साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाघेझाप्पु

देशमा महाभारत र रामायणमा भन्दा ठूलो युद्ध भइ हाल्यो भने देश अहिले भन्दा पनि बढी अस्तव्यस्त हुँदैन भनेर कसरी विश्वास गर्न सकिन्छ ? त्यसैले बाघेझाप्पुको खुनीखेलबाट सबैजना बेलैमा सचेत हुनुपर्छ ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

“बाघेझाप्पु” धेरै पटक सुनिसकेको शब्द हो । सुनेको मात्र होइन पटक पटक बाघेझाप्पु मार्फत दनक दिएको आफ्नै आँखाले समेत देखेकै हो । बाघेझाप्पु भनेको त्यस्तो झाप्पु हो जसलाई विशेष अर्थ सहित बुझ्ने गरिन्छ । कहिलेकाहीँ बाघेझाप्पु दिँदा सम्बन्धित मान्छेलाई लपेटो उठाएर बाघले जस्तै प्रहार गरेर गालैमा ठोक्नु पर्दैन । बातले र व्यवहारले अर्काको मुख थुनिने गरी प्रहार गरेको वचन बाँड वा थप्पड नै बाघेझाप्पु हो । सबैले यसै भन्छन् । यस बाहेक दुस्मनलाई होइन, दुस्मनको सबैभन्दा नजिकको मान्छेलाई कार्वाही गरेर पनि बाघेझाप्पु दिने गरिएको पाइन्छ । भन्ने नै हो भने आफ्नो वास्तविक अर्थ गुमाउँदै भिन्न तर विशिष्ट अर्थ बोकेको शब्द हो बाघेझाप्पु । जे होस् बाघेझाप्पु नौलो र अनौठो शब्द भने होइन ।

उमेरको कुरा गर्ने हो भने बाघेझाप्पुको उमेर कति भयो होला भनेर ठ्याक्कै भन्न पनि सकिँदैन । कुनै यस्ता शब्द भर्खर जन्मिएका हुन्छन् भने कुनै शब्द निकै बुढाखाडा पनि हुन्छन् । कुन शब्द जेठो हो बरु पत्ता लगाउन सकिएला तर कान्छो चाँही यही हो भनेर कसैले अनुमान गर्न खोज्छ भने त्यो मूर्खता मात्र हुनेछ । त्यसैले सबैभन्दा कान्छो शब्द यही हो भनेर किटान साथ भन्न सकिँदैन । विशेष अर्थ बोकेका शब्दहरू छिनछिनमा जन्मिरहेका हुन्छन् । एउटा शब्द बोल्नु मात्र पर्छ, त्यसको बिस्तृत अर्थ लगाइने गरिन्छ । सम्भवतः बार्दली, भाउजु, सिसि क्यामेरा, उथलपुथल, जलारी, सहकारी भन्ने शब्दहरू पछिल्लोपटक विकसित भएका शब्द भएकाले यिनै शब्द मध्ये कुनै एक शब्द कान्छो शब्द हुनुपर्छ । यी शब्दको उच्चारण गर्दा मात्र पनि एउटा ठूलै महाकाव्य पढिसकेको जस्तै अर्थ बुझ्न सकिन्छ । यस्ता शब्दहरू छिनछिनमा जन्मिरहेका हुन्छन् । त्यसैले कान्छो शब्द यही हो भनेर ठोकुवा गर्न कठिन भएको हो । जे होस् बाघेझाप्पु भने निकै छिप्पिएको शब्द हो भन्नेमा कुनै शङ्का छैन । यो शब्द जताततै प्रयोग भइरहने भएपनि यसको जन्म भने उहिले भएको मानिन्छ ।

बाघेझाप्पु दिने चलन हिजोआज मात्र होइन, पौराणिक कालदेखि नै चलनचल्तीमा थियो । त्यस समयमा पनि एकले अर्कोलाई बाघेझाप्पु दिइने गरिन्थ्यो । त्रेता युगमा सूपणर्खाको नाक काटेर रावणलाई लक्ष्मणले दिएको बाघेझाप्पु निकै चर्चित बाघेझाप्पु मध्यको एक हो । जब लक्ष्मणद्वारा सूर्पणखाको नाक काटियो । त्यसबखत सूपर्णखाको नाक मात्र काटिएको थिएन । त्यसबेला लक्ष्मणले रावणलाई दिएको खतरनाक बाघेझाप्पु थियो । होइन भने सूपर्णखा रुँदै रुँदै काटिएको नाकको ठूटो लिएर रगत बगाउँदै दाजु रावण भए ठाउँमा पुग्दा रावणले हत्तपत्त आफ्नो गाला छामेर मुर्मुरिनु पर्ने थिएन ।

त्यसको बदला लिन गरिएको सीता हरण पनि रावणले राम लक्ष्मणको गालामा दिएको प्रतिउत्तर बाघेझाप्पु थियो । त्यही बाघे झाप्पुका कारणले हो हामीले पढ्ने गरेको रामायणको जन्म भएको । यदि लक्ष्मणले रावणलाई त्यसरी बाघेझाप्पु नदिएको भए, न राम रावण युद्ध हुन्थ्यो, न हामीले रामायणको सुन्दर ग्रन्थ पढ्न पाइन्थ्यो ! यसैले त्रेतायुगमा भएको राम रावण युद्ध हुनुमा लक्ष्मणले रावणलाई दिएको बाघेझाप्पु र रावणले राम लक्ष्मणलाई दिएको प्रतिउत्तर बाघेझाप्पु नै प्रमुख कारण हो भन्दा फरक पर्दैन ।

द्वापरयुगमा एकलव्यले अर्जुन लगायत पाँच पाण्डवको गालामा बाघेझाप्पु हान्न तिनका गालामा होइन कुकुरको मुखमा धनुष वाणको बुजो लगाएर पाण्डवहरूलाई स्वाद चखाएको कुरा प्रसिद्ध छ । धृतराष्ट्र पुत्रहरूले पाण्डवहरूको गालामा बाघे झाप्पु हान्ने सिलसिलामा द्रौपदीलाई नङ्याउने प्रयास गरेका थिए । संयोगवश कृष्णले त्यसलाई बेलैमा रोकिदिए । तिनले हानेको बाघे झाप्पु उल्टै आफैतिर फर्कियो र कौरवहरूको आफ्नै गालामा पर्‍यो । महाभारतका अनेकौं कथा मध्ये यो घटनालाई निकै महत्वकासाथ हेर्ने गरिएकोले यसलाई पनि कम रोचक मान्न सकिदैन । त्यसैले जतिबेला पायो उतिबेला र जसलाई पायो त्यसलाई बाघेझाप्पु हान्ने प्रयास गर्नु निकै घातक हुनसक्छ । त्यसैले कसैलाई बाघेझाप्पु हान्नु पूर्व निकै विचार पुर्याउनु पर्ने हुन्छ । द्रौपदीलाई नङ्याउने प्रयासले महाभारत जस्तो विनाशकारी युद्ध हुन पुगेको थियो । संसारमा जतिपनि विनाशकारी र खतरनाक युद्धहरू भए, सबैको एउटै कारण यही बाघेझाप्पु हो । युक्रेन र रसियाको युद्ध होस् वा इजरायल र प्यालेस्टाइन युद्ध होस्, यसरी युद्ध हुनु पनि एकले अर्कोलाई कुनैदिन दिएको बाघेझाप्पुकै प्रतिउत्तर हो भनेर सम्झनुपर्छ ।

बाघ दरवार स्कूलका एक कक्षाका विद्यार्थीहरूले एकले अर्कोलाई बाघेझाप्पु हान्ने गरेको त देख्ने गरिएकै छ । कक्षा चढ्न पाएको छैन, यिनले बाघेझाप्पुको खेल सुरु गरिहाल्छन् । यिनले सुरुमा रोल नं दुई र तीन मिलेर रोल नं एकलाई बाघे झाप्पु दिए । दुई महिना पुग्न नपाउँदै पुनः रोल नं एक र तीन मिलेर रोल नं दुईलाई बाघेझाप्पु दिए । हेर्दाहेर्दै रोल नं दुई र तीन मिलेर रोल नं एकलाई बाघेझाप्पु दिए । यसबाट के बुझिन्छ भने यो बाघे झाप्पुको सिलसिला अझै रोकिने लक्षण छैन ! यसरी झाप्पु हानाहानमा समय बिताएपछि यिनले कतिखेर पढ्ने, कतिखेर होमवर्क गर्ने ? हुन त यी गरिखाने खालका विद्यार्थी पक्कै होइनन् । राम्ररी पढ्न र होमवर्क गर्ने भए त अनुशासित भएर कक्षामा बस्नसक्नु पर्थ्यो । यिनले त जाबो एउटा चकलेटको लागि बाघेझाप्पु हानाहान पो गर्न थाले त ! जे होस् यिनको बाघेझाप्पु हानाहानले मनोरञ्जन भने मजाले लिन पाइएको छ, त्यो पनि सित्तैमा । चित्त बुझाउने बाटो यति मात्र हो ।

इतिहासमा देखिइसकेको छ । बाघेझाप्पु पाउनेहरूले मौका आउनासाथ त्यसको प्रति उत्तर बाघेझाप्पुबाट नै दिन्छन् । बरू केही समय कुर्न परे केही समय कुर्छन् । हालसम्मका घटनाहरूको अध्ययन गर्दा बाघेझाप्पु दिनेहरू र पाउनेहरू दुवैथरिको भलो नहुने देखिएको छ । एकदिन दुवैथरि विनाश हुन्छन् । केही पुराना र नयाँ घटनाहरूमा यस्तै देखिएको सर्वविदितै छ ।

त्यसैले कुरा स्पष्ट छ । बाघेझाप्पुका कारण राम रावण युद्ध र महाभारत युद्ध हुन सक्दछ भने अझै त्यो भन्दा ठूलो युद्ध हुन पुग्यो भने त्यसको जिम्मा कसले लिन्छ ? साँढेको जुधाइमा बाच्छोको मिचाई भने जस्तै हुँदैन र ? बाच्छाहरू गोरु बन्न नभ्याउँदै बाच्छो अवस्थामा चेपिएर ज्यान गुमाउनु पर्यो भने खेत बारी कस्ले जोत्छ ? हुन त अचेल बहर बाच्छाहरू गाउँघरमा भेटिँदैनन् । आक्कल झुक्कल भएका पनि पहिले जस्तै बाघेझाप्पुको मारमा चेपिए भने कल्पना पनि नगरिएको पीडा भोग्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ! त्यसैले बाघ दरवारको स्कूल तिर बाघेझाप्पुको आवाज सुन्दा हामी दर्शकहरू झसङ्ग हुनु स्वभाविक हो । अन्यत्र भन्दा यसरी पढ्ने पढाउने, हेर्ने हेराउने, गर्ने गराउने स्थानमा लगातार बाघेझाप्पु चल्नु शुभ सङ्केत होइन ।

कुनैदिन यसरी चलेका बाघेझाप्पुका कारण देशमा महाभारत र रामायणमा भन्दा ठूलो युद्ध भइ हाल्यो भने देश अहिले भन्दा पनि बढी अस्तव्यस्त हुँदैन भनेर कसरी विश्वास गर्न सकिन्छ ? त्यसैले बाघेझाप्पुको खुनीखेलबाट सबैजना बेलैमा सचेत हुनुपर्छ । आज आफूले हानेको बाघेझाप्पु कुनै समय आफैँतिर फर्कियो भने परेन बित्यास !

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x