साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अविरल यात्रा–१०८’मा कवि प्रा.डा.सावित्री श्रेष्ठका एक दर्जन कविता सुनिए

वरिष्ठ साहित्यकार प्रा.डा.विदुर चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष प्राज्ञ नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो ।

Nepal Telecom ad

काठमाडाैं, राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्ष पुतलीसडक, काठमाडौँमा आयोजित विशेष समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले एकदशकभन्दा लामो समयदेखि निरन्तर आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को १०८ औँ विशेष शृङ्खलामा साहित्य सिर्जना, प्राध्यापन, सामाजिक–साङ्गठनिक नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेकी सशक्त प्रगतिवादी स्रष्टा प्रा.डा.सावित्री श्रेष्ठका एक दर्जन कविता सुनियो, परिचर्चा गरियो ।

नेपाली साहित्यका प्रखर समालोचक, वरिष्ठ साहित्यकार प्रा.डा.विदुर चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष प्राज्ञ नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो भने सङ्घका महासचिव डा.कृष्ण सुवेदीले सञ्चालन गर्नुभएको उक्त समारोहमा विशेष अतिथिका रूपमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालकी उपाध्यक्ष नमुना शर्मा र सङ्घका निवर्तमान अध्यक्ष राम विनयको उपस्थिति रहेको थियो । अन्य अतिथिहरूमा युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका निवर्तमान अध्यक्ष डा.फणीन्द्रराज निरौला, चिनियाँ लेखक यो यु, खोलाघरे साइँला, खेमराज निरौला, चेवन बस्नेतलगायत कविनायकका इष्टमित्र तथा अन्य कवि, साहित्यकारहरू एवम् साहित्यानुरागीहरू उपस्थित हुनुहुन्थ्यो ।

अध्यक्ष नर्मदेश्वरी सत्यालले कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभएको थियो । हरेक महिनाको दोस्रो शनिबार हुने यो विशेष समारोहको उद्देश्य साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान सञ्चालन गर्नु हो । वर्तमानमा अलि प्रतिकूल अवस्था सिर्जना भएको भए पनि हामी स्रष्टा आफ्नो काम निरन्तर गरि नै रहन्छौँ । आजको यो विशेष समारोहमा हाम्रो निमन्त्रणा स्वीकार गरी उपस्थित भइदिएर हामी तथा कविनायकलाई हौसला प्रदान गरिदिनुहुने प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरूलगायत सबै सबै आदरणीय व्यक्तित्वलाई हार्दिक स्वागत गर्दछु ।

२०७० चैत्र १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा.मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहित्य यात्रा’को आज हामी १०८ औँ विशेष शृङ्खला सम्पन्न गर्न लागिरहेका छौँ । देशैभरिका नेपाली प्रगतिवादी साहित्यमा आआफ्नो क्षेत्रबाट योगदान गरिरहेका एकजना स्रष्टालाई हरेक महिनाको दोस्रो शनिबार प्रत्यक्ष उपस्थित गराई उनका एक दर्जन कविता सुन्ने र कवितामाथि समीक्षासमेत गरी परिष्कार परिमार्जनमा सघाउ पुर्याउने यो अभियानमा हामीले प्रस्तुत गरेका स्रष्टाहरू हर्ष स्याङ्बो, आनन्ददेव भट्ट, पीताम्बर भण्डारी, विनय कसजू, विजय चालिसे कीर्तिशेषसमेत भइसक्नुभएको छ । समसामयिक विशेष विषयमा बहस तथा छलफल गर्ने, सडक कविता अभियान चलाउने यो अभियानमा महिला सहभागिता कमजोर भएको टिप्पणीका सन्दर्भमा भने हामी महिला नै निस्किन नखोजेर हो भन्ने मलाई लाग्छ ।

आज नेपाली प्रगतिवादी कविताअभियानमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेकी, सिङ्गो जीवन प्राध्यापनकर्ममा समर्पित गरेकी, साहित्यिक सङ्घसंस्थामा क्रियाशील रहेकी; परिवार, समाज, आफन्त, इष्टमित्र, समाजसमेतले असहयोग गर्दा पनि सामाजिक रूपान्तरण अभियानमा होमिएकी अभियन्ता एवम् सचेत, प्रगतिवादी स्रष्टा प्रा.डा.सावित्री श्रेष्ठलाई प्रस्तुत गरिएको हो । यो विशेष समारोहमा कविता सुनाउने कविका कवितामाथि गरिने समीक्षालाई समीक्षकसँग लिखितरूपमा माग गरी प्रकाशन गर्ने पनि अभ्यास रहेको छ । सामाजिक रूपान्तरणका पक्षमा सन्देश सम्प्रेषण गर्दै साहित्य सिर्जना गर्नुपर्ने हाम्रो मान्यतालाई आत्मसात गर्ने अहिलेको समयकी कुशल सर्जक आजकी स्रष्टाका एक दर्जन कविता र ती कवितामाथिको समीक्षा आज हामी सुन्ने छौँ भन्नुभयो ।

साहित्यकार राजन न्यौपानेले कविनायक प्रा.डा.सावित्री श्रेष्ठको परिचय दिनुहुँदै नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेकी, प्राध्यापनकर्ममा रहेकी, साहित्यिक सङ्घसंस्थामा क्रियाशील रहेकी, सामाजिक रूपान्तरण अभियानकी अभियन्ता डा.श्रेष्ठको काठमाडौँको ज्याबहालमा माता मिलनदेवी श्रेष्ठ र पिता मुक्तिनाथ श्रेष्ठकी सपुत्रीका रूपमा जन्म भएको हो । उनको परिवार नेपालगन्जमा रहेर एकतारे होटल सञ्चालनदेखि त्यही समयमा टाइपिङ इन्स्टिच्युट चलाएर बसेको सन्भ्रान्त थियो । प्रा.सिद्देश्वरमान श्रेष्ठको शिक्षित र आत्मनिर्भर परिवारमा वैवाहिक जीवन चलेको भए पनि सुरुका दिनमा आफ्नै कमाइले थोरै पैसा जम्मा गरेर तीन कक्षामा एकैपटक भर्ना भएर परिवारको इच्छाविपरीत शिक्षार्जन डा.श्रेष्ठले गरेकी हुन् । पढाइमा जहिल्यै प्रथम हुने र घरायसी व्यवहारमा पनि लागेकी डा.श्रेष्ठ स्वआर्जनबाट छोरीलाई अंश दिने सम्भवतः नेपालकै पहिलो महिला पनि हुन् ।

नेपाल बैङ्क लि.को सञ्चालक समितिको पहिलो महिला सदस्यका रूपमा रहेर, नेपालमा रहेका प्रायः सबै विश्वविद्यालयमा कुनै न कुनै रूपमा प्राध्यापन गरेर मात्र होइन सन २०१५ मा पोडे महिला विषयमा विद्यावारिधिसमेत गरेकी डा.श्रेष्ठले अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेकी हुन् । उनले राष्ट्रिय–अन्तर्राष्ट्रिय सेमिनारहरूमा कार्यपत्र प्रस्तुत गरेकी छिन् भने वर्तमानमा पनि कोटेश्वर बहुमुखी क्याम्पसको सञ्चालक समिति सदस्यसमेत रेहकी छिन् । ‘अक्षलोक’ साहित्यिक पत्रिकाको सम्पादन पनि गरिरहेकी डा.श्रेष्ठका तीनओटा कथासङ्ग्रह, दुइटा उपन्यास, पाँचओटा कवितासङ्ग्रहलगायत करिब डेढ दर्जन कृति प्रकाशित रहेका छन् भन्नेसमेतको जानकारी दिनुभयो ।

कविनायक प्रा.डा.सावित्री श्रेष्ठले एक दशकभन्दा लामो समयदेखि सञ्चालन भइरहेको यो गरिमामय, उद्देश्यमूलक अविरल जनसाहित्य यात्राको १०८ औँ शृङ्खलामा आपूm जोडिन आइपुगेकोमा गर्वबोध गर्दछु । यद्यपि यो अभियानको सञ्चालन गरिरहेको संस्थासँग म आफैँ पनि सम्बद्ध रहेकी छु । आजको यो विशेष समारोहमा नेपाली प्रगतिशील साहित्यका वरिष्ठ साधक, प्रखर समालोचक, भाषावैज्ञानिक प्रा.डा.विदुर चालिसे प्रमुख अतिथिको रूपमा उपस्थित भइदिनुभएको छ भने मलाई प्रोत्साहन गर्न तपाईँ बौद्धिक व्यक्तित्वहरू उपस्थित भइदिनुभएको छ । त्यसैले पनि मलाई अत्यन्त गौरवबोध भएको छ, त्यसमा पनि मजस्तो सामान्य कविलाई स्थान दिनुभएकोमा खुसी पनि लागेको छ । मेरो लेखनको उद्देश्य मेरा कविताले नै बोल्ने छन् तापनि कविता सिर्जनापछि परिष्कार नगर्ने मेरो बानीका कारण कमजोरी पनि होलान् तर छोरा मात्र सन्तान हुन् भन्ने समाज र मेरा आफ्नै पनि अभिभावकको बानी देखेर, छोरीलाई पढाउनुहुन्न भन्ने सोच त भएकी तर समपत्तिको हक चाहिँ छोरीलाई पनि दिनुपर्छ भन्ने मान्यता कार्यान्वयन गर्ननसकेकी मेरी आफ्नी आमाको पीडा अनुभूत गरेर, जुनसुकै क्षेत्रमा पनि आलोचना गरेपछि तिरस्कृत हुनुपर्दा पीडाबोध भएपछि, विद्वता र क्षमता भएकाहरू तर मान्छे बन्न्नसकेको देखेपछि वा व्यहोरेपछि, आफ्नो जन्मघर आफ्नो त हुननसकेको तर प्यारो लागेपछि मनका भावना अभिव्यक्त गर्नका लागि, नेपाली छोरीले अधिकार पाउनु त कता कता आमाको गर्भमै मर्नुपर्ने सामाजिक विद्रुपता देखेपछि र धेरै कुराले मनमा अन्तद्र्वद्व पैदा गराएपछि मैले कविता सिर्जना गरेकी हुँ भन्दै कविताका रचनागर्भका बारेमा जानकारी गराउँदै ‘मेरी आमाका पीडाहरू’, ‘बाघको मुखमा छु हजुर’, ‘त्यो घरको याद’, ‘हो, मलार्ई मध्यरातमा डर लाग्छ’ र अन्तद्र्वद्व शीर्षकका सुन्दर र सशक्त गद्यकविता वाचन गर्नुभयो ।

त्यसैगरी सहयोगी कवि कविराज योगराज राजनले ‘यथार्थको आँसु’ शीर्षकको, कवि गीता अर्यालले ‘भानुभक्त’ र ‘बगर हो कि मान्छे !’ शीर्षकका, कवि स्वर्णिमा श्रेष्ठले ‘लज्जा’ र ‘आँसुका पहाडहरू’ शीर्षकका, कवि राजन न्यौपानेले ‘किन चाहियो राजा ?’ शीर्षकको र कवि शान्ति पौडेलले ‘बिर्सिदिँदा के फरक पर्ला र ?’ शीर्षकको गरी त्यत्तिकै सुन्दर, सशक्त कविताहरू वाचन गर्नुभएको थियो ।

वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै प्रमुख अतिथि एवम् समालोचक प्रा.डा.विदुर चालिसेले अविरल जनसाहित्य यात्राको यो उद्देश्यमूलक अभियान १०८ औँ शृङ्खलामा पुगेको छ र आजको यो समारोह विशेष समारोहका रूपमा आयोजना भएको छ । त्यसैले सर्वप्रथम म आजका कविनायकलाई बधाइ दिन्छु र मलाई प्रमुख अतिथिसहित टिप्पणीकारको भूमिकामा आफ्नो जिम्मेवारी पूरा गर्ने अवसर प्रदान गरेकामा आयोजकलाई हार्दिक धन्यवाद पनि दिन्छु । आजका कविका कवितामा समसामयिक सामाजिक यथार्थको उद्घाटन भएको छ र यो समारोह महत्त्वपूर्ण रहेको छ । वास्तवमा लेखनजस्तो सहज हुँदैन समीक्षा । लेखकले आफ्ना अन्तरमनका भावना अभिव्यक्त गर्दछ तर समीक्षकले सैद्धान्तिक कसीमा घोटेर समीक्षा गर्नुपर्दछ । गद्यकविता भाषावैज्ञानिक प्रविधिमा जोडिन्छ र त्यसमा लयचेतना हुन्छ ।

मुक्तकमा भने पहिलो, दोस्रो र चौथो हरफमा अन्त्यानुप्रास मिलेको हुनुपर्छ । यहाँ एउटा मुक्तक प्रकारको कविता वाचन भएको छ र यो कवितामा यथार्थ जीवनको पीडा अभिव्यक्त भएको छ । शैलीवैज्ञानिक मान्यताका आधारमा हेर्दा कविता सरल छन् तर बौद्धिकताभित्रको भावगाम्भीर्य कमजोर पाइन्छ । कवितामा विषयको नाटकीकरण गर्ननसक्दा गद्यको लय स्थापित हुँदैन । वाक्यको संरचना टुक्र्याउने र वक्रोक्ति अर्थ दिने काम गरियो भने कविता सुन्दर हुन्छ र अर्थविस्तार गर्ने शब्दको प्रयोगले बौद्धिकताको सिर्जना गर्छ ।

कविताको मूल मर्म लय हो र वाचनशैली नै कविको पहिचान हो । देशको परिस्थिति, आततायीपन, सामाजिक यथार्थ, विभेद, शोषणजस्ता कुरा कवितामा सशक्त रूपमा आएका छन् र रूपान्तरणको ध्वन्यार्थ सम्प्रेषण पनि गरिएको छ । साधनाको पक्ष केही कमजोर देखिएकोतर्फ कविको ध्यान जानु चाहिँ आवश्यक छ । गद्यकविताले प्रगतिशील चेतनाको विस्तार गर्ने काम गरेको छ । कविको शैली र अस्त्रको काम पनि गद्यकविताले नै गर्दछ । गद्यकवितामा विम्बको गहन छनोट आवश्यक हुन्छ । त्यसैगरी अर्थसन्दर्भको सापेक्षता, प्रतीकात्मकता, दर्शन, विचार, भाषाको संयोजन कवितामा आवश्यक हुन्छ । स्रष्टाले आफ्नो पहिचान आफैँ बनाउनुपर्दछ । कविले आलोचना र प्रशंसालाई स्वीकार गरी साधना गर्नु आवश्यक छ । सुन्दर र समसामयिक कविता सुनिएको आजको यो विशेष समारोह समग्रमा सार्थक भएको छ । म फेरि पनि कविलाई धन्यवाद दिन्छु, बधाइ दिन्छु भन्नुभयो ।

समारोहमा हाम्रो आमन्त्रण स्वीकार गरी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्व तथा समारोहका कविनायक तथा परिवारका सदस्यहरू र सहभागी सबैलाई सङ्घका उपाध्यक्ष रमेश पोखरेलले धन्यवाद दिनुभयो । शिक्षण, सामाजिक अभियान, साहित्यिक सिर्जना र राजनैतिक क्षेत्रबाट सक्रियता, सङ्गठन एवम् सामाजिक रूपान्तरण अभियानमा क्रियाशील स्रष्टा प्रा.डा.सावित्री श्रेष्ठलाई आज हामीले सुन्यौँ ।

कवितामा सामाजिक यथार्थलाई जीवन्तरूपमा चित्रण गरी परिवर्तन तथा रूपान्तरणका पक्षमा कविता सिर्जना गरेर मुलुकको सामाजिक यथार्थको चित्र उजागर गर्दै अनुभूति र भोगाइलाई कवितामा चित्रण गर्ने, विद्रोहका स्वरका साथ नक्कलीको बिगबिगी रहेको वर्तमानको यथार्थलाई कविताले सशक्त रूपमा उजागर गरेको, अहिलेको समयमा बेठिकलाई बेठिक भन्नु भनेको जोखिम मोल्नु हो भन्ने तथ्य उद्घाटित भएको, हामी स्रष्टाले जहिल्यै जोखिम मोल्नुपरिरहेको र अहिलेको परिस्थिति पनि त्यस्तै रहेको हुँदा बाघको मुखमै पस्ने अर्थात् चुनौतीको सशक्त सामना गर्ने साहस अभिव्यक्त भएको, बेइमानीको बाटोमा हिँडेको अहम्का प्रति आक्रोश व्यक्त गरिएको, अन्धविश्वासको प्रतिरोध गरिएको, आफैँले नबनाएसम्म महिलाको आफ्नो घर नहुने क्रुरतम सामाजिक यथार्थको उद्घाटन गरिएको, निरङ्कुशताको पक्षधरता लिने प्रवृत्तिको विरोध गरिएको, मानवता बिकेको वर्तमानका प्रति आक्रोश व्यक्त गरिएको, खुट्टा तान्ने पनि आफ्नै हुने यथार्थको प्रकटीकरण गरिएको, परिष्कृत दृढ वैचारिकता कवितामा अभिव्यक्त भएकाजस्ता विषय हामीले आजका कवितामा सुन्यौँ र रूपान्तरणको स्पष्ट आग्रह रहेको पनि पायौँ ।

कुण्ठा वा आक्रोश अलि लम्बेतान रूपमा कवितामा आएको, कतै कतै भाग्यवादका पक्षमा र कुनै कवितामा निराशाको पक्ष देखिएको र भाषा अनि व्याकरणका पक्षमा सचेतता नभेटिएको पक्षमा भने कविले सुधार गर्नुपर्ने देखिएको छ । आजको यो शृङ्खला हामी सबैका लागि अविस्मरणीय रहेको छ । अब हामी जेठको दोस्रो सातामा १०९ औँ ‘अविरल जनसाहित्य यात्रा’मा नेपाली प्रगतिवादी साहित्यमा कलम चलाइरहेका चेवन बस्नेतलाई प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई आमन्त्रण गर्ने छौँ भन्नुभयो र कविनायकलाई सम्झनाको चिनो समर्पण गरिदिन प्रमुख अतिथिलाई अनुरोध गर्दै अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।

०००
रमेश पाेखरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x