नेपाली हास्यव्यङ्ग्य साहित्यको संक्षिप्त नालीबेली
विराटनगरलाई कर्मथलो बनाएर नेपाली साहित्यको सेवा गरिरहनु भएका यस समीक्षाका स्रष्टा दधिराज सुवेदी आज २०८० चैत्र १४ गते बिहान ३.०० बजे कीर्तिशेष हुनुभएकाे छ । उहाँप्रति फित्काैलीकाे हार्दिक शब्दश्रद्धा ।
दधिराज सुवेदी :
नेपाली साहित्यमा हास्यव्यङ्ग्यको प्रचलन पुरानो भए पनि यसले यथेष्ट प्रगति गर्न सकेको छैन । प्रारम्भमा हास्य वा कटाक्ष उपेक्षित रह्यो र नै यसको प्रगति हुन नसकेको हो । आज हास्यले मनोरञ्जनको र व्यङ्ग्यले सुधारको स्थान ग्रहण गर्न थालेपछि यो दिनप्रतिदिन समृद्ध र मर्यादित बन्दै गइरहेको छ । थोरै सर्जकहरूले छोटो समयमा यसलाई समृद्धितर्फ लगेको देखिएकाले यसको भविष्य सुन्दर छ भनी आकलन गर्न सकिन्छ । साहित्यकारहरूद्वारा यथार्थ र अनुचित कामकारवादीमाथि हँसाउने गरी गरिने व्यङ्ग्यलाई हास्यव्यङ्ग्य साहित्य भनिन्छ । यस्तो साहित्यलाई रसरङ्गयुक्त आलोचना मानेपनि हुन्छ । यसलाई हिजो उपविधा भनिन्थ्यो भने आजको समृद्ध परिस्थितिलाई हेरेर विधाकै रुपमा हेर्न बालिएको छ। आशा गरौं- भविष्यमा नेपाली हास्य व्यङ्ग्य साहित्यले चाँडैनै समृद्ध विधाको रुपमा धारणा गर्नेछ ।
नेपाली हास्यव्यङ्ग्य साहित्यको प्रारम्भ वि.सं. १८५५ मा प्रसिद्ध आख्यानकार शक्तिबल्लभ अर्यालको ‘हास्यकदम्बक’ नाट्यकृतिबाट भएको हो । तत्कालीन राजामहाराजाहरूले यस नाटकको अभिनयकला हेरेर हास्यको स्वाद ग्रहण गरेर ज्यादै प्रसन्नता प्राप्त गरे । शक्तिबल्लभको उक्त कृतिले जति लोकप्रियता ग्रहण गर्यो त्यसपछि लेखिएका भानुभक्त, मोतीराम आदिका कवितात्मक फुटकर रचनाहरूले त्यति उचाई ग्रहण गर्न सकेनन् ।
दरबार बाहिरको दुनियाँसँग अलग रहन चाहने, सुख, सुविधा र मनोरञ्जन दरबारभित्र मात्रै रहनुपर्दछ भन्ने सोच राख्ने र भरसक प्रजाजनलाई शिक्षाको उज्यालोबाट टाढा राख्न चाहने राजा सरकारको दयादृष्टिले वि.सं. १९९१ देखि प्रारम्भ भएको ‘शारदा’ मासिक पत्रिकादेखि नै नेपाली हास्य व्यङ्ग्य साहित्यले मौलिक परिवर्तनको विशेष गति लियो । केशवराज पिँडाली र उनका दौतरीहरूका कलमबाट प्रभावपूणर् ढङ्गले जनजीवनको मन छुने र हृदय परिवर्तन गर्ने सामर्थ्य आफूमा अटायो। महाकवि देवकाटाका ’साँडे’ जस्ता कविता यस विधाले पाए पनि केशवराज र भैरव अर्यालका पक्तिमा उभिन सकेनन् । उनी महाकवि र विशिष्ट निबन्धकार बनेर अन्यत्रै उभिए ।
‘शारदा’ प्रकाशन पूर्वको समय हास्य व्यङ्ग्य साहित्यका लागि त्यति उपलब्धिमूलक रहेन । हास्य प्रधान फुटकर कवितामै त्यो युग सीमित रह्यो । शारदाको प्रकाशनपछि केशवराज पिँडाली, भैरव अर्याल, वासुदेव शर्मा लुइँटेल जस्ता विनोदप्रिय सर्जकहरूले यस विधालाई एक्कासि आधुनिक युगमा प्रवेश गराए । विशेषतः कवितामा छरिएर रहेको हास्यप्रधान कविताकी युगले व्यङ्ग्य प्रधान गद्याख्यानको बाटो समात्यो र उपविधाबाट विधाको रुपमा परिणत भएको अनुभव गरियो ।
प्राञ्जल भाषा, नयाँनयाँ चिन्तन र मौलिकताकासाथ यस क्षेत्रमा देखापरेको केशवराज पिँडाली (१९७१) समकालीन साहित्यकार तथा पछिल्ला पुस्ताका लेखकका निमित्त प्रेरणा- पुरुष बन्न पुगे । यस अन्तर्गत लेखिएका उनका ‘खैखै’, ‘फेरि उल्टै मिल्यो’, ‘व्यङ्ग्यैव्यङ्ग्य’, ‘प्रसन्न हुनुहोस्’ जस्ता कृतिहरूले उनलाई मात्र उठाएनन् यस फाँटका अनुयायीहरूलाई पूणर्रुपले अभिप्रेरित तुल्याए । उनीबाटै नेपाली हास्यव्यङ्ग्य साहित्यको नयाँ र भरपर्दो संसार शुरु भयो । प्राथमिक पाठशालादेखि विश्वविद्यालयसम्मका विद्यार्थीहरूले हास्यव्यङ्ग्य साहित्यको स्वाद ग्रहण गरे। मलाई लाग्छ- उनकै संसर्गले भूतको भिनाजु अर्थात् वासुदेव शर्मा लुइँटेल (१९७४) जन्मिए र कौवा प्रकाशन मार्फत उनका ‘भीमसेनपाली’ ‘भूत छैन’, जस्ता ओजपूर्ण कृतिहरू छापिए । त्यसपछि हास्यव्यङ्ग्य विचार होइन कलामा टल्कन्छ भन्ने सुप्रसिद्ध हास्य- व्यङ्ग्यकार भैरव अर्याल (१९९३) ‘काउकुती’, ‘जयभुँडी’, ‘गलबन्दी’, ‘इतिश्री’ दशावतार’, जस्ता कृक्तिहरूका साथ देखा परे । वियोग, विसङ्गति, विषाद, विरोधाभास जस्ता विभिन्न व्यथाले व्यथित जीवनमा हास्य नै एउटा त्यस्तो टनिक वा ट्राइकुलाइजर हो जसले मान्छेको शारीरिक र मानसिक स्वरुप विकसित र संयमित पार्न सहयोग गर्छ भन्ने धारणाकासाथ अगाडि बढे । आँसु पेलेर हाँसो निकाल्न सिके। हास्यमा व्यङ्ग्य मिसाएर मनोरञ्जनका साथसाथै सामाजिक सुधारका निमित्त कृतसङ्कल्पित बन्न पुगे ।
अब नेपाली हास्य-व्यङ्ग्य साहित्यले लोकरञ्जन र सामाजिक सुधारको अलग अलग बाटो अवलम्बन गर्यो । पूर्ण मौलिकताका साथ आफ्नो प्रतिष्ठा बढायो । अरु विधाका तुलनामा यो विधा बढी लोकप्रिय भएर आयो । साहित्यको मर्म नजान्ने वर्गका मानिस पनि हास्यव्यङ्ग्य साहित्य खोजीखोजी पढ्न थाले । मान्छेद्वारा मान्छेको शोषण र उत्पीडिन गर्ने धार्मिक, सामाजिक राजनैतिक, सांस्कृतिक र व्यवहारिक विक्ति र विसङ्गति विरुद्ध आक्रमणक शैलीमा व्यङ्ग्यकारहरू प्रस्तुत भए ।
यस्तै परिवेश र परिस्थितिमा घटोत्कच शर्मा अर्थात् बालमुकुन्ददेव पाण्डे (१९९३) ‘फाइफुट्टी राज’, ‘देव’, ‘वीरोचन’ जस्ता कृक्तिहरू लिँदै अगाडि आए । उनीबाट यस विधाको समुन्नतिका निम्ति कौवा प्रकाशनको स्थापना र २०१८ सालदेखि गाईजात्रा विशेषाङ्क (नयाँ समाज दैनिकबाट) निकाल्ने परम्पराको थालनी भयो । हास्यव्यङ्ग्य साहित्य पाठकको निमित्त सुरुचिपूर्ण, सरल, शिष्ट र लोककल्याणकारी हुनुपर्दछ भन्ने उनको मान्यता रह्यो ।
यसरी लहलहाएको हास्यव्यङ्ग्य साहित्यका उपवनमा अर्का प्रतापी पुरुष दीर्घबाहु उपनामधारी श्रीधर खनाल (१९९८) ‘नमरी संसार देखिन्न’, ‘उल्लीबिल्ली’, जस्ता कृतिहरूकासाथ देखा पर्दछन् । उनको दिनचर्या पनि व्यङ्ग्यात्मक शैलीको थियो । उनी हास्यको पर्दाभित्र व्यङ्ग्यलाई सजाएर हिँड्ने गर्थे । अन्य लेखकको तुलनामा हास्य व्यङ्ग्यकारको व्यक्तित्व बरेण्य रहन्छ भन्ने उनको धारणा थियो । उनले लेखकीय निर्भीकतालाई जोगाए । यिनै सन्दर्भहरूपछि नेपाली हास्यव्यङ्ग्य साहित्य दिनप्रतिदिन समृद्ध बन्दै गयो ।
‘च्याखे धर्ना’, ‘मिस्टर झप्पुसिंह’, ‘पुछारको पातो’ जस्ता व्यङ्ग्यविनोदी कृतिहरूका लेखक मोहनराज शर्मा (१९९७) सँगसँगै हास्य व्यङ्ग्य सम्राट रामकुमार पाण्डे (२००३)को उदय हुन्छ । कुशलतापूर्वक मानव सिर्जनाका सुन्दरम्पक्ष निर्माणमा हास्यव्यङ्ग्य सदासजग र सक्रिय रहन्छ भन्ने पाण्डेले ‘ख्यालख्याल’, ‘सञ्चै छ ?’ ‘खप्पर’, मोजगर्नाेस्’, ‘बाह्र मज्जा’, ‘बाबुको बिहे’, ‘सीङ न पुच्छर’, ‘रसरङ्ग’ ‘तालबेताल’, ‘एकसय एक हास्य व्यङ्ग्य’ जस्ता एक दर्जन जति कृतिहरू दिएर यस विधालाई सगरमाथाको शिखरमा पुयाइ दिएका छन् । उपहासको प्रधानता हुँदा हास्यको र कटाक्षको प्रधानता हुँदा व्यङ्ग्यको सिर्जना हुन्छ भन्ने विचारका धनी मोहनराज शर्मा भने यसलाई छुट्टै विधा मान्न तयार देखिदैनन् । उनको विचारमा यो अरु विधाको बुई चढेर आएको हुन्छ ।
यौनजनित नाङ्गो र गतिछाडा लेखनले आजको हास्यव्यङ्ग्यको हुर्मत लिइसकेको छ भन्दै छुट्टै अभिव्यक्ति प्रकट गर्ने श्याम गोतामे (१९९६)ले ‘मपाई’, ‘जदौ’, ‘कायेनवाचा’, ‘श्याम गोतामेका प्रतिनिधि हास्यव्यङ्ग्य’ जस्ता कृतिहरू दिएर यस विधालाई अगाडि बढाउन मद्दत पुर्याएका छन् । उनका व्यङ्ग्यात्मक विचारमा उनी स्वयं नै सर्वश्रेष्ठ हास्यव्यङ्ग्य साहित्यकार हुन् । उनी आफूबाहेक यो देशमा लेखक भन्न सुहाउने कसैलाई देख्दैनन् ।
केहीवर्ष अगाडि परलोक प्रस्थान गरेका सूर्यबहादुर पिवा (१९८४) ले पनि ‘मास्टर साहेब’, ‘घुएँत्रो’, ‘झटारो’ जस्ता कृतिहरू लेखेर यस विधालाई मलजल पुर्याए भने देशमा भद्रगोलतन्त्रको बोलवाला भएको बेला हास्यव्यङ्ग्य साहित्यले मौलाउने अवसर पाउँछ भन्ने हरिवन्दी (२००१) ले ‘आफ्नो आफ्नो महाभारत’, ‘उल्टोपट्टि’ जस्ता कृतिहरू दिएर विशेष योगदान पुर्याए । मुकुन्द आचार्य (२००१) ले ‘विगत र वर्तमान’, ‘नेताको रूपलाई चुरोटको धूप’ जस्ता कृतिहरू लेखे । व्यङ्ग्य लेखनमा हास्यको मात्रा मिसाउन सकियो भने चोटको पीडा बोध कम हुन्छ भन्ने विश्व शाक्य (२००६) ‘कृष्णउवाच’, ‘कस्तो गधा रहेछ’ जस्ता कृति लेखेर चर्चामा आए । मानवीय दुर्बलता र विसङ्गगतिको अन्वेषण र उद्घाटनको माध्यमलाई व्यङ्ग्य गर्ने चोलेश्वर शर्मा (२००२) ले जो ‘म त अप्रिल फूल भएछु’ भन्ने व्यङ्ग्य कृति लेखे । समाजवादी र मानवता ‘म त अप्रैल फूल भएँछु’ भन्ने हास्यव्यङ्ग्य कृक्ति लेखे । समाजवादी र मानवतावादी तत्वदर्शनबाट हास्यव्यङ्ग्यकला निःसृत हुन्छ भन्ने नरेन्द्रराज पौडेल (२००६) ‘घरभित्रको गाईजात्रा’, ‘बिहेको निम्ता’, ‘मङ्की स्टेट याने वानर राज्य’ जस्ता कृतिहरू लेखेर स्थापित भए ।
एउटा व्यङ्ग्य लेखकभित्र सिर्जनशील अनुभूति हुन्छ, सत्यको आग्रह र इमान्दारीपन रहन्छ, उसको लक्ष्य भनेकै मानव मनको फोहोर मैला सफा गरेर समाजलाई सुन्दर र व्यवस्थित पार्नु हो भन्ने अभिव्यक्ति दिने उत्तमकृष्ण मजगैयाँ (२००९) ले ‘जय अवसरवाद’, ‘धरोधर्म हजुर’, ‘गृहलक्ष्मी भित्र्याएपछि’, ‘सुनको फूल पार्ने पोथी’ जस्ता कृतिहरू अगाडि सारेर सामाजिक उत्तरदायित्वको पूर्णबाेध गरे । हास्यले ठट्टा, मस्करी र मनोरञ्जनकै भाव प्रस्तुत गर्छ भने व्यङ्ग्यले चाहिँ सुधारको भावना प्रतिविम्बित गर्छ भन्ने विचारलाई अगाडि बढाए । व्यक्तिको बदमासी, पाखण्डीपन, बेइमानी, धोका, द्वैधचरित्र, छलकपट, विश्वासघात, अन्याय आदिका विरुद्ध व्यङ्ग्य साहित्य लेख्लेर व्यङ्ग्यमा हास्य मिसाउन नचाहने विमल निभा (२००९) ‘चौथो कालमकै’ भरमा उठेका छन् । हास्यव्यङ्ग्य साहित्यले आनन्द र, आकाङ्क्षालाई जोड्छ भन्ने ‘खुर्सानी पुराण, खुच्चिङ’ जस्ता चर्चित कृतिका लेखक विष्णु प्रभात (२००९) रोचक घोचक अभिव्यञ्जनामा केही सन्देश सम्प्रेषण गर्दै भाव र शिल्पको एकात्मकतामा मानवीय दुर्गुण सामाजिक दुराचार र बेढङ्गीपन माथि प्रहार गर्नु हास्यव्यङ्ग्यको प्रयोजन बताउँछन् भने ‘आधुनिक नेपाली हास्यव्यङ्ग्य’का सम्पादक भाउपन्थी (२००१) ‘चोर । चोर’ नामक कृतिकै भरमा उठे । उनका विचारमा हास्यले सामाजिक मनोकुष्ठाको उपचार गर्छ भने व्यङ्ग्यले समाज र व्यक्तिमा सत्यताको विकास गर्छ । यसैक्रममा हास्यव्यङ्ग्यले मुर्दा हाँसोलाई मनपराउँदैन जीवन्त हाँसो र सङ्गतिपूर्ण जीवनलाई आफ्नो अभीष्ट मान्दछ भन्ने नरनाथ लुइँटेल (२०१६) ‘छेपन’, ‘सीङ न पुच्छर’, ‘चम्चा चिन्तन’ जस्ता लोकप्रिय कृतिहरूका माध्यमले स्थापित भएका पाइन्छन् । ‘माननीय बनौट’का राजव (२०११) र ‘सफलताका तीन मन्त्र’ भित्रका मुन पौडेल (२०१२), ‘चट्याङगीता’ का चट्याङ मास्टरलाई पनि यस क्रममा बिर्सन मिल्दैन ।
व्यङ्ग्य प्रधान निबन्ध र कविताहरू लेखेर आफ्नो निजत्व ग्रहण गरिसकेका अम्बरप्रसाद रिजाल (२०००) ‘बुझ्नु भो ?’, ‘बाँसघारी’, ‘रोडम्याप’, ‘यात्रैयात्रा’, ‘महासङ्कल्प’, ‘कालीपोके राजनीति’, ‘नेताका आँखामा’, ‘एक दर्जन निबन्धसङ्ग्रह’ जस्ता लोकप्रिय कृतिहरू दिएर यस विधाको शिखरमा चढिसकेका छन् । नेपाली भाषाको प्रवृत्ति विरोधी लेखनले प्रोत्साहन पाउनु हुँदैन भन्ने मान्यताका साथ अगाडि बढेका पूर्वका मोतीराम मानिएका चूडामणि रेग्मी (१९९३) को ‘गजवाष्टक’ले उनलाई हास्यव्यङ्ग्य विनोदी लेखकको रुपमा परिभाषित गरेको छ । ‘साँढेको दाइँ’ नामक हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहले जुरुक्कै उठेका विवश पोखरेल (२०१५) को व्यङ्ग्य विनोदी कलम रसिलो र मलिलो छ । ‘लक्ष्मणका कुतकुती’ लेख्ने लक्ष्मण नेवटियाको कलम पनि यस विधाको समुन्नतिमा प्रयत्नशील रहेको पाइन्छ ।
यसरी समुन्नत बन्न पुगेको नेपाली साहित्यको हास्यव्यङ्ग्य विधालाई ’संज्ञा सर्वनाम’का धनुषचन्द्र गौतम (१९८९), जस्ता मूर्धन्य स्रष्टाहरूको लगानी पनि अतुलनीय रहेको छ। यसका अतिरिक्त हास्य कम र व्यङ्ग्य बढीका दृष्टिले निरन्तर कलम चलाएर यस विधालाई उचाइमा पुऱ्याउन प्रयत्नरत साहित्यकार तथा कलाकारहरूमा दाताराम शर्मा, प्रेमराज पौडेल, गोपालराज पन्त, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सन्तोष पन्त, खगेन्द्र सङ्ग्रौला, गोपालराज मैनाली आदि अग्रपङ्क्तिमा रहेका पाइन्छन् । यिनीहरूमध्ये महजोडी र सन्तोष पन्तको अभिनय कलाभित्रको लोकप्रियतालाई आकलन गरेर सकिने अवस्थै छैन ।
हाउडी पुराण (२०५२) का कोमलप्रसाद पोखरेल अपराजय कटाक्ष (२०५८) का रोहिणीविलास लुइँटेलले र ‘घाम पानी’ को डम्बर घिमिरेले हास्यव्यङ्ग्य भरिएको कलम समातेपछि समाजका असङ्गति एवं विकृतिहरू धर्मराएका छन् । उहाँहरू यस फाँटमा शाश्वत सत्य रहेको अनुभूति गर्नुहुन्छ । आज समाचारपत्रहरूले व्यङ्ग्यस्तम्भ आदि सञ्चालन गरेर यस क्षेत्रलाई मर्यादित गर्न थाले पनि हास्यव्यङ्ग्य एउटा स्वतन्त्र विधाको रुपमा अगाडि बढ्न सकेको पाइँदैन । तथापि हास्यको अभीष्ट मनोरञ्जन र व्यङ्ग्यको अभीष्ट समाज सुधारका कुराहरूले पाठकहरूको मनलाई आकर्षित तुल्याउन थालेको कुरालाई हामी नकार्न सक्दैनौँ । बृहतत्रयी व्यङ्ग्यकार अर्याल, पिँडाली र लुइँटेलको वर्चश्व भने दिनानुदिन चुलिँदो छ । त्यस कारण नेपाली हास्यव्यङ्ग्य दिनानुदिन लोकप्रियतातर्फ अभिमुख बन्दै अगाडि बढिरहेको छ भन्नुमा अत्युक्ति नहोला ।
आधुनिक हास्यव्यङ्ग्य साहित्यको उर्वरभूमिलाई विशेष मलजल गरेर स्वर्णाक्षरले आफ्नो नाम अङ्कित गर्न सफल यस विधाका अन्य उल्लेख्य सर्जकहरूमा प्रेमराज पौडेल, भीमप्रसाद लामिछाने, विष्णु, नवीन, रमेश विकल, अनङ्गनाथ पौड्याल, कुलचन्द्र कोइराला, कृष्णप्रसाद चापागाई, कृष्णप्रसाद बाँस्तोला, कलाप्रेमी श्रेष्ठ, कोमलप्रसाद पोखरेल, कपिल काफ्ले, खेममणि काफ्ले, चूडामणि खनाल, चन्द्रमान बज्राचार्य, तिलकराज शर्मा पौडेल, तीर्थ भण्डारी, प्रकाशप्रेमी, प्रेम थापा, भोगेन्द्र बस्नेत, राजेशमान सिंह, राजेश्वर देवकोटा, विपिनदेव ढुङ्गेल, श्यामबहादुर लामा, शङ्कर कोइराला, होम सुवेदी, धीरेन्द्र प्रेमर्षि, विकास थापा, रघुनाथ लामिछाने, विमल भौकाजी, रमेशराज पन्त, रमेश खकुरेल, नरदेव, ठाकुरप्रसाद कुसुम, लक्ष्मण गाम्नागे, डम्बर घिमिरे, लावण्य सापकोटा आदिलाई पनि सन्दर्भमा बिर्सिहाल्न मिल्दैन । अझ के भन्न सकिन्छ भने जसरी आख्यान विधाभित्रका कथा र उपन्यासले विभिन्न साहित्यकारका संघर्ष र प्रयत्नले दुई विधागत मान्यता प्राप्त गर्ने सफलता प्राप्त गरे त्यसरी नै उल्लिखित साहित्यकारको सिर्जनशील निरन्तरताले हास्यव्यङ्ग्य साहित्यले पनि विधागत मान्यता पाउनुपर्दछ भन्ने अभिमत व्यक्त गर्न सकिन्छ ।
हाँस्नु स्वास्थ्यका लागि पनि अति उपयोगी छ भनी चिकित्सकहरूले सुझाव दिन थालेको वर्तमान सन्दर्भमा पवित्र र चोखो हास्यलाई ईश्वरको वरदान ठान्न थालिएको छ । जो मान्छे पवित्र भावले दिनमा एकदुईपल्ट दिल खोलेर हाँस्तछ त्यो मान्छे सदा निरोगी रहन सक्तछ । यस दृष्टिबाट पनि हास्यव्यङ्ग्य साहित्य दिनप्रतिदिन लोकप्रिय बन्दैछ भन्नुमा अतिशयोक्ति नहोला ।
प्रारम्भमा क्षणिक मनोरञ्जनका निमित्त हास्यप्रधान रचनाहरू लेखिन्थे भने आज आएर सामाजिक सुधारका निमित्त व्यङ्ग्य प्रधान रचनाहरूले थालियो । त्यसैले यसको उद्देश्यमा समेत परिवर्तन आएको छ यसले विधागत मान्यता पाएको छ । सिर्जनात्मक साहित्यभित्र राम्ररी अटाएको छ ।
अन्त्यमा आजका सबै क्षेत्रका मानिसमा देखापर्ने वचन र व्यवहारको विभेद, आचार र व्यवहारमा देखिएको विक्ति र विसङ्गतिलाई केलाउन र उनीहरूलाई फर्काएर सत्य र न्यायको मार्गमा हिँडाउन आजको नेपाली हास्यव्यङ्ग्य साहित्य सङ्घर्षरत रहेको पाइन्छ । विकृति र विसङ्गतिको चरमोत्कर्षमा पुगेको आजको व्यक्ति र समाजलाई अथवा हाम्रो सामाजिक परिवेशलाई तत्क्षणै सत्य र न्यायको मार्गमा हिँडाइहाल्न त्यति सजिलो छैन तथापि यस क्षेत्रले जुन प्रयत्न गरेको छ त्यो प्रशंसनीय छ ।
०००
विराटनगर- ४,
‘नवरङ्ग’ (२०६४)
Subscribe
Login
0 Comments
Oldest