लक्ष्मीप्रसाद देवकोटागधा बुद्धिमान् कि गुरु ?
घाँस खानेले प्रकृतिको पथ छोडेन, तर अन्न खाने पाप र धर्मका उपर रौँकेलाइ गर्दा-गर्दै अधमुण्टो लागेर नरकमा हामफाल्दो छ । संसारमा धनको लोभ गर्ने मानिसको शिरमा चक्र घुमिरहेछ ।

संसारमा ज्यादा अपहेलित जन्तुहरूउपर सहानुभूति बराबर उम्लेर आउनु स्वाभाविकै कुरा हो र जुगानुजुग बोधोपनको प्रतिनिधि सम्झिएको जनावरलाई देखेर आज मेरो हृदयमा अनौठो दया उत्पन्न भइरहेछ ।
जब गुरुले मलाई गाली गर्नुहुन्थ्यो तब यही चौपायाको नाम दिएर मेरो नूर गिराउनुहुन्थ्यो र सहपाठीहरूको खिसीट्यूरीको मर्मभेदी क्रूरता हृदयमा बिझ्न जान्थ्यो । कुनै-कुनै मानिस त भन्दछन् कि यसको नाम लिए दिनभरिको धर्म पनि जान्छ रे !
जब मानिसले काम बिराउँछ तब हरेक मालिक यही उपाधिभन्दा राम्रो केही देख्तैन, जसले आफ्नो सेवकलाई शरम र आत्मनिन्दाको भाव उठाउन सकोस् । अंग्रेजीमा गधाजस्तो बोधो भन्ने उखानै छ, तर हिन्दूहरू अरू ज्यादा अवहेलनाको तीव्रता देखाएर ‘गधा’ भन्ने शब्द अदृश्य विस्मय-चिह्नका साथ नाराजको मुखारबिन्दबाट प्रयोग गर्दछन्, मानौँ ‘गधाजस्तो बोधोपन’ पनि हुँदैन ।
अनि म सम्झन्छु शेक्सपियर, जसको सहानुभूति सबभन्दा चौडा र कोमल थियो । उनले ‘मिड समर नाइट्स ड्रीम’ भन्ने नाटकमा निकबटमलाई हास्यपात्र बनाउँदा गधाको टाउको लगाइदिएका छन् ।
यस्ता उपहास र अवहेलनाका पात्रहरूमा सहानुभूति राख्नु मानवस्वभावको लक्षण भए तापनि आजसम्म कुनै लेखक या कविले यस निर्दोष सहनशील जनावरउपर दयाको हृदय नदेखाएको हुनाले मेरो क्षुद्र कलमद्वारा सकभर यस दयनीय पात्रको समर्थन गरूँ भन्ने विचारले आज कलम उठाइरहेछु ।
तर बस ! मान्छेका स्मृति कति कमजोर हुन्छ । के ष्टिभेन्सनसाहेबले ‘गधासँगको सफर’ मा मोडेस्टिनउपर प्रचुर सहानुभूति प्रदर्शन गरेका छैनन् र ? मैले गधाको साथ भ्रमण गरेको छैन, ती अनुभवहरू मेरा निमित्त असम्भव छन् किनकि म कट्टर सनातनी हिन्दू उपाध्याय ब्राह्मणलाई गधा छुनुसम्म पनि निषेध ।
तर सनातनी धर्ममा जत्तिकै क्षुद्र र पतित जन्तुहरूउपर अवहेलनाको दृष्टि देखिए पनि म जान्दछु कि हाम्रा ऋषिहरू हृदयशून्य थिएनन् र कृष्णजी जस्ताको वाक्यमा गधा, बाहुन, कुकुर, चाण्डाल, कुन्नि के के हुन् समता राख्छन् रे भन्ने पाउँदा मलाई गधाको उपर सानो व्याख्यान छाँट्न आश्वासन मिल्यो, सनातन धर्मउपर श्रद्धा प्रादुर्भाव भएर ।
म सोच्तछु कि हामी चलाक हुन खोज्ने मान्छेहरू के वास्तवमा चलाक छौँ र ? बुद्धिमत्तामा दावा राख्न चाहनेहरू वास्तवमा बुद्धिमान् छन् त ? मानवमगजको चातुरी बेकाममा खेर गएजस्तो लाग्छ र दुनियाँमा सच्चा गधा (मानव-प्रयोगको अर्थमा) तिनीहरू नै हुन्छन् जो आफूलाई ज्यादा बुद्धिमान ठान्दछन् ।
सभ्यताको दौडधूपले मनुष्यलाई चौपायाभन्दा तल गिराएजस्तो प्रतीत हुन्छ र प्राकृतिक अवस्थाबाट कृत्रिममा पदार्पण गरेर चक्कराउनु नै सभ्य जनावरहरूको बुद्धिमत्ता ठहर्याइन्छ ।
सभ्य संस्थाहरूको कारीगरीले मानव-बुद्धि हरहमेशा महती समस्या उठाएर चक्करमा परेझैँ हरहमेशा देखिइरहेकै छ र हामी जातिनाशका त्रासहरूमा आइपुगिसक्यौँ ।
जब गधाहरूको नैसर्गिक बुद्धि ठेगानामा रहेर आनन्दसँग आफ्नो क्रिया गर्दैछ, तब हामी गधाहरूभन्दा कति बुद्धिका कक्षामाथि चढ्यौँ भन्ने विषय विचार गर्दा, मलाई ती गाली गरिने नामका चौपायाहरू अगाडि घमण्डको ठाडो शिर झुकाउनै पर्दछ ।
गधा गुरु मानेको भए मेरो दुनियाँमा यत्रो आत्मपतन हुने थिएन, तर मेरो गुरुजीले मलाई यस्ता शिक्षाहरू दिनुभयो, जसले अनन्तको मगजमा बोझा पर्दछ र मानवजाति भूलभुलैयाहरूको अँधेरी चक्करमा घुम्दै हराउँछ ।
रौँचिरा भेदहरूले बाँध लगाइएका हाम्रा शास्त्रहरूले मान्छेलाई आखिरमा बेकम्मा बनाउँदा रहेछन् भन्ने कुरा त्यस बेला मैले बुझेँ, जब तिर्मिराउँदा आँखाहरू अन्धा भएर काला अक्षरका अत्याचारमा मानवआत्मा प्राकृत सत्यको अभावले सङ्कुचित हुन लाग्यो ।
मानवदर्शनहरू भुमरी खेल्दैछन् तर प्रकृतिको सीधा सत्य ताजा हावमा झल्किरहेछ । मैले गुणन र भागहरूले के पाएँ जब म पढाइ र अन्वेषणको पुछारमा खालि शून्यता र अन्धकारको कालो कुइरो मात्र पाउँछु !
मलाई यस्तो लाग्यो कि संसार नबुझ्नु नै ज्यादा हो र विद्वत्ता, पाण्डित्य भनेको त्यस मूर्खताको नाम हो, जसले खालि शब्दाडम्बरको तुरही दुनियाँमा बजाउँछ । हामीले बेत खायौँ, गधाको उपाधि पायौँ र थुकियौँ, तर हाम्रा गुरुजीले हामीलाई कति गधाजस्तो बनाइरहनुभएको थियो, त्यो जान्ने या त हृदयभित्रको आत्मा होला, या स्वर्गमाथिको परमेश्वर ।
मलाई यस्तो लाग्दछ कि मानवजाति संसारभरको अन्धो र अभागी जाति हो । ऊ ज्ञान खोज्दछ र हरहमेशा अज्ञानमा रहन्छ र साधारण विवेक छाडेर कुकुरकै पुच्छर सोझ्याउने काममा लाग्दछ ।
मानिसले ज्ञानको वृक्षको तीतो फल चाखेर धूर्तता जान्यो, तर के फाइदा भयो ? हामी अन्तःकरणको टुङ्ग्याइमा हरहमेशा रहन्छौँ भने अन्तःकरण पाउनु नै कर्तव्याकर्तव्यको नाटीकुटी बढाउनु नै के हाम्रो भस्माभुटीको चिह्न होइन ?
घाँस खानेले प्रकृतिको पथ छोडेन, तर अन्न खाने पाप र धर्मका उपर रौँकेलाइ गर्दा-गर्दै अधमुण्टो लागेर नरकमा हामफाल्दो छ । संसारमा धनको लोभ गर्ने मानिसको शिरमा चक्र घुमिरहेछ ।
तर निरूत्तरदायित्वको मजा चाख्ने बुद्धिमान् आनन्दसँग झोक्रिएर बीचबीचमा मानवजातिका सभ्यतालाई हँस्सी उडाउने ‘ही ही ह ह !’ को शब्दको स्वतन्त्र उद्गार गरिरहेछ ।
उसलाई यमराजले दण्ड दिने बाटो छैन, चित्रगुप्तले बहीखाता पल्टाएर सोध्ने कुरा छैनन् । तर को बुद्धिमान् ? दुनियाँ मगजमा बोझा बोक्ने र सहज बुद्धि त्यागेर अन्तःकरणको दर्शन स्वीकार गर्ने मानव कि निरूत्तरदायी सन्तोषमा बेदर्शनी अन्तःकरणशून्यताको वरदान प्रकृति र परमेश्वरसँग माग्ने, हाम्रा बुद्धू ठानिएका चारखुट्टे दार्शनिक !
हामी असन्तुष्ट विद्यार्थीहरू गुरुजीसँग नम्र प्रश्न गर्दछौँ- हाम्रो मानव नाटीकुटी र अनन्त वेदनाको तीनपुछ्रे शास्त्र गधाभन्दा कति उपर होलान् ? के त्यो दार्शनिक होइन जो मानवसेवा गर्दछ, तर पछिलाई कुमारीचोकको बहीखाता राख्तैन, जो प्रकृतिको नदेखिने औंलाको इशाराले हिँड्न जान्दछ र शिरमा भैँचाले धरापको चक्कर नराखेर रौरव र गौरव दुवैबाट बच्तछ ।
०००
(महाकवि देवकोटाको ‘लक्ष्मी निबन्धसंग्रह’बाट ।)
Subscribe
Login
0 Comments
Oldest











































