साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रङ र छेपारा

जे भए नि वास्तविक छेपारोको बदनाम गरिसके कृत्रिम छेपाराहरूले । यिनको छिटोभन्दा छिटो सद्बुद्धि फिरोस् । मौका पर्दा आफैँ छेपारो हुनुपर्ने अवस्थामा प्रकृतिको सुन्दर उपहार छेपारोको आइन्दा त्यति धेरै बदख्वाइँ नहोस् ।

Nepal Telecom ad

कुमार खड्का :

नैसर्गिक विशेष शक्ति छेपारो रङ बदल्न सक्छ
मौसम माफिक वातानुकुलित आवृत्तिमा ढल्न सक्छ
मरुभूमिका ऊँटलेझैँ शक्तिमा बदल्छ प्यास जस्ले
मात्र सफल हुनसक्छ त्यो प्रकृत गतिमा चल्न सक्छ ।

कुनै तालमेल नमिल्दा भन्ने गरिन्छ, रङ न ढङ्गको कुरा । कि रङ मिल्नु पर्‍यो, कि ढङ्ग । दुवै मिलेमा सुनमा सुगन्ध हुने भो फेरि । रङ र ढङ्ग सहित बत्तिस लक्षणले युक्त । कुशल अवस्था, सफल जीवन । सबैको चाह त होला दुवै मिलाउने तर सफलता भने थोरैलाई मात्र प्राप्त हुन्छ । रङ मिलाउन खोज्यो ढङ्ग खुस्किने, ढङ्गमा ध्यान दियो रङ पोतिने वा रङ मेटिने । रङ मात्र मिलाउन जान्ने छेपाराहरू र ढङ्गमात्र मिलाउनेखोज्ने बेढङ्गी चेपाराहरूकै बाहुल्यता देखिन्छ समाजमा । मौसमी रङ बदल्न सके पनि अवस्था अनुसार ढङ्ग बदल्न नसक्दा अल्छी छेपारेको धोती खुस्कन्छ, पर्यावरण अनुसार रङ बदली गर्न सके पनि ढङ्ग पुर्‍याउन नसक्दा नकचरा बेसारे र चेपारेहरूको धोती खुस्कने गर्छ ।

लम्पट अल्छीको उपमा हो छेपारो । रातको जाडोमा कठ्याङ्ग्रिँदा घाम लाग्ने बित्तिकै घर बनाउँछु भन्ने छेपारो बिहानीपखको पारमा निदाउँदा घर बनाएको दिवास्वप्नमै बर्बराउँछ । दिन ढल्छ, उहि चिसो रात, कठ्याङ्ग्रिँदो चिसो, उस्तै सपना, कल्पना । हैट… ! लौ हेर्नुस् न हाम्रा राज्यका निकायहरू पनि छेपारा जस्तै छन् ।

नाकाबन्दीको बेला निकट भविष्यमा सारा आपूर्ति व्यवस्थापन छु मन्तरमै मिलाउने कुरा फलाके । पेट्रोल खानी निकाले, ग्याँसको पाइपलाइन भान्सा भान्सामा जोड्ने आकर्षक कुरा गरे दिगम्बर छेपाराहरूले । नाकाबन्दी सकियो, छेपारे उखानमै सिमित । कतै आसामी उठाउन गयो, भोलि दिन्छु भन्छन्… कुनै कार्यालयमा काम लिन गयो सेवाग्राहीलाई भन्छन्, भोलि आउनु न… नेताकोमा कुनै समस्या लिएर गयो, भन्छन्, भरे भोलितिर यसो मिलाएर आउनु ल… ? यसरी छेपाराको उखान चरितार्थ पार्न सारा व्यक्ति, संस्था, सरकारी, गैरसरकारी निकाय नयाँ नयाँ सुधारिएका ढङ्गले लागिपरेका देखिन्छन् ।

त्यसो त परिस्थितिले कहिलेकाहीँ छेपारे हुनुपर्ने अवस्था आउदो रे छ नि । पहिले पहिले आफू स्वयंले ज्ञान आर्जन गरे पनि ख्याति कमाएका गुरुबाट मान्यता पाउनुपर्ने हुन्थ्यो, अहिले पनि जतिनै भित्री ज्ञान भए पनि औपचारिक शिक्षा ख्यातिप्राप्त विश्वविद्यालयबाट भएमा स्तर उकासिन सक्ने, रोजगारीको अवसर मिल्न सक्ने अन्यथा अध्ययनसँग सम्बन्धित तालिम तथा तत्सम्बन्धी कार्यको निश्चित अवधिको अनुभव चाहिने भन्ने बान्छनीय योग्यताले छेकवार लगाउन सक्ने रे छ । अनि भएन त गोलमटोल ? धेरै ठूलो व्युहमा फस्नु पर्ने अवस्था हुनसक्छ । खुट्किला छ, सग्लो खुट्टा छ, तर पाइलो हाल्ने लाइसेन्स मिल्दैन । अनुभव, कार्य दक्षता नभै काममा इन्ट्री हुन नपाइने, इन्ट्री नभै कार्यदक्षताको प्रमाणपत्र नपाइने, जबर्जस्ती गुरु मान्यो एकलव्य हुने खतरा । अनि बिलखबन्दमा परिएन त ?

आफैँले आफ्नो तालमेल मिलाउन रङ र ढङ्ग फेर्नुपर्ने बाध्यता सुरु हुन्छ । भनसुन, नक्कली प्रमाणपत्र, नक्कली तालिम र अनुभवको प्रयास । बजारका च्याउ जस्तै पलाएका काम चलाउ तालिमे संस्था । यसो उसो गर्‍यो पैसा, अवैध व्यापारसँगका अन्तरङ्ग सम्बन्धहरू । आखिरमा रङ र ढङ्ग फेर्दै उही छेपारे र चेपारे वृत्ति विकासका कुरामा हलो अड्किने ।

हुन त जति नराम्रो काम गर्न खोज्यो, त्यति बुद्धि खर्चनु पर्ने, चिन्ताग्रस्त हुँदै निधार खुम्च्याउनुपर्ने । राम्रो कामको लागि त बाटो लामो मात्रै हो, चलनचल्तिकै बुद्धिमा केही मलजल गरेको विवेकले सहजै पार गर्न सकिने जस्तो लाग्छ । जति छोटो र सोझो बाटो, त्यतिनै बाधा, अवरोध, काँडाघारी, भीर, पहरा र असहज स्थितिको सामना गर्नुपर्ने । तर अहिले त सगरमाथा चढ्ने रुट पनि तेन्जिङले चढ्नेताका जस्तो कहाँ असहज छ र ? ह्याङ्गिङ रोप क्रसिङ्ग, भर्‍याङ ( रोप स्ट्येर), खाने, बस्ने, सुत्ने, आराम गर्ने सहज खाले क्याम्पका सुविधा सम्पन्न व्यवस्थापन, तालिमप्राप्त पथप्रदर्शकहरू… आदि, इत्यादिले गर्दा प्राकृतिक रङ मेटिँदै कृत्रिम रङ ढङ्गले सजिसजावटको छेपारे अवस्था । हेर्दाहेर्दै आफ्नो सहजताको लागि प्रकृतिलाई पनि तोडमोड पार्दै रङ फेरिसकेका छन्, मान्छेहरूले । अझ कतिपय असहज र गलत काम कार्वाही पनि छेपारेवृत्तिमै संस्थागत भइसकेको अवस्थामा त्यति वातावरणीय चिन्ता समेत लिनु नपर्ने अवस्था सिर्जना भइसकेको छ । अहिले त राष्ट्रको सर्वभौम संसद समेत छेपाराहरूको थलोमा परिणत भइसकेको अवस्था छ । कोही साना कोहि ठुला, कोही रङ फेरेका, कोहि फेर्दैका, कोहि अवसर हेर्दै बसेका छेपाराहरू । राज्यका काम कार्वाहीमा भने उहि छेपारेवृत्ति । हैट… ! कस्तो विडम्बना ।

जनस्तरको बुझाइ पनि त्यतिकै सहज भइसकेको सन्दर्भमा आफ्नै लाभको बाटोमा ढुक्कले हिँड्दा कसैले प्रश्न गर्नेवाला छैनन् र कदाचित प्रश्न उठाउनेहरूलाई मिलाएर लाभांशको काफल रुपि मट्याङ्ग्रोले मुखमै घुँयत्रो हान्दिएपछि त्यति चिन्ता लिनुपर्ने अवस्था देखिँदैन । मानौँ कसैलाई पुलिसले पक्रियो, जनस्तरको बुझाई… केही न केही बिगार गर्‍यो होला त पुलिसले पक्रियो नि । फलानालाई सजायँ तोकियो नि ?

पहिले बिस्तारै भन्छ, चोर पुलिस, चोर सरकार, भ्रष्ट अदालत जे पनि गर्छ ! माहोल बुझ्दै, पछि फेरि भन्छ, नचाहिँदो काममा लाग्नेलाई समात्छ, जाक्छ । ठिकै छ नि… ! हाम्रो समाज निरीह छेपाराहरूको डम्पिङ साइट नै भइसकेको छ, हरेक क्षेत्रमा छेपाराहरू । फलानालाई अख्तियारले समातेछ नि ? वा फन्दामा परे छ नि ? वा सम्पति शुद्धीकरणको केस लागेछ नि ?
को रे छ ? कस्लाइ अरे…?
पहिले निर्क्योल गर्छ, आफ्नो मान्छे हो कि, आफ्नो मन नपर्ने, विरोधी हो कि या अन्य कोहि । आफ्नो मान्छे परेको भए सरकार र प्रणालीको विरोध गर्छ । व्यक्तिको प्रशंसा हुन्छ । अन्यथा त्यसको रेडिमेड उत्तर आउने गर्छ… ।
के भो त छुट्कारा पाइहाल्छ नि । कति कमायो कुन्नि ? अलिअलि तह लाग्ने भो । गर्‍यो केटोले, जस्ले हान्यो, उसैले जान्यो… ।

रिस उठेको मान्छे भए भन्छ, साला मै हुँ भन्थ्यो, ठिक छ, अलिदिन भए पनि जाकिन्छ, अलिकति तह लाग्छ… !
त्यो त अस्ति जस्तो लाग्छ ज्यान केसमा थुनिएको, छुटी पो सकेछ त ?

अर्कोले भन्छ… ए त्यो पावरफुल मान्छे, पार्टीमा पनि राम्रै होल्ड छ, प्रहरी, प्रशासन, अड्डा अदालत सबै मिलाउन सक्ने खाले हो, ऐरेगैरे हैन नि, मिलायो । पार्टीमा राम्रो होल्ड छ । राज्य पक्षकै सिफारिसमा संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपति मार्फत आममाफी पाउन सक्ने ल्याकतको मान्छे हो नि, अनि किन नछुट्नु ? छुट्ने खालेनै हो । बस्… ! यस्ता छेपारे प्रश्न उत्तरहरू त हाम्रो कानले सुन्ने दैनिकीनै भइसकेका छन् अहिले ।

कुन पार्टीमा भोट हाल्ने होला ? जस्ले परेको बेला सहयोग गर्छ । तत्काल राहत दिनसक्छ, कुनै केस लाग्दा छुटाउन सक्छ । मुद्धा पर्दा मिलाइदिन सक्छ । जागिर र लाभको पद दिलाउन सक्छ, उसैलाई भोट । कसैले हल्का बाहिरी छनक दिन्छन्, प्रायः चुप बसेरै यो आम प्रवृत्तिको रखवाली गरिरहेका हुन्छन् । त्यस्ले जित्ने हैन, जित्नेलाई नै दिँदा वेश होला, व्यर्थमा रिस इबी मात्र किन साध्नु ? यहि हैन त ? आम प्रवृत्ति ? लोभी र असत्ति छेपाराहरूका कुरा ?

एकजना चित्त नबुझ्नेले भन्छ, म त वहिष्कारवादी, नो भोट प्रणाली छैन, भोटनै हाल्दिन चोरहरूलाई… !
अर्कोले भन्छ, ए भाइ ! तिमी जस्ताले नखसाले पनि क्यै हुन्न । प्रजातान्त्रिक व्यवस्था हो, जहाँ प्रजातन्त्रको नाउँमा अल्पमतले बहुमतमाथि शासन गर्छ । खसेको भोटको एक भोट बढी पाउनेले जित्छ, तीन भोट खसे पनि दुई भोट पाउनेले जित्छ । बराबर भोट आए गोला प्रणाली लागू हुन्छ, पाँच गोलामा तीन गोला पक्षमा पार्नेले शासनको अधिकार पाउँछ, तीन गोलामा दुई पाउनेले… ! फेरि चुनावी धाँधली, मतपत्र खरिद विक्री, बुथ क्याप्चर, धाँधलीका अनेकखाले प्रपञ्च, सुरक्षा लगायतका संयन्त्र मिलाउदै बत्ति निभाएर मतपत्र चपाउने वृत्तिका बेग्लै कुरा… !
यो प्रवृत्तिले सामाजिक संरचना स्थिति कहाँ पुगिरहेको छ ? अझै कहाँसम्म पुग्ने हो ? कहाली लाग्दो छैन त अवस्था ? बुद्धिविलास गर्नेहरूले चियाको तुर्को र भट्टी पसलको घुट्कोसँगै सितन चपाएर हल्काफुल्का गफ लगाउने विषय मात्र हुन्छ, केही लछारपाटो लाउन भने सक्दैनन् ।

त्यहाँ किन, कसरी, ठिक, बेठिकको तर्क हुँदैन, किनकी तर्क गर्नेमाथिनै निगरानी हुनसक्छ । उस्कै दुर्दशा शुरु हुनसक्छ नि, अनि ? नक्कली प्रजातन्त्रमा भुस्याहा कुकुरलाई लखेट्न र सरकारको विरोध गर्न जति पनि पाइन्छ भन्नेहरूले पनि दशा बिग्रँदा ऐन मौका कुरेर बसेका दलीय सुण्डमुण्डबाट ढाड भाँचिमाग्नु बेग्लै कुरा हो । त्यस्तै पर्‍यो भने पत्रकार डेकेन्द्र, शालिकराम लगायतको हालत पनि हुनसक्छ ।

पहिले क्लवमा विचार पोख्नेहरू रेष्टुरेन्टमा, डबलीमा अन्तक्रिया गर्नेहरू अहिले पार्टी र होटलहरूमा, पुस्तकालयमा विचार विमर्श गर्ने छेपारे गतिविधिहरू चिया र भट्टी पसलमा हुनु सामान्य दिनचर्या र समयको नियति जस्तै भइसकेको छ । जस्ले जे भने पनि वास्तविक छेपारो भन्दा अवास्तविक छेपारोहरूलाइ बाँच्न गाह्राे छ नि । राजनीतिमा पार्टिगत गुट, उपगुट, कार्यालयमा विभिन्न पार्टिका संघ, संगठन, समाजनै पार्टिगत, गुटगत भएको अवस्थामा चारैतिर सन्तुलन कायम गर्दै रङ र ढङ्ग मिलाउन जान्ने चेपारा र छेपाराहरूलाई भने मान्नै पर्छ । कम्ति विलक्षण प्रतिभा चाहिँदैन नि, वास्तविक छेपारो बन्न । समय सापेक्ष क्रान्तिकारी छेपाराहरू । त्यसैले कहिलेकाहीँ स्वतस्फूर्त भन्न मन लाग्छ “छेपाराहरूको जय होस्” !

समयनै यस्तो भइसक्यो कि प्राकृतिक भन्दा कृत्रिम रङ बदल्ने छेपाराहरू र ढङ्ग बदल्ने नकचराहरू दिन प्रतिदिन बढ्ने क्रम जारी छ । माथिदेखि तलसम्म, तलदेखि माथिसम्म । समय सापेक्ष वस्तुगत माग र बाध्यता पनि हो जस्तो लाग्छ । जिजीविषाको जबर्जस्त सुत्र…! जे भए नि वास्तविक छेपारोको बदनाम गरिसके कृत्रिम छेपाराहरूले । यिनको छिटोभन्दा छिटो सद्बुद्धि फिरोस् । मौका पर्दा आफैँ छेपारो हुनुपर्ने अवस्थामा प्रकृतिको सुन्दर उपहार छेपारोको आइन्दा त्यति धेरै बदख्वाइँ नहोस् भन्ने कामना मात्र गर्न सकिन्छ… !!
अस्तु… !!!

०००
आलापोट, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोकान

चार ठोकान

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x