साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुँघा

उनी आला, काला, भयङ्कर थिए, त्यसउपर जुँघाको कालो मुस्लोले गर्दा त उनको चेहरा र स्वरूपमा त्यो भयङ्करता, त्यो अदब राख्न सक्ने त्रासोत्पादक तेज देखिन्थ्यो जो लड्काको मनमा सहजसँग प्रभाव गर्दछ ।

Nepal Telecom ad

लक्ष्मीप्रसाद देवकोटा :

म के लेखूँ के लेखूँ जस्तो भएर विचारान्य क्षणमा घोरिइरहेको आदमी तवरले मेरा बायाँ हातका बूढी र चोर औँला माथिल्लो ओठका ती मर्दमर्यादास्वरूप रोमगुच्छ तह लाउने काममा पुगेछन्, जसलाई जुँघा मुसार्नु भन्दछन् । मैले के भावले जुँघामा ताउ लाउन लागेँ म भन्न सक्तिन, न त म मनोवैज्ञानिक छु । तर जब मगज रित्तो भएर आत्मबल र आत्मतेजको कमीमा मर्दको आत्मा सचेत भएर आउँछ, तब आफूलाई आश्वासन दिने एक मर्दाना तवर शायद यो रहेछ कि- जुँघालाई सम्याउनु !

यो कागत, कलम, मसीको क्षेत्रमा पनि लडाइँ छ, यहाँ पनि वीरताको आवश्यकता छ । मलाई संसारका मगजसँग लडेर जितेर रोटी र नाम दुबै कमाउनुपर्दछ । मैले लेखेका कुरामा छिःछिः गरिदेलान् भन्ने त्रास हर- हमेशा भित्र छिपेर सावधानी दिइरहेछ । यो जोडतोडको दुनियाँमा म पछि पर्न चाहन्न । प्रख्याति र आत्मप्रदर्शनको मीठो ऐडीले मर्दको पयर संसारमा अघि बढाइरहेछ । मेरो मगज अहिले रित्तो छ, मिही-मिही भावनाहरू शून्य छन्, कविताको गन्ध पनि हृदयमा छैन । अहिले म यो बोधो चिच्याहटमा छु, जो थाकेकी प्रकृतिले आराम खोज्दा मगजको कारखानालाई शून्य जस्तो बनाएर बीच-बीचमा पैदा गर्दछिन् । कति कपाल कन्याएँ, तर व्यर्थ भयो, मगजका जादूगरी गिर्खाहरू कुनै मीठो विषयमा क्ल्कँदै, रुनगुनाउँदै जागृत हुन सकेनन् । मउपर एक उराठ बदली लागेजस्तो भयो, जसमा बिजुली छैन । तब पुरुषले आफ्नो पुरुषार्थको चिह्न नपाउँदा आफ्नो तेज र ताकप्तको कमीमा सचेत भएर आउँदा अर्को बीज के सम्कियोस् बर ! – ओठमाथिका जुँघासिवाय !

तपाईंले याद गर्नुभएको होला – जब पूर्णवयस्क युवकलाई कसैले नामर्दको शब्दले गाली गर्दछ, तब अरू आड नपाएर ऊ आफ्ना औँलाद्वारा पहिले जुँघाकै आधार लिन्छ र ओठमाथिको स्पष्ट, निःसन्देह निश्चित रूपको मर्दको चिन्ह मुसारेर तपाईंको ध्यानको टड्कारै प्रदर्शन गर्दछ ! यो आत्मा आश्वासनको सरल उपाय दिने प्रकृतिलाई हामी धन्यवाद चढाउँछौँ ! किनकि जब जुँघा छुन्छ, तब उसलाई एक किसिमको नवीन फूर्ती, नवोत्साह र नयाँ जोश पैदा हुन्छ । जुँघाका टुप्पा-टुप्पाबाट एक किसिमको बिजुली निस्कन्छ, जस्तो बिजुली मेशिनका काइयाँले जम्मा गर्दछन् । त्यही विचारले होला मेरा औँला जुँघाको ताउ लाउन पुगे, जब मैले आपनो लेखन-शक्तिमा धिवकार दिन आँटेको थिएँ !

वास्तवमा विचारीहरू जुँघा नभए दाह्री नभएका बोके जस्ता हुन्छन् । गौर गर्नालाई सवभन्दा सजिलो उपाय हुन्छ-जुँघा बटार्नु, निमोठ्नु या ताउ लाउनु । कोही कोही आँखा पल्टाएर: जुँघाका टुप्पालाई बटारबुटुरको सास्ती दिँदा-दिँदा आखिर आफ्ना समस्याका हलमा आइपुग्छन् । कसैको बानी हुन्छ- जुँघा उखेल्ने । मैले कसै-कसैले जुँघा उखेल्दै टोक्तैसम्म गरेको पनि देखेको छु । कोही खाली ताउ लाइरहन्छन् मानो त्यस क्रियाबाट हरेक पटक उनीहरूलाई एक किसिमको आत्म-सूचनाशक्ति मिल्छ । यो कुरा धेरैबाट सिद्ध हुन्छ कि जति जुँघालाई सास्ती दियो उति पुरुषको फूर्ती र जाँगर बढ्दो रहेछ । तर हाय ! ती असल-असल मगरहरू-जसका नास्ति जुँघा न दाह्री ।

जुँघा भनेको मर्दको सौन्दर्य हो, पुरुषार्थको चिन्ह हो, ओठमाथिको आभूषण हो, पूर्णवयस्कताको टड्कारो छापा हो, पराक्रमको कुप्पा हो, फूर्तीको बिजुलीकाइँयो हो, निराशपनाको आधार हो, भालेको कल्की हो र यही कालो गुच्छादार रेखीमा संसारको मर्दको मर्यादा र रवाफ रहेको रहेछ । जति जति बल बढ्दै गयो उति-उति माथिल्लो ओठमा कालो बस्तै जान्छ । जति जति मर्दले संसार चुम्दै गयो उति-उति त्यो लम्बिँदै जान्छ र जति जति पुरुषले पुरुषार्थ गर्दैगयो उति-उति त्यो सम्मिँदै जान्छ । “ओठमाथि जुँघा छ भने तेरो पाइन हेरुँ त” भन्ने दुश्मनको हाँक हुन्छ । “स्यालका जुँघा नउखेली !” भनेर रिसाएको मर्द बुर्लुक्क उफ्रन्छ । बाघका जुँघा उखेलेर शिकारीले बहादुरी देखाउँछ । संसारमा जता हेर जुँघाको महत्व घामको उज्यालोमा झल्किरहेछ । मकै जस्तो जड चीजले पनि जुँघाको महत्व पहिचानेको छ । बिरालो जस्तो चोर जन्तुलाई पनि जुँघाको उपयोगिता याद छ ।

“हाय ती दिनको सम्म्नालाई आँसु छ, जब भारतका महावीरहरू शत्रुको हृदय थर्काएर आफ्ना पराक्रम देखाउँथे”, भन्ने किसिमको कविरोदन कुनै हिन्दी काव्यमा देखेजस्तो लाग्छ । तर जति प्राचीन भारतवीरको तस्वीर म देख्तछु, ती सबमा म पाउँछु – जुँघाको भयङ्करता । शिवाजीको तस्वीर हेर्नुहोस्- क्या काले, कराले, मूठे जुँघाको भयङ्कर प्राचुर्य र धीरता सङ्केतका तालीम ! राजपूत महावीरहरूमा जुँघाको महान् महत्व देखिन्छ । तरबार र ढालभन्दा पनि तिनका जुँघा डरलाग्दा देखिन्छन् । जुँघाहीन वीरता आइसल्याण्डको साँपको उखान जस्तो जाँच्तछ । प्राचीन पुरुषहरूमा गठिलो व्यक्तित्व थियो, देख्तै काला-काला डरलाग्दा जुँघे वीर थिए । उनीहरूको व्यक्तित्वको स्पष्ट प्रकाशन ओठमाथिको जुँघामा देखिन्थ्यो । रौद्र, भयानक, भीम जुँघा खोज्नुपरे हामीले भारतको प्राचीन इतिहासका चित्रदार पाना पल्टाउनु मात्र पर्दछ ।

तर हाय ! यो नामर्द युग ! जसमा पुरुषको ओठ माथिको रौँसम्मको सङ्केत पाइन्न ! आत्मनिन्दाको क्रूर छुरा धार लगाएर, प्रकृतिको यस्ता कृष्ण-सुन्दर गहकिलो वरदानलाई सफाचट गरेर, वेश्याको पिठो घसेको माथिल्लो ओठ जस्तो मसिनो पार्ने यो वक्र सभ्यताको अधोगतिलाई धिक्कार छ ! आधुनिकताको भूत सवार भएका नवयुवकहरूको रोमहीन ओठमाथि मर्दपना रोई-रोई त्यसै बिलाइरहेछ । मर्दको यो अपराध देख्ता मलाई त पुरुष जाति स्वास्नीमान्छेको अनुकरणमा चलिरहेको जस्तो लाग्दछ । आजकलका नवयुवकहरू नखरे, नाजुक, ओठमा लाली लाएका स्त्रीहरू जस्ता देखिन्छन् । सभ्यता ज्यादै सुकुमारीपनतिर ढल्किरहेछ । विलास, आलस्य, स्वास्नी- मान्छेपना र शृङ्गार मात्र यस सभ्यतामा राज्य गर्दछन् ।

जुँघा राख्नामा केही बलियो, गठिलो, हाकिलो पुरुषार्थ र मजबूत मर्दपनाको सङ्केत पाइन्छ । यी प्रकृतिका काला फर्माइस निरर्थक छैनन् । यिनमा स्त्रीजातिको अनुचित अनुकरणको विरुद्ध मर्दपनाको मीठो बलवा छ । हामी घरकी कुखुरीले डुङ्गिन चाहँदैनौँ । हामी दुर्बल थाङ्ना सह्यार्ने जातिको अगाडि ओठमाथिका आभूषणमा ताउ लगाएर आफ्नो पौरुषभेद जनाएर अकडिएर मर्दको ढुङ्ङ्कारी मर्यादा राख्न चाहन्छौँ । आधुनिक पुरुषहरूमा भयङ्करताको मात्रा बहुत कम भएको कारण जुँघाको सफाचट हो, यस्तो अनुमान गर्न सकिन्छ- जुँघाहीन पुरुष भएका घरमा घोडी नै राज्य गर्दछे । पुरुषलाई केही पुरुषता नै चाहिन्छ । सिंहलाई जस्तो थालको जरुरत छ त्यस्तै पुरुषलाई जुँघाको; जसमा गम्भीर, शासक, हाँकदार मर्दको बडप्पन स्पष्टीकृत हुन्छ । जुँघा उखेल्ने जोइटिङ्ग्रे हुन्छन्; जुँघा राख्ने – जवान ।

मैले ‘ले हण्ट’ नामक प्रसिद्ध प्रबन्धलेखकको एक हास्यप्रधान लेखमा पढेथेँ कि कुनै रानीले आफ्ना स्वामीका बागीहरूको पक्ष लिइन् । किनकि राजाले उनको जनाना गाला जस्तो मसिना गाला लिएर (याने दाह्री खौरेर) उनको सामना गरेका थिए । त्यस बेलासम्म सभ्यताको कदम शायद ठीक दिशामा रहेछ । तर आजकलको महान् परिवर्तन हेर्नुहोस् ! ‘लोग्नेले जुँघा राखे रे भन्ने रिसले एक मेमसाहेबले पिस्तोलको गोलोले विवाहको बन्धनको विच्छेद गरिदिइन् रे ।’ आधुनिक स्त्रीहरू जुँघाको किन यस्तो रिस गर्दछन् म भन्न सक्तिन । आजकल स्त्रीहरूले पुरुषलाई मिच्तै ल्याएका छन्ः उनीहरू समअधिकारको मागबाट पनि अगाडि बढिसके, र पुरुषजातिको यस्तो हाँकदार मर्दाना कालो चिन्ह देख्यो कि शायद उनका नजर जल्दाहुन् मनोवैज्ञानिक कारणहरू अनौठा छद्म- वेशमा बाहिरका क्रियामा काम गर्दछन् ।

तर मलाई पनि त्यस्तो लमजुँघे मन पर्दैन जो दुई कानमाथि जुँघाका मूठा बटारेर चढाउँछ र विशेषताका राक्षसी अधिकार राख्तछ । मेरा सिद्धान्तमा प्रकृतिले उब्जाउने र बढाउने कुराहरू ज्यौंका त्यौं राख्नु भन्ने छैन, अलिकति काँटछाँट नगरेदेखिन् त मान्छे र भालूमा के फरक छ ? भालू-नङ पाल्ने, काने जुँघा राख्ने, काडी आँखीभौं बढ्न दिने पुरुषहरू सौन्दर्योपासनाका नजरका कसिङ्गर हुन् । ती अजायबघरलाई नमूना राख्न सुहाउँछन्, तर संसारको गृहस्थी जीवनलाई अयोग्य नै ठहर्‍याउनुपर्छ ।

जुँघा पनि थरिथरीका हुन्छन् । कोही जुँघा घोप्टो हुन्छन् मानो जूत्राको खालमा सब कौडी घोप्टिएर चौका परेको हो । घोप्टेजुँघाहरूमा उत्साह कम हुन्छ, उनीहरू शायद जे भने पनि मान्छन् र ‘जी हाँ हजूर’ किसिमका पुरुष हुन्छन्; मर्दको नूर नै गिरेजस्तो देखिन्छ । तिनका ठीक उल्टा हुन्छन्, उपरफर्कुवा । जो जुँघा बटार्छन् र माथितिर फर्काएर घुमाउँछन्, मानो यिनका थर ‘मै हुँ म’ हो । तीखोटुप्पे सुइरे जुँघा भन्दछ ‘कोही टेरे टेर् नटेरे नटेर् ! यो संसार मेरा निम्ति मै हुँ कुबेर !’ कोही पुतलीकट हुन्छन्ः यिनीहरूलाई नाजिज्मभन्दा ठूलो सिद्धान्त दुनियाँमा हुँदैन र लडाइँ सङ्कुचित राष्ट्रियतामा विश्वास राख्तछन् । एक-एक जुँघामा एक-एक व्यक्तित्व छ र म ओठ नचले पनि जुँघा देख्तै मानिसको चरित्र बुझिहाल्दछु । तर असल-असल मगर र भोटेहरूले भने मेरो मनोवैज्ञानिक परीक्षालाई नस हालिदिन्छन् ।

जुँघामा केही शासन गर्न सक्ने आदोत्पादक गुणहरू अवश्य छन् । म जब इस्कुलमा थिएँ तब मलाई अरुको उत्तिको डर लाग्दैनथ्यो जत्तिको जुँघे मास्टरजीको । बेतको छडीभन्दा उनका हूँकार डरलाग्दा थिए । जब उनी जुत्रामा हात लगाएर कर्के आँखाले हेर्दथे तब किलासको मुटु थर्कन्थ्यो, सबका आँखा किताबमा लाग्दथे । उनी आला, काला, भयङ्कर थिए, त्यसउपर जुँघाको कालो मुस्लोले गर्दा त उनको चेहरा र स्वरूपमा त्यो भयङ्करता, त्यो अदब राख्न सक्ने त्रासोत्पादक तेज देखिन्थ्यो जो लड्काको मनमा सहजसँग प्रभाव गर्दछ । लड्काहरू भन्थे – जब उनी दायाँ हातले जुँघा मुसार्थे तब केही डर थिएन; त्यस दिन दायाँ हातमा बेतको छडी हुँदैनथ्यो र उनी मजा-मजाका गफ र कहानीले क्लासै बहलाउँथे, तर जब उनी बायाँ हातले जुँघा मुसार्थे तब या त दायाँमा छडी हुन्थ्यो या त चड्कन चिउरा । ती जुँघा मेरो मनमा यस्तो प्रभावकारी भएर अङ्कित भए कि एक दिन पाठ घोक्तै-घोक्तै निदाएको बेलामा मैले सपना देखेँ- मास्टरजीका जुँघा ! मान्छे पनि थिएन स्वरूप पनि थिएन, तर साँढे तीन अङ्गुलका दुई टुक्रा बीचमा अलिकति फाटेर कसो कसो जोडिएका रहेछन् । म तिनलाई आफ्ना ओठमा चढाउनको प्रयत्न गर्दो रहेछु जस्तो कहिले-कहिले मकैको जुँघा लाउन केटाकेटीको सोख हुन्छ । त्यो सपनाको मतलब त्यस बेला बुझेँ जब आफ्ना ओठले जुँघा हाले र म मास्टरको वृत्तिमा लागेँ ।

०००
‘लक्ष्मी निबन्ध सङ्ग्रह’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साँढे

साँढे

लक्ष्मीप्रसाद देवकोटा
हास्य रस

हास्य रस

लक्ष्मीप्रसाद देवकोटा
प्रभुजी, भेंडो बनाऊ

प्रभुजी, भेंडो बनाऊ

लक्ष्मीप्रसाद देवकोटा
कविराजको च्याङ्ग्रे खच्चर

कविराजको च्याङ्ग्रे खच्चर

लक्ष्मीप्रसाद देवकोटा
गधा बुद्धिमान कि गुरु ?

गधा बुद्धिमान कि गुरु...

लक्ष्मीप्रसाद देवकोटा
अर्दलीको खोजखबर

अर्दलीको खोजखबर

पिँडालु पण्डित
मास्टरको चिया

मास्टरको चिया

सुरेशकुमार भट्ट
वाइपास

वाइपास

सुरेशकुमार पाण्डे
आफै बोक्सी आफै धामी

आफै बोक्सी आफै धामी

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x