याेगीश कृष्णअन्तिम संस्कार
मध्यरातमा सरकार प्रमुखले हाम्रा कथाका मूलपात्रलाई पदमुक्त गर्नु पर्यो । किनभने असन्तुष्ट दलका केही नेतालाई सरकारमा सहभागी नगराउँदा लोकतन्त्र खतरामा पर्न सक्दथ्यो ।

योगीश कृष्ण :
मन्त्रीजीको कुकुर धेरै दिनदेखि विरामी थियो । कालो रङको बुलडग मन्त्रीजीको अति नै प्यारो । पटकपटक मन्त्री पदका अभ्यस्त मन्त्रीजीलाई मानिसहरू मन्त्री नहुँदा पनि मन्त्रीजी भन्थे । वरियता क्रममा सरकारमा दोस्रो स्थान राख्ने मन्त्रीजीको कुकुर बिरामी थियो । घरभरि सबै उदास थिए । छोराको फोन अमेरिकाबाट आइरहन्थ्यो, “टाइगरलाई कस्तो छ ?” युरोप बस्ने छोरी ज्वाइँ उत्तिकै चिन्तित थिए । घरका नोकर चाकर कुकुरको सेवामा अहोरात्र खटिरहेका थिए । फुर्सदका बेला आपसमा कुरा गर्थे-मन्त्रीजीलाई कुकुर देख्दा आफैलाई देखेजस्तो लाग्दो हो, त्यसैले औधि माया गर्छन् । अर्कोले जोड्थ्यो “साख्खै दाजु भाइ जस्ता देखिन्छन् ।”
कार्यालयमा मन्त्रीजी झोक्राएर बस्थे । पुराना कथामा राजा झोक्राउँदा मन्त्रीहरू हात बाँधेर राजासामु गम्भीर मुद्रामा उभिएका हुन्थे । यहाँ सेक्रेटरी, डिपुटी सेक्रेटरी लगायत अन्य अधिकृतहरू मन्त्रीजीको मनको कुरा बुझ्ने प्रयास गर्दै त्यहाँभित्रै आसन जमाउने योजना बुनिरहेका हुन्थे । यसै क्रममा एक जनाले भन्यो “हजुर, अब यहाँ सम्भव छैन जस्तो लाग्छ । एक पटक दिल्ली लैजानु उचित होला ।”
दोस्रोले उछिन्ने प्रयास गयो “हजुर, मेदान्तै ठिक होला ।”
तेस्रो कडकियो “ह्वाट ननसेन्स । मेदान्त त ठूलाबडा मानिसको उपचार गर्ने ठाउँ हो ।”
दोस्रो पनि कम थिएन “जसको बारेमा हामी कुरा गदैछौ, उसलाई तपाइँ सामान्य प्राणी ठान्नु हुन्छ ? मैले पचासौँ पटक भेट गरेको छु । आइ नेभर फेल्ट द्याट हि इज एन अनिमल । ए नोबल क्रेचर । मानवताले भरपूर एक प्राणी ।”
लामो सास तानेर मन्त्रीजीको अनुहारतिर हेर्दा उसले देख्यो मन्त्रीजीको आँखा र अनुहारमा उप्रति प्रशंसा छचल्किएको छ ।
चौथो जो उपस्थितमध्ये सबैभन्दा उपल्लो दर्जाको थियो उसले सबलाई एकै झमोटमा चलनचल्तिको भाषामा भन्ने हो भने सुताइदियो “अहिलेको महत्वपूर्ण विषय भनेको उपचार हो । कहाँ कसरी राम्रो उपचार पाइन्छ त्यसलाई प्राथमिकता दिनु पर्छ । दिल्लीमा एउटा त्यस्तो अस्पताल छ, जहाँ बेलायको रोयल मेडिलक कलेजका डाक्टरहरूले उपचार गर्छन् । उताका भिभिआइपिहरूले त्यहीँको सेवा लिने गरेको मलाई थाहा छ । मिनिस्टर र हाइअर इक्जिक्यूटिभ सब त्यतै पुग्छन् । मानेका गान्धी अस्पताल लैजानु उचित हुन्छ ।” चौथो चिफ सेक्रेटरीको दावेदारमध्ये एक थियो ।
मन्त्रीजीको अनुहार उज्यालिएको देखेर ऊ हौसियो “हजुर, भोलि बिहानको फ्लाइटबाट उतै लैजानु पर्ला । एघार बजेतिर पुगिन्छ, त्यतिबेलमा डा चक्रवर्ती इमरजेन्सीमा हुन्छन् । दूतावासबाट उनको मोबाइल नम्बर पत्ता लगाउने काम भइरहेको छ । संयोग दूतावासमा हजुरकै मानिस छन् । सब काम सजिलो हुन्छ ।”
दलीय भागबण्डामा मन्त्रीजीले दूतावासमा आफ्ना मानिस नियुक्त गर्न पाएका थिए । मन्त्रीजी मनमनै मुस्कुराए -मेरो कुकुरको सेवा गर्ने अवसर पायो त्यसले । चौथोको सक्रियता र जानकारीबाट मन्त्रीजी मात्रै होइन,सबै चमत्कृत भए , त्यसरी नै जसरी अकबरको दरबारमा बीरबलको तर्कबाट दरबारीहरू चकित हुने गर्दथे ।
कुनै पनि कथा सजिलोसँग कहाँ सकिन्छ र ? अनेकन मोड आउँछ । परिकथामा परिको रुपमा राक्षसी आएजस्तै यो कथामा पनि अचानक मोड आयो । त्यो मोड ल्याइदियो मन्त्रीको मोबाइलको घण्टीले । उताको आवाज सुन्नासाथ मन्त्रीजीको अनुहार निलोकालो भयो ।
चौथोले सोध्यो “एनिथिङ् रङ सर ?”
जुरुक्क उठे “सब समाप्त भयो ।”
मन्त्रीजी सँगसँगै सबैले एकले अर्काको अनुहार हेर्दै आफूलाई अरुभन्दा दुःखी देखाउने प्रयास गरे । मन्त्रीजीले पिएलाई घर जाने जानकारी गराए । मन्त्रीसँगै लस्कर पछिपछि लाग्यो । मन्त्रीजीको घर शोकाकुल थियो । मन्त्राणीजी आँखा पुछ्दै थिइन् । उनको हालत देखेर लस्कर झनै शोकाकुल भयो । यहाँ फेरि प्रतिस्पर्धा देखियो – कसले बढी आँखा पुछ्ने ।
ठूलो हाकिमले मन्त्रीजीलाई सान्त्वना दियो “हजुर, यस्तै हो । विधिको विधान । हजुरबाट सबै प्रयास भएकै हो । अब अन्तिम संस्कारको प्रबन्ध गर्नु पर्छ ।”
“हैन, आज नगर्ने ।” मन्त्रीजीले खुइय्य गरे “आज साँझ परिसक्यो । आफन्तलाई खबर गर्नु पर्छ । भोलि बिहान गर्ने ।”
दोस्रो दर्जाको हाकिमले यस्तो मौकामा चुप लाग्नु उचित ठानेन “कुन ठाउँ लगेर गाड्ने हो । त्यसको टुङ्गो लगाउनु पर्यो ।”
पहिलो हाकिम कड्कियो, “नचाहिने कुरा नगर्नुस् । हि इज जस्ट लाइक ए फेमिली मेम्बर । आफन्तहरूलाई खबर गर्नु पर्यो । हतार गरेर त हुँदैन ।”
उसलाई मन्त्रीजीको पूर्व सहकर्मीबाट थाहा भएको थियो -मन्त्रीजीको अङ्ग्रेजीप्रतिको मोह । उनको युवा कालमा भर्खर भर्खर निजी विद्यालय खुल्न थालेका थिए । आफ्नो छोराको बढदै गएको अङ्ग्रेजी ज्ञानको बखान उनले यसरी गर्थे “अरे यार, मेरो छोराले त गाली पनि अङ्ग्रेजीमै दिन्छ । हामीलाई दिनभरिमा पचास पल्ट बास्टर्ड बास्टर्ड भन्छ । रिसाएर भन्छ कि सन अफ विच । मास्टरलाई मतलब सोधेको त थाहा भो कि यो अङ्ग्रेजी गाली हो । अब भन्न सरकारी विद्यालयमा यस्तो क्वालिटीको एजुकेशन हामीले कहिले दिने ?”
उसको अङ्ग्रेजी सुनेर मन्त्रीजीले मुन्टो हल्लाए ।
अब आरम्भ भयो कसरी कहाँ कहिले जलाउने । भोलि बिहान सात बजेतिर जलाउने टुङ्गो भयो । ठूलो हाकिमले कार्यविभाजन गर्यो । सञ्चारमाध्यमलाई खबर गर्ने जिम्मा यसको । चिता सजाउने जिम्मा, चन्दनको काठ उपलब्ध कहाँ कसरी कोबाट हुन्छ, फूलमालाको व्यवस्था, कुन कुन भिआइपीलाई बोलाउने, मन्त्रीजीको दलका कुन नेतालाई बोलाउने हो, कसलाई सम्पर्क हुन सकेन भन्ने हो आदि विषयमा मन्त्रीजीको सल्लाह समेत लिएर नोट गर्यो ।
शोकाकुल मन्त्रीजीको परिवारसँग विदा हुँदा नहुँदा रातिको दश बजिसकेको थियो । गाडीमा बस्नुअघि ठूलो हाकिमले सोध्यो, कसको कसको घरमा बगैँचा छ ? भोलि बिहान आउँदा फूल चढाउनु पर्छ भन्ने कुरा नबिर्सनु होला नि ।
घरमा सानोतिनो बगैँचा भए पनि कसैले छ भनेनन् । हाकिमले मुस्कुराउँदै भन्यो “ल, त्यसो भए मसँग हिँडनूस्, त्रिपुरेश्वरमा गएर अहिले किनौँ । मैले साहुजीलाई पर्खेर बस्नु भनेको छु । राम्ररी प्याक गरेर शितमा राख्याे भने ओइलाउँदैन ।” ठूलो हाकिमले सङ्कट टारिदिएकोमा सबै खुसी भए ।
दन्त्य कथामा राजकुमारीको विवाहउत्सवको तयारी हुँदा जस्तो व्यवधान आउँथ्यो । त्यस्तै व्यवधान यस कथामा पनि आयो । त्यस व्यवधानका कारण एकाबिहानै कुकुरको अन्तिम संस्कारमा कुनै पनि कर्मचारी पुगेनन् । कुन राक्षस आइपुग्यो ? लोकतन्त्रमा राक्षस अविश्वासको प्रस्ताव वा सरकार विघटनको रुपमा आइपुग्छ । यस कथामा पनि यस्तै भयो । मध्यरातमा सरकार प्रमुखले हाम्रा कथाका मूलपात्रलाई पदमुक्त गर्नु पर्यो । किनभने असन्तुष्ट दलका केही नेतालाई सरकारमा सहभागी नगराउँदा लोकतन्त्र खतरामा पर्न सक्दथ्यो । उनको ठाउँमा नयाँ मन्त्री नियुक्त भए ।
भोलिपल्ट बिहान सेक्रेटरी लगायत सबै कर्मचारी नवनियुक्त मन्त्रीको निवासमा फूलमाला सहित उपस्थित थिए ।
कथाको प्रमुख चरित्र कुकुरको अन्तिम संस्कारको विषयमा पाठकहरू उत्सुक हुनु स्वभाविक हो । यसबारे लेखकलाई पनि केही थाहा छैन । जाबो कुकुरको अन्तिम संस्कारमा कसको के रुचि हुन सक्छ ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































