सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

रोहिणीविलास लुइटेल र ‘अपराजेय कटाक्ष’

तँलाई खान बाघले.., देशको नाटक, घरदेखि घाट, तिम्रा जुँगा, देशभक्त आदि निबन्धमा प्रजातन्त्र आएपछि प्रजातन्त्रका नायक भनिनेहरूबाट देश र जनताले अझै बढी दुःख भोग्नुपरेको कुरा उल्लेख गर्दै त्यस्ता केही अवसरवादी नेतृत्ववर्गप्रति व्यङ्ग्य प्रहार गरिएको छ ।

Nepal Telecom ad

खगेन्द्रप्रसाद रिजाल :

साहित्यकार लुइटेलका रचनाहरूले विधागत विशेषता बोक्न सफल भएका छन् । यिनका व्यङ्ग्य निबन्धले समाजका विभिन्न पक्षमा देखिएका विकृति विसङ्गतिप्रति कटाक्ष गर्न सफल छन् । वि. सं २०५८ सालमा प्रकाशनमा आएको व्यङ्ग्य निबन्धसङ्ग्रह अपराजेय कटाक्षले शिक्षामा देखिएका विकृति, कला, संस्कृति, भाषा, भेषभूषा, राजनीति तथा अन्य क्षेत्रमा देखिएका विसङ्गति सबैमा व्यङ्ग्य गरेको छ ।

प्रस्तुत निबन्धसङ्ग्रहभित्र छयासीओटा निबन्ध सङ्कलित छन् । छपन्न निबन्धको पछि ‘विमोचन’ मा चारओटा, ‘पत्रपातो’मा पाँचओटा, जयन्ती प्रसङ्गमा एघारओटा र लथालिङ्ग विश्वविद्यालयमा पाँचओटा निबन्धहरू समावेश गरिएका छन् । आत्मपरक शैलीमा निजात्मक अभिव्यक्तिका साथ हास्यलाई भन्दा व्यङ्ग्यलाई बढी जोड दिएका ‘अपराजेय कटाक्ष’ निबन्धसङ्ग्रहका निबन्ध केही थोरै मझौला आकारका भए पनि अधिकांश छोटा आकारका छन् । आकारका हिसाबले छोटा भए पनि निबन्ध बौद्धिक चिन्तनले भरिपूर्ण छन् । यिनका व्यङ्ग्य निबन्ध भावनामा छिरोलिएका कणहरू रूपाकृतिमा प्रस्तुत हुँदै गैर अनुसन्धानात्मक र स्वतन्त्र रूपमा आत्मगत शैलीले कलाकृति बनेर लघुकलेवरमा व्यङ्ग्य गर्न सफल छन् ।

न साना, न ठूला, न त व्यक्ति, न त समाज कसैलाई पनि यसमा छाडिएको छैन । अपराजेय कटाक्ष अर्थात् नहारेको कर्के हेराइ कटाक्ष बनेर उदाएको छ । यसमा हाँसोको खुराक भने कम मात्रामा देखिन्छ तर व्यङ्ग्य र विद्रोह भने धेरै मात्रामा पाइन्छ । नेपाली गाउँले जनजीवमा बोलिने झर्रा शब्दहरू ‘गजमौरो’ ‘पर्जपखान’ बिँडो, भर्सेलो आदि शब्दहरूले सजिएका निबन्धलाई झर्रोवादी निबन्धका रूपमा लिन सकिन्छ । निबन्धका बीचमा उखान, ट्क्का तथा नेपाली संस्कृत भाषाका कवितांशको प्रयोग गरी अझ व्यङ्ग्यमय बनाउने प्रयास गरिएको छ ।

‘कहिल्यै नहारेको कर्के हेराई’ वास्तवमा शीर्षक नै व्यङ्ग्यमय छ । हेराइ वा दृष्टिकोण कर्के कि समाजका विकृति कर्के हुन् भनेर सजिलै अनुमान लगाउन सकिने यो निबन्धसङ्ग्रहले कर्के समाजका विसङ्गति व्यवहारप्रति दह्रो व्यङ्ग्य गरेको छ । यसबाट कर्के हेराइ गर्ने कसैलाई पनि छोडेको छैन । समाजका दाँते अथवा टाउकेवर्ग, साहित्यमा देखापर्ने टपर्रटुइँयावाद नेपाली भाषामा ड्याडी, मम्मी भित्र्याउने आधुनिक वर्ग सबैमा झटारो हानिएकै छ । मुसलका दाँत, चुसाहा दाँत, मुसलीदाँते, पुतलीदाँते आदि दाँतका भेदहरू देखाउँदै समाजमा रहेका विभिन्न वर्ग र शोषणप्रति दाँत शीर्षकको निबन्धबाट व्यङ्ग्य गरिएको छ । यस्तै समाजमा दाँत वर्गबाट पीडित निबन्धकार भैरव अर्यालले समेत आत्महत्या गर्नुपरेको खुलासा गरिएको छ । साहित्यवाद वा दर्शन नबुझी विभिन्न वाद वा सिद्धान्तको भाषण छाट्नेहरूप्रति टपर्रटुइयाँबाद निबन्धमार्फत व्यङ्ग्य प्रहार गरिएको छ । दिव्यदृष्टि निबन्धबाट देशलाई दिव्यदृष्टिले हेर्न आग्रह गरिएको छ । प्रस्तुत निबन्धमा प्रजातन्त्रमा देखिएका विकृतिहरू राम्रोसँग चित्रण गरिएको छ । प्रजातन्त्र आउनु सर्वसाधारणका लागि ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ भएको सत्य कुरा यसमा प्रस्तुत गरिएको छ ।

अपराजेय कटाक्ष निबन्धसङग्रहमा साहित्यका विसङ्गति, प्रशासन, भाषा, संस्कृति, राजनीति लगायत अन्य जुनसुकै क्षेत्रमा देखिएका विकृति विसङ्गतिहरूप्रति व्यङ्ग्य गर्नु नै यस निबन्धसङ्ग्रह लेखनको उद्देश्य पाउन सकिन्छ । साहित्यमा बाह्रओटा वादभन्दा अरु कुनै वाद नभएको दर्शाउँदै विभिन्न वादको कल्पना गर्ने साहित्यकार भनाउँदाहरूलाई टपरटुइँयाँबाद नामाकरण गरिएको पाइन्छ । साहित्य के हो ? भन्ने लख काट्न नसक्ने तर दुई चारओटा कविता लेखेर महान कवि हुँ भन्नेहरूप्रति ’अरु उपाय’ नामक निबन्धमार्फत गतिलो व्यङ्ग्य प्रहार गरिएको छ । सिनेमा जस्ता मनोरन्जनका माध्यमबाट समाजमा देखिएका विकृति तथा नारी समाजबाट भएको परिवर्तन त्यसबाट विभिन्न वर्गले भोग्नुपरेका समस्याहरू प्रस्तुत गर्न विभिन्न निबन्धहरूले सहयोग पुर्‍याएको छ ।

यस सङ्ग्रहभित्र संस्कृति, भाषा तथा राष्ट्रिय जनावरको संरक्षण गर्नुपर्ने कुरा ‘घरमा आगो’ निबन्धमार्फत सन्देश दिएको छ । केही निबन्धमा राजनैतिक खिचातानी तथा बार रेष्टुराँमा हुने यौनजन्य क्रियाकलापहरू रोक्न सम्बन्धित निकायहरूप्रति आग्रह गरिएको छ ।

यस निबन्धसङ्ग्रहमा संवादको प्रयोग गरेर दशओटा निबन्धको रचना गरिएको छ । धुलाबारी (ख) बाट सुरु गरी शिशु प्रजातन्त्र, घैँटामा घाम, हुँदै देशभक्तसम्म पुगेर कथा, संवाद उपशीर्षकका निबन्धहरू लहरीलाई अन्त्य गरिएको छ । चिरिच्याँटर र ग्वाँजे बाजेबीच कुराकानी गराउँदै सरल तरिकाले समाजका विकृति विसङ्गतिप्रति व्यङ्ग्य गर्न निबन्धकार सफल भएका छन् । ‘समयानुसार’ निबन्धमा मानिसले समयानुसार चल्न सिक्नुपर्छ जसरी समय दिन दुई गुना रात चौगुनाका दरले बढिरहेको छ त्यसरी नै मान्छेले पनि समयलाई पछ्याउनुपर्छ नत्र पछुताउनुपर्छ भन्ने देखाएको छ । ग्वाँजे बाजे राजनैतिक नेताहरूलाई देशको चिन्ता नभएकाले देशको दुर्गति देखाउन चस्मा लगाई दिनुपर्ने आग्रह निबन्धमार्फत गरिएको छ । शिशु प्रजातन्त्र, नमस्ते, जय नेपाल, लालसलाम, तँलाई खान बाघले.., देशको नाटक, घरदेखि घाट, तिम्रा जुँगा, देशभक्त आदि निबन्धमा प्रजातन्त्र आएपछि प्रजातन्त्रका नायक भनिनेहरूबाट देश र जनताले अझै बढी दुःख भोग्नुपरेको कुरा उल्लेख गर्दै त्यस्ता केही अवसरवादी नेतृत्ववर्गप्रति व्यङ्ग्य प्रहार गरिएको छ । हाल देशमा भएको राजनैतिक समस्या र तत्कालीन राजनैतिक अस्थिरता र चुनावले देश कङ्गाल भएको कुरा लुइटेलका निबन्धमा प्रस्तुत भएको छ ।

रोहिणीविलास लुइटेलको अपराजेय कटाक्ष निबन्धसङ्ग्रह जति पढ्यो उति पढौँ-पढौँ लाग्ने सर्वसाधारण पाठकले पनि बुझ्न कुनै धेरै कसरत गरिरहनु नपर्ने उत्कृष्ट निबन्धको बिटोका रूपमा लिन सकिन्छ । हास्य कम व्यङ्ग्य बढी भएको यो निबन्धसङ्ग्रहमा देश र जनता सबैमा खुसी राख्ने सन्देश दिँदै भाषा, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले प्रस्तुत गरिएको छ ।

०००
अर्जुनधारा-६, पुष्पलाल चोक
‘रोहिणीविलास लुइटेल स्मृतिग्रन्थ’ (२०८०)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad