लक्ष्मी रिजालजागरणको घण्टी
हरेक पटक कुनै पनि मानिसको अधिकार कुण्ठित भयो भने, यो घण्टी त्यसको प्रतिकारमा बज्नैपर्छ ।

लक्ष्मी रिजाल :
सन्दर्भ- मानवअधिकार दिवस, डिसेम्बर १०
“बाजे, किन बजेन आज त्यो पुरानो घण्टी ?” रिनाले सोधिन्, “यो त इतिहासको साक्षी हो नि !”
त्यसबेला पुरानो विद्यालयको खिया लागेको भित्तामा अडेस लागेर उभिएकी रिनाको नजर घण्टीघरमा गएको थियो । विश्व मानव अधिकार दिवसको दिन थियो, तर वातावरण किन यति शान्त ? कतै कुनै उत्साह थिएन ।
रिनाको आवाजमा जिज्ञासा र आक्रोश मिसिएको थियो।
हातमा लौरो टेकेर ढल्किँदै आएका बाजेले लामो सास फेरे । आँखा चिम्लिएर अतीत सम्झिएजस्तो गरे, “नानी हो, यो घण्टीले धेरै क्रूर खबरहरू बजाएको छ । कहिले कसैको मानव बेचबिखनको क्रूरता, कहिले बन्दी श्रमको पीडा । यो त राजा र राणाको चपेटामा परेका हजारौँ असहायहरूको अन्तिम आवाज रोकिने ठाउँ थियो ।”
बाजेले अलि निराशाजनक भावमा थपे, “अहिले त अधिकार खुल्ला छ, तर मान्छेहरूसँग त्यो आवाज उठाउने साहस छैन । घण्टीसँग आवाज अझै छ, सुनाइदिने मन छैन ।”
बाजेको निराशा सुनेर रिनाको मनमा झन् आगो बल्यो । उनले भित्तामा टेक्ने सहारा छोडिन् र हतारिँदै घण्टीको डोरी समातिन् । कुनै हिचकिचाहटबिना उनले पूर्ण शक्तिका साथ डोरी तानिन्- टनन् ! टनन् !! घण्टीको त्यो चर्को झङ्कारले केवल कक्षाकोठा वा छत मात्र होइन, विद्यालयको सम्पूर्ण आँगनलाई थर्कायो । चराहरू आकाशतिर उडे, बाजेको हातबाट लौरो खस्यो ।
बाजे डरले अक्क न बक्क भए, “के गरिस् नानी, यो त युगौँदेखिको शान्ति तोडिस् !”
रिना अब झन् बलियो र आत्मविश्वासले भरिएकी थिइन् । उनको अनुहारमा एउटा नयाँ दृढता झल्कियो । “इतिहास तपाईंहरूले चुपचाप राख्नुभयो, बाजे । तर अब हामी जेन्जीले बजाउनुपर्छ । हरेक पटक कुनै पनि मानिसको अधिकार कुण्ठित भयो भने, यो घण्टी त्यसको प्रतिकारमा बज्नैपर्छ ।”
बाजेले उनलाई हेरेर मुसुक्क हाँसे र आफ्नो भक्कानिएको स्वरमा भने, “आज तिमीले घण्टी होइन, हरेक नेपालीको आत्मसम्मान नै उठाइदियौ नानी ।”
०००
२०८२/०८/२४
सप्तरी
Subscribe
Login
0 Comments
Oldest







































