सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कविराजको च्याङ्ग्रे खच्चर

हुन पनि दुई हात र अढाइसम्मको हुँदो हो । तर मान्छेको घनघोर भीड र हँस्सी लागिहालेछ, मोटर आफ्नो बाटो चलिहालेछ र बिजुली घरका सारा कारिन्दा कानमा कलम लिएर हेर्न निक्लिएछन् । चोटपटकको बारेमा चस्मा चकनाचूर ! आँखा ज्योँका त्यौँ ।

Nepal Telecom ad

लक्ष्मीप्रसाद देवकोटा :

कविराज चन्द्रप्रसादको मुख्य चिन्ह झुस्मुसे दाह्री थियो- त्यसवेला जब एक शंक्याहा बडा आदमीका छ महिनाको कपाल दुखाइ उनले पोडाका बूढीऔँलाको नङमा कापालिनी बूटी लगाएर बिलकुलै निर्मूल गराउँदा चङ्गा भएका उनले हरियो दोसल्ला ओडाएथे । बनारस विश्वविद्यालयको प्रमाणपत्रमा काने चित्रवारीलाई फूलबुट्टा सिँगार्न लगाएर, डाक्टर द्रव्यरञ्जन सेनको हस्तलिपिमा अङ्ग्रेजी प्रशंसापत समेत टाँसी उनी हरेक घरका बिरामी कोठरीमा हेर्न आउनेहरूको नजरलाई ‘ओहो ! ओहो !’ पार्दथे । हामी भन्न सक्तनौँ कति मात्रामा मनोवैज्ञानिक प्रभावहरू औषधिमूलोलाई मद्दत दिन्छन्, तर प्रमाणपत्रमा चित्रकारी नभएको भए यो कुरा बज्रलेप निश्चित छ कि धेरै विचरा मनुष्यहरूको स्वदेश सेवानुरागी प्राणले दुःखको दुःखमै यमपुरीको बाटो लिन्थे धनी उनी कुरा गर्न खूब सिपालु थिए र आकाश-पाताल जोड्नेहरूले स्वर्गमा पुगिसकेका प्राण पृथ्वीसम्म फर्काएर ल्याउन सक्तैनन् भने पुर्न व्यक्तिको अनुमान हुन सक्तैन ।

तर आफ्नो सफलताको हरिया पाती लगाएका अधवैँसे कविराजलाई घोडा चढ्नामा ज्यादा अभ्यास नहुनाले आफ्ना हड्डी र जोर्नीको समेत होशियारी जबर्जस्ती हुनाले, अरबीको त कुरै भएन, ताजा तेजिलो खच्चरको पीठमा सवार हुनेदेखि पनि स्वभाववश उनी डराउँथे । तैपनि जजमान हुने पुरोहितलाई ज्यादा कामको भीड परेझै चिताका नजीक पुगेका अभागीहरूले वचत पेमाले प्राणलाई आशा राख्ने, कविराज बाजे सम्झनाको कारण, उनी बेफुर्सदी भएर कि सार्कीका जुत्तालाई चाँडै खियाउनुभन्दा बरू रवाफ समेत रहने हुनाले एउटा च्याङ्ग्रे खच्चर खरीदनको बुद्धिमानी राखेका थिए । पहाड नचढ्नु त पर्खाल सही ! र अरबी भनेको ज्यादै अग्लो जन्तु थियो र वायुपङ्खी सिलिङ चढ्न भने ताजा र तेजी भए धोबी खोलामा टिपेर मुन्ट्याउन कति बेर ?

चौपायामा अरू किसिमका जन्तुहरू उनलाई सुझ्दै सुझेनन् र बल र हाँक भएका घोडाहरूको कथा सम्झँदै उनको चिकित्सक रोगतरासी आत्मा तानिहाल्दथ्यो । आखिरमा धेरै बेर जुँगा बटारेर गौड गर्दा ज्ञानकोष धीमा तवरसँग खुल्यो कि उनको पुड्के छोटखट्टे मूर्तिलाई सकभर सानो किसिमको बाहन सुहाउँथ्यो । के गणेशजी मूसामा चढ्दैनथे र ? तब एक दिन उनले खोज्दा खोज्दा वामन वनजरको घरमा बाँधेको च्याङ्ग्रे खच्चर देखेर उनको चित्तनै सन्तोषको घुट्को पियो । पैसा पनि थोरै पर्ने र चढ्न पनि भर्‍याङ लाउनु नपर्ने, न पर्खाल पेटीबाट उक्लनुपर्ने । तब टिप्नेका बारेमा त्यसको बाबुको के मजाल ? उनी सानो भए पनि च्यवनप्राश खाएर निकै गठिँला थिए । तब त्यतिको च्याखुरेले टिप्न खोजे दुई हात र पयरले च्यापेर पनि अथवा ह्याकुलाले मिचेर पनि त्यसलाई बडाउन सतये ! यस किसिमको खरीदमा उनलाई बिलकुल खतराको सम्भावना देखिएन र पैसा सोद्धा विचरो गरीब वामन वनजरले दमको औषधी गरेको बापत सित्तैमा टवर्‍याउँछु भन्ने निवेदन गर्‍यो । अनि त्यस दिनदेखि ज्वाईं खच्चरमा विराजमान भएका हाम्रा कविराजजी सबै भन्दा एक कुरामा ज्यादा सुविस्ता देख्त थे कि सडकमा हुँदा ढोग्ने र टाउको बाप्ने पहिचानहरुलाई आशीर्वाद दिन धेरै निहुरनु या हात लम्याउनुको जरुत थिएन, अरु लम्बा-चौँडा अरबौँ सिलिङ भए त्यो पनि त मुश्किल के कुरो थियो ।

‘बाजे ! के बोको चढ्नु भएको यस्तो !’ भन्ने टीकाकारहरुलाई उनी मुखभरिको जवाफ दिन्थे ।’ बोको र घोडो त चिनुहुन्न तपार्ईं, खै ! दूध-पेडामा झुक्किने मान्छेका जस्ता कुरा नगर्नोस् न । ए ! कि खसीलाई गधा बनाउने ठगहरूको किस्सा दोहर्‍याउन आट्नुभयो ? कहाँ भन्नुहुहुन्छ ! सानो भए पनि निक्कै पो छ त यो पनि ! खुरखुरखुरखुर गर्छ । खालि सिप्कनो चाहिन्छ ।’

शङ्कर साँढेमा चढेर कसले निन्दा गर्न सक्यो ? गणेशजी मूसामा चढेर साना भएनन् । सरस्वती हाँसमा चढेर पनि संसारको पूजा पाउँदैछिन् भने हाम्रा कविराज बाजेलाई च्याङ्ग्रे खच्चरमा चढ्दैमा नचिन्ने र ढोग्न नआउने को होला ? ‘फेरि पहाड चढ्दैमा मान्छे ठूलो हुन्न । नत्र लेकका मान्छेहरू सर्वोच्च सम्झिनुपर्ने हो । अनि वाहन को काम बोक्नुभन्दा टाढा वहाँ हुन्छ र ? च्याङग्रोले बोके पनि मेरा खुट्टा गल्दैनन्, न त थाकेका पयरमा धनेश तेल लगाउनको जरुरतं पर्‍यो । पादचारीहरूको अगाडि कम से कम मेरो फूर्ति र रवाफ त रह्यो कि !’ भन्ने यस्तै सन्तोष तरङ्गहरूले आनन्दित भएका हाम्रा कविराजजी जुँगामा ताउ लगाएर फेरि एक हात कम्मरमा अड्याएर च्याङग्रे झोक्रुवा मिजासको जन्तुलाई पयरको ऐंडी र लगामको झटारोले अगाडि बढाउँथे-लिखे टुकुर-टुकुरमा र यो मीठो चैतन्य उनमाथि गद्गदाएर चढ्दथ्यो कि हजारौँ गोडाहरू उचालिदै पछारिदै ठक्कर ठेस खाँदै वाहनविना बागबजारको सडकमा रङमगिइ रहेछन् ।

जुन दिनको हामी उपाख्यान गरिरहेछौँ उस दिन जुँगामा ताउ लगाएर यस्तै रसिला तरङ्गहरू मनमा भरिएका हाम्रा भिष्गराज बिजुलीघरको नजिकै सालिकको सामुन्ने हरियो दोसल्ला छोडेर आइपुग्नुभएको रहेछ । दुर्भाग्यवश ठीक त्यही ठाउँमा एउटा काले धम्मरधुस धोबीले दुईतर्फ विशाल पोका चढाएर गधा धपाउँदै लगाएको रहेछ । त्यस विचरा ज्यादा लादिएको गधाले आफूमाथिको अत्याचारउपर स्वजातिसँग उजूर गर्न मन लागेको बेलामा न झुसमुसे दाढीवाल कविराजलाई देख्यो न उहाँको गधामुखे वाहनलाई हामी निश्चित तवरले भन्न सकेनौँ । दुईतर्फबाट यस कुराको फैसला हुन सक्तैन । तर त्यस गधाले यसरी त्यस दिन गर्जन निकाल्यो कि (कविराज बाजेको भनाइमा) मानौँ पहरा थर्काउने यालदार सिंह नै हो; र यो तीव्र उजरातको गर्दभगुहारमा कहिल्यै नझस्किने, आफैँले सधैँ छेउ लागेर बागबजारको छहारी खोजेर हिँड्ने, यस्तो शान्त जन्तुलाई अकस्मात् वनको बाघ आएझै डर पसेर सातो पुत्लो उडेको बेलामा कहिले उत्तरतिर कहिले दक्षिण र कहिले स्ट्याच्यूतिर, कहिले बिजुली अड्डातिर सहारा खोज रङमंगिएझैँ आपसमा हिँड्न थालेछ ।

ठूलो घोडा भएको भए साँच्चिकै टिपिहाल्ने र ज्यानको आई न काईको सोझो खतरा हुने तर भाग्यवश सानो खच्चर हुनाले यस्तै गरी उतलिरहेको थियो रे पनि त्यस बेला घण्टाघरले चार हान्ने बेला भएछ र त्यो पनि झन् रन्थनिएछ- अनि सब उपर त्यसबेला (कत्रो दुर्भाग्य !) घण्टाघरतिरबाट एउटा कुन्नि कत्ति सय उनन्साठ्ठी हो कि उनन्तीस हो नम्बरको अजङको मोटर हर्न दिँदै भ्वाँक् ! भ्वाँक् !! भ्वाँक् !!! गरेर ड्राइभरले जाँड खाएजस्तो दौडमा आइपुगेछ । अब विचरा च्याङग्रे खच्चरको होशहवास उडेछ र कविराजजीलाई मुश्किल पो परेछ । न कविराजकै पहिले होश बतासिएका हुन् हामी भन्न सक्तैनौँ । तर ज्यानको खतरा स्पष्ट देखेर ‘सर्वनाशे ममुत्पन्ने श्रद्धै स्यगति पण्डित’ भन्ने शास्त्रवाक्यानुसार उहाँ त्यस अजङको जनावरको पीठबाट सडकमा एकदम नर्भस भएर कुद्नुभएछ ।

हुनत धेरै ठूलो हाम्फली परेन होलाजस्तो पाठकलाई लाग्ला । हुन पनि दुई हात र अढाइसम्मको हुँदो हो । तर मान्छेको घनघोर भीड र हँस्सी लागिहालेछ, मोटर आफ्नो बाटो चलिहालेछ र बिजुली घरका सारा कारिन्दा कानमा कलम लिएर हेर्न निक्लिएछन् । चोटपटकको बारेमा चस्मा चकनाचूर ! आँखा ज्योँका त्यौँ । तर वायाँ हातको हड्डी खुस्किएछ ! र आज मकहाँ काम्रो बाँधेर डाक्टर द्रव्यरञ्जन सेनको प्रेस्क्रिप्सन लिएर ‘कस्तो ओखती हो ? रसादि हो कि काष्ठादि ?’ भनी सोध्न पाउनुहुँदा मेरो कलेजै रहेन !

अनि मैले उहाँलाई सम्झाएँ कि घोडामा ठूलो र तेजिलो नै मजाको हुन्छ र बाउन्ने खच्चरहरू च्याङ्ग्राको सट्टा कालीकास्थानमा चढाइदिन धेरै बेस हुँदो हो ! उहाँले मात्र भएन र मैले यति थपेँ कि ‘यो च्याइग्रो खच्चर संसारको सबभन्दा अलिच्छिना उल्लू रहेछ !’ भनी जन गिल्पिनको किस्सा त्यहीँ सुनाइदिएँ र उहाँले हाँसेर भन्नुभयो कि घोडाबाट खतरा खाने उहाँ एक जना मात्र हुनुहुँदो रहेनछ । तर फेरि निको भएपछि यही च्याङग्रे खच्चर चढ्न लाग्नुभएछ, र म भन्न सक्तिनँ यस कुराको कारण न प्रेम हो, न वहादुरी हो, न कातरपन ! तर अझसम्म उहाँ बागबजारमा कहिले कहिले भेट्टिदै हुनुहुन्छ -च्याङ्ग्रे खच्चरमा मुसमुसे कविराज ।

०००
लक्ष्मी निबन्ध सङ्ग्रह (२०५०)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
प्रभुजी, भेंडो बनाऊ

प्रभुजी, भेंडो बनाऊ

लक्ष्मीप्रसाद देवकोटा
गधा बुद्धिमान कि गुरु ?

गधा बुद्धिमान कि गुरु...

लक्ष्मीप्रसाद देवकोटा
गधा बुद्धिमान् कि गुरु ?

गधा बुद्धिमान् कि गुरु...

लक्ष्मीप्रसाद देवकोटा
गधा बुद्धिमान् कि गुरु ?

गधा बुद्धिमान् कि गुरु...

लक्ष्मीप्रसाद देवकोटा
पागल

पागल

लक्ष्मीप्रसाद देवकोटा
अर्थशास्त्र

अर्थशास्त्र

सञ्जय साह मित्र
टाउकोमा टुटिलो

टाउकोमा टुटिलो

मुक्तिनाथ शर्मा
सत्य मर्दैन

सत्य मर्दैन

अशोककुमार शिवा
समानता अभियान

समानता अभियान

सुरेशकुमार पाण्डे
जिब्रो

जिब्रो

रमेश समर्थन