व्यङ्ग्यविनोदी कवि लक्ष्मण नेवटियाको काव्यकला

उनी देखेको र भोगेको कुरा लेख्छन् र पाठकहरू उनलाई मन पराउँछन् । जसलाई लक्ष्य गरेर व्यङ्ग्यवाण गरिएको हुन्छ त्यसले मुटुलाई चस्स घोच्छ नै तर अरूलाई आनन्द लागिरहेको हुन्छ ।

जो सधैँ प्रसन्न चित्तका साथ आफू पनि हाँस्छ र अरूलाई पनि हँसाइरहन्छ, जो सामाजिक विषमताप्रति देख्नासाथ तीखो व्यङ्ग्य प्रहार गर्दछ । जो कविता मुक्तक, हाइकु र मीठा मीठा चुट्किलाहरू लेखेर कहिल्यै थाक्दैन । जो कार्यकारणले पराधीन भए पनि सधैं स्वतन्त्र भएर बाँच्ने प्रयत्न गर्दछ त्यस्ता व्यङ्ग्यविनोदी व्यक्तिको नाम हो- लक्ष्मण नेवटिया ।

नेपाली मातृभाषा नभएका मारवाडी समुदायका यी साहित्यकार विराटनगरमा जन्मिएर विराटनगरमै हुर्किएर नेपाली भाषा र साहित्यको सेवामा समर्पित रहँदारहँदै ‘लक्ष्मणका कुतकुती’ (कवितासङ्ग्रह) २०३९, ‘थोपाथोपा जिन्दगी’ (हाईकुसङ्ग्रह) २०६३, ‘अमृतगीता’ (श्रीमद्भागवत गीताको सरल पद्यानुवाद) २०४७, जस्ता महत्वपूणर् कृति लोकार्पण गरेर साहित्यकारहरूका पङ्क्तिमा उभिन सफल, सामाजिक सुधारका निमित्त सधैं सचेष्ट रहने यी सृजनशील व्यक्ति मूलतः कवि हुन् मारवाडी, हिन्दी र नेपाली भाषामा सरल तरिकाले कलम चलाउन सक्ने यी कविका ‘लक्ष्मणका ढुक्ढुकी’ र ‘लक्ष्मणका व्यङ्ग्य व्यथा’ नामक काव्य कृतिहरू चाँडै प्रकाशनमा आउने स्थितिमा पनि रहेका छन् । यिनै प्रकाशित अप्रकाशित कृतिहरूको विहङ्गावलोकन गरेर यो सूत्र समालोचना तयार गरिएको हो, जसमा व्यङ्ग्यविनोदी लक्ष्मण नेवटियाको कवित्व कला केलाउने प्रयत्न गरिएको छ ।

हिन्दीमा प्रचलित कुण्डलीनी छन्द र हिन्दीकै व्यङ्ग्यविनोदी काका हाथरसी एवं शैल चर्तुर्वेदीहरूका पदचापलाई पछ्याउँदै नेपाली हास्यव्यङ्ग्यको मैदानमा दौडन सफल यी कविका नेपाली गुरुहरू केशवराज पिंडाली र भैरव अर्यालहरू हुन् भने रामकुमार पाण्डे र विष्णु नवीन समकालीन मित्रहरू हुन् । यसैले स्वदेशी र विदेशी मित्रहरूको प्रभाव र प्रेरणाले यिनको सिर्जनशीलता फस्टाएको छ । मलाई लाग्छ मोफसलमा बसेर साधनारत रहने व्यङ्ग्यविनोदी कविहरूमा प्रथम स्थान लक्ष्मण नेवटियाकै हुनुपर्छ । यिनी विराटनगरका स्थायी निवासी हुन् । यिनलाई राजधानीवादसँग मोह छैन । ‘युवा साहित्यिक समूह’को र ‘शनिवार साहित्यिक समूह’ को चौतारामा बसेर साहित्यको अभ्यास गर्दागर्दै नेपाली हास्यव्यङ्ग्य विधामा पारङ्गत बन्न सफल यी विनोदीकवि सामाजिक सुधारका निमित्त समर्पित साहित्यकार हुन् । यिनी जे लेख्छन, सामाजिक विषयकै वारेमा लेख्छन् । नेताले उपियाँ बनेर जनतालाई चुसेको देखेर अनि विदेशी भाषाको नक्कल गर्दै नेपाली भाषाप्रति अवहेलना बुझेर उनी यसो भन्छन्-
लक्ष्मण कुर्सीका उपियाँ दिनदिनै बढिरहेछन्
जनताको चिन्ता नगरी आपसमै लडिरहेछन्
लक्ष्मण नेपाली भाषामा छैन शब्दको कमी
आमा बाबालाई किन भन्छौ डैडी ममी
(लक्ष्मणको कुतकुतीबाट)

सरल भाषा, मीठो शैली, स्पष्ट अभिव्यक्ति र तीखो चिन्तन नेवटियाका कवित्व कला हुन् । उनी देखेको र भोगेको कुरा लेख्छन् र पाठकहरू उनलाई मन पराउँछन् । जसलाई लक्ष्य गरेर व्यङ्ग्यवाण गरिएको हुन्छ त्यसले मुटुलाई चस्स घोच्छ नै तर अरूलाई आनन्द लागिरहेको हुन्छ । महँगो उपचार पद्धतितिर समर्पित चिकित्सकप्रति व्यङ्ग्य गर्दै कवि लेख्छन्-
तनको जोगी मनको भोगी
नाम वियोगी हृदय रोगी
डाक्टरको उपचारले ठीक भएछ
तर खर्चको बिल देख्दा
उसको राम नाम सत्य भएछ ।

वक्ताले तालीलाई, ओठले लालीलाई, फूलले मालीलाई, भिनाजुले सालीलाई माया गरेकै हुन्छ भन्दै पद लालित्यका साथ सरल एवं मिठासपूर्ण अभिव्यक्ति अघि सार्दै पाठकलाई मनोरञ्जन प्रदान गर्न सिपालु यी कवि गजब शीर्षकको कवितामा घुसखोरीको विरोध गर्दै लेख्छन्-
हाकिम भए चतुर गजबको
दिनुपर्छ दस्तुर गजबको
बोल्नपर्छ हजुर गजबको
जनता हुन्छन् मजवुर गजबको
स्वास्नी भन्दा साली गजबको ।

मानवीय संवेदनाका विविध पक्षहरूलाई उपमा, विम्ब र प्रतीकहरूका आधारमा व्याख्या गर्ने ५,७, ५ को अर्थात् प्रथम लाइनमा पाँच दोस्रो लाईनमा सात र तेस्रो लाइनमा पाँच अक्षर भएका हरफहरूका माध्यमद्वारा मनसन्सार र बाहिरी सन्सारका कसिला विचारहरू पाठकसमक्ष पुयाउने जापानी प्रविधिको हाइकुलाई कवि नेवटियाले आफ्नै शैलीमा र शिल्पभित्र समेट्न सफल भएका छन् । ‘थोपा थोपा जिन्दगी’ उनका तीनसय चार हाइकुहरूको संकलन हो । जसभित्रका प्रत्येक गुच्छामा नेवटियाका शिल्प सौन्दर्य, गहन विचार, समसामयिक चिन्तन र विसङ्गत परिस्थितिहरू भन्दा हाइकुमा विचार एवं परिस्कारका साथ अगाडि बढेका छन ।

कविवर क्षेत्रप्रताप अधिकारीका विचारमा मात्र पाँच सात पाँच अक्षरमा लेखिएको तीन हरफीय तुकवन्दी हाइकु हुन सक्दैन । थोरै शब्दमा सानो विम्बको ईसाराले उद्घाटन गरेको विशाल आकाश हो हाइकु । हाइकुले अनन्त सम्भावनाको ढोका खोल्छ र पाठकलाई त्यसभित्र विचरण गर्न भन्छ । देशकाल, परिस्थिति, परिवेशलाई सटिक ढङ्गले केलाउँदै हाइकु लेख्नु र त्यसका झिल्काहरूले असामाजिक एवं विसङ्गत विचार बोकेका खलपात्रहरूको तिघ्रामा चस्सचस्स पोल्दै सचेष्ट गराउने प्रयत्न गर्नु उनको हाइकु लेखनको उदेश्य हो ।

हास्य व्यङ्ग्यकार रामकुमार पाँडेले बताएअनुसार संयमित भएर साधनारत् हुनसके एउटा हाइकुमा एउटा महाकाव्य अटाउने रचना सिर्जना हुनसक्दछ । यस भनाइलाई कवि लक्ष्मण नेवटियाले पहिल्याएका छन् । उनले साना रचना हाइकु जस्ता टुक्राटाक्रीभित्र विचारको विशाल परिवेश अटाएर यस घर्तीलाई सजाउदै रमाउन चाहन्छन् । उनी यस उपवनका माली हुन् । त्यसैले आफूले रोपेर ढकमक्क फुलेका फूलबारीभित्र विचरण गर्दै आनन्द लिन पछि परेका छैनन् । कवि नेवटियाका हाइकु सरल, सुबोध, हृदयस्पर्शी र गम्भीर पनि छन् भन्ने कुरा यी उद्धरणले अवगत गराँउदछन्-
१. पिंजडाभित्र
स्वतन्त्रताको गीत
गाउँछ सुगा ।

२. चमेराहरू
सिकिसके विस्तारै
कुर्सीमा बस्न ।

३. लालमोहर

तिम्रा ओठहरूको
मेरो गालामा ।

४. कम पुँजीमा
सक्रिय राजनीति
चिया पसलमा ।

५.वातावरण
अनावरण भयो
मधुशालामा ।

६.आस्था भएमा
छातीमा अटाउँछ
सगरमाथा ।

७. पुग्न गाहो छ
कमिलाको दाँजोमा
मानिसलाई ।

८.उज्यालो मन
प्रत्येक थोपालाई
सूर्य नै देख्छ ।

९. कुर्सी कुर्सीमा
उडुस र उपियाँ
प्रजातन्त्रमा ।

१०. सुरिलो मीठो
मौलिक अधिकार
सित्तै बाँसुरी ।

११. रावण शिर
काट्यो फेरि आउने
हाम्रो गरीबी ।

१२. खोजी रहेछ
टिष्टाको किनारामा
मेरो भूगोल ।

१३. ईश्वरलाई
अनुमति चाहिन्छ
मन्दिर छिर्न ।

१४. काठमाडौँमा
अतिथि स्वागतमा
धुँवाको तुल ।

१५. नारा उचाल्दा
टाप ठोकेछ मृग
अरुण तेस्रो ।

१६. हाम्रो विकास
कुकुरको पुच्छर
जस्ताको तस्तै ।

१७ अन्धो खुसी छ
विरुप अनुहार
ऐनामा देख्दा ।

१८. तिम्रो मुटुमा
फूल रोप्न नपाई
झाङ्गियो झार ।

यी उद्धरणबाट के कुरा प्रस्टिन्छ भने माथि भनिएझैँ सत्र अक्षरको हाइकुभित्र एउटा महाकाव्य, एउटा सिंगो भूगोल, एउटा पूणर् मान्छे, सौर्य मण्डलको विराटता र व्यापकता अनि मनोलोकको विचित्र संसार अटाउन सक्ने क्षमता हुँदोरहेछ । कविताभन्दा हाइकु शक्तिशाली र चोटिलो पनि बन्दोरहेछ । त्यसैले प्रारम्भमा जापानीहरूले हाइकुको खेती गरेर सभ्य एवं सुनौलो सन्सार निर्माण गर्ने प्रयत्न गरेका रहेछन् । जसको अनुसरण गर्दै जाँदा विगत चार दशकदेखि नेपाली साहित्यको क्षेत्रमा साधनारत नेवटियाले हाइकुका माध्यमबाट जिन्दगीका थोपा थोपा गन्न सफल गएका छन् । जसरी प्रत्येक थोपामा पूणर्ता र पूणर्ताको परिणति भेटिन्छ त्यसरी नै प्रत्येक हाइकुमा जीवन र जगत्को प्रतिबिम्ब अर्थात् सारभूत तत्व अटाएको हुनुपर्छ भन्ने कवि नेवटियाको आग्रह छ । व्यक्ति नेवटिया जति रसिला, मीठा र सजिला छन् उनका सिर्जना पनि त्यति नै सरस, बोधगम्य र उपयोगी रहेका पाइन्छन् । उनी टुक्राटुक्रा जोडेर सिङ्गो संसार बनाउन कोशिस गर्ने असल र सिपालु कालीगढ हुन् । उनका कलामा हाम्रो भौतिक संसार र मन संसार दुबै समेटिएको हुन्छ तर खोज्न जान्नु पर्छ भन्ने मेरो धारणा छ ।

‘लक्ष्मणका ढुकढुकी’ र ‘लक्ष्मणका व्यङ्ग्य व्यथा’ उनका प्रकाशोन्मुख कविता सङ्ग्रहहरू हुन् । यी दुवै सङ्ग्रहभित्र साना ठूला मझौला करिब अढाई सय कविताहरू समेटिएका पाइन्छन् । हाम्रो जातीय गौरव, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता र वीरताको वणर्न गर्दै अगाडि बढेका उनका कविताले हाम्रो अस्तित्व र स्वाभिमानको रक्षा गरेको छ । शून्यबाट शिखरमा पुगेका गायक प्रशान्त तामाङ्गको प्रशंसा गर्दै उनी भन्छन्-
ऊ हाम्रो अखण्डित इतिहासको पात्र छ
जातीय गौरव छ
जो मीठो गीत छ शान्ति सौरभ छ
जो भेदभाव विरुद्धको अभियान छ
शून्यदेखि शिखरसम्मको यात्री
ऊ अरू कोही हैन प्रसान्त तामाङ छ ।

आफ्ना कवितामा जो शान्तिका निमित्त शहीद भयो उसैको बालक छोरो खाते किन भयो ? भन्दै विषम परिस्थिति केलाउँदै निर्दोष नारीलाई लाञ्छना लगाउनेहरूलाई यस्तो जवाफ दिन पुग्दछन् कवि नेवटिया-
दोष नदीलाई जिस्क्याउनेहरूको हो
उसको तटबन्धीय अङ्गवस्त्र फुकाल्नेहरूको हो
नदी कहिल्यै कसैको कुभलो चिताउँदैन
बग्नु उसको धर्म हो
उसको गमन पथमा अवरोध गरिन्छ भने
लाज जोगाउँदै ठाउँ खोजेर ऊ बग्छ
नदीलाई दोष दिएर के हुन्छ ।

हिजो पापीहरूले अङ्गवस्त्रका रूपमा रहेको कोशी नदीको तटबन्धका तारजालीहरू काटेर, ढुङगासमेत चोरेर कोशीलाई नाङ्गेझार पारेपछि लाज पचाउन ऊ बस्तीतर्फ प्रवेश गर्‍यो । अनि गाउँ, बस्ती र शहरहरूमा कोलाहल मच्चियो यसमा नदीको के दोष छ भन्दै कविले आफ्नो काव्यशिल्पलाई सुन्दर एवं मनमोहक ढङ्गले प्रस्तुत गरेका छन् । बिम्ब, प्रतीक, उपमा र शब्द संयोजनको अर्थपूणर् उपस्थितिले कविको कविताकला निखारिएर अगाडि आएको छ । मलाई लाग्छ- कवि नेवटियाको काव्यकला र भाव एवं विचारको प्रवाह विना रोकटोक नदीकै अगाडि बढेको पाइन्छ । उनी समसामयिक विषयवस्तुका तरङ्गमा तैरिएर निर्भीक लक्ष्यका साथ अगाडि बढ्न ज्यादै सिपालु कवि हुन् । उनको भाव लहरी मनमोहक छ भन्नुमा अत्युक्ति हुँदैन । प्रेमविनाको सन्सार फोटोविनाको फ्रेमजस्तै निरर्थक हुन्छ भन्ने पाठ पढाउने जोसिला कवि नेवटिया सधै स्वाभिमान फलेको हेर्न चाहन्छन् । हामीभित्र अनन्त इच्छा आकाङ्क्षा भए पनि सन्तोषका साथ बाँच्न सिकाउँछन् । हामी नेपालीको साहस उत्तरमा छैन, दक्षिणमा आफ्नै छातीभित्र छ भन्दै राष्ट्रवादी बनेर खोज्न लाउँछन् । देश माटो हुँदैन, माटो देशको हुन्छ । त्यही माटोलाई देश बनाउन मानिस चाहिन्छ भन्ने कविले देश, जनता र माटोलाई अन्योन्याश्रित माने पनि जनता सर्वोपरि ठानिएको छ । यस्ता विशिष्ठ चिन्तनले प्रखर बौद्धिकताको यथार्थ परिचय दिने काम भएको छ ।

आफ्नो मतद्वारा निर्माण भएको संविधान सभाले चार वर्ष बित्दा पनि संविधान बनाउन नसकेको देखेर विरक्तिएका कविले स्वाभिमानको हिमाल पग्लेजस्तो लाग्छ, कहिले आस्थाको फूल ओइलाएजस्तो लाग्छ भन्ने अभिव्यक्ति प्रकट गरेका छन् । यसरी समसामयिक परिस्थतिलाई देखेर विरक्तिएका कवि आफ्नो मतपत्र फिर्ता माग्दै यसो भन्छन्- तिमीसँग मेरो करबद्ध प्रार्थना छ, सहमतिअनुसारको संविधान देऊ ।

अब मेरो महत्वकांक्षाको मूल्य हुँदैन भन्दै लोकतन्त्रको उदयमा खुसीका साथ यी कवि फुलेको गुराँसमाथि डाँफे बनेर नाच्न चाहन्छन् । विवेक भएमा प्रत्येक समस्या हल हुन्छ, झुप्रो पनि महल हुन्छ भन्दै आशावादी बनेर बाँच्न सिकाउँछन् । उनी भन्छन्-
जसरी भए पनि बग्न दिनुपर्छ जीवन नदी हो
जसरी भए पनि उम्रन दिनुपर्छ जीवन बीउ हो
जसरी भए पनि जल्न दिनुपर्छ जीवन आगो हो
जसरी भए पनि फक्रन दिनुपर्छ जीवन फूल हो ।

यस जीवनबोधी कविताले जीवनको व्यापकता र महानतालाई स्वीकारेको छ । यिनै भावभूमिभित्र पसेर जगतमा जीवनको खोज गर्छन् कवि । कविताको बीजतत्व मानवभित्रको भावनालाई स्वीकार्छन् । उनी धर्तीमा मान्छेको अस्मिता ढकमक्क फुलेको हेर्न चाहन्छन् । मान्छेलाई सन्तापबाट मुक्ति दिएर सधैँ हँसाउन चाहन्छन् । यो उनको मानवीय कर्मभित्र पर्दछ । त्यसैले कवि नेवटियाका कविताहरू अत्यन्तै उदार छन् । मनको दियो वालेर भित्र बाहिर सवैतिर उज्यालो प्रकाश छर्न चाहन्छन् । लक्ष्मणका ढुक्ढुकीभत्र थुप्रै हास्य-व्यङ्ग्यमिश्रित स्वरहरू छन् । पाठकलाई मनोरञ्जन प्रदान गर्न समाजमा सुधार ल्याउन उनी कविता लेख्छन् र परिवर्तन शीर्षकमा यसो भन्न पुग्छन्-
जलवायु परिवर्तन गोष्ठीमा
भाग लिन गएका श्रीमान्
परिवर्तन गरेरै आउनु भयो
कुरा यति मात्र फरक पर्‍यो
जलवायु परिवर्तन गर्न जानुभयो
श्रीमती परिवर्तन गरी ल्याउनु भयो ।

यसरी नै सधैँ पतिका कविता सुन्दासुन्दा वाक्क लागेर आत्महत्या गर्न नदीमा हाम फालेकी युवतीलाई बचाउने व्यक्तिले पनि आफ्नो कविता सुनिदिन आग्रह गर्दा त्यो युवतीले पुनः हाम फालेर आत्महत्या गरेको मीठो व्यङ्ग्य र डलर देवाय नमोः नमः जस्ता व्यङ्ग्यविनोदी कविताले पाठकलाई पूर्ण मनोरञ्जन दिनसक्ने स्थितिको सिर्जना गरिएको छ । स्वर्ग त्यहीँ छ जहाँ डलर छ । यो उनका कविताको अभिव्यक्ति हो ।

यसरी हास्य र व्यङ्ग्य मिश्रित कविताहरू लेखेर सुन्दर र सभ्य समाजको निर्माण गर्ने अभिव्यक्ति साथ अगाडि बढेका कवि लक्ष्मण नेवटियाका कवितामा तीखो व्यङ्ग्य मधुर मुस्कानका साथसाथै रसभावमाधुर्य पनि रहेका छन् । नेपाल र नेपालीको नियतिको व्याख्या गरिएको छ । तीन पति, एक श्रीमती के होला गति यस्तै छ हजुर, अहिलेको सहमति भन्दै नेताहरूले गरेका सहमतिको धज्जी उडाउँछन् । सधैं बन्द, सधैं हडताल सधैं चक्काजाम जस्ता विषम परिस्थितिका कारण समस्याग्रस्त देश नेपालको विषयमा उनी लेख्छन्-
विदेशमा चलखेल छ
कतै हत्या कतै अपहरण
सुरक्षित ठाउँ जेल छ
जसलाई बसाउनुस् छेउमा
झन् उसैले धकेल्छ ।
भन्दै विषम परिस्थितिको चित्र कोर्न कवि अत्यन्तै सफल भएका छन् । विषमताका दृष्टिले हाम्रो देश विश्व रेकर्डमा प्रथम हुने आशंकाले कवि त्रसित छन् । हल्लैहल्लामा हाम्रो आजको गौरव समाप्त हुने हो कि भन्ने भयले कवि विह्वल छन् । मानवताको खिल्ली उडाउने समाजप्रति कविको आक्रोश छ । यसरी नेपाली भिन्न मातृभाषी भएर पनि नेपाली वाङ्मयको उन्नयनमा समर्पित कवि नेवटियाको योगदानलाई अतुलनीय नै मान्नु पर्दछ । नेपाल र नेपालीको अस्मिता जोगाउन प्रयत्नरत् कवि नेवटियाको काव्यकलामा पूर्ण मौलिकता रहेको पाइएकाले उनको सुन्दर भविष्यको आकलन गर्न सकिन्छ । तापनि शब्द विन्यासमा सतर्कता आवश्यक छ ।

अन्त्यमा व्यङ्ग्य विनोदी कवि नेवटियाका हास्यव्यङ्ग्य कलाले रामकुमार पाँडे, भैरव अर्याल, केशवराज पिंडाली, विष्णु नवीन आदिको पदचापलाई राम्ररी पछ्याउन सकून् यही मेरो हार्दिक शुभकामना । अस्तु ।

०००
‘नेपाली साहित्यका मुस्कानहरू’ २०६९

फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो