लक्ष्मीप्रसाद देवकोटाप्रभुजी, भेंडो बनाऊ
यति मात्रामा मात्र, मरे मरिगो परमेश्वरको इच्छा ! सुँघ्दा छैन-जीए दूध नसुकोस् त्यति बेलासम्म जबतक उसको आँग हुँदैन भरी, अथवा घाँस कडा नहोस् आफै खाने नबनोस्— डाक्टर बोलाउन नपरोस् ।

लक्ष्मीप्रसाद देवकोटा :
ज्यादै थाकें हे ईश्वर !
भेंडो बनाऊ मलाई ।
यो शिरको धराप- जो हो मेरो घर
यो विचारको शराप-
यो जान्नाको पाप-
यो अन्तःकरणको हृदय ज्वालक नाप
यो खसुंला भन्ने तीन किसिमको ताप
यो चढ्ने रवाफ ।
यो जवाफदेहीको अभिशाप ।
भो ! भो ! म चाहन्न दिव्य रवाफ !
फेरि मरण पछि कुमारीचोक वहीखाता साफ
मीठो मस्त !
जानवरी निरुत्तरदायित्व मलाई
भगवान ।
वेकोदाली-जीवन न कि परिश्रमको शराप
मीठो भन्नु चुरुम चुरुम आफै फल्ने घाँस ।
किन यी चौरासी व्यञ्जन ?
नकली जिभ्रो ?
नकली कान ?
एक सिंगाने नाक निमित्र यत्तिका अन्तर ?
झूटो कल्पना निमित्त वेदव्यास र लाखन, लाखन, शुक वहत्तर ?
अँध्यारो अज्ञानको साह्रो खेती !
शरीर जोती जोती ?
यतिका आँसु यतिका क्रन्दन वेकाम !
यत्ती हाँसो हिलहिल परिवर्तनको !
हर हर चता माथि ।
यत्रो छकावट ? यति तार बनाई ?
सुन, मेरो भनाइ !
बलियोले खाए खाऊन, मलाई ज्ञान नआऊन्
सच्चा साधु भेंडो छ !
सादा स्वाद हरियो हुनाले, परमेश्वरको निन्दा नगरोस् आमा
चाहनाको गुणन गरी लुगा नचुन्नु परोस्
लुगा नबुन्नु परोस्, उम्रोस् आँग भरी
लडूँ म सींगले,
आध्यात्मिक समर नहोस्
काल होस् सजिलो,
नकि नास्तिकको अणुवत् ध्वंस-समष्टि ज्वलन
नतानुँ लहरा नगर्जुन् पहरा, दुःखको प्रदर्शन भित्र
जीवनकाठ बनाउन कृत्रिम झूठो बुद्धि उडाइ विचित्र
भविष्यले नडसोस् ।
भूत विद्या बनी सींग माथि नबसोस,
सभ्यताको धराप नउचालु, नउडूँ यथार्थ छोडी
आदर्शहरुतिर आत्मा नखसोस् :
भ्या भ्या भन्दा मीठो गाना, नकली तारहरुमा नबनोस्
पाठाको प्रेम गरुँ
केवल पितृभाव प्रभुको मिलोस् ।
यति मात्रामा मात्र,
मरे मरिगो परमेश्वरको इच्छा !
सुँघ्दा छैन-जीए दूध नसुकोस् त्यति बेलासम्म
जबतक उसको आँग हुँदैन भरी,
अथवा घाँस कडा नहोस्
आफै खाने नबनोस्—
डाक्टर बोलाउन नपरोस् ।
भयंकर काली बोक्सी कलातिर प्रकृत मेरो आत्मा
कहिले नदुगुरोस्
साधुजस्तो शून्यतिर नहाम्फालूँ
अथवा कृत्रिम कल्पनाले—
जादूहीन सत्यबाट रंगी चंगी
वाङ्गा जादू ननिकालूँ
ब्राह्मण नबनूँ अरुको पाप पखाली खान
मैलो पानी
धर्मात्मा झैं पापहरुको चेत भरिईकन-
रौरवतिर पयर न उचालू-
नसुधारुँ—उवार्न जगत् यो !
पुराना—फाटाहरुले न टालूँ,
अप्रिय फालूँ
प्रकृतिको सादा सुन्दर असुन्दर बत्ती,
जस्तो जीवन बालूँ ।
मर्दा !
मर्दा
साधु भन्दा माथि पुगूँ,
ब्राह्मण भन्दा स्वर्ग,
धर्मात्माहरु भन्दा सुखको वैकुण्ठ,
दाग एउटा ननिकालूँ
दिव्य पशुत्व मलाई प्रभुजी
जनीगर झट्ट समाऊ !
आऊ ! आऊ !
अहिल्यै भेंडो बनाऊ ।
०००
(पं. बदरीनाथद्वारा सम्पादित पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै)
Subscribe
Login
0 Comments
Oldest











































