लक्ष्मीप्रसाद देवकोटासाँढे
म साधु हुनु मेरो जातिको निमित्त एक ह्रासको लक्षण मात्र थियो । जोधाहापन जो जाति-विकासक छ र जातिले बहुमूल्य सम्झिन्छ-ममा बिल्कुल सेलाएको थियो।

लक्ष्मीप्रसाद देवकाेटा :
क. भूसुने पानी सिसिमाइरहेको रात । आकाशमा झम्झम् झरी परेर च्यातिएका प्वाल परेका चिथरे बादलहरू । एक दुई तारा मात्र स्वर्गबाट पिल्पिलाइरहेका छन् । चारमुखे कालयन्त्र जल्लाई घण्टाघर भनिन्छ चार पटक चौथाइ गीत गाएर दश घण्टाको टाङटुङ सावाज दिइरहेछ । मैतीदेवी फाँटतिर ओर्लिने सडकको किनारा कसाहीहरूका केही महिला झुप्रामुनि हातमा एक बिजुली-चिराँक लिएर म घरतिर जाँदैछु। दाहिनेपट्टि लहलहाउँदो धान खेतमा चर्यामचुरुम मर्याक-मुरुकको जवर्जस्त र टड्कारो आवाज सुनिन्छ र म नजीक आइपुगेको हुनाले एक हाँकको फुइँय्यँ षण्डनासिकाबाट प्रकोपकी नागिनी निस्के झैँ निस्किन्छ । म झसङ्ग भएर अडिन्छु । त्यो षण्ड व्यक्तित्वसित आफ्नो शारीरिक सामीप्य कति निकटको छ भनेर तासले सञ्चालित जीवनको मुटु सतर्क रहन्छ ।
अँधेरीभन्दा केही कालो अस्पष्ट आकाशउपर म बिजुली झल्काउँछु र दश हातको दूरीमा देख्दछु उही महाषण्ड चिल्ला कालुफँडे जो भयङ्कर मण्डलेश्वरको व्यक्तित्व धारणा गरेर पिपलको बोटमनि अलमस्त उग्राइमा ढस्समस्स बसी आधा आँखा चिम्लिरहन्थे। यो विजय प्रतियोगिताका महावीर यी अरु-भन्दा चिल्ला काला ताजा र मोटा देखिन्थे। यिनका अलमस्त बसेकै बेलामा पनि एक त्रासोत्पादक भयानकता झल्किन्थ्यो। तर यसरी चार खुट्टामा टेकेका, चार बलिया खम्बामाथि उभिएर हुङ्कार र फुङ्कारको आत्मसंरक्षणात्मक चेष्टामा अँधेरीरातमा मेरो भीरु मानव व्यक्तित्वलाई हपार्ने यस्ता भीमकायदेखि म प्रशस्त डराएर दुई तिन पाइला पछि हटेँ। अनि टर्चको उज्यालाले दूरी नाप्दै सडकको पल्लो किनारा-किनार हडबडसँग भागेर पचास गज टाढा पुगी लामो सास फेरेँ ।
ख. म घरतिर लाग्दा बडो तर्कशल हुन थाले । भयङ्कर व्यक्तित्व भनेको पनि एक बहुमूल्य तथा चमत्कृतिपूर्ण बस्तु हो । द्रोपदी पनि भीमसेन पनि यस्तै हुँदा हुन् । मैले ग्रीक कथाका हर्कुलिजसाई सम्झेँ । रोमनहरूको जर्नेल जूलियस सीजरको याद आयो । त्यस्तै नेपाली वीर बलभद्र तथा कातु-पाँडेको । आखिर कविको व्यक्तित्व जो एक मानव मस्तिष्कको सानो घेराभित सीमित छ तिनको महाषण्ड व्यक्तित्वको अगाडि व्यवहारक्षेत्र कति उपयोगी रहेछ र ! भावनाले जति फुइँ उडाए पनि यिनको एक हुङ्कार सामुन्ने विचार-घाव संवेदना तर्क कल्पना सबैको सानो पोको कवि आखिरमा आँधीको वेग-अगाडिको घाँसको रूवोको भुत्लाजत्तिकै निकम्मा र उड्ने बस्तु हुँदो रहेछ । संसारमा म क्षात्र-शक्तिको प्रशंसक बनेँ ।
शङ्करले अपूर्व बुद्धिले नै बाहुन रोजेका रहेछन् । संसार-रूपी संग्रामभूमिमा तात्कालिक प्रभावको हुरी मच्चाउने वस्तु षडत्व नै हो। मलाई पेटको रोग लागेर तीन चौथाइ भुँडी चिरफारमा गएकोमा र. आफ्नो पहिलेको षण्डशरीरको तृतीयांश मात्र भूतको छायामै सडकमा लर्वरिए जस्तो लाग्दा बडो अपशोच लाग्यो । आफ्नै परिश्रमको फल अमृत हो भन्ने मेरा सिद्धान्तले मलाई यस्तो कृशकाय निराशाजनक हावाले उडाउने रूवाको पुतली बनाएको थियो । म साधु हुनु मेरो जातिको निमित्त एक ह्रासको लक्षण मात्र थियो । जोधाहापन जो जाति-विकासक छ र जातिले बहुमूल्य सम्झिन्छ-ममा बिल्कुल सेलाएको थियो। म कृष्णमूर्ति भएको भए त्यो साँडेले हुँकार्दा एकपल्ट समातेर उचालिदिऊँ कि भनेजस्तो लाग्ने थियो। तर विचार र चिन्ताको म यति क्षीणकाय भैसकेको थिएँ। मलाई मेरो अस्तित्वउपर केही सङ्कोच लाग्न थाल्यो । म घर पुगेर लुगा फुकाली पसीना पुछेर पलङमाथि सुस्केरा हालेर पल्टेँ । श्रीमतीजीले सोधिन्- ‘के भो ?’ मैले जवाफ दिएँ- ‘म भयङ्कर साँढेबाट भागेर आउँदैछु साँढेको कस्तो डर ?’ मेरो पुरुषार्थमा ठूलो चोट लाग्यो र मैले झाफूलाई मनमनै स्यालसित तुलना गरेँ तर केही बोलिनँ ।
ग. षण्डत्व नै के देवत्व होइन ? जति बल उति देवता। रावणले रामलाई हराएको भए रावण-पूजा चल्थ्यो । संसार संग्रामभूमि हो भने पृथिवी योद्धाकै भोग्य छिन् । हाम्रा राजा-महाराजाहरू प्राचीन सङ्घर्ष-कालका साँढेका नै बीउ हुन् । जीवनको सबभन्दा उच्च चुली वंश र वैंशको सबभन्दा उच्च शिखर विजेय षण्डत्व नै हो । प्रकृतिले जीवनीशक्तिको चमत्-कृतिलाई चरम सिखरमा पुऱ्याएर यही साँढेद्वारा प्रदर्शन गरेकी थिइन् । शारीरिक सङ्गठन स्निग्ध ओजस्विता, जातिको सदस्यमा पूर्ण विकासको आदर्श स्वास्थ्यको र शक्तिको एक चमत्कारी झलक, कुनै क्षणमा सजातीय व्यक्तित्वसँग दब्नु नपर्ने मण्डलीपना, सर्वोच्च जीवनानन्दको आस्वादन इत्यादि सबै गृण त्यो वैशालु साँढेमा एकत्रित रहेका थिए। नेपालका नागरिकलाई शारीरिक विकासमा आदर्शका प्रतीक यिनै साँढे थिए। सबले यत्तिकै यथेष्ट खान पाऊन्, संसार हाँक्न पाऊन्, नेपालका आधा करोड युवकले पृथिवी फेरि एकबाजि थर्काउने थिए । तर वस्तुको भाउ अकास्सिएको प्रजातन्त्रमा पहेंलमुखे, बाँसखुट्टे युवकहरूको मलाई याद आयो र आफूलाई पनि त्यही दुब्लाे कर्कलपाते सेनाको एक नयाँ भर्ती सम्झेर मैले सुस्केरा हालेँ । एक दुई अपवादहरूको पनि याद आयो-एक शमसेर, एक शाहा, एक साहू, एक विर्ताबार, एक भण्डारखोर । अरूलाई घाँस पुगिसकेको छैन ।
घ. आखिर स्वर्ग भनेको के हो ? शास्त्रले भन्छन्- स्वः सुखास्पदम, म पनि एक मखमलको धँस्याइलो ताजा हरियो तन्नामाथि अलमस्त लेटेर नरम ताजा व्यञ्जन यसै गरी चपाऊँ र मस्त उग्राउँ, बैकुण्ठ कति टाढा रहने थियो । इन्द्रको इन्द्रत्व साँढे उग्राएको बेलामा देखिन्छ। संसार आफ्नो पिर र चिन्तामा ढिक्कीच्याउँ र स्वाँ फाँ गर्दै चलिरहेछ । कविको ओठमा सुस्केरा छ, बेपारीको निधारमा पसीना छ, ठिमिलेको नाकमादम छ, नेताको आँखामा चट्पट छ, जागीरेको गोडामा हतपत छ । राजमार्गमा लस्कर ओहोर दोहोर चलिरहेछ । आशा र आँसुले जनता सञ्चालित छ । तर षण्डेश्वर पीपलको बोटमन्तिर एक छेउमा खुट्टा खुम्चाएका छन्, भुँडी पसारेका छन्, आधा लोचन चिम्लेका छन् माथिल्ला गिजा र तल्ला बङ्गाराको घट्ट घुमाइरहेछन्, मीठो फीज काढिरहेछन्, अलमस्तानन्द छन्, धम्मरधूस ढसमस ढाड ! जीवनी शक्तिले चरम विलास लिइरहिछ । तृप्तिको मीठो सपना देखिरहिछ, हतपतमा आघा चपाई निलिएका साजी हरिया व्यञ्जनहरू सानन्द फेरि ओकलिन्छन्- चुर्मुराउँछन्, लर्बराउँछन्, टुक्रिन्छन्, घिसिन्छन्, रस निकाल्छन्, रयालसँग मिसिएर मीठो फीज निकाल्छन्, रसना फणीमा मधुर बिजुली झिल्काउँछन् र फेरि थैलीमा बेरिएर ओर्लिन्छन् ।
दुनियाँमा अधिकांश भोका छन् र तिनले पुलुक्क हेरेर डाहाडको नजरले आफूलाई अभागी संझेर हिंड्दछन् । ऐनकानूनले बाँधिएको यो व्यक्तित्व हजार कृत्यमा निर्भीक धर्मको स्तम्भ, जगत्लाई नटेर्ने आनन्दवादी, व्यक्तिगत सम्पत्तिको आधार स्वीकार नगर्ने, परिश्रमविमुख शक्तिको उपासक, दुनियाँमा अर्चनीय, वाञ्छनीय तथा तासोत्पादक व्यक्तित्व लिएर उपस्थित धेरै बेरसम्म मैले पनि डाहाडले हेरेको छु । चिल्लो पुष्ट साजी उग्राउँदो साँढे सब सुखाभिलाषीको एक अमुखरित तर अत्यधिवाञ्छित आदर्श हो। प्रत्येक नागरिक त्यही अवस्था चाहन्छ ।
०००
दाडिमकाे रूखनेर (२०३९)
Subscribe
Login
0 Comments
Oldest










































