लक्ष्मी रिजालपसिनाको क्रान्ति
“के क्रान्ति भयो त, खेतबारी खन्दैमा ?” ऊ झस्केर एक क्षण मौन रही । अनि मुस्कुराएर कठोर स्वरमा भनी; "खेतबारीभरि अन्न फलाएर अचेल म विद्रोह गर्न थालेकी छु !”

लक्ष्मी रिजाल :
“तँ किन हातमा कोदाली बोकेर हिँड्छेस् ?” अचम्मिँदै सोधिन् एउटी छिमेकीले ।
उसले मुस्कुराउँदै उत्तर दिई, “सहरका सडकमा देखिने बन्दुकभन्दा यो धेरै सुरक्षित लाग्छ ।”
आँगनमा कोदालीको एक प्रहारसँगै उसको पिठ्युबाट पसिना टप्कियो । जमिनले पानी पिएझैँ उसको श्रम शोषणमा परेको थियो । खेतमा हरियो पलाउन थालेपछि उसको मन पनि हरियो भएको अनुभव भयो ।
तर बारी नजिकैका मानिसहरूमध्ये बिर्खेले उसको पसिनामा व्यङ्ग्य गर्दै थप्यो- “हेर्नुस् त, महिलाले क्रान्ति गर्न खोजेकी !”
अर्को चतुरमानले थप्यो; “औजारले संसार बदलिन्छ रे !”
यस्ता कुराले उसलाई झन् बलियो बनायो । उसले मनमनै सम्झी- “क्रान्ति रक्तरञ्जित सडकमा होइन, जमिनसँगको सम्बन्धमा जन्मन्छ ।”
त्यसबेला ऊ थाकेर घर फर्केकी थिई । कपडामा माटो लागेको थियो, अनुहार पसिनाको भिजेको थियोे । आँगनको ढोकामा उभिएको छिमेकीले फेरि खिसीट्यूरी गरे-
“के क्रान्ति भयो त, खेतबारी खन्दैमा ?”
ऊ झस्केर एक क्षण मौन रही । अनि मुस्कुराएर कठोर स्वरमा भनी; “खेतबारीभरि अन्न फलाएर अचेल म विद्रोह गर्न थालेकी छु !”
०००
२०८२/५/१ गते
कञ्चनरूप- १२, प्रगतिटोल, रूपनगर, सप्तरी ।
Subscribe
Login
0 Comments
Oldest







































