्यार्थी पक्कै होइनन् । राम्ररी पढ्न र होमवर्क गर्ने भए त अनुशासित भएर कक्षामा बस्नसक्नु पर्थ्यो । यिनले त जाबो एउटा चकलेटको लागि बाघेझाप्पु हानाहान पो गर्न थाले त ! जे होस् यिनको बाघेझाप्पु हानाहानले मनोरञ्जन भने मजाले लिन पाइएको छ, त्यो पनि सित्तैमा । चित्त बुझाउने बाटो यति मात्र हो ।
इतिहासमा देखिइसकेको छ । बाघेझाप्पु पाउनेहरूले मौका आउनासाथ त्यसको प्रति उत्तर बाघेझाप्पुबाट नै दिन्छन् । बरू केही समय कुर्न परे केही समय कुर्छन् । हालसम्मका घटनाहरूको अध्ययन गर्दा बाघेझाप्पु दिनेहरू र पाउनेहरू दुवैथरिको भलो नहुने देखिएको छ । एकदिन दुवैथरि विनाश हुन्छन् । केही पुराना र नयाँ घटनाहरूमा यस्तै देखिएको सर्वविदितै छ ।
त्यसैले कुरा स्पष्ट छ । बाघेझाप्पुका कारण राम रावण युद्ध र महाभारत युद्ध हुन सक्दछ भने अझै त्यो भन्दा ठूलो युद्ध हुन पुग्यो भने त्यसको जिम्मा कसले लिन्छ ? साँढेको जुधाइमा बाच्छोको मिचाई भने जस्तै हुँदैन र ? बाच्छाहरू गोरु बन्न नभ्याउँदै बाच्छो अवस्थामा चेपिएर ज्यान गुमाउनु पर्यो भने खेत बारी कस्ले जोत्छ ? हुन त अचेल बहर बाच्छाहरू गाउँघरमा भेटिँदैनन् । आक्कल झुक्कल भएका पनि पहिले जस्तै बाघेझाप्पुको मारमा चेपिए भने कल्पना पनि नगरिएको पीडा भोग्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ! त्यसैले बाघ दरवारको स्कूल तिर बाघेझाप्पुको आवाज सुन्दा हामी दर्शकहरू झसङ्ग हुनु स्वभाविक हो । अन्यत्र भन्दा यसरी पढ्ने पढाउने, हेर्ने हेराउने, गर्ने गराउने स्थानमा लगातार बाघेझाप्पु चल्नु शुभ सङ्केत होइन ।
कुनैदिन यसरी चलेका बाघेझाप्पुका कारण देशमा महाभारत र रामायणमा भन्दा ठूलो युद्ध भइ हाल्यो भने देश अहिले भन्दा पनि बढी अस्तव्यस्त हुँदैन भनेर कसरी विश्वास गर्न सकिन्छ ? त्यसैले बाघेझाप्पुको खुनीखेलबाट सबैजना बेलैमा सचेत हुनुपर्छ । आज आफूले हानेको बाघेझाप्पु कुनै समय आफैँतिर फर्कियो भने परेन बित्यास !
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest







































