सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !
मुक्तकहरूमा निर्वाहमुखी जीवन बाँचिरहेका पात्रदेखि औसत मान्छेलाई मान्छे नै नदेख्ने पात्रहरूको कथा, व्यथा र चरित्रको परावर्तन भएको छ । यसभित्र वर्तमान छ । वर्तमान विसंगति छन् र विसङ्गत वर्तमानमा औसत मान्छेले बेहोरिरहेको अनुभूति पनि छन्’ ।
बद्रीप्रसाद दाहाल :
काव्यको लघुतम रूप हो मुुक्तक । पूर्वीय काव्यसिद्धान्त अनुसार यो समासरहित हुन्छ । कथासूत्रमा नबाँधिएको अन्तर हृदयका भावलाई प्रतिबिम्बित गर्ने प्रभावकारी, निरपेक्ष, स्वतन्त्र कविता वा टुक्रे काव्य हो मुक्तक । बृहत् नेपाली संस्कृत कोशको आँखामा : ‘एक काव्य जुन एकै पद्यमा पूरा गरिन्छ, फुटकर कविता वा प्रबन्धको उल्टो जसलाई अर्को शब्दमा ‘उद्भट’ (उत्कृष्ट वा श्रेष्ठ) भनेर चिनारी गराएको छ । मुक्तककार रेहित सैजुको लघु पुस्तकाकार मुक्तकसङ्ग्रहको नाम हो ‘परावर्तन’ एक सय बाह्र पृष्ठमा लेखिएको लघु कायाभित्र दुई सय चालीस मुुक्तकहरूको मुुठा कसेर दरिलो भारी हालेका छन् भने थालनीको तेइस पृष्ठभित्र भूमिका खण्ड, शुभकामना, प्रकाशकीय र सैजुका भनाइ रहेका छन् ।
‘परावर्तन’ भन्नाले कतैबाट फर्कने काम, प्रत्यावर्तन, ऐनामा परेको प्रकाश फर्कने कार्य वा उल्टाउने काम आदि बुझिन्छ । उनको यो नामकरण बिम्बात्मक छ । त्यसैले त उनका कतिपय मुक्तकका चरणमा प्रतीक, बिम्ब, आभास वा झलकहरू हाम्फाल्दै स्वस्फूर्त ओइरिएका छन् । तेइस वर्ष टेक्दैका यी युवाको जोस, जाँगर, लगन र आत्मविश्वास स्तवनीय छ । उनी आफ्नो लेखनकर्मको अन्तर्यमा यस्तो विश्वास गर्दै भन्छन् :
नदी हिमाल सुस्तरी बतास लेखेर
अँध्यारा झुपडीहरूका बास लेखेर
बिदा हुनेछु आफैं यो संसारबाट-
भोलिका लागि सुन्दर इतिहास लेखेर ।
अब म सर्सती उनको सङ्ग्रहभित्र पस्दैछु । पहिलो मुक्तकमा पिताको गौरव एवं महिमालाई सूत्रात्मक रूप दिएर चुटुक्क यसरी पोखिनु भएको छ :
लड्न थाल्दा टेको दिने आड हुन् जस्तो लाग्छ
परिवारको मेरुदण्ड ढाड हुन् जस्तो लाग्छ
उम्रन्छन्, फुल्छन्, फल्छन् उनकै छहारीमा
बुबा सन्तानका लागि पहाड हुन् जस्तो लाग्छ ।
आड, ढाड, पहाडको आनुप्रासिकतामा बुबाको गहनकारी भावभूमि च्वाट्ट प्रस्तुत गरेरमुक्तकलाई महिमामण्डित बनाएका छन् सैजुले । तर अन्तिम लहरमा बासितै आमा शब्द थपिदिएको भए मुक्तकको भावमा बढी गहनता आउने थियो कि ? किनकि उनका मुक्तक वार्णिक छन्दका होइनन् अक्षर बढी हुँदा त्यति असहज हुँदैन ।
समसामयिक देशको वस्तुस्थितिप्रति कटाक्ष गर्दै उनी राजनीतिक नायकहरूको पागलपन बढी भएकोमा तरुणजनको आबाजको राँको यसरी बाल्न पुगेका छन् :
दिनप्रतिदिन देशको दुर्गति भइरहेको छ
हिजोभन्दा आज झन् अति भइरहेको छ
नेतामा पागलपनको आँधीहुरी आएपछि
युवाशक्ति परिचालनमा क्षति भइरहेको छ ।३
वीरताको गाथा स्वाभिमान भुलिसके
युगले पठाएका विभूति सन्तान भुलिसके
यिनीहरू यतिसम्म अन्धधक्त भए कि यहाँ
आधुनिकताको दौडमा पहिचान भुलिसके ।६
आधुनिकताको नाममा राष्ट्रिय गौरवका प्रतीक हाम्रो स्वाभिमान लोलाएको, ऐतिहासिक धरोहरप्रतिको अनास्था र स्वयं मौलिकताका विभूषण कचपल्टिएको यथार्थ पस्किएर रनन्न भएका छन् उनका मुक्तक । सम्भवतः त्यसै भएर दैनिक शासन प्रशासन हाक्ने सरकराप्रति उनी युवाहरूका अन्तरध्वनि यसरी ओकल्छन् :
सयौँ युवाका सपना तुहिएको देख्दैन सरकार
कर्णालीमा जडिबुटी कुहिएको देख्दैन सरकार
तर पनि देशलाई यस्तो उस्तो बनाउँछुु भन्छ ऊ
कठै ! झुपडीको छानो चुहिएको देख्दैन सरकार ।१२
देश बनाउन मुलुकको बागडोर समातेकालाई तलको मुक्तक पङ्ति दिशाबोधमा कति भरिला रसिला र दरिला सुझाब पस्किएका छन् :
क्षमताअनुसारको काम लगाउनोस् अनि देश बन्छ
विवदेशिने प्रथालाई बन्द गराउँनोस् अनि देश बन्छ
सबैको आबाज त यही हो मनन गर्नुस् त एकचोटि
युवाका पसिना देशमै खन्याउनोस् अनि देश बन्छ ।१५
आधुनिक राजनीतिक व्यवस्था आए पनि परम्परागत अस्वस्थ मान्यता उस्तै अवस्थामा रहेको, सानो देशमा असङ्ख्य दलहरूले विनाफसलका पसल खोलेर निकृष्ट ठगधन्दा मच्चाएको, उद्देश्यहरू निर्लज्ज भएर नाङ्गिएको, गन्तव्यहरू बाङ्गिएको र भ्रमहरू झाङ्गिएको देखेर सैजुलगायतका युवा जनशक्ति विद्रोहको ज्वालामुखी उकेल्नपर्ने मनस्थितिमा पुगेको तथ्य उजागर भएको छ कृतिभित्र । कति सहज, सरल र चोटिला बनेर पुष्टि गर्दछन् उनका यी पङ्क्तिहरू जसमा वर्तमानको चर्तिकला असली रूपमा चित्रण गरिएको छ :
‘गणतन्त्र छ भन्नु पनि एकादेशको कथा भयो
बोक्सीको नाममा जिउँदै जलाएको पाइन्छन् ।
मुक्तककार मुक्त शैलीमा पोखिएर यसरी आफूलाई सलाईको काँटीसित तुलना गर्दै आत्मनिर्णय गर्न पुग्छन् बहरजस्ता मुक्त लहरमा :
फलले पनि मौसमअनुसार फल्नुुपर्ने रहेछ
यसरी समयअनुुरूप सबैले चल्नुुपर्ने रहेछ
सलाईको काँटीले पनि ठूलै कुरा सिकायो
कसैलाई जलाउन त स्वयं पनि जल्नुुपर्ने रहेछ ॥२४
ज्ञान पाएका युवालाई परदेशमा पलायन गराएर पाकापाकी भुरा र निर्बलामाथि शासन गर्ने गलत मनसायको झाँको झार्दै परावर्तन यसरी बिप्ल्याँटो अभ्यास गर्नेहरूको प्रवृत्ति र खोटो नियतमा पड्किन्छः-
ज्ञान प्राप्त युवालाई समुुद्र कटाएका छन्
टाइसुटमा छाँटिएर राष्ट्रियता रटाएका छन्
के समृद्धि होला र यो चालाले समाजको
दूधको साक्षीमा बिरालो खटाएका छन् ।
पोटिला, चोटिला, ओजिला, घोचिला र पेचिला यी अभिव्यक्तिभित्र देशप्रेमको सुुगन्ध हर्हराएका र राष्ट्रवादको झर्ना झर्झराएका छन् । देशले समृद्धिको गगन चुम्न दूधका साक्षी मार्जारवर्गको अन्त्य हुनुपर्नेमा समस्यासमाधानको सूत्र मजैले शोध गरेरमुस्कुराएको छ ।
मुक्तक लेखन तथा वाचनमा पुुरस्कृत उनी ‘अभिनव लक्ष्मीदेवी साहित्य सिरपा’बाट पुस्कृत सम्मानित पनि भइसकेका छन् । उनको मुक्तक लेखनकला अझ परिमार्जित, सुसंस्कृत र समाजोपयोगी हुँदै जानेमा यो कृतिले आशको सञ्चार गरेको छ ।
भावी समयको दारुण चित्र आकलन गर्दै सैजुका मुु क्तक यसरी भावको वेगमा हानिएका छन् । निर्मम ढंगले आत्मालोचना गर्दै देश बिग्रनुको कारण यसरी दिन्छन् :
भित्ताले आबाज निकाल्दै केही भनिरहेछ
हाम्रो तपोभूमि बिस्तारै युद्धभूमि बनिरहेछ
देशको पीडा खुुब लेखेँ तर यथार्थ बिर्सिएँ
यो देश बिग्रिएको तिमी, मबाट रहेछ ।१२३
समाजलाई व्यक्तिवादले थिल्थिल्यिाउँदा मान्छे स्वार्थन्ध भएर एक अर्काप्रति लिनै नहुने षड्रिपु (काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य) ले ग्रस्त भएको कति घोटिलो सूक्ति छ तलको मुक्तकमा :-
अनेक घोचपेच गर्दै मुख छाड्नेसम्म गर्छन्
फाइदा लुट्न तयारहरू जता पनि भाँड्ने गर्छन्
थाहा हुन्छ मान्छेको विचार शैली केलाई हेर्दा
अरूको सानो प्रगतिमा पनि राल काढ्ने गर्छन् ।१५९
मुक्तककार प्रेमिल भावको न्यानो ताप्न र तपाउन पनि खप्पिस छन् । तलका यी चरणहरू यसका ज्युँदा साक्षी हुन्ः-
यी आँखा रसाएर राता भएका छन्
ओठहरू काँपेर काला भएका छन्
तिम्रो मौनताको जबाफ खोज्दा खोज्दै
कानहरू प्रतीक्षामा ठाडा भएका छन् ।
आमा बालकुमारी श्रेष्ठ र बाबा बाबुकाजीको कोख सफल बनाउँदै २०५७ पुस १७ गते रामेछापमा आँखा खोल्नुभएका प्रखर युवा मुक्तककार ‘रेहित सैजु’ लजालु, विनयी र मितभाषी स्वभावका भद्र पुरुष हुन् । काठमाडौंबाट प्रकाशित हुने कल्पतरु द्वैमासिक साहित्यिक पत्रिकाका सम्पादक रहेर आफ्नो सम्पादकीय क्षमतालाई तिखारेका यिनी हाल ‘फित्कौली अनलाइन पत्रिकामा’ (जो हास्यव्यङ्ग्य प्रधान छ) हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेलको दाहिने हात भई आफ्नो रचनात्मक भूमिका निर्वाह गरिरहेका छन् । विभिन्न साहित्यिक पत्रपत्रिकाको आजीवन सदस्य सैजु अध्ययन र लेखनमा नयाँ पुस्ताको लागि उदाहरणीय छन् ।
मुक्तक लेखन तथा वाचनमा पुुरस्कृत उनी ‘अभिनव लक्ष्मीदेवी साहित्य सिरपा’ बाट पुस्कृत सम्मानित पनि भइसकेका छन् । उनको मुक्तक लेखनकला अझ परिमार्जित, सुसंस्कृत र समाजोपयोगी हुँदै जानेमा यो कृतिले आशको सञ्चार गरेको छ । यस कृतिका भूमिककार रुद्र ज्ञवालीजी जसले कृतिको साङ्गोपाङ्ग विचरण गरी आफ्नो मन्तव्यको क्रममा यसरी पोखिएका छन् : ‘मुुक्तकभित्रका विषयवस्तु कृतिको नामजस्तै छ । औसत नेपाली मान्छेले भोगेको भोगाइहरूकै प्रतिबिम्बन हुन् । मुक्तभित्र लेखक आफैँ पनि पात्र छन् र मातापिता पनि । मुक्तकहरूमा निर्वाहमुखी जीवन बाँचिरहेका पात्रदेखि औसत मान्छेलाई मान्छे नै नदेख्ने पात्रहरूको कथा, व्यथा र चरित्रको परावर्तन भएको छ । यसभित्र वर्तमान छ । वर्तमान विसङ्गति छन् र विसङ्गत वर्तमानमा औसत मान्छेले बेहोरिरहेको अनुभूति पनि छन्’ ।
यसै क्रममा हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीको कृतिप्रतिको उद्गार पनि मननीय छ । ‘सैजुका मुक्तकमा सामाजिक विकृति, विसंगति र कुशासनले उब्जाएका दुरावस्थाका बारेमा जताततै चित्रण पाइन्छन्’ । कल्पतरु द्वैमासिक पत्रिकाका प्रधान सम्पादक नवराज पुडासैनी ज्योत्स्नाको भनाइ पनि उल्लेख गर्न लायक छ । ‘मुक्तक पढ्दा उहाँको वास्तविक उमेरभन्दा निकै अघि बढेर अभिव्यक्त हुनुभएको छ’ ।
त्यसैगरी सहप्राध्यापक उपेन्द्र पौडेल, चितौनका साहित्यकार भीम गौतम, पाल्पाका साधक विनोद नेपाल र मुक्तककारकी सहधर्मिणी अबिका थापाजी लगायतका शुभेच्छुकहरूका शुभकामना वर्ण सर्जकहरूले मुक्तककारमा लक्षणा र व्यञ्जना सामर्थ्य बढाउन प्रेरणा तथा हौसला मिलेको छ । नआत्तिने र नमात्तिने सूत्रलाई सधैँ मनन गर्ने जिज्ञासुु स्वभावका मुक्तकार सैजुको यो जोसले होस सजाएर आफ्नो प्रतिभालाई साधनाको मालीद्वारा सिञ्चन गराई पुष्पित र पल्लवित हुन सकून् स्वस्थ, चुस्त, दुरुस्त र मुक्त वाणी-प्रवाह गतिमान् भइरहोस् ! समाप्तम् ।
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest