सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गधा बुद्धिमान् कि गुरु ?

मलाई यस्तो लाग्यो कि संसार नबुझ्नु नै ज्यादा हो र विद्वता, पाण्डित्य भनेको त्यस मूर्खको नाम हो जसले खालि शब्दाडम्बरको तुरही दुनियाँमा बजाउँछ ।

Nepal Telecom ad

संसारमा ज्यादा अवहेलित जन्तुहरूउपर सहानुभूति बराबर उम्लेर आउनु स्वाभाविकै कुरा हो र जुगानजुग बोधोपनको प्रतिनिधि सम्झिएको जनावरलाई देखेर आज मेरो हृदयमा अनौठो दया उत्पन्न भइरहेछ । जब गुरुले मलाई गाली गर्नुहुन्थ्यो तब यही चौपायाको नाम दिएर मेरो नूर गिराउनुहुन्थ्यो र सहपाठीहरूको खिसीट्यूरीको मर्मभेदी क्रूरता हृदयमा बिझ्न जान्थ्यो । कुनैकुनै मानिस त भन्दछन् कि यसको नाम लिए दिनभरिको धर्म पनि जान्छ रे ! जब मानिसले काम बिराउँछ तब हरेक मालिक यही उपाधिभन्दा राम्रो केही देख्तैन जसले आफ्नो सेवकलाई शरम र आत्मनिन्दाको भाव उठाउन सकोस् । अङ्ग्रेजीमा ‘गधाजस्तो बोधो’ भन्ने उखानै छ, तर हिन्दुहरू अब ज्यादा अवहेलनाको तीब्रता देखाएर ‘गधा’ भन्ने शब्द अदृश्य विस्मय-चिन्हका साथ नाराजको मुखारविन्दबाट प्रयोग गर्दछन्, मानौँ ‘गधाजस्तो बोधोपन’ पनि हुँदैन । अनि म सम्झन्छु शेक्सपियर, जसको सहानुभूति सबभन्दा चौडा र कोमल थियो । उनले ‘मिड समर नाइट्स ड्रीम’ भन्ने नाटकमा निकटतमलाई हास्यपात्र बनाउँदा गधाको टाउको लगाइदिएका छन् ।

यस्ता उपहास र अवहेलनाका पात्रहरूमा सहानुभूति राख्नु मानवस्वभावको लक्षण भए तापनि आजसम्म कुनै लेखक वा कविले यस निर्दोष सहनशील जनावरउपर दयाको हृदय नदेखाएको हुनाले मेरो क्षुद्र कलमद्वारा सकभर यस दयनीय पात्रको समर्थन गरूँ भन्ने विचारले आज उठाइरहेछु । तर बस् ? मान्छेको स्मृति कति कमजोर हुन्छ । केष्टिभेन्सनसाहेबले ‘गधासँगको सफर’ मा मोडेस्टिन उपर प्रचुर सहानुभूति प्रदर्शन गरेका छैनन् र ? मैले गधाका साथ भ्रमण गरेको छैन र ती अनुभवहरू मेरा निमित्त असम्भव छन्, किनकि म कट्टर सनातनी हिन्दू उपाध्याय ब्राह्मणलाई गधा छुनसम्म पनि निषेध छ । तर सनातनी धर्ममा जत्तिकै क्षुद्र र पतित जन्तुहरूउपर अवहेलनाको दृष्टि देखिए पनि म जान्दछु कि हाम्रा ऋषिहरू हृदयशून्य थिएनन् र कृष्णजीजस्ताको वाक्यमा गधा, बाहु, कुकुर, चण्डाल, कुन्नि के के हुन् समता राख्छन रे भन्ने पाउँदा मलाई गधाको उपर सानो व्याख्यान छाँट्न आश्वासन मिल्यो, सनातनधर्मउपर श्रद्धा प्रादुर्भाव भएर आयो ।

म सोच्दछु कि हामी चलाक हुन खोज्ने मान्छेहरू के वास्तवमा चलाक छौँ र ? बुद्धिमत्तामा दावा राख्न चाहनेहरू वास्तवमा बुद्धिमान् छन् त ? मानवमगजको चातुरी बेकाममा खेर गए जस्तो लग्छ दुनियाँमा सच्चा गधा (मानव प्रयोगको अर्थमा) तिनीहरू नै हुन्छन् जो आफूलाई ज्यादा बुद्धिमान् ठान्दछन् । सभ्यताको दौडधूपले मनुष्यलाई चौपायाभन्दा तल गिराए जस्तो प्रतीत हुन्छ र प्राकृत अवस्थामा कृत्रिमता पदार्पण गरेर चक्कराउनु नै सभ्य जनावरहरूको बुद्धिमता ठहर्‍याइन्छ । सभ्य संस्थाहरूको कारीगरीले मानव-बुद्धि हरहमेशा महती समस्या उठाएर चक्करमा परेझैँ हरहमेशा देखिरहेकै छ र हामी जातिनाशका त्रासहरूमा आइपुगिसक्यौँ । जब गधाहरूको नैसर्गिक बुद्धि ठेगानमा रहेर आनन्दसँग आफ्नो क्रिया गर्दैछ, तब हामी गधाहरूभन्दा कि त बुद्धिका कक्षामा माथि चढ्यौँ भन्ने विषयमा विचार गर्दा, मलाई ती गाली गरिने नामका चौपायाहरू अगाडि घमण्डको ठाडो शिर झुकाउनैपर्दछ ।

गधा गुरु मानेको भए मेरो दुनियाँमा यत्रो आत्मपतन हुने थिएन तर मेरा गुरुजीले मलाई यस्ता शिक्षाहरू दिनुभयो जसले अनन्तको मगजमा बोझा पर्दछ र मानवजाति भुलभुलैयाहरूको अँधेरी चक्करमा घुम्दै हराउँछ । रौँ चिरा भेदहरूले बाँध लगाइएका हाम्रा शास्त्रहरूले मान्छेलाई आखिरमा बेकम्मा बनाउँदा रहेछन् भन्ने कुरा त्यस बेला मैले बुझेँ, जब तिर्मिराउँदा आँखाहरू अन्धा भएर काला अक्षरका अत्याचारमा मानव आत्मा प्राकृत सत्यको अभावको सङ्कुचित हुन लाग्यो । मानवदर्शनहरू भुमरी खेल्दैछन् र त प्रकृतिको सीधा सत्य ताजा हावामा झल्किरहेछ । मैले गुणन र भागहारले के पाएँ जब म पढाइ र अन्वेषणको पुछारमा खालि शून्यता र अन्धकारको कालो कुइरो मात्र पाउँछु ! मलाई यस्तो लाग्यो कि संसार नबुझ्नु नै ज्यादा हो र विद्वता, पाण्डित्य भनेको त्यस मूर्खको नाम हो जसले खालि शब्दाडम्बरको तुरही दुनियाँमा बजाउँछ । हामीले बेत खायौँ, गधाको उपाधि पायौँ र थुकियौँ, तर हाम्रा गुरुजीले हामीलाई कति गधाजस्ता बनाइरहनुभएको थियो त्यो जान्ने या त हृदयभित्रको आत्मा होला, या स्वर्गमाथिको परमेश्वर !

मलाई यस्तो लाग्दछ कि मानव जाति संसारभरको अन्धो र अभागी जाति हो । ऊ ज्ञान खोज्दछ, हरहमेशा अज्ञानता रहन्छ र साधारण विवेक छाडेर कुकुरकै पुच्छर सोझ्याउने काममा लाग्दछ । मानिसले ज्ञानको बृक्षको तीतो फल चाखेर धूर्तता जन्म्यो, तर फाईदा के भयो ? हामी अन्तष्करणको टुङ्गाइमा हरहमेशा रहन्छौँ भने अन्तष्करण पाउनु नै कर्तव्याकर्तव्यको नाटीकुटी पढाउनु नै के हाम्रा भष्माभुटीको चिन्ह होइन ? घाँस खानेले प्रकृतिको पथ छाडेन, तर अन्न खाने पाप र धर्मकाउपर रौँ केलाई गर्दागर्दै उधमुण्टो लागेर नरकमा हामफाल्दो छ । संसारमा धनको लोभ गर्ने मानिसको शिरमा चक्र घुमिरहेछ तर निरुत्तरदायित्वको मजा चाख्ने बुद्धिमान् आनन्दसँग झोक्रिएर बीच-बीचमा मानव जातिका सभ्यतालाई हँस्सी ‘हो ही हह !’ को शब्दको स्वतन्त्र उद्गार गरिहेछ । उसलाई यमराजको दण्ड दिने बाटो छैन, चित्रगुप्तले बहीखाता पल्टाएर सोच्ने कुरा छैन । तर को बुद्धिमान् ? दुनियाँ मगजमा बोझा बोक्ने र सहज बुद्धि त्यागेर अन्तष्करणको दर्शन स्वीकार गर्ने मानव कि निरुत्तरदायी सन्तोषमा बेदर्शनी अन्तष्करण शून्यताको वरदान प्रकृति र परमेश्वरसँग माग्ने, हाम्रा बुद्धू ठानिएका चारखुट्टे दार्शनिक ! हामी असन्तुष्ट विद्यार्थीहरू गुरुजीसँग नम्र प्रश्न गर्दछौँ- हाम्रो मानव नाटीकुटी र अनन्त वेदनाको तीनपुच्छ्रे शास्त्र गधाभन्दा कति उपर होलान् ? के त्यो दार्शनिक होइन जो मानवसेवा गर्दछ, तर पछिलाई कुमारीचोकको बहीखाता राख्तैन, जो प्रकृतिको नदेखिने औँलाको ईशाराले हिँड्न जान्दछ र शिरमा भैँचाले धरापको चक्कर नराखेर रौरव गौरव दुवैबाट बँच्तछ ।

०००
‘प्रतिनिधि नेपाली हास्यव्यङ्ग्य निबन्ध’ (२०६०) 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
प्रभुजी, भेंडो बनाऊ

प्रभुजी, भेंडो बनाऊ

लक्ष्मीप्रसाद देवकोटा
कविराजको च्याङ्ग्रे खच्चर

कविराजको च्याङ्ग्रे खच्चर

लक्ष्मीप्रसाद देवकोटा
गधा बुद्धिमान कि गुरु ?

गधा बुद्धिमान कि गुरु...

लक्ष्मीप्रसाद देवकोटा
गधा बुद्धिमान् कि गुरु ?

गधा बुद्धिमान् कि गुरु...

लक्ष्मीप्रसाद देवकोटा
पागल

पागल

लक्ष्मीप्रसाद देवकोटा