लक्ष्मण गाम्नागेउल्काउल्काका शुल्कहरू
उहिले आइए, बिए पढिसकेपछि जागिर खाएर बल्लतल्ल पैसा फलाउन थालिन्थ्यो, अहिले हाम्रा छोराछोरी शिशु कक्षा देखि नै पैसा फलाउने नगदे बाली भएका छन्, सम्झेर आनन्दित हुनुपर्छ ।

लक्ष्मण गाम्नागे :
उहिले हाम्रा पालामा शिशु कक्षामा भर्ना भएपछि स्कूल नफेरुन्जेल नयाँ भर्ना हुन पाइन्नथ्यो । पास भए पछि खुरुखुरु माथिल्लो कक्षामा हाजिर हुनुपथ्र्यो । भर्ना हुन पैसा पनि तिर्न नपाइने । पाठ्यक्रम पनि हत्तपत्त परिवर्तन नहुँदा दाजुदिदीका पुराना पुस्तक पढ्नुपर्ने । सरहरू पनि जहिल्यै एउटै अनुहारका । पट्यारलाग्दो ।
अहिले क्या मजा ! स्कूल नफेरे पनि वर्षैपिच्छे आफ्ना बच्चालाई भर्ना गरिरहन पाइन्छ । कक्षैपिच्छे नयाँ भर्ना । भर्ना भएपिच्छे नयाँनयाँ शीर्षकमा नयाँनयाँ शुल्कहरू विद्यालयलाई बुझाउन पाइन्छ । स्कूलहरूले वर्षेनी पाठ्यक्रम फेरेर पुस्तक व्यापारीलाई सुखी र समृद्ध बनाए जस्तै शुल्कहरूका नयाँनयाँ शीर्षक फुराएर अविभावकलाई आनन्द दिन्छन् । वर्षैपिच्छे पाठ्यक्रम नयाँ, भर्ना नयाँ, शुल्क नयाँ, शिक्षकहरू नयाँ । विद्यार्थी र अविभावकलाई पुरानै स्कूलले पनि सधैं नयाँ र ताजा अनुभूति दिइरहन्छ । उहिलेजस्तो पट्यारलाग्दो अचेल छैन । रमाइलो छ ।
राजधानीको एक स्कूलले एउटा आकर्षक शीर्षक फुराएर नगद संकलन गरेछ । ‘क्यापिटलाइजेशन फी’ अरे । कुरा ठिकै हो । स्कूलले आफ्नो ‘क्यापिटल’ बढाउन देशको ‘क्यापिटल’ सहरमा बस्ने जनतालाई विशेष सम्मान गरेछ । सरकारले नै लगाउनुपर्ने ‘राजधानी शुल्क’ एउटा प्राइभेट स्कूलले लगायो । सरकारलाई बाटो देखायो । त्यो स्कुललाई नयाँ शुल्क-शुत्र पत्ता लगाएकोमा पुरस्कृत गरिनुपर्छ आगामी शिक्षा दिवसमा ।
अभूतपूर्व रुपमा फस्टाएको स्कूलविजनेसमा नयाँनयाँ लगानीकर्ताहरू भित्रिइरहेका छन् । नयाँनयाँ स्कूलले नयाँनयाँ तरिकाहरू नअपनाए स्कूल उद्योग नचल्न पनि सक्छ । अविभावकहरूलाई आकर्षण गर्न शुल्कमा पनि नयाँनयाँ आयाम थप्नैपर्छ । कराँते शुल्क, पौडी शुल्क, लुडो शुल्क, जुडो शुल्क, स्वास्थ्यपरीक्षण शुल्क, खानेपानी शुल्क, शैक्षिक भ्रमण शुल्क, पिकनिक शुल्क, पुस्तकालय शुल्क इत्यादि शीर्षक थोत्रा भइसके । अब नयाँ ल्याउनु पर्छ । अब मन्थ्ली फी वा एनुअल फी मात्रै होइन, डेली फी र विक्ली फीको छुट्टै व्यवस्था गर्नुपर्छ । विद्यार्थीहरूलाई नयाँ युगसँग प्रतिश्पर्धा गर्नसक्ने बनाउन र स्कूललाई सम्पन्न बनाउन ट्यालेन्ट शो फी, मिस स्कूल फी, मिसेस गुरुआमा फी, मिस्टर ह्याण्डसम सर आयोजना शुल्क, गुरुवा गुरुआमा सन्तती छात्रवृत्ति शुल्क, चाडपर्व शुल्क, पेट्रोल-डिजेल शुल्क, वर्थ डे शुल्क, पिङ शुल्क, चिप्लेँटी शुल्क, शौचालय शुल्क, ढल तथा सेफ्टी ट्याङ्की सफाइ शुल्क लगायत अनेक शुल्क लगाउनुपर्छ ।
आफूले जीवनभरि शिक्षाका लागि गरेको खर्च भन्दा छोराछोरीले एकै महिनामा गरेको खर्च बढी हुनु हामी आमाबाबुका लागि गौरवको कुरा हुनुपर्छ । ऊ बेला आफ्नो बिहे उत्रिएको खर्चले अहिले १ कक्षामा बच्चा भर्ना गर्न पनि नपुग हुने कुराले मनोरञ्जन लिएर स्वास्थ्य बलियो बनाउनुपर्छ । उहिले आइए, बिए पढिसकेपछि जागिर खाएर बल्लतल्ल पैसा फलाउन थालिन्थ्यो, अहिले हाम्रा छोराछोरी शिशु कक्षा देखि नै पैसा फलाउने नगदे बाली भएका छन्, सम्झेर आनन्दित हुनुपर्छ । हाम्रा छुनामुनाहरूले शहरका गल्लीगल्लीमा, गाउँका टोलटोलमा स्कूल नामका बढेबढे बिल्डिङ्हरू ठड्याइदिएका छन् । असंख्य स्कूलबस, भ्यान र संचालकहरूका लागि कारहरूको लस्कर लगाइदिएका छन् । स्कूलमा लगानी गर्ने हजारौं लगानीकर्ताहरूलाई ठूला उद्यमीको रुपमा स्थापित गरिदिएका छन् । हाम्रा लालावालाको यो महान् योगदानका लागि हामीले गौरव गर्नुपर्छ । हामीलाई यस्तो गौरवान्वित बनाउने हाम्रा निजी स्कूलहरूलाई धन्यवाद दिनुपर्छ ।
०००
७०।१।२७
Subscribe
Login
0 Comments
Oldest

































