लक्ष्मी रिजालमनको पाटो
"भाइ," मैले अब मजाकको स्वरमा भनेँ, "तँ चाहिँ बाबुको टोपी बेचेर गाईजात्रामा गाई बन्ने कि भैँसी ?" "दाइ… मजाक नगर न ।"

लक्ष्मी रिजाल :
“हेलो दाइ !” भाइको मोबाइलमा हतारिएको स्वर आयो, “गाईजात्रा नजिकिँदैछ, पुराना सामान बेच्न मिलाउने नगरपालिकाको क्यापमा बुबाको ह्याट पनि हालिदिउँ ?”
म झस्किएँ, “त्यो त बुबाको सिग्नेचर टोपी हो !”
“तर दाइ,” ऊ जिकिरमा उत्रियो, “अब न त बाबु छन्, न त्यो टोपीको फेसन । गाईजात्रामा ‘विरासतको थुप्रो’ भनेर बेचौं भने दोब्बर मूल्य आउँछ रे !”
मेरो मोबाइल कानमा थियो, तर आँखामा त थुप्रै दृश्य घुमिरहेका थिए- बुबा त्यो टोपी लगाएर गाउँको मेलामा जान्थे, झ्यालबाट हेरिरहन्थ्यौँ हामी । त्यो टोपीको छायाँमा उभिएरै हामी सम्मानित भयौँ । त्यो टोपी लगाउँदा बुबा बुबा लाग्थे, अरूभन्दा फरक लाग्थे ।
“भाइ,” मैले अब मजाकको स्वरमा भनेँ, “तँ चाहिँ बाबुको टोपी बेचेर गाईजात्रामा गाई बन्ने कि भैँसी ?”
“दाइ… मजाक नगर न ।”
“सुन्छस् ?” म अब गम्भीर थिएँ, “बुबाको कमाइ बढाउने सोच राख, बेच्ने होइन । त्यो टोपी पैसा होइन, त्यो टोपी हाम्रो पहिचान हो- सम्मान हो, सम्पत्ति हो !”
फोनको अर्को पाटो चुपचाप भयो । मनको यस पाटो भने उज्यालो भयो ।
०००
२०८२/०४/१५
कञ्चनरूप- १२, प्रगतिटोल, रूपनगर, सप्तरी,









































धन्यवाद