लक्ष्मी रिजालछायाको आवाज
तीनै जनावर, मानौँ क्रान्तिको तीन प्रतीक जस्तै, अडिएर घरलाई हेरिरहेका थिए । त्यो अँध्यारो घरको झ्याल पहिलोपटक खुल्यो ।

लक्ष्मी रिजाल :
“त्यस घरमा कहिल्यै शान्ति हुँदैन ?” रूखको ओसिलो जरामा बसेकी चरीले चिन्तित हुँदै सोधी ।
कुकुरले आक्रोशमा दाँत किट्यो, “त्यस मान्छेले फेरि आफ्नै श्रीमतीलाई अँध्यारोमा धकेल्यो ! कहिलेसम्म त्यो अत्याचार सहन्छे ?”
अचानक, स्याल चिच्यायो, उसको आवाजमा विद्रोहको धार थियो, “यो हाम्रो जङ्गल हो, यहाँ वरपर गाउँघरमा पनि अन्याय सहने कानुन छैन ! सुत्ने होइन- उठ !”
तीनै जनावर एकसाथ त्यस घरतिर दौडिए । उनीहरूको चालमा एक असामान्य शक्ति थियो ।
ढोका बाहिर पुग्नासाथ चरी झ्यालको छेउमा बसेर कर्कश स्वरमा कराई, “डरलाई पर्खाल नबनाऊ, आवाजलाई हतियार बनाऊ ! मौनताले अपराध जन्माउँछ !”
कुकुर भुक्दै गर्जियो, “हिंसालाई लुकाउनु भनेको अपराधको बिरुवा रोप्नु हो ! अब हामी सहँदैनौँ !”
स्यालले घरको भित्तामा घुरेर भन्यो, “मान्छेले मान्छेलाई थिच्दा, हामी किन चुप बस्ने ? महिला हो, आफूभित्रको शक्ति जगाऊ !”
भित्रपट्टि, हिंसाको चपेटामा परेकी ती महिला थरथर काँपिरहेकी थिइन् । बाहिरको यो अप्रत्याशित, भयानक र एकबद्ध कोलाहलले गर्दा पतिको हिंसक हात बीचैमा अडियो ।
तीनै जनावर, मानौँ क्रान्तिको तीन प्रतीक जस्तै, अडिएर घरलाई हेरिरहेका थिए । त्यो अँध्यारो घरको झ्याल पहिलोपटक खुल्यो ।
“अब यो केवल आवाज होइन, प्रतिरोध हो !” स्यालले बिस्तारै थप्यो, “यसै क्षणबाट क्रान्ति सुरु हुन्छ ।”
०००
२०८२/८/१०
Subscribe
Login
0 Comments
Oldest







































