चट्याङ मास्टरभट्टी जाने हो
त्यो एउटा रक्सीको ‘र’ मात्रैले पनि कत्रो तागत देखायो कसैलाई सिंगापुर पुर्यायो, कसैलाई दुबई पुर्यायो अब अर्काको तागत हेर्ने होइन साथी, आफ्नै तागत देखाउने हो त्यसैले भट्टी जाने हो साथी, सिंगै रक्सी खाने हो ।

चट्याङ मास्टर :
मन्दिर जान्न भने पाप लाग्छ
भट्टी जान्न भने पाप लाग्दैन
प्रसाद खान्न भने पाप लाग्छ
रक्सी खान्न भने पाप लाग्दैन
रक्सी लोकतान्त्रिक गणतन्त्र अनुरूप समावेशी छ
पाप-धर्मबीच कुनै भेदभाव गर्दैन
त्यसैले भट्टी जाने हो, साथी टन्न रक्सी खाने हो
खाएको एउटा रक्सी मात्रै त लाग्ने हो ।
खाँदै नखाएको लाग्ने भनेको त
भोक लाग्ने हो, कि ट्याक्स लाग्ने हो, कि पीर लाग्ने हो
त्यत्ति धैरै कुराहरू लाग्नु भन्दा त
भट्टी जाने हो साथी
टन्न रक्सी खाने हो
खाएको एउटा रक्सी मात्रै त लाग्ने हो
नखाए त के-के लाग्ने हो के-के लाग्ने हो ।
रक्सी नखानेले रक्सी खानेलाई नराम्रो भन्छ
रक्सी खानेले त्यस्तो भेदभाव गर्दैन
समानताको भावना जति भट्टी र रक्सीले जगाउँछ
त्यति मन्दिर, पूजा र प्रसादले जगाउँदैन
त्यसैले समावेशी हुने हो साथी,
भट्टी जाने हो, टन्न रक्सी खाने हो
खाएकै एउटा रक्सी मात्रै त लाग्ने हो ।
धर्मले यो गर्न हुन्छ त्यो गर्न हुन्न भन्छ
त्यस्तो आदेश गर्नकै लागि त
घरमा श्रीमती हुँदै हुनुहुन्छ
रक्सी विचराले त्यस्तो केही अडर लाउँदैन
बरु कर गर्ला तर क्यारक्यार चैं गर्दै गर्दैन
रक्सी टन्न खाएपछि बरु आफैंले अरूलाई क्यारक्यार गर्ने हो
रक्सी नखाई-नखाई अर्काको क्यारक्यार किन सहनु हो ?
त्यसैले भट्टी जाने हो टन्न रक्सी खाने हो
खाएकै एउटा रक्सी मात्रै त लाग्ने हो ।
कानुन मिचे झ्यालखाना जानुपर्छ
रक्सी घिचे झ्यालखाना जानु पर्दैन
रक्सी नखाई सुत्न घरको ओछ्यान पुग्नुपर्छ
रक्सी खाएर सुत्न आफ्नै ओछ्यान जानु पर्दैन
रक्सीले बिस्तारै मानिस मार्छ भन्छन्
मर्न हतार हुनेहरू मरुन,
ढिलै मरे पनि मलाई केही फरक पर्दैन
त्यसैले साथी, भट्टी जाने हो, टन्न रक्सी खाने हो
खाएकै त लाग्ने हो ।
रक्सीलाई खराब भन्छन्, अनि घुस चै के नि ?
रक्सी खाए पछि मात्तिन्छ भन्छन्,
अनि चुनाव जिते पछि चै के नि ?
रक्सी गन्हाउँछ भन्छन्,
अनि धाराको पानी चै के नि ?
रक्सीले किड्नी बिग्रन्छ भन्छन्,
अनि तरकारीको विषादीले चै के नि ?
त्यसैले भट्टी जाने हो साथी रक्सी खाने हो
खाएकै त लाग्ने हो ।
कसैले रक्सी नखाएर दर्जनौं रक्सी उद्योग बन्द हुन्छन्
दर्जनौं रक्सी उद्योग बन्द भए हजारौं भट्टी बन्द हुन्छन्
हजारौं भट्टी बन्द भए लाखौं जनता बेरोजगार हुन्छन्
लाखौं जनता बेरोजगार भए
‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कसरी सफल हुन्छ ?
त्यसैले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सफल बनाउने हो
भट्टी जाने हो साथी टन्न रक्सी खाने हो
खाएकै त लाग्ने हो नखाए त दोष मात्रै लाग्ने हो ।
अस्ति मात्रै हाम्रो गाउँमा रक्सीको पनि ‘र’ मात्रै आयो
त्यो एउटा रक्सीको ‘र’ मात्रैले पनि कत्रो तागत देखायो
कसैलाई सिंगापुर पुर्यायो, कसैलाई दुबई पुर्यायो
अब अर्काको तागत हेर्ने होइन साथी,
आफ्नै तागत देखाउने हो
त्यसैले भट्टी जाने हो साथी, सिंगै रक्सी खाने हो ।
खाएकै त लाग्ने हो,
खाँदै नखाए त जता हेर्यो
उतै गाईजात्रा लाग्ने हो,
गाईजात्रा लाग्ने हो ।
०००
बत्तिसपुतली, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest


































