साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कलाका त्रिवेणी डम्बर घिमिरे

व्यङ्ग्य-विनोदी सर्जक डम्बर घिमिरेको शिल्पसौन्दर्य अन्त्यन्तै सरल र स्वादिष्ट रहेको पाइन्छ । उनी सङ्लो तलाउमा पूर्वका जून जस्तै मनमोहक देखिन्छन् । उनले प्रहार गरेका व्यङ्गवाणले जस्तै कठोर, क्रूरदमनको पापी मानिस पनि आहत हुन्छ ।

Nepal Telecom ad

दधिराज सुवेदी :

काँधमा साधारण सानो झोला, झोलामा केही कागजपत्र अनि कविताहरू कोरिएका कपी, गोजीमा साधारण कलम, टाउकामा पसिनाले भिजेको पुरानो टोपी र शरीरमा रङ उडेर पुराना जस्ता देखिने सर्टपेण्ट लाएर पोखरा र बाग्लुङ, वीरगञ्ज र दमौली, इलाम र सिक्किम जहाँ जहाँ साहित्य सम्मेलन, कविगोष्ठी आदि हुन्छन् त्यहाँ त्यहाँ उपस्थिति जनाएर हास्य-व्यङ्ग्य मिश्रित कविता, मुक्तक, कथा र टुक्काहरू सुनाउँदै, रमाउँदै, नाच्दै र गाउँदै हिँड्ने विनोदी व्यक्तिको साहित्यिक नाम हो डम्बर घिमिरे ।

वि.सं. २००२ मा खोटाङ् रावाखोला हौँचुरमा जन्मिएर स्नातकतहसम्मको शिक्षा पूरा गरी माधुरीका साथ वैशवसन्त बिताउँदै झापाको धरमपुरमा बसोवास गर्न आइपुगेका यी विनोदी व्यक्तिले शिक्षण पेशामा संलग्न रहँदारहँदै सिर्जनशील व्यक्तित्व बनाउने सफलता पनि प्राप्त गरेका छन् ।

हास्य व्यङ्ग्य लेखन र प्रस्तुति कलाका पारखी घिमिरेले ‘भीष्म प्रतिज्ञा’ कवितासङ्ग्रह (०५१), ‘घामपानी’ हास्यव्यङ्ग्य मुक्तकसङ्ग्रह (२०६०), ‘तीतोपीरो’ एल्वम (२०५७) र ‘धर्मकुमारी- स्मृति’ खण्डकाव्य (२०६५) प्रकाशनमा ल्याएर आफूलाई स्थापित गरिसकेका छन् । मोती माध्यमिक विद्यालय, धरमपुर झापाको दीर्घसेवाबाट निवृत्त यी पौरखी पुरुषले त्यहीँ सेवारत रहँदारहँदै आफू पनि उठेका छन् र घरमपुरलाई पनि उठाएका छन् । आजभोलि विराटनगर-१६ मा स्थायी वसोवास गर्न थालेका व्यङ्ग्य-विनोदी घिमिरेलाई धरमपुरले विर्सेन भने भोलि उनले चिनेको चौतारामा उनकै सालिक ठड्याएर गुन तिर्ने छ । नत्र धरमपुर कहिल्यै उऋण बन्ने छैन ।

जागिरे नाम डम्बरप्रसाद घिमिरे भएपनि डम्बर घिमिरे, गगन भुवन, हौँचुरे कान्छो, विश्वब्रह्माण्डको सोझो, धरमपुरका अण्याक बूढा जस्ता उपनामद्वारा नेपाली साहित्य सन्सारमा चिनिएका यी रसिक व्यक्ति सधैँ प्रसन्न मुद्रामा रहेर सकारात्मक सोचकासाथ चिन्तन गरिरहन्छन् । उनी अर्कालाई अप्रिय लाग्ने बोली बोल्दैनन् । लक्षणा र व्यञ्जना मिश्रित बोलीहरू बोलेर सधैँ हँसाइ-रहने कलाकार हुन् । उनका बोलीमा मिठास र प्रस्तुतिमा अभिनय कला छ । त्यसैले उनी सबैका प्रिय छन् र उनलाई अजातशत्रु भने पनि हुन्छ ।

धरमपुरको धन्सार ‘नवरङ्ग साहित्यिक प्रतिष्ठान’ हो । यसका प्रमुख निर्माता यिनै डम्बर घिमिरे हुन् । वि.सं. २०४९ सालमा यिनैको अध्यक्षता र सक्रियतामा स्थापित यस प्रतिष्ठानले १५ वर्षको छोटो अवधिमै यस धन्सार भित्र साहित्य, संस्कृति र कलाका अनमोल सम्पत्ति भित्र्याउने सफलता प्राप्त गरेका थिए । मलाई लाग्छ-धरमपुरको यस प्रयत्नले राजधानीवाद केन्द्रित सिर्जनशीलतालाई विकेन्द्रित गर्न र प्रवासमा छरिएर रहेका विचारलाई समेट्न सजिलो भएको छ । मैले राष्ट्रकवि माधव घिमिरे, प्रज्ञाप्रतिष्ठानका तत्कालीन उपकुलपति मदनमणि दीक्षित, भाषाशास्त्री बालकृष्ण पोखरेल, कथाकार देवकुमारी थापा आदि सिर्जनशील व्यक्ति र मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, वसुन्धरा भुसाल, चट्याङ माष्टर, कोमल वली जस्ता कलाकर्मीहरूले धरमपुरको पूजा गरेको देखेको छु। पूजाको प्रवन्ध मिलाउने पुजारी यिनै डम्बर घिमिरे थिए ।

जीवन हाँस्न, हँसाउँन र रमाउँनका लागि भन्ने कुरा राम्ररी बुझेका घिमिरेले धरमपुरको विरसिलो गाउँलाई रसिलो बनाउन जीवन अर्पण गरेका छन् । वर्षैपिच्छे देश विदेशका ठूलाठूला साहित्यकार, कलाकार, विचारवान् व्यक्तिहरू भेला गराएर कहिले कविता महोत्सव, कहिले कला महोत्सव, कहिले हास्य-व्यङग्य महोत्सव र कहिले आख्यान महोत्सव मनाउँदै धरमपुर बासीलाई आनन्द विभोर तुल्याउने यी सफल संयोजकले हरेक पटक पाँच हजारदेखि २५ हजारसम्म मानिस भेला गरेर आफ्नो संगठनात्मक सफलताको परिचय दिएको पाइन्थ्यो ।

लोकनृत्य, लोकदोहोरी, लोकगीत, लोकवाजा र लोकखाजा आदिको विशेषता रहेका ती जमघटहरूमा कुन दर्शकको मन रमाएन होला । मलाई लाग्छ धरमपुर अथवा डम्बर घिमिरेको विशेषता नै लोक संस्कार एवं संस्कृति हो । जसले समाजलाई मौलिक रूपमा बचाइ राखेको हुन्छ । जुन समाजमा आफ्नो मौलिक संस्कृति र संस्कार हुँदैन त्यो समाजले पूणर्ता प्राप्त गर्न सक्दैन । यस मामलामा डम्बर घिमिरेको धरमपुर धेरै अगाडि रहेको अनुभव गरेको छु । धरमपुरकै संस्कृतिलाई आत्मसात् गर्दै विराटनगर बस्न आइपुगेका उनका परिवारले आनन्दपूर्वक लोकदोहोरी गाएर घिमिरेकै छोरा मनोजको विवाहमा रमाइलो गरेको पनि मैले देखेको छु ।

नराम्रा अक्षर, राम्रो वानीव्यहोरा, जहिले जहाँ पनि पुग्न सक्ने फूर्तिला, रसिला, रमाइला, छरिता, मृदुस्वभाव भएका डम्बर घिमिरे थोरै लेख्छन् तर चोटिलो लेख्छन् । गोष्ठीहरूमा उनको नाम उच्चारण भएपछि अब हाँस्न पाइने भयो भनेर श्रोताहरू रमाउँछन् । ‘वान्स् मोर’ भन्दै फर्माइस गर्छन् । हँसाएर श्रोतालाई आनन्द दिनु र तीखा व्यङ्ग्यवाण प्रहार गरेर जाली फटाहाहरूको हुर्मत लिनु यिनको सिर्जनात्मक शिल्प हो । त्यसैले झापाका डम्बर घिमिरेलाई सबैले आफ्नो ठान्दै खोकिलामा राख्न चाहन्छन् । उनले आर्जन गरेको सम्पत्ति नै यही हो । अब उनले लेखेको ‘धर्मकुमारी-स्मृति’ नामक खण्डकाव्यको सेरोफेरोमा रहेर डम्बर घिमिरेका काव्य-शिल्पको मनन गरौँ ।

धर्मकुमारी अर्थात् कवि डम्बर घिमिरेकी ममतामयी सासू, जसबाट कविका जीवनक्रमलाई सरल, सुगम र सहज तुल्याउन आजीवन प्रयत्न भएको थियो, त्यस्ती कर्मदायिनीमाता र अन्य नातेदारका स्मृतिमा लेखिएको यस काव्यले पाठकका मनमा पूर्वस्मृति, श्रद्धाञ्जलि र प्रेरणाका प्रसङ्गहरू त्रिवेणी बनेर प्रस्तुत भएका छन् । हामी जिज्ञासु बनेर यसका सङ्गममा उभिनेछौँ । त्यसपछि हाम्रो मन, शरीर र सङ्कल्पले शुद्धता प्राप्त गर्ने छ । अनि हामी लहडी डम्बर घिमिरेका पदचापको अनुसरण गर्ने जमर्को गर्ने छौँ ।

झापा धरमपुरका डम्बर घिमिरे विशाल हृदय वोकेका उदारमना कवि, कलाकार, व्यङ्ग्यकार, निबन्धकार एवं मेची-महाकालीलाई एकै ठाउँ मिलाउन सक्ने कुशल संयोजक पनि हुन् । उनले धरमपुरीका विपन्न काखमा बेलाबेलामा मधेश, पहाड, हिमाल र भारतका समेत भूपति, उपकुलपति, धनपति, मनपति, रसपति, बसपति, सम्पन्नमति, विपन्नमति आदि सबै वर्गका मानिसलाई उपस्थित गराएर अनेकौँ महोत्सव मनाए, सांस्कृतिक र साहित्यिक सन्ध्या जगाए, चिन्तनधारा वगाए अनि थोरै भएपनि भाषा, साहित्य, संस्कृति, कला र ज्ञानविज्ञानका क्षेत्रमा योगदान दिए । उनी मरे पनि उनले जन्माएर हुर्काएका “नवरङ्ग” आदि नाम गरिएका सन्तानले दिग्दिगन्त ढाक्नेछन् । सत्य अमर हुन्छ, उसले मर्नु पर्दैन। नवरङ्ग सत्य हो, त्यसैले ऊ सधैँ बाँचिरहन्छ, डम्बर घिमिरेको आलोक बनेर चम्किरहन्छ ।

कर्म गरिन्छ, गर्नुपर्छ तर धेरै कर्मकारहरू कर्मको मैदानमा डम्बर घिमिरे बन्न सक्दैन् । काँधमा झोला र खुट्टामा धरमपुरे धूलो ककटिएका फाटेका जुत्ता, चप्पल लगाएर धरमपुरकै माष्टरी र विभिन्न ठाउँमा हुने साहित्यिक र सांस्कृतिक गोष्ठीहरूमा प्रतिनिधित्व गर्दै हाँस्दै र हँसाउँदै हिड्ने डम्बर घिमिरे एकमात्र छन् । उनी आफू सकिएर अरुको उपकारमा समर्पित हुने मोमबत्ती हुन् । हामी उनका प्रकाशमा रमाउँछौ, नाच्छौँ र हाँस्छौँ । उनी क्रमशः व्यष्टिबाट समष्टितर्फ उक्लदै गरेको अनुभव गर्छौ । भोलि उनी एक्लै सांस्कृतिक संस्थान र प्रज्ञा प्रतिष्ठान बन्न सकून्, उनको टोपी सगरमाथा बनोस् यही हाम्रो शुभेच्छा छ ।

शब्दबमको आराधना गर्दै मनमन्दिरकी ममतामयी मातालाई भावपुष्पाञ्जलि अर्पण गर्ने कवि घिमिरेद्वारा विरचित यो काव्य कवि जत्तिकै सरल र मिठासपूणर् छ । उनका अगाडि शब्दब्रम्ह वैँशालु बनेर छमछम नाच्छन् । उनको पुरुषार्थ देखेर हाँस्छन्, रमाउँछन् र भन्छन्- कर्म गर, सङ्घर्ष गर, पुरुषार्थ गर, केही न केही गर, चुप लागेर नबस । यसै दर्शनमा कवि डुबेका छन्, रमाएका छन् र अल्छे एवं निरुद्यमीलाई प्रोत्साहित गरिरहेका हुन्छन् । उनका उत्साह, उमङ्ग र स्फूर्तिको मुक्तकण्ठले प्रशंसा गर्नैपर्ने हुन्छ । अनि भन्न मन लाग्छ-शिवस्ते सन्तु पन्थानः ।

“तिमी नै हौ वेद पुराण
तिमी नै हौ वेदव्यास
तिमी नै त बाल्मीकि हौ
तिमी नै हौ कालिदास”

भन्दै शब्दब्रह्मको आराधनाबाट प्रारम्भ भएको यो वंशवृत्त खण्डकाव्य कविका नातागोता आफन्त र बन्धुबान्धवको कैरन कहन ता सक्षम छ नै उनको काव्यिक प्रतिभा प्रस्तुतिका निमित्त पनि समर्थवान् रहेको अनुभव हुन्छ । जन्मभूमिको अर्चना, संस्कृति र प्रकृतिको बन्दना जस्ता सुकर्महरू गरेर मात्र वंशवृत्त केलाउन थाल्ने यी कविलेः-

“यस्तै भाव धरी म लेख्छु जसरी जस्तो भए तापनि
आमाका इतिहासको कलम ली सङ्कल्प लेखेँ अनि
भाषा, शब्द र कल्पना सुरसिला माधुर्यको भो कमी
यस्तै भो जति भो, जसो जसरी भो अर्पण गरें लौ ममी !”

भन्दै माता धर्मकुमारीका पाउमा यो काव्य अर्पण गरेका छन् । कविले माधुर्यको कमी भयो भने पनि हामीलाई त्यस्तो अनुभव हुँदैन । सरल भाषा, मीठो शैली, सुन्दर अभिव्यक्ति भएका कारणले शास्त्रीय छन्द पढ्न जान्नेका लागि यो काव्य मनमोहक सावित हुनसक्तछ ।

काव्यले कविको पहिचानका साथसाथै उनका नातेदारको चिनारी पनि दिएको छ । यसरी आफ्ना परिवार तथा नातेदारहरूको परिचयकासाथ तयार पारिएको काव्य प्रकाशनमा ल्याउनु कविको उदारता हो ।

शास्त्रीय छन्दमा लेखिएको यस काव्यमा काव्यशिल्प कम र वंशवृत्त बढी छ । यसले धेरथोर सामाजिकशास्त्रको काम पनि गर्ने छ । मृत्युसंस्कारका समयमा हामीले प्रयोग गर्ने-शोला, टीलो, बुर्की, चुने, किरिया, पिण्ड, अर्थी, कात्रो, ढिकुरो, धरो, थलो, कफन आदि झर्रा शब्दहरू सविस्तार प्रयोग गरिदिनाले आजका नौजवानहरू (जो यस्ता शब्द र तिनका अर्थको ज्ञान कम राख्छन्) का लागि जिज्ञासाको विषय र उपयोगी बन्न सक्तछ ।

काव्य शहरमाभन्दा ग्रामीण परिवेशको सभ्यता र संस्कृतिसँग धेरै नजिक हुन पुगेको छ । कविको धरमपुर पनि गाउँ हो र त्यहाँ अझै पनि मालसिरी गीत गाइन्छ, नौमति बाजा बजाइन्छ । अझ कविमा पहाडको संस्कार र सभ्यता सुरक्षित रहेको छ । नत्र आज मधेशमा बसेर बितेका सासूससुराको विहेको चिन्तन गर्नुपर्ने कुनै आवश्यकता थिएन । त्यो सभ्यता, त्यो संस्कार र त्यो संस्कृति आजको पुस्तालाई ज्ञान गराउनु कविको अभीष्ट हो। यस अर्थमा कवि पूणर् सफल भएका छन् भन्ने कुरा काव्य पढेर अनुभव गर्न सकिन्छ ।

मानिसमा जे संस्कार हुन्छ त्यो प्रायशः वंश परम्पराबाट आएको हुन्छ । त्यसैले बूढापाकाहरू “मानिस रोज्नु कुलको, पानी खोज्नु मूलको” भन्ने आहान गर्छन् । उनका ससुरा शेषराज, सासू धर्मकुमारी दुवै कुलीन थिए र नै ज्याइ डम्बर घिमिरेलाई मूलको पानी पिलाए । त्यसैको उपज हुनसक्छ यो काव्य । जसले काव्यकलाका अतिरिक्त पारिवारिक परिचय दिने प्रयत्न गरेको छ ।

आफ्नो राष्ट्र, आफ्नो संस्कृति, आफ्नो साहित्य, आफ्नो भेषभूषा, आफ्नो बोली, आफ्नो रहन सहन र आफ्नो परिवेश अँगाल्दै आएका अनि साहित्य, संस्कृति र समाजका निमित्त समर्पित घिमिरेले के गरे के गरेनन् भन्दा पनि धरमपुरमा ‘नवरङ्ग’ नामक संस्था स्थापना गरेर धेरै गरे । सानो गाउँमा सिङ्गै राष्ट्र उतारेर राष्ट्रियध्वजा फहराए । “नवरङ्ग” का अपत्यारिला अङ्कहरू निकालेर नेपाल प्रज्ञा प्रतिष्ठानलाई चुनौती दिए । मेची महाकाली सल्बलायो, तर्नेहरू पार भए, हामी रमायौँ ।

काव्यकार घिमिरे जति सरल र सुगम छन् उनको यो काव्य पनि त्यति नै सरल र बोधगम्य छ । मङ्गलाचरणका रूपमा देखापरेका शब्दब्रह्म, धर्तीअर्चना र संस्कृति बन्दना उत्कृष्टमात्र होइन नेपाली स्वाभिमानलाई जुरुक्क उठाउने तागतदार पनि छन् । सम्पूणर्मा भन्नुपर्दा कवि घिमिरेले आफ्नो कलाकौशल यस काव्यमा देखाउने प्रयत्न गरेका छन् । उनका कोमल भाव, राष्ट्रिय चिन्तन, सुबोध काव्यकला, सरल भाषा र सुन्दर शैली जस्ता कुराले काव्य मनमोहक बन्न पुगेको छ । मलाई लाग्छ- पारिवारिक परिचयका क्रममा अरुसँग यो काव्य पौठेजोरी खेल्न सवल र सक्षम छ ।

अन्त्यमा व्यङ्ग्य-विनोदी सर्जक डम्बर घिमिरेको शिल्पसौन्दर्य अन्त्यन्तै सरल र स्वादिष्ट रहेको पाइन्छ । उनी सङ्लो तलाउमा पूर्वका जून जस्तै मनमोहक देखिन्छन् । उनले प्रहार गरेका व्यङ्गवाणले जस्तै कठोर, क्रूरदमनको पापी मानिस पनि आहत हुन्छ । मेची, महाकाली र प्रवासलाई आफ्नै भावनाभित्र बटाएर राष्ट्रियताले भरिपूणर् ‘नवरङ्ग’ को सङ्गठनभित्र एकाकार गर्दै अगाडि बढ्न सफल घिमिरेको दूर भविष्य सुन्दर देखिएको छ । देशविदेशका २७० जना विचारवान् विद्वानका विचारहरूलाई समेटेर ५७० पृष्ठको ‘नवरङ्ग’ प्रथम अङ्क, १९८ लेखकहरूका विचारलाई समेटेर तयार पारिएको दोस्रो अङ्क र १५० विद्वानहरूलाई समेटेर निकालेको हास्य-व्यङ्ग विशेषाङ्कको रूपमा छापिएको तेस्रो अङ्कको अवलोकनले उनको सम्पादन कलालाई उजिल्याएको छ । सम्पूर्ण भन्नु पर्दा डम्बर घिमिरे एक्लै सिङ्गो संस्था हुन् । उनका प्रयत्नले धरमपुर उठेर सगरमाथा चढन सफल भएको छ । कवि घिमिरे राष्ट्रिय ध्वजा फर्फराइ रहेकाछन् । पूर्वको लालिमाले घरमपुरको आलोक छरिरहेका छन् । अस्तु ।

०००
नेपाली साहित्यका मुस्कानहरू (२०६९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x