महाकवि र गिनिजबुक
यहाँको नाम लेखिन्छ हाम्रो गिनिजमा अब, तत्कालै स्वर्गमा भव्य हुन्छ आयोजना तब । आफ्नो यो देह त्यागेर महाकाव्य लिईकन, त्यो त्रिविष्टपमा आफै हुनुपर्छ उपस्थित ।
कोमलप्रसाद पोखरेल :
सोझै नारद स्वर्गबाट कनका हेर्ने इरादा गरी
आए मोटरबाट पूर्वतिरको हाम्रो सुरुङ्गा स्थली ।
बुझ्ने सोच थियो ठुला कवि यहाँ को को रहेछन् भनी,
भेटे एकजना चिया पसलको सानो छहारीमुनि ॥
सोधे नारदले महाकवि यहाँ को को कहाँ छन् कति !
आएको हुँ म टिप्न नाम सबको लानेछु भेटेजति ।
अर्को को छ र ! छैन यो सरदमा जित्ने मलाई कवि,
मेरै नाम महाकवि प्रमुखमा लेख्नोस्, छ मेरै छवि ॥
यो हो उत्तम काव्यकार यसले लेख्दैन बेढङ्गको
नेपाली कविबीच पिङ्गल म हुँ ज्ञाता सबै छन्दको ।
मेरा सामु डटेर टिक्न नसकी भागे यहाँका कवि,
जस्तै भाग्दछ रात पूर्व नभमा देखी उज्यालो रवि ।
बुझ्दा हुन्छ चिया-पिपासु सबले प्रस्ट्याउँछन् शीघ्र नै,
सोध्दा हुन्छ वरिष्ठ विज्ञ जनमा स्रष्टा छ कस्तो भनी ।
ठूलो काव्य म लेख्छु पन्द्र दिनमा यस्तो छ मेरो गति,
लेख्लान् नाम तुरुन्त त्यो गिनिजमा देखेर मेरो मति ॥
यो एक्स्प्रेस नरोकिईकन छिटै पुग्नेछ गन्तव्यमा,
दुब्ला सर्जक रोकिदै समयमा के पुग्न सक्थे त्यहाँ !
मेरा पुस्तकमा छ छाप, अरुको रित्तो छ चारैतिर,
संस्था-छापबिना छ पुस्तक भने त्यो उच्च मानिन्छ र !
मेरा पुस्तकमा सही छ जसको ती ज्ञानमा श्रेष्ठ हुन्,
चिन्दैनन् उनले तथाकथित क्वै जो सिर्जना गर्दछन् ।
अर्को एक विशेषता छ कविता, साथै महाकाव्यको,
छोटो, सानु पकेट पुस्तक भए मानिन्छ उत्कृष्ट सो ।
अर्को लक्षण हो महाकवि हुने बेचेर सिध्याउनु,
छापी पाँचहजार पाँच सयमा बेचेर नाफा लिनु ।
छैटौं लक्षण हो किनेन जसले हप्काउँदै झम्टनु,
सातौं, लक्षण हो चिया पसलमा आफ्नो अहं पस्कनु ।
सुनेर कविका व्याख्या भए नारद मोहित,
सोधे हजुरको नाम, ठेगाना भन्नुहोस् न त !
कनका तिनमा पर्छ यो महाकविको घर,
नाम आँसुकवि श्रेष्ठ, र महाकवि हो थर ।
यहाँको नाम लेखिन्छ हाम्रो गिनिजमा अब,
तत्कालै स्वर्गमा भव्य हुन्छ आयोजना तब ।
आफ्नो यो देह त्यागेर महाकाव्य लिईकन,
त्यो त्रिविष्टपमा आफै हुनुपर्छ उपस्थित ।
झस्के महाकवि श्रेष्ठ कुरा नारदका सुनी,
भने बिन्ती छ स्वर्गीय हे नारद महामुनि !
म हैन, देवकोटा नै मात्र एक महाकवि-
हुन्, भन्दै डरले काम्दै लुसुक्क छड्किए उनी ।
०००
झापा
‘म फर्केर आएँ’ (२०७८)
Subscribe
Login
0 Comments
Oldest