डा. विदुर चालिसेफ्याङ्ले काेट
"देश बनाउन खाेक्नाेस, पाएकाे जति धाेक्नाेस, इतिहास रच्ने नाममा जनताकाे बचत रकम बाेक्नाेस् !" त्यसपछि बिक्रेता बर्बराउन थाल्याे । -"गद्दारहरू ! काेटकाे मूल्य नै नबुझ्ने !"

डा. विदुर चालिसे :
-“याे सिस्नाेकाे, याे अल्लाेकाे, याे कस्मिराकाे, याे ऊलनकाे, याे सनपाटकाे !”
यस्ताे मुखाग्र विज्ञापन सुनेर झाेक्राउँदै सडकमा हिंडिरहेकाे विध्दान् वर्णामीकाे ध्यान त्यसै आकृष्ट भयाे । उसकाे ध्यान तानिरहेकाे समयमा उसलाई एक विचार आयाे । उसले काेट किन्ने विचार गरेर बिक्रेतालाई साेध्याे ।
-“सनपाटकाे काेट कति पर्छ ?”
बिक्रेताले उसलाई उसाे अनुहारमा हेर्याे । चिनेचिने जस्ताे गरेर वर्णामीलाई साेध्याे ।
-“तपाईं त प्राेफेसर हाेइन र ?”
-“हाे !”
-“अनि प्राेफेसरले पनि सनपाटकाे काेट लगाउँछन् त ?”
-“के काे लगाउने त ?”
-“सिस्नाेकाे लगाउने नि !”
-“किन र ?”
-“त्यसले मानिसलाई पाेल्छ, पाेलाउन लाग्छ, पाेलिदिन्छ र तापमान सन्तुलनमा ल्याउँछ । जाडाेमा ताताे अनि ताताेमा शीतल !”
ज्ञान र विद्वताले पूर्ण पाकेकाे दाह्री जुँगा फुलिरहेकाे प्राेफेसर चिल्लाउन थाल्याे । उसकाे चिल्लाइमा एक अनिंद्राकाे ज्वाला प्रकट भएकाे थियाे । भन्याे ।
-“सनपाटले पनि त घाेचिघाेची रूवाउँछ अनि निंद्रा लागेकाे बेलामा भुसुक्क निदाउन राप दिन्छ !”
प्राेफेसरकाे कुरा सुनेर बिक्रेता फेरि हल्ला गर्न लाग्याे ।
-“सिस्नाे, अल्लाे, कस्मिरा, ऊलन र सनपाटकाे थरिथरी दाम, किन्नेलाई एउटै काम !”
बल्ल प्राेफेसरले फ्याङ्ले काेटकाे पकेटबाट लामाे कागजकाे चिर्कटाे निकालेर घाेषणा गर्याे ।
-“अब देशमा गणतन्त्र लागु भयाे ।”
काेट बेचिरहेकाे बिक्रेता हडबडाउन थाल्याे । उसले एकाएक सबै काेटहरू पाेकाे पार्न थाल्याे । पाेकाे परेका काेटहरू हतार हतारमा बिक्रेताले लिलामीका लागि अर्काे विज्ञापन गर्याे ।
-“आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरू ! असफलतातिर नजानुस् !”
प्राेफेसरले लगाइरहेकाे फ्याङ्ले काेट बारे सडकभरि चर्चा हुन थाल्याे । चर्चाकाे शिखरमा रहेकाे प्राेफेसरकाे फ्याङ्ले काेटमा केही झुत्रा तमसुकहरू थिए । केही निवेदन र काेटकाे बारेमा गरिएका विज्ञापनकाे बखान थियाे। त्यसमा एउटै सत्य लुकेकाे थियाे ।
-“देश बनाउन खाेक्नाेस, पाएकाे जति धाेक्नाेस, इतिहास रच्ने नाममा जनताकाे बचत रकम बाेक्नाेस् !”
त्यसपछि बिक्रेता बर्बराउन थाल्याे ।
-“गद्दारहरू ! काेटकाे मूल्य नै नबुझ्ने !”
प्राेफेसर दलालकाे भाषा बुझेर मरिमरी हाँस्न थाल्याे । उसले जनतातिर फर्केर प्रश्न गर्याे ।
-“फेरि सिध्दान्त पढ्छाै ?”
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































