डा. विदुर चालिसेसीमा सङ्घर्ष
खुकुरीमा भएको खिया र रातो रगत के हो ? चिनिँदैन थियो । तर कुखुरा भुत्लिरहेको थियो । कुखुरा पनि भुल्लिएर मिचिएको जमिनजस्तै तन्द्रङ्ग थियो । रसिलो स्वादमा सबै हाकिमहरूले घोषणा गरे ।

डा. विदुर चालिसे :
बाबुबाजे सबै लडे । अर्थात् भुईंमा त्यसै पछारिए । लम्पसार परे । चुपचाप लागे । दुश्मनसँगको भिडन्त सकिएको थिएन । उनीहरू लडिरहे । उनीहरूले लडे, हारेर लडिरहे । जितेर पनि लडिरहे । लड्नु, लडिरहनु माटोको माया र जातिको नियति नै थियो । माटोलाई यसो हातमा लिएर सुँघेथे । तिनले थाहा पाइहाले ।
– “बलभद्रको उम्लिएको रगत, उफ् ! कति तातो ?”
अतिक्रमण चर्किरहेको थियो, सिमामा लङमार्च थियो । माटोको सुगन्धमा स्थानीयहरू छटपटाइरहेथे । लडिरहेका उनीहरूले बुझेनन् ।
– “उनीहरूको रगत कति चिसो !”
फेरि विवशता लडिरह्यो निरापराय भएर । बलमा मात्र लडिरहे । अझै पनि लडिरहन्छ माटोको लागि वीर बलभद्रजस्तै । यो विरासत र पहिचान, सङ्घर्ष बनिदिएको छ । अनि जम्काभेट भएको दुश्मनले चिया गफमा थर्थर काम्दै डराएर सोधेथ्यो ।
– “तिमीहरूसँग खुकुरी छ ?”
– “अहिले हाम्रो खुकुरी उलटफेर भएको छ । तिमीहरूसँग नि छ कि ?”
– “उलटफेर ?, खै बुझिन, भन्नु न, त्यो हाम्रो साबलाई गोप्य रिपोर्ट गर्नुपर्छ ।”
– “भन्न त भनिदिन्छु तर गोप्य है ?, बरू भने बापत कति आउँछ ?”
– “बुझे बुझे अँह, त्यही सत्ता उलटफेर भनेको होला हैन ? त्यो त थाहा छँदैछ नि !”
– “तपाईंलाई त हाम्रो सत्ताको उलटफेर मात्रै चिन्ता छ, क्या फसाद !”
– “भन्नु न त केको उलटफेर !”
– “अब हामी पनि निकै बाठो भइसक्यौँ है, लाटो नसम्झनु अब ! पहिला दाम अनि काम । उदारोको जमान सकियो, भाइसाब ?”
सीमानामा खटिएको र प्रमुखलाई लाग्यो- उनीहरूको खुकुरी त निकै तागतदार हतियार थियो । यस्तो हतियार उलटफेर भयो भने आणविक हतियारभन्दा खतरा हुनसक्छ भन्ने लाग्यो । त्यसपछि आफ्नो खसखस मेट्न उसले वीर बलभद्रको विरासतलाई फेरि सोध्यो ।
– “हत्तेरिका खुकुरीको उलटफेर के हो ? भन्नु न यार !”
निकै फकाएपछि विरासतलाई यिनीहरू भाउमा निकै कचकच गर्ने जात हुन् भन्ने लाग्यो । अति नै कचकचपछि उसले अड्किअड्की भन्यो ।
– “खुकुरीबाट ‘कुखुरी’ भएको छ, क्या !”
– “ह्या ! ‘कुखुरी’ त हामीकहाँ कति छ कति ! पहिले पहिले नेपालीहरू कति लाटा र मूर्ख हुन्थे । अहिले त कति बाठा । यहीँ रिपोर्ट साबलाई गरिदिन्छु ।
– “हाम्रो नि जीवन धान्नु परेन त ?”
– “ल ल भयो, तिम्रो पुरानो खिया लागेको ‘खुकुरी’ पनि झिक । मेरो यताको कुखुरी पनि झिक्छु । सँगै बसौँ । सँगै काटौँ । सँगै भोज खाउँ । एकछिन रमाऔँ ।
तब भर्खर सिमानाको महान सङ्घर्ष सकिएथ्यो । खुकुरीमा भएको खिया र रातो रगत के हो ? चिनिँदैन थियो । तर कुखुरा भुत्लिरहेको थियो । कुखुरा पनि भुल्लिएर मिचिएको जमिनजस्तै तन्द्रङ्ग थियो । रसिलो स्वादमा सबै हाकिमहरूले घोषणा गरे ।
– “लौ, अब सिमानाको सङ्घर्ष सकियो ।”
०००
आरुबारी, काठमाडौं
‘लघुकथालय’ (२०७९)
Subscribe
Login
0 Comments
Oldest







































