माधव पोखरेल गोज्याङ्ग्रेसुरुङ आविष्कारक
भान्सादेखि खेतबारी छरछिमेकीका घरसम्म मात्र भए पनि सुरुङ निर्माण कार्यले अगति नलियोस् भन्ने आलुवादको कामना गर्दै जय सुरुङ भन्न चाहन्छु ।

माधव पोखरेल गोज्याङ्ग्रे :
नेपालमा सुरुङको आविष्कार गर्ने को हो भनेर कसैले मलाई प्रश्न गरेमा म सहज रूपले अत्यन्त खुसीका साथ कसैलाई पनि दोष नदिई कन हाँसी हाँसी प्रफुल्ल मुद्रामा जवाफ दिनेछु कि मुसा, न्याउरी मुसा, स्याल, खिरखिरे, खरायो, दुम्सी लगायतका जनावर तथा स्तनपायी प्राणीहरू हुन भनेर ।
नेपालका इन्जिनियरहरूलाई मात खुवाउने किसिमले नेपालदेखि भारतसम्म र हिमाली क्षेत्रमा तिब्बतसम्म सुरुङ खनेर प्रयोगात्मक रूपमा गरेर देखाउने प्राणी हाम्रै वन जङ्गलमा भूमिगत जीवन यापन गरेर बसेका छन् । साँच्चै भन्ने हो भने यी महान प्राणीहरू प्राविधिक धारका आविष्कारक भनौँ वा सुरुङ विषय विज्ञका रूपमा रहेको कुरा कतैबाट पनि लुक्न सकेको छैन भन्दा बीसै आना सही सत्य र तथ्य ठहरिन सक्छ । नेपाल खाल्डोमा सुरुङ खनेर खाल्डोमाथि खाल्डो बनाउने र मेची महाकाली मुसे मार्ग निर्माण गरेर पानी टंकीको माल गड्डाचौकीमा क्षणभरमा झार्ने प्रक्रियाले खाल्डो भरिन सक्छ । खाली खाल्डो भरिएमा फाइदा नै हुने र उक्त फाइदाको श्रेय भने सुरुङमार्गका आविष्कारकहरूमा जाने कुरामा तीन मत हुँदैन ।
भारतीय सीमानाकादेखि तिब्बतीय सीमानाकासम्म यो सुरुङ विस्तार गर्न सम्बन्धित विषय विज्ञका रुपमा रहेका, देखापरेका मुसा, न्याउरी,स्याल,खरायो,दुम्सी, खिरखिरे लगायतका वरिष्ठ,विशिष्ठ योजनाकारहरूलाई अनुरोध गर्ने कुरामा योजना आयोग लचिलो बनेर पेचिलो अनुहार सबैका सामु देखाउँदै छ ।
नेपाल जस्तो देशमा यस्तो राम्रो योजना संचालन गर्न पाउनु नै मुसा, न्याउरी मुसा, स्याल, दुम्सी, खरायो लगायतका प्राविधिक समुहलाई सौभाग्यको कुरा हो । यो अवसर फेरी फेरी पाउन गाह्रो हुने भएकोले पनि बेला मौकामा पाएको जिम्मेवारीलाई कमाउने मौका र समय हो भन्ठानेर काम गर्दे गएमा सुरुङ मार्गको मार्गचित्र कागजमा अस्पष्ट भए पनि स्थलगत रुपमा गफमा चुलिनेछ । गफले हाई हाई भएपछि योेजना त्यसै सम्पन्न भएको मानिने परम्परा नेपालमा रहेकोले पनि यो कामलाई सहजै स्वीकार्न सबैले अनुरोध गर्ने कुरामा फरक नपर्ला । किनकि मधेशमा यो संस्कारले धेरै अघिदेखि बेथिति जमाउँदै आएको छ भने मधेश सरकारले पनि यस कुरालाई मौन समर्थन गरेर मान्यता दिएको कुरा हामी सबैलाई सर्वविवितै छ ।
सुरुङ खन्न सिपालु, दक्ष युगौयुगदेखिको विशेषज्ञ सेवा सहित विश्वसनिय काम गर्दै आएका महान प्राविधिक धारका ख्याती प्राप्त खन्तीकार गोपनीयताका महान वरिष्ठ सिद्धान्तकार लुकन्ते तथा भगौडे शास्त्रका अल्पज्ञानी महामुसा ज्यूले थाल्नु भएको सुरूङमार्गको निर्माण कार्यमा नेपालका प्रधानमन्त्रीदेखि अन्तिम मन्त्रीसम्मकाले साथ सहयोग दिइरहेका छन । यतिमात्र होइन यस सँग सरोकार नभएका किरा, फट्याङ्ग्रा, जनावर, पातपतिङ्गर सबै सबैले साथ सहयोग दिएका छन् ।
नेपाँलाँ उरुङ लाग्ने गरी सुरुङ गुडुङ डुङ डुङ खन्ने भए भनेर ओठ नलेप्य्राउनु होला । मानव मार्ग वा यान्त्रिक मार्ग नभए पनि मुसक मार्ग, स्याल, खरायो, दुम्सी मार्गका रुपमा भए पनि सुरुङ मार्गको ऐतिहासिक विकास भएकोमा म सबैभन्दा पहिले यस कार्यमा मुसाकै अवस्थामा रहेर भूमिगतासन हुने जेल नेल सहने महान पदयोद्धामा सलाम गर्न चाहान्छु । जेलमा हातमा नेल कसेर बस्नेहरू पनि सुरुङ मार्ग बनाउन ज्यादै सिपालु महासयहरू हाम्रो समाजमा ज्युँदै रहेको हुँदा बढी कुरा गर्नु घटी हुने ठानेको छु । जेल नेलमा जीवन उत्सर्ग गर्नेहरू पनि सुरुङ मार्गको बाटो कुलेलम ठोकेको कुरा हामीले विर्सन हुँदैन । यदि विर्से पनि त्यो कुरालाई राजनीतिको अंशियार वा वंशियार नै भनेर फेरी पनि विना कारण सुरुङ खनेर सरकारलाई दुःख दिने काम नहोस् भन्ने मेरो भनाई हो ।
सुख पूर्वक बसेर दुःखको कुरा गर्न भनौ वा मुसे युगलाई निरन्तरता दिने काममा भनौँ वा सुरुङ्गे युगको चमत्कारको कुरा गरौँ कुनै समयमा हाम्रो गाउँघरतिर खासगरी तराई क्षेत्रमा रातारात सुरुङ खनेर मान्छेहरू धनि हुने तरिका अपनाउथे भने कतिपय जेलमा पनि राती राती महिनौ दिन लगाएर सुरुङ खनेर नयाँ चमत्कार गर्दथे । यस्ता विकासे चमत्कारी मान्छेहरूको संगत नगर्दा पनि नेपालमा विकासको मेसो अघि बढन नसकेको होकि भनेर चिन्ता गर्नु पर्ने ठाउँ छ भन्न सकिन्छ । विश्वमा सबैभन्दा बढी विकास भएकै कि त अमेरिका, चीन, जापान, बेलायत, भारत हो । तर सुरुङ मार्गको विकासकालागि विकासे मुसाहरू धेरै भएकोेले होला चीनको नाम नै लिन मनलाग्छ । अहिले आएर नेपाल पनि यस मामिलामा कम छैन । मुसा, स्याल, न्याउरी, दुम्सी लगायतका विज्ञता प्राप्त आविष्कारकहरू नेपालमा रहेकोेले प्राविधिक कुरामा पनि कोही भन्दा कम छैन भन्ने कुरामा र सुरक्षाका विषयमा पनि अब्बल रहेको दुम्सीले स्पष्ट पारेको छ ।
साँच्चै कुरा भन्नु पर्दा दुम्सीको सुरक्षा घेराभित्र रहेर खनिएको सुरुङको महत्वका बारेमा अरुलाई भन्दा त्यो भित्र बसेर जीवन यापन गर्नेहरूलाई नै बढी जानकारी र ज्ञान हुने भएकोले प्राविधिक कामदेखि लिएर अन्य सबै काममा पनि दुम्सी र मुसा नीति नै लागु गर्दा सबैकालागि हितकर हुने कुरामा ढुक्क हुन सकिन्छ । अर्को कुरा के भने सुरुङ मार्गको सुरक्षा पूर्ण रुपले दुम्सी कै जिम्मा दिएमा राम्रो हुने कुरामा हामी सबै एकमत छौँ भन्दा कुनै फरक पर्दैन ।
आफ्नो वा अर्काको सुरक्षाकालागि अहोरात्र खटिरहने दुम्सी महाशय हजुरको निगरानीभित्र बस्न पाउनु साँच्चै भन्ने हो भने अहोभाग्यको कुरा हो । सुरुङ जस्तो महत्वपूर्ण विषयमा विज्ञता हासिल गरेर दुम्सी सरकारले हामी नेपालीलाई नुन नखाएको गुन लाएकोले सम्मान गर्नु पर्ने देखिन्छ । यसकालागि म सिफारिस समेत गर्दछु । यस्ता विज्ञ छुचुन्द्रेहरूको रेखदेखमा निर्माण कार्य हुनु भनेको भएका, हुँदै गरेका, हुने आउने योजनाहरूको भविष्य नै अन्धकारमा जाकिनु भएकोले यस्ता खाले योजना विकासमा कोसे ढुंगा सावित हुने भएकोले असफल पारेमा फेरीफेरी पनि दुहुनो गाई बनाउन सकिने जानकारी गराउन चाहन्छु ।
अर्को कुरा कति पटक भन्नु राज्यले अब सुरुङ मार्गको ठेक्कापट्टाको सबै काम मुसा, दुम्सी, स्याल, खिरखिर,े न्याउरी लगायतका जनावरहरूलाई दिएमा तोकिएको समयभन्दा अगाडि नै निर्माण भताभुङ पाराले सम्पन्न हुने ऐतिहासिक जानकारी गराउन चाहन्छु । यसो गरेमा सरकारले चाहेको नचाहेको सबै ठाउँमा सुरुङ मार्ग सहज तरिका बोकेको तोकेको र ठेकेको ठेक्काको पैसाभन्दा अति नै कममा भनौ विना शुल्क नै काम सकिने कुरामा विश्वास नगर्न जोडदार गुनासो गर्न चाहन्छु ।
अर्को कुरा म के भन्छु भने राज्यले यस्ता महान सुरुङ निर्माण कर्मीहरूलाई बेलामै सम्मान कार्यक्रमको आयोजना गरेर घिनलागदो गरी अपमान गरियोस भन्न चाहन्छु । राज्य र सरकारले समाजलाई दिने भनेकै यस्तै कुरा त हो नि । सम्मान गर्ने तरिका पनि यही हो जस्तो लाग्छ र आजसम्म भएको पनि यस्तै त हो नि । ठेकेदारहरूले पनि सरकारको काम कहिले जाला घम भनिरहेका हुन्छन । राज्य र सरकार पनि ठेकेदारलाई देखेपछि आ मुख बाएर चारो खाने आशामा गुँडमा बसेको बचेरा झैँ बसेको हुन्छ ।
साँच्चै भन्ने हो भने विश्व भ्रमण गर्न पनि अब सुरुङ मार्ग कै माध्यमबाट गरेमा सबैभन्दा सुरक्षित, कम खर्चिलो, छिटो छरितो, गोपनिय, अपारदर्शी हुने भएकोले म यसको मुसा, दुम्सी न्याउरी समक्ष जोडदार र दुःख तथा खुसी मिश्रित सिफारिस सगौरव प्रस्तुत गर्न चाहन्छु । यसो गरेमा मुसा, दुम्सी, स्याल, न्याउरी लगायतका विज्ञ जनावर महोदयहरूको विज्ञताले र कारागा्मा बसेर सुरुङ विषयका बारेमा अध्ययन अनुसन्धान गर्दै गरेका महान विज्ञ सिपालु महाशयहरकोपनि उद्धार हुने थियो भन्ने मैले अन्ध विश्वास लिएको छु ।
हाम्रो घरको कोठा चोटा भात भान्सादेखि छरछिमेकीको घर हुँदै खेतबारी, घुर्यान वरपर हुँदै विश्वलाई हाम्रो घरसँग जोडने काम मात्र होइन हामीलाई आवश्यक पर्ने धान चामलसमेत सुरुङ मै जोहो गरिदिने महामुसाले गरेको विकासे योगदान प्रति म सधैँ नतमस्तक छु । यसरी आप्mनो स्वार्थमा लिप्त भएर गरेको महान योगदानको जतिसुकै चर्चा परिचर्चा, अतिचर्चा, पर्चा, पम्पलेट गरेपनि थोरै र भोकै हुने मैले बुझेको छु । मुसे राजनीतिबाट प्रभावित हामी दुम्सी, न्याउरीको राजनीतिमा भने पछि परेको र स्याल राजनीतिमा भने निर्क अघि रहेको कुराको चर्चासँगै बजारमा पर्चाले पनि ठाउँ पाएको छ भन्दा कुनै पनिफरक पर्ला जस्तो लाग्दैन । तर एउटा कुरा के भने यी सबैखाले सुरुङ्गे राजनीतिलाई तह लाउने भनेको दुम्सी राजनीतिले हो ।
बढी कुरा के गरौँ अब । सुरुङको आविष्कार गर्नेहरूले गरेको सुरुङको विकास भनौ वा आविष्कारलाई आविष्कारकहरूले नै कुल्चेर भत्काउने काम भएको गुनासो सनासोमा चेपिएर आएको छ । सुरुङ आविष्कार गर्न सम्माननीय मुसा महाराज,माननीय स्याल सरकार, माननीय मन्त्री दुम्सी ज्यू, अतिथि माननीय तथा सधैँ लुकनीय न्याउरी, यस्तै गरी फ्याउरो, खिरखिरे लगायतका कुलेलमनीय महाशयजीहरूमा पनि नेपालमा सुरुङ मार्गको आविष्कार गरेर नेपालीहरूलाई सुखबाट महा दुःख कष्टका दिनहरूमा लैजान ठूलो सानो सहयोग गर्नु भएकोमा आलुवाद भन्न चाहन्छु । अरु कुरा त सुरुङ भित्र बसेर जे जे मन लाग्छ खानु गर्नु भनेर छाडा छाडेकोले भनिरहन नपर्ने जानकारी गराउँदै सुरुङ खन्ने काममा सरकार र राज्यलाई साथ दिइरहनु । भान्सादेखि खेतबारी छरछिमेकीका घरसम्म मात्र भए पनि सुरुङ निर्माण कार्यले अगति नलियोस् भन्ने आलुवादको कामना गर्दै जय सुरुङ भन्न चाहन्छु ।
०००
उदयपुर
Subscribe
Login
0 Comments
Oldest







































