सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यस्तो पो उपद्रो !

नेपाली वाङ्मयमा कुनै नारीले लेखेको हास्य व्यङ्ग्य कविता सङ्ग्रह नै यो पहिलो हो । आधा आकाशलाई मात्रै होइन, सिङ्गो आकाशलाई गर्व छ यसमा । यो किताब नपढ्नेको जीवन व्यर्थ हुन्छ भन्ने कुरा होइन, तर पढ्नेको जीवन भने पढुन्जेल रसमै बित्छ ।

Nepal Telecom ad

चट्याङ मास्टर :

गरेर गर्न लायक उपद्रो पनि हुँदोरहेछ भन्ने कुरा यही “उपद्रो” हेरेपछि मात्रै थाहा भयो । हरिको कला हरिकला र हरिकलाको चर्तिकला यो उपद्रो तपाईंको नाकको टुप्पोभन्दा करीब डेढ बित्ता अगाडिसम्म आइसकेकै छ ।

कति शिकार मात्रै बनिरहनु अरुका उपद्रोको भनेर नै हरिकलाले उपद्रो गर्नेहरूलाई शिकार बनाउनु भएको छ यो “उपद्रो” गरेर । आँसुमा हाँसो र हाँसोमा आँसु खोज्दै रबड छन्दमा पद्याउनु भएको छ । कति आँखा नचाउनु भयो होला र कति आँसु पचाउनु भयो होला भन्ने कुरा त “उपद्रो” मा पाइने विषय विविधता, छलको चिरहरण र कुण्ठित हाँसोको प्रस्फुरणबाट प्रष्ट हुन्छ । आधा आकाशको प्रतिनिधित्व गर्ने हरिकलाले सिंगै आकाशमुनिका उपद्रोहरूलाई रिङ्गै रिङाउनु भएको छ । राम्रै “उपद्रो” गर्नु भएको छ ।

पाठकहरूलाई पाता कस्न लामा गन्थन गद्याउन छोडेर, छोटा रसिला र चटक्कका हास्यव्यङ्ग्य पद्याउनु भएको छ । सिस्नुपानी नेपालले भेटेको छ राम्रै भीड व्यङ्ग्य कविता सङ्ग्रहको । तर नारी हस्ताक्षरमा हरिकलाले आफूलाई पहिलो उभ्याउनु भएको छ । स्वागत छ नव आगन्तुकलाई यो हास्यव्यङ्ग्यको पातलो र रमाइलो बस्तिमा र धन्यवाद छ यो परिवेशलाई हेर्ने नयाँ दृष्टिकोण दिनु भएकोमा । अझै धेरै नारी प्रतिभाहरू खुल्नु परेको छ । बोहनी यो राम्रो भयो । यसको प्रकाशनको जिम्मा पाएर सिस्नुपानी नेपाल पनि गद्गद् भएको छ ।

“उपद्रो” का धेरैजसो कविताहरूमा नारी दृष्टिकोण रहेको छ, कोमल भएर कठोर र कठोर भएर कोमल । सरल छन् अभिव्यक्तिहरू, सोझा छन् कुरा तर जटीलतम समस्यालाई थपक्क टिपेको छ । “उपद्रो” मा समेटेर समाजका सुकिला देखिने अनुहारलाई यथोचित हाँडीको पिँध पोतेको छ । कहिले हाँसोमा उडाएर कहिले आँसुमा बगाएर हुन्छलाई हुन्न र हुन्नलाई हुन्छ बनाएको छ-

मध्यरातमा लडखडाउँदै आए हुन्छ हजुर,
जुत्तासँगै ओछ्यानमा गए हुन्छ हजुर ।

“थिचे हुन्छ, मिचे हुन्छ” शीर्षक छ एउटा कविताको । परिवर्तन नखोज्ने हो भने सोझै माने पनि हुन्छ “हामी एक्काइशौं शताब्दीका पुरूष” का कुरा :
हुन्न है हुन्न बेथिति ल्याउन दिनु हुन्न
पोथी सधै पोथी नै हो बास्न दिनु हुन्न !

“उपद्रो” को “यात्रा” “पाजी हुम्ला” सम्म पनि पुगेको छ । “पत्रकार र कलाकार” लाई भेटेको छ । “बहुदलीय बजेट” ले “विकास” रटेको छ । “सानी” का “शिक्षा” को “तिर्सना” ले “हजुरबालाई सन्देश” देखि “अरूण तीन” सम्म पनि समेटेको छ । कुनै म्याद सकिएका, कुनै म्याद नाघेका र कुनै म्याद नतोकिएका सूचनाहरूको बीचमा एउटा “जरूरी सूचना” टाँस गर्नुभएको छ, कविले “प्रजातन्त्रलाई स्वागत” गर्नेहरूका लागि-
जुका, किर्ता, डाँस र जुम्राहरू,
चमेरा, मलसाप्रा र ब्वाँसाहरू
सलह, साङ्ला र उडुसहरू,
स्वागत गरिरहेछन् प्रजातन्त्रलाई ।

त्यसैले “बाँदरलाई तर” भएका छन् विकासे “आयोजनाहरू”:
आयोजना साना कहिले, कहिले बन्छन ठूला,
त्यसै भित्र सप्रँदै छन् नेता, मन्त्री मूला ।

“नारी” स्वरहरूले महिला मुक्तिको माग गर्नु “नारी दिवसको” पेवा होइन । “म छोरो मान्छे” “अनौठो देश” को होइन, “मेरो देश” “अनर्थ विधेयक” ल्याएर “नेपाल बन्द” गर्नुको सट्टा “सदन चलाऊँ” भने हुन्थ्यो भन्ने आसय छ हरिकलाको-

देश हाम्रो नेपाल हो
सदन देशको कपाल हो ।

“निजीकरण”, “विद्युत महसुल” र “महँगी”, “उन्नतिको चक्र” बेग्ला बेग्लै चारवटा कविता हुन् । चारैवटा कविताको व्यङ्ग्य एकै साथ व्यहोर्नु पर्ने पाठकले “मध्यावधि” मा “तोङ्वा तान्ने भाँडो अगाडि सारेर “आजकाल” का “विश्वसुन्दरी” सम्कँदै “दोबाटोको पसल” मा “सुटेडबुटेड” भएर कतै “पपुलर पप र कतै” दोहरी गीत गाएको उपद्रो पनि सहनु परेको छ :
केटीः जस्तो तस्तो आँखा लाइन भने जस्तो पाइन,
त्यसैले त अहिलेसम्म बिहे भाको छैन ।

केटाः मन परेकी जागिर खोज्छे नपरेकी ल्याइन,
जागिर खोज्दै ज्यान् भो भाटो बिहे गर्ने पाइन ।
हास्य छ, व्यङ्ग्य छ । कतै हास्य चिसिक्क र व्यङ्ग्य ढ्याङ्ग छ । कतै व्यङ्ग्य च्याएको मात्रै र हास्य उदाङ्ग छ । तर यो हास्य व्यङ्ग्यको किताबमा “ज्वाला हत्याकाण्ड” को आँसु थपेको पाउँदा “धाँधली भयो” भनेर “अनसन बसौँ भने पनिः
वर्षे पिच्छे भाडा बढछ, तलब बढ्दैन,
हाकिमको मनमा कहिल्यै दया उठ्दैन ।

हरिकलाले कतै “डण्डा लाउनु पर्छ” भन्नु भएको छ । कतै आत्तिएर “लौन” चेतना भरौँ भन्दै गुहार माग्नु भएको छ । “मेरो प्यारो कुर्सी” का लागि “प्रजातान्त्रिक गोली” हान्ने महान नेताहरूलाई आफ्नो अशुभ-कामना पनि प्यारोडीमा दिनु भएको छः

कामना छ प्रगतिको राष्ट्र सिङ्गार्नेलाई,
विदेशीको ईशारामा देशै बिगार्नेलाई,
ठटाउनु है ठटाउनु उसको गाला ठटाउनु, साहै जाली छ !

यिनै समाजका विकृतिहरू र विसङ्गति नै सष्टिको आधार र उपज बनेको छ यो हास्य-व्यङ्ग्य सङ्ग्रहको । हामी सबैले देखे भोगेकै कुराको संयोजन छ तर अलि कति फरक शैलीमा अनि अलि फरक दृष्टिकोणमा । थपिएको त्यति नै हो । त्यतिनै भए पनि थपिएको छ । हास्यव्यङ्ग्यका त्रुटी नै खोज्ने हो भने यसमा नभेटिने छैन । छोटो अवधिमा खहरे बनेर आएका कविताहरूको पहिलो सङ्ग्रह हो- हरिकलाको । यिनका पाइलाहरू चाँडै मेटिने पनि छैनन् ।

नेपाली वाङ्मयमा कुनै नारीले लेखेको हास्य व्यङ्ग्य कविता सङ्ग्रह नै यो पहिलो हो । आधा आकाशलाई मात्रै होइन, सिङ्गो आकाशलाई गर्व छ यसमा । यो किताब नपढ्नेको जीवन व्यर्थ हुन्छ भन्ने कुरा होइन, तर पढ्नेको जीवन भने पढुन्जेल रसमै बित्छ यो कुरा साँच्चो हो ।

यो किताबको अन्तिम कविता प्रश्न गर्छ- “किन लागेको कलम तिर ?” यो अन्तर्मुखी प्रश्न रहेको छ फर्किएर तपाईंतिर, मतिर, सबैतिर । भौतिक तौलमा बन्दुकभन्दा कलम हलुका भएको प्रश्न हो यो । यस्तै उपद्रो भएर नै जन्मन्छ हरिकलाको “उपद्रो” र कलममा वजन थप्छ । अनि यस्तै “उपद्रो” बढेर त्यस्तो उपद्रो खतम गर्छ “उपद्रो” बढोस् ! उपद्रो घटोस् ।

०००
मिति २०५८ असार
‘उपद्रो’ (२०५८) काे भूमिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अमर रहोस्

अमर रहोस्

चट्याङ मास्टर
कमाउने कि समाउने ?

कमाउने कि समाउने ?

चट्याङ मास्टर
सरकारी मोटर

सरकारी मोटर

चट्याङ मास्टर
धारा

धारा

चट्याङ मास्टर
त्यस्ता दिन पनि थिए

त्यस्ता दिन पनि थिए

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x