लक्ष्मी रिजालभाषण र भान्सा
“सेफ होइन, स्वास्नी बनेको नि… तिम्रो भाषणको ड्राफ्ट र मेरो अफिसको फाइल उस्तै रहेछ, दुवैमा ‘घरको काम’ कै सूची रहेछ !”

लक्ष्मी रिजाल :
“सुन्यौ ? आज त मेरो विशेष दिन हो, म त मञ्चमा उक्लिँदै छु !” उमा ऐनाअगाडि गाजल लगाउँदै बोलिन् ।
सोफामा बसेका उमेशले पत्रिका मोड्दै सोधे, “अनि मेरो खाना नि ?”
“आज त बाहिरै खाउँला नि ! नारी स्वतन्त्रताको उत्सव मनाउनु पर्दैन ?” उनले ओँठ टल्काउँदै भनिन् ।
“स्वतन्त्रता ठीकै हो, तर मेरो मोजा कहाँ छ ? फेरि ढिलो होला नि तिम्रो भाषण !” उमेश अलि झर्किए ।
उमा मुस्कुराइन्, “कुनाको दराजमा छ । आज नारी दिवस हो, कम्तीमा आज त आफैँ खोज्ने कष्ट गर न !”
केही बेरपछि नजिकैको मञ्चमा कार्यक्रम सुरु भयो । उद्घोषकले उनको नाम उच्चारण गरे । उमा मञ्चमा पुगिन् र गर्जिन्-
“नारी अब दासी होइनन्, उनीहरू आकाश हुन् ! पुरुषको इशारामा नाच्ने पुतली होइनन् !”
हल तालीले गुञ्जियो । गर्वले फुल्दै उनी घर फर्किइन् ।
भान्साबाट पाकेको बास्ना आइरहेको थियो । उनले सोचेँ- लौ, आज त बुढाले सरप्राइज दिएछन् !
भान्साको ढोका ढक्ढक्याउँदै उनले सोधिन्, “ओहो ! आज त आफैँ सेफ बन्नुभएछ नि त ?”
एप्रोन कस्दै उमेशले टाउको बाहिर निकाल्दै मुस्कुराए-
“सेफ होइन, स्वास्नी बनेको नि… तिम्रो भाषणको ड्राफ्ट र मेरो अफिसको फाइल उस्तै रहेछ, दुवैमा ‘घरको काम’ कै सूची रहेछ !”
०००
२०८२/११/२४ आठ मार्च
Subscribe
Login
0 Comments
Oldest







































