साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचारबारे नेता

भ्रष्टाचार छाडेर अरू विषयतिर लाग्नु ठीक हुन्छ । पार्टी सुकिलामुकिलाहरूको हातमा छ । तिनकै नीति छ, तिनकै खटनपटन छ । सबैको मत यही छ तिनकै नीति र खटनपटनले मुलुक र पार्टीको हित छ ।

Nepal Telecom ad

भाउपन्थी :

‘भ्रष्टाचारीलाई कारवाही भएन भन्ने हल्ला धेरै आइरहेको छ । भ्रष्टचारीलाई कारवाही कसरी गर्ने ? त्योभन्दा पनि किन गर्ने ? भ्रष्टाचारले नै मुलुक टिकेको छ ।’ नेताजी यति भन्दैमा थकित भए, चकित पनि भए अपर्झटमा सत्य वचन बोलेछु भनेर । सुन्नेहरूबीच गाइँगुइँ प्रश्न उठ्यो— के वास्तवमै भ्रष्टाचारले नै मुलुक टिकेको छ । ‘हैन मुलुक हैन, सरकार टिकेको छ,’ एकथरी गाइँगुइँ यो थियो । अर्को थरी गाइँगुइँ थियो— ‘भ्रष्टाचारमै मुलुकको राजनीति टिकेको छ ।’ गाइँगुइँ चर्किनै लागेको थियो नेताजीले खकार्दै टाठो स्वरमा भने, ‘म भन्दै छु यो हल्ला केको ? भ्रष्टाचारको ? शान्त रहनोस् । भ्रष्टाचार नहुने हो भने…’ उनले वाक्य पूरा गरेनन् । बीचमै सचेत भए र हाँस्दै भने— ‘मुलुकको विकास दिनदुना रात चौगुना सम्भव छ ।’

नेताजीलाई यो लाग्थ्यो, सत्ताको स्वार्थ बाझिएकाहरूले भ्रष्टाचार भयो भनेर हल्ला गरिदिने गर्छन् । उनी यसमा दुखित थिए । उनलाई पनि धेरै बेर सत्तामा टिक्न दिएका होइनन् । अहिले मुलुकको यो हाल छ । माथिल्लो पदमा बसेकालाई भ्रष्टाचारी भन्ने आरोप लागिरहेकै हुन्छ । भ्रष्टाचार भन्ने भाष्य नै गलत छ । राजनीति गर्नेले भ्रष्टाचार नगरे के गर्ने ? वेदपाठ गरेझैँ नैतिकता पाठ गरे भोकै बसिन्छ । नगद कहाँबाट ल्याउने । कार्यकर्ताहरू नोट नदेखेसम्म चलायमान हुँदैनन् । उ जमाना गयो जब सत्य, इमानदारिता र नैतिकताको बलमा पार्टी चल्थ्यो, चुनाव जितिन्थ्यो । अब त नोट खोलोझैँ नबगाएसम्म कार्यकर्ता हल्लनै मान्दैनन् । भन्छन्— ‘नेताजी ती दिन गए ।’ कस्ता दिन भनेर सोधेमा ठाडै निर्लज्जतापूर्वक जबाफ आउँथ्यो— ‘तपाईं राजनीतिमा लागेको कति वर्ष भयो ? केके गर्नुभएन आफू र आफ्ना लागि । दाइभाइ श्रीमती साली बुहारी सबैलाई पदमा स्थापित गर्नुभयो । आज हामी मात्र कहाँ छौँ ? थाहा तपाईंलाई ?’

अनि थपे ‘आज आएर नैतिकता खोज्नु कहाँको न्याय हो ?’ कार्यकर्ताको जवाफमा नेताजी रिसाए तर रिस निल्दै, यो सोचेर मौकामा गधाको पनि पाउ मल्नुपर्छ, कार्यकर्ता गधासमान हुने नै भए, त्यसैले भने, ‘भ्रष्टाचारी हामी सबै हौँ । एउटालाई मात्र आरोपित गरेर हुँदैन । भ्रष्टाचारका लागि हामी एक ढिक्का छौँ । यसमा दुईमत नगरौँ । पार्टीमा उसै त गुटबन्दी बढेको छ । झन् भ्रष्टाचारको मुद्दाले पार्टी विभाजन पनि हुन सक्छ, असफल हुने डर त छँदै छ । एउटालाई मात्र कारवाही गरेर हुँदेन । लहरो तान्दा पहरो जान्छ । उसका पछाडि धेरै छन् । मेरा पछाडि तपाईंहरू हुनुहुन्छ । मुलुक खतरामा पर्छ । हातेमालो गरेर भ्रष्टाचारमा अगि बढौँ ।’ त्यति भनेपछि उनी तत्कालै मुस्काए मानौँ उनलाई सत्यबोध भएको छ । शान्त भए र शान्त स्वरमा भने, ‘आग्रह नगरौँ भ्रष्टाचारीलाई कारवाही भएन भनेर । तर यो नसोच्नोस् हामी चुप लागेर बसेका छौँ । हामी भित्रभित्रै भ्रष्टाचारी पत्तो लगाउँदै छौँ । हामीलाई यो पनि थाहा छ पार्टीमा मुलुकमा कोको छन् ठूला भ्रष्टाचारी ?’

यति भनेर नेताजीले एक गिलास पानी पिँधमा एक थोपा नरहने गरी ठाडो घाँटी लगाएर ट्वाक्कै सके । ठाडो घाँटी लगाउने बानी छँदै थियो । यसबाट थाहा लाग्थ्यो, भ्रष्टचारको ताप कति छ मुलुकमा । पानी सकेपछि नेताजीले रुमालले मुख पुछे मानौँ भनिरहेका छन् भ्रष्टाचार गर्नेले रकम डकारेपछि यसै गरी रुमालले मुख पुछेर चोखो भएर बस्छ । नेताजी परेसान पनि थिए, मुलुकमा कुनै न कुनै एउटा घोटाला प्रकरण भइरहन्थ्यो । उनको राजनीतिक जीवनमा, उनले खिसिक्क पर्दै भने यति धेरै घोटाला प्रकरणबारे प्रश्न कहिल्यै सोधिएको थिएन । नेताजी यस कारण पनि परेसान थिए, उनीहरूको पुस्ताले गरेको बलिदान, त्याग र तपस्याको मूल्य आज भ्रष्टाचारवादी भनेर चुकाइँदै छ । नेताजी अभिनय निपुण थिए भन्न सकिन्न तर उनले अगि मुख पुछेको रुमालले आँसु पुछेझैँ गरे, पुरानो समयको अवसानमा । माइक लाएर उनी बोलिरहेका थिएनन् । रुन्चे स्वर धेरैले सुन्न पाएनन् । कार्यकर्ता प्रशिक्षणमा थिए । अहिले सामान्य वार्तामा थिए नेताजी । वरिपरि केही कार्यकर्ता थिए र पत्रकार पनि । केही प्रमोसनको सिफारिसका लागि, कोही सरुवाका लागि नेताजीको चाकरीमा धाउने पनि थिए । केही लिपिस्टिक पाउडर बाक्लै लिपेका महिला पनि थिए, महिलाहरूका लागि सिट सुरक्षित गरिदिनु पर्‍यो भनेर माग गर्न आएका ।

नेताजीले हाँस्दै भने । उनले अगि सम्झेको भ्रष्टाचारको व्यथा बिर्सेजस्तो थियो । घरमा भए नेताजीले सबैका हातमा कालो चियाको कप पुर्‍याउन अराएका हुने थिए । यहाँ होटेलवालाले सौजन्यमा खुवाइरहेथ्यो । घरमा छ एउटा चिया बाँड्ने । उसले पनि बारम्बार एक सिट समानुपातिकबाट मैले पाउनु पर्छ भनिरहेको थियो । उसको भनाइ थियो, यतिका वर्ष चिया फिट्ने, चिया बाँड्ने र पकाउनेतुल्याउने अनि जुठा भाँडा माझ्ने काम गरेको त्यागको फल खै ? पुलिसको लाठी खानु मात्र त्याग होइन, चिया पकाएर सयौँलाई बाँड्नु पनि त्याग हो । साँझपख उसको स्वर चर्को हुन्थ्यो । कतैबाट एक गिलास घरपाला उसले लगाएर आउँथ्यो । बोल्ने साहस उकासिएर आउँथ्यो । घरपाला तान्ने भट्टीमा उसलाई उक्साइन्थ्यो— ‘ए भाइ, तिमी यतिका वर्ष नेताजीको चाकरीमा छौ । नेताकी स्वास्नीको पेटीकोट पनि तिमीले धुन्छौ अरे । खै त समानुपातिकमा यसो एक सिट दिनुस् भन्न सकेका छैनौ ? जिन्दगीभरि चिया बाँडिरहने हौ ?’

उसले यो भन्न सकेको थिएन, अचेल नेतापत्नीका पेटीकोट धुने मौकै पर्दैन । कारण, भव्यतम बाथरुमको प्रयोगले पेटीकोटको खाँचै पर्देनथ्यो । अवसरबाट वञ्चित हुनुपरेकोमा ऊ पनि दुखी थियो । तर भाँडा मस्काउने, नेताजीका पोसाक मिलाउने, जुत्तामा पालिस लगाउने गर्न पाउँथ्यो । त्यसको प्रतिफलमा उसले माथिल्लो सदन वा तल्लो सदनमा समानुपातिकतर्फको एउटा सिटको आस गरेको थियो । तर नेताजी सुनिरहेका थिएनन् । मात्र यति भनेर टारिरहेका थिए— ‘पख् न पख्, तह पार्न दे । राजनीति तँ बुझ्दैनस् । यहाँ भ्रष्टाचारको आरोप लागेको लाग्यै छ । तेरो लागि मेरो मनमा छ ।’ नेताजीको मनमा के छ त्यो उसले यही छ भनेर भन्न सक्दैनथ्यो । तर राजनीति ऊ बुझ्थ्यो । आजसमम नेताजीका आसेपासेले गरेको कुराकानी दिउँस चिया र साँझ सोडा र गिलास गरी सुन्दासुन्दा राजनीतिमा पाको भएको थियो ऊ ।

तर भ्रष्टाचार विषयक विमर्शको बीचमा उसले चिया बाँडिरहेको थियो, कालो चिया । भ्रष्टाचारले नेताजीको कटकटी दिमाग खाइरहेको थियो । दिन बित्दैनथ्यो भ्रष्टाचारको हल्ला नभएको । राजनीतिमा भ्रष्टाचार व्याप्त छ । नेताजीलाई यो लाग्थ्यो । एकदुई नेताको उदाहरण दिएर भनिन्थ्यो— एउटा ट्रङ्क र छाता मात्र लिएर हिँडेका नेता पनि थिए । कछाड मात्र लाउने गान्धीजकिो उदाहरण पनि अगाडि ल्याउँथे । माक्र्सवादीहरू टायरका चप्पल लगाएर क्रान्ति सञ्चालन गर्ने हो ची मिन्हको उदाहरण दिन्थे । ती आदर्श र मूल्यमान्यताका बीच भ्रष्टाचार फलिफुलिरहेको छ भनिन्थ्यो । नेताजीमाथि पनि भ्रष्टाचारका कम आरोप थिएनन् । उनले आफू बस्ने राजधानीको घरबारे सोच्थे । जिल्ला फर्केमा राजनीति सम्भव थिएन । सत्तावरिपरिको राजनीति अहिले चरमचुलीमा छ । उचालपछार र गठबन्धन चलिरहेछ । कसैको अनुहार र हेरेर वचन लिएर भर पर्न सकिन्न्थ्यो । विश्वासघात र तिहुन चखुवा नीति सर्वत्र थियो ।

यस्तोमा जिल्ला फर्केमा राजनीतिमा पछि परिन्थ्यो । जिल्लाकाहरू कराइरहन्थे— चुनाव जिेतेपछि यता फिटिक्क फर्केको होइन । उनी राजधानीमा छन् । जिल्ला फर्केर राजनीति नष्ट गर्नु छैन । जिल्ला नफर्के पनि केही डर छैन । पहिले जस्तो भोकभोकै चप्पल लतारेर माथिल्ला नेताका ढोका चहार्दै हिँड्ने अवस्थामा छैनन् उनी । तर उनले चिताएका थिएनन्, एक दिन राजधानीमा भव्य बिल्डिङ हुने छ, पजेरो हुनेछ र प्रहरीको एक टोलीले उनको संरक्षण गरिरहेको हुनेछ । उनलाई कतिकति बेला लाग्थ्यो, कतैको छाप्रोमा गएर बस्ने गरूँ । त्यसले भ्रष्टाचारको अपराधबोध अलि हल्का हुने थियो कि ? यो सोचेर उनी जिल्लातिरको छाप्रे रिसोर्टमा गएर विश्राम लिने गर्थे । हल्ला चलाउँथे— मुलुकको हितचिन्तनमा एकान्तवास गरिरहेछन् ।

यता नेताहरू सबैको एउटै्र आवाज थियो, ‘जोगी हुनलाई राजनीति गरिन्न ।’ जोगीहरू सतर्क हुन्थे, कतै जोगी भएर गल्ती त गरिएन । सबै नेताको राजधानीमा घरजग्गा थियो । आरामदायी जीवन थियो । सबै भ्रष्टाचारको मुद्दामा चुप लाग्थे । सबैका मुख चिल्ला थिए । प्रमाण खोजिरहनु पर्ने थिएन तर सबै मिलेर संसदमा बेलोबला भ्रष्टाचारको हल्ला ठूलै गर्थे । नेताजी पनि त्यै मेलोमा थिए । तर उनले एउटा नयाँ सिद्धान्त प्रतिपादन गरेजस्तो गरी प्रशिक्षण लिने कार्यकर्ताहरूलाई कुर्लिएर भने, ‘हामी सबै भ्रष्ट छौँ ।’ फेरि उनी अलि खुस्केको हाँसो हाँसे । भने— ‘हामीले व्यवस्था के यही कारण परिवर्तन गरेका हौँ ? उनले भन्न चाहेका थिए— हामीले भ्रष्टाचारले मुलुक खाला भनेर यसो गरेका हैनौँ । तर खायो, अब केही हुन सक्तैन ।’ प्रत्यक्षमा उनले भने— ‘बाबुआमा, छोराछोरी, ससुरा, ज्वाइँ र श्रीमतीसहित सबै भ्रष्टाचारमा लागेका छन् । भ्रष्टाचार छाडेर अरू विषयतिर लाग्नु ठीक हुन्छ । पार्टी सुकिलामुकिलाहरूको हातमा छ । तिनकै नीति छ, तिनकै खटनपटन छ । सबैको मत यही छ तिनकै नीति र खटनपटनले मुलुक र पार्टीको हित छ ।’

यति भनेर उनी अर्को जिल्लातिर जान ठिक्क पारिएको गाडीभित्र छिरे र हिँडि पनि हाले । कार्यकर्ताका बीचमा क्रान्तिकारी भएर उभिराख्नु उचित थिएन । मालुम हुन्थ्यो, कार्यकर्ताहरू हल्ला गर्ने मुडमा छन् । तर नेताजीको आकस्मिक जानुले कार्यकर्ताहरूको अनुहार हेर्न लायक भएको थियो ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x