लक्ष्मी रिजालतृष्णा
कागजले मृदु मुस्कान छर्यो । "तिमीले तिम्रो निबलाई आफ्ना सपनाहरूमा डुबाउनु पर्छ। अरूका भावनाहरूलाई मात्र होइन, तिमीले आफ्ना भावना पनि लिपिबद्ध गर्नुपर्छ ।"

लक्ष्मी रिजाल :
“किन मौन छौ आज ? कतै केही हराएजस्तो लागिरहेको छ ?”
कागजले कलमलाई हेर्यो ।
“म बुझ्न नसकिरहेको छु ।” कलमले गहिरो सुस्केरा हाल्दै भन्यो । “सधैं अरूका सपनाहरू र चाहनाहरूलाई आकार दिँदै आयो । तर, मेरो आफ्नै अस्तित्व भने शून्यजस्तै लाग्छ ।”
कागज चुपचाप मुस्कायो। केही समयपछि उसले बोल्यो, “तिमीले कहिल्यै आफ्नो लागि के सोचेका छौ त, कलम ?”
“म?” कलमले अनौठो गरी हेर्यो । “मेरो जीवन भनेकै अरूका भावना, विचार र कल्पनाहरूलाई उतार्नु हो । यही मेरो धर्म हो। म आफैंका लागि के सोचौं ?”
“यही त तिम्रो कमजोरी हो,” कागजले गहिरो आवाजमा भन्यो । “तिमी आफूलाई केवल साधन ठान्छौ, तर साधनमा पनि आत्मा हुन्छ । तिमीले कहिल्यै त्यो आत्मा सुन्ने प्रयत्न गरेनौ ।”
कलम केही क्षण सोचमा डुब्यो । “तर, मैले यो भूमिका कहिल्यै प्रश्न गरेन । मेरो निबबाट बग्ने प्रत्येक शब्द तिम्रो काखमा अर्पण गर्दा, मलाई पूर्णता महसुस हुन्थ्यो ।”
“त्यो त साँचो हो,” कागजले सहमति जनायो। “तर तिमीलाई थाहा छ, तिम्रो निबले अरूका कथा कोर्दा तिमी आफैंको कथा हराउँदै गयौ। तिमी आफ्नो गहिराइ कहिल्यै नाप्न सकेनौ ।”
कलमले कागजको अनुहारमा हेर्दै भन्यो, “तर मेरो गहिराइ नाप्नका लागि तिमी जस्तो साथी छैन भने, म के गर्न सक्छु ?”
कागजले मृदु मुस्कान छर्यो । “तिमीले तिम्रो निबलाई आफ्ना सपनाहरूमा डुबाउनु पर्छ। अरूका भावनाहरूलाई मात्र होइन, तिमीले आफ्ना भावना पनि लिपिबद्ध गर्नुपर्छ ।”
“तर, म डराउँछु । के म आफ्नै कथा लेख्न योग्य छु त ?” कलमले भित्री संकोच पोख्यो।
“तिम्रो गहिराइ अरूले खोज्ने होइन, तिमीले आफैं डुबुल्की मार्नुपर्छ,” कागजले दृढताका साथ भन्यो । “सृष्टिको अर्थ त केवल दिनु मात्र होइन। कहिलेकाहीँ आफ्नो लागि पनि महसुस गर्नु पर्छ। आफ्नो तृष्णालाई पनि सुन्नु पर्छ।”
कलम मौन थियो । तर उसको निबले पहिलो पटक कागजमा आफ्नै कथा कोर्दै थियो ।
०००
कञ्चनरूप- १२, प्रगतिटोल, रूपनगर, सप्तरी
Subscribe
Login
0 Comments
Oldest








































